आगामी महाधिवेशमा निधीलाई सभापति बनाउँने देउवाको तयारी,रामचन्द्र हुने भए आउट



मनोनीत भएको दुई महिनापछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा काम सम्हालेका छन् । रोपाइँ दिवस पारेर १५ असारको शुभसाइतमा पदभार ग्रहण गरेको निधीको भनाइ छ ।

महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि उपसभापति मनोनीत भएका निधीले दुई महिनापछि मात्रै कार्यभार सम्हाल्नु संयोग मात्रै होइन ।

उनी उपसभापति मनोनीत हुनुअघि र मनोनीत भएपछि कांग्रेसको आन्तरिक समीकरणमा फेरबदलसमेत देखिएको छ । पदभार ग्रहणपछि आयोजित सम्बोधनमा निधीको दायाँतर्फ केन्द्रीय सदस्यद्वय उमाकान्त चौधरी र शिव हुमागाईं थिए । उनीहरू दुवै जना कृष्णप्रसाद सिटौलाको कोटामा मनोनीत भएका हुन् ।

यसैगरी, बायाँतर्फ बालकृष्ण खाण, डिना उपाध्याय र राधेचन्द्र यादव थिए । ०५९ सालमा पार्टी विभाजन भएको तेस्रो दिन सिंगो नेपाल तरुण दललाई नेपाली कांग्रेसबाट छुटाएर कांग्रेस (प्रजातान्त्रिक) मा समाहित गर्ने नेता हुन् बालकृष्ण खाण । चार वर्ष नेविसंघ र १० वर्ष नेपाल तरुण दलको नेतृत्व गरेका खाण ०५४ सालदेखि लगातार कांग्रेसको केन्द्रीय समितिमा छन् ।

निधी उपसभापति मनोनीत भएपछि कांग्रेसको पहिलो ठूलो कार्यक्रम जिल्ला सभापतिहरूको हेटौँडा भेला हो । जिल्ला सभापतिहरूको भेलामा संस्थापन पक्ष, खासगरी पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना हुने र निर्वाचनमा भएको पराजयको जिम्मेवार देउवालाई नै ठहर गर्ने सम्भावना थियो । ७७ मध्ये ३४ जिल्ला सभापति मात्रै संस्थापन पक्षमा थिए । तर, उक्त भेला निर्विवाद रूपमा टुंगियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल स्वयंले उक्त भेलाको समापन समारोहमा बोल्दै देउवालाई साथ दिने प्रतिबद्धता व्याक्त गरे । यो वातावरण उपसभापति निधीले नै बनाएका थिए ।

यस क्रममा निधीले वरिष्ठ नेता पौडेलसँग विभिन्न चरणमा संवाद अघि बढाएका थिए । देउवा र पौडेल मिलेको सन्देश दिँदै हेटौँडा भेला सम्पन्न भएको थियो । अब कांग्रेसभित्र आन्तरिक प्रतिपक्षको भूमिका सिटौला समूहले निर्वाह गर्ने आकलन गरिएको थियो ।

तर, निधीको पदभार ग्रहणमा सिटौला समूहका केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रह्यो । कांग्रेसभित्रका सबै समूहले निधीलाई सहज रूपमा लिएको पौडेल पक्षका एक केन्द्रीय सदस्यले बताएको आजको सौर्य दैनिकमा समाचार छ ।

विगतमा कोइराला समूहको हस्तीका रूपमा रहेका देउवालाई कृष्णप्रसाद भट्टराई समूहमा पुर्याएर सभापति पदसम्मको हैसियत दिलाउने श्रेय पनि निधीलाई नै जान्छ भन्ने बुझाइ कांग्रेसको आम कार्यकर्तापंक्तिमा छ ।

