जहाज आयो पाइलट छैन, राष्ट्रिय ध्वजावाहक एयरबस चलाउन विदेशी पाइलटको खोजी, पहिलो गन्तव्य दोहा



राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भित्राएको एयरबस (वाइडबडी) जहाज उडाउन पाइलट अभाव भएको छ । उक्त जहाजको पहिलो गन्तव्य कतारको दोहा हुने भएको छ । तर, पर्याप्त पाइलट नभएकाले विदेशबाट झिकाउने तयारी छ ।

आगामी साउन १६ गते अर्थात १ अगस्टमा जहाजले दोहाको उडान भर्ने नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताए ।

नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न नपाइने भएकाले सुरुका केही महिना दोहा उडाउन लागिएको हो,’ उनले भने ।

नयाँ जहाजलाई नयाँ गन्तव्यमा केही महिना उडाउन नपाउने अन्तर्राष्ट्रिय प्रचलन छ । जापानले निगमको वाइडबडी जहाजलाई उडान अनुमति दिइसकेको छ ।

कंशाकारले अनलाइनखबरसँग भने, ‘जापानले त फ्लाइटको अनुमति दिइसक्यो । तर हामी सुरुमा त्यहाँ उडाउँदैनौं । हाम्रो पहिलो गन्तव्य दोहा हुन्छ ।

पाइलटको व्यवस्था भएन, विदेशबाट झिकाइँदै

नेपाल वायु सेवा निगमले किनको ए ३३० विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘अन्नपूर्ण’ नाम दिइएको सो विमानले ‘नाइन एन एएलवाई’ कलसाइन पाएको छ ।

यो जहाज उडाउने पाइलट र कोपाइलटको व्यवस्था नभइसकेकाले एक महिनाभन्दा बढी त्यत्तिकै थन्किने छ । एउटा वाइडबडी जहाज चलाउन ८ जना पाइलट र ८ जना कोपाइलट चाहिन्छ । वायु सेवा निगमले थप अर्को वाइडबडी जहाज पनि एक महिनाभित्रै नेपाल ल्याउने जनाएको छ । दुवै वाइडबडी जहाज चलाउन १६ जना पाइलट चाहिन्छ तर हाल चार जना पाइलटको मात्र टुंगो लागेको छ ।

पहिलो वाइडबडी जहाज अन्नपूर्णका लागि वरिष्ठ क्याप्टेन श्रवण रिजाल र एमएम डंगोलको मात्र टुंगो लागेको कंशाकारले जानकारी दिए । थप पाइलट भने विदेशबाट ल्याइने उनले बताए ।

‘विदेशबाट पाइलट ल्याउने अन्तर्राष्ट्रिय चलन छ । हामी पनि त्यही गर्छौं,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि चीनबाट किनिएका साना जहाज उडाउन पनि पाइलट अभाव भएको थियो । पाइलट नहुँदा ति जहाज लामो समय थन्किए ।

सरकारले चीनबाट ल्याएका एम–६० र चारवटा वाई–१२ जहाज ल्याएको थियो । ति जहाजका लागि चीनबाट ल्याइएका पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडाउन अनुमति नदिएपछि समस्या भएको थियो ।

पूर्वक्याप्टेन वाईके भट्टराईका अनुसार जहाज खरिद गर्नुअघि नै पाइलट, कोपाइलट लगायतको विषयमा विचार पुर्‍याउनुपर्छ । तर नेपाल वायुसेवा निगमले त्यसतर्फ ध्यान नदिँदा लामो समयसम्म जहाज थन्काउनुपर्ने समस्या आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्