महानगरभित्रको धमीरालाई चिनौ, सरूवाले घुस्याहाहरूमा छटपटी, भ्रष्टचारी र सुराशुन्दरीका नाइके को कहाँ पुगे



हाम्रो इकोनोमि

महानगरपालिकाको सुधारमा लागेका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाविरुद्ध भ्रष्ट समूह उत्रिएको छ । विगत १२ बर्षदेखि काठमाडौं महानगरपालिकाको स्रोत साधनको दोहन गर्दैआएको ज्ञानेन्द्रबहादुर कार्कीको समूह कोइरालाविरुद्ध मेयर विद्यासुन्दर शाक्यलाई उचालिरहेको स्रोतको दावी छ ।

प्रशासन विभागका प्रमुख कार्की र हरि कुँवरको समूह महानगरपालिकामा विगत १२ बर्षदेखि जो कार्यकारी अधिकृत आए पनि हालीमुहाली गर्दै लाभ लिंदैआएको छ ।

मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएपछि यो समूहबाट महानगरपालिका मुक्त हुने अपेक्षा बहुसंख्यक कर्मचारीले गरेका थिए । तर मेयर शाक्य आएपछि त कार्की र कुँवरको समूह महानगरपालिकामा झन् शक्तिशाली बन्दै गएपछि कर्मचारीहरू निराश भएका थिए ।

महानगरको मुहार फेर्न र परिवर्तनको अनुभूति दिलाउन पनि जरा गाडेर बसेको भ्रष्ट समूहको नेतृत्व गर्दैआएका कार्की र कुँवरलाई हटाउनैपर्ने थियो । तर एक बर्षको बीचमा मेयर शाक्यले यो समूहलाई हटाउनेभन्दा पनि त्यही समूहको गोटी बन्न थालेको महसुस कर्मचारीले गर्नुपरेको गुनासो प्राप्त भएको छ ।

मेयर शाक्य भ्रष्टहरूको चंगुलमा परेर केही काम गर्न नसकेपछि सरकारले प्रशासनिक क्षमता भएका सचिव यादवप्रसाद कोइरालालाई महानगरपालिकाको कमाण्ड सम्हाल्न डेढ महिनाअघि पठाएको थियो ।

कोइरालाले आएपछि महानगरमा सुशासनका बाधक ज्ञानेन्द्र कार्कीलाई दिएका अधिकार कटौती गरेका छन् । उनलाई प्रशासन विभागको प्रमुखबाट सरुवा गर्न मेयर शाक्यले नमानेका कारण सरुवा हुन नसकेको स्रँेत बताउछ ।

अधिकार कटौतीपछि बिदामा बसेका कार्कीले कोइरालालाई महानगरपालिकाबाट हटाउन साम दाम र दण्डभेदको नीति अंगिकार गरेर लागेको चर्चा महानगरमा सुरु भएको छ ।

सुन्धारा कुरुप बनाउने साइडवाकर्सले मनपरी ढंगले सेकुवा र मम पसल संचालन गरी मासिक दसौं लाख रुपैयाँ भाडा लिने तर महानगरपालिकालाई बुझाउनुपर्ने राजस्व नतिरेको देखेपछि कोइरालाले डोजर चलाएर हटाएका छन् ।

सुन्धाराको कुरुपता हटाएपछि सिद्ध कार्कीलाई उचालेर ज्ञानेन्द्र कार्कीले कोइरालाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न उकासेका छन् ।

मेयर शाक्यलाई उचालेर धुलिखेलको एक रिसोर्टमा गतहप्ता गुप्त बैठक बसी यादव कोइरालालाई महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा राख्नै नहुने र उनलाई फर्काउन मेयर शाक्यले प्रधानमन्त्रीसंग पहल गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

धुलिखेल भेलामा सचिवको भन्दा मर्यादाक्रम महानगरपालिकाका मेयरको माथि हुनुपर्नेबारेमा प्रधानमन्त्रीसंग कुरा गर्ने शाक्यले जानकारी गराएका थिए ।

भेलामा महानगरका कुनै पनि कर्मचारीलाई सहभागी हुन दिइएको थिएन । वडाध्यक्ष र मेयरमात्र थिए । २०७५ असार ५ देखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा मेयर शाक्य पनि जाने भएकाले यादव कोइरालालाई महानगरमा नराख्नका लागