देशभरको मौसम बदली, भारी वर्षाको सम्भावना, सतर्क रहन सरकारको अपिल, कता कता पानी पर्छ



हाम्रो इकोनोमि

मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । ‘देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएको छ, ‘मध्य र आसपासका केही स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि शनिबार बिहान ६ बजे अर्को सूचना जारी गरेर सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन भनेको छ ।

सूचनामा लेखिएअनुसार वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ ।

त्यसैले बाढी सतर्कता केन्द्रले सूचनामा लेखेको छ, ‘नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु भोलि (आइतबार)देखि सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन अनुरोध छ ।’

आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान छ । त्यसैले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।

कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पनि बहाब बढ्दो क्रममा छ । तर यी नदीहरुमा शनिबार नै खतराको तह पार गर्ने सम्भावना भने कम रहेको सूचनामा उल्लेख छ ।

देशभरको मौसम शनिबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहेकाले पानी पार्ने खालको बादल देशभर लागेको छ ।

देशभर दिनभर नै मौसम बदली हुने मौसमविद मञ्जु बासीले जानकारी दिइन् । विशेष गरी पूर्व र पश्चिमका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना छ । यस्तै मध्य क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद बासीको भनाई छ ।

यस्तै पूर्व र पश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने देखिएको छ । रोपाइँको सिजन रहेकाले आकाशे पानीको भरमा रहेका किसानलाई अब राहत मिल्नेछ ।

यस्तै नदी आसपास तथा जोखिमयुक्त ठाउँमा रहेकाहरुले चाहिँ सावधानी अपनाउनु पर्ने मौसमविदको भनाई छ । पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...