देउवापछि लगत्तै नेविसंघको सभापति बनेका निधी बिपी कोइरालाको निधनपछि सन्त नेता भट्टराईको निकट रहँदै आएका थिए । तर, भट्टराई समूह कमजोर रहेपछि निधीले नै देउवा र खुमबहादुर खड्कालाई भट्टराई समूहमा पु¥याएर आँफू उनीहरूभन्दा लो प्रोफाइलमा बसे ।

नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारबाट बाहिर ल्याउन सफलता प्राप्त गरेकै कारण निधीलाई नेपाली कांग्रेसभित्रको चाणक्य भन्ने गरिन्छ ।

तर, देउवा पार्टी सभापति बनेपछि उपसभापति मनोनीत हुन निधीलाई २ वर्ष २ महिना पर्खनुप¥यो । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री हुँदा तीन वटा प्रकरणमा निधीले सभापति देउवासँग फरक मत राखे । पहिलो प्रकरण थियो, ‘आइजिपी काण्ड’ ।

निधी नवराज सिलवाललाई आइजिपी बनाउन चाहन्थे भने सभापति देउवा जयबहादुर चन्दलाई । जसका कारण करिब दुई महिना कुनै निर्णय हुन सकेन ।

अन्तिममा निधीले देउवासँग सम्झौता गरे । चन्द आइजिपी बने । तर, यो निर्णय सर्वोच्च अदालतले उल्ट्याइदियो । यो निर्णय उल्ट्याएबापत माओवादीको सहयोगमा देउवाले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ज गराए । यो काण्डपछि निधीले उपप्रधानमन्त्री पदबाट राजीनामा दिए ।

महाअधियोग फिर्ता लिएर देउवाले निधीसँग सम्झौता गरे । तेस्रो प्रकरण थियो, ‘कमल थापालाई उपप्रधानमन्त्री बनाइएको काण्ड’ । यो काण्डपछि पनि निधीले पदबाट राजीनामा दिएका थिए, तर देउवासँगको सम्झौतापछि उनले राजीनामा फिर्ता लिए ।

यी तीन काण्डपछि देउवाले निधीलाई उपसभापति मनोनयन नगर्ने अनुमान धेरैले गरेका थिए । तर, देउवाले निधीजत्तिको काबिल सहयोगी गुमाउन चाहेनन् ।

निधी उपसभापति बन्नासाथ कांग्रेसभित्रको गुटगत दुरी घट्नुलाई संयोग मात्रै मानिएको छैन । तर, कुन सहमतिका साथ देउवाले निधीलाई उपसभापति मनोनयन गरेका हुन्, र निधीले औपचारिक रूपमा कार्य प्रारम्भ गर्न किन ढिलाइ गरेका हुन् भन्ने रहस्य अझै अन्योलमा छ ।

१४औँ महाधिवेशनमा देउवा पक्षबाट सभापतिको उम्मेदवार निधी हुन सक्ने अनुमान १३औँ महाधिवेशनको पूर्वसन्ध्यामै गरिएको थियो ।

तर, निधीलाई उपसभापति बनाउन ढिलाइ गरिएपछि १४औँ महाधिवेशनमा पनि देउवा आफैँ सभापतिको उम्मेदवार बन्ने रणनीतिमा छन् कि भन्ने अनुमान लगाउन थालिएको छ ।

तर, यो अनुमानले आकार ग्रहण गरिसकेको छैन । शुक्रबार पदभार ग्रहण कार्यक्रममा निधीले जे अभिव्यक्ति दिए, त्यसलाई विश्लेषण गर्नेहरू भने अब देउवा र निधीबीच कुनै तिक्तता बाँकी नरहेको बताउँछन् ।

तर, हेटौँडा भेलाको सभापनमा देउवाले १५ मिनेट बोल्दा करिब १२ मिनेट जति आइजिपी प्रकरणमै समय खर्च गरेका थिए । आइजिपी प्रकरणमा म ठीक थिएँ भनेर देउवाले भन्नुको अर्थ हो, निधी गलत थिए । तर, आफैँले उपसभापति बनाएको नेतालाई गलत थिए भन्नुमा कुनै दम भने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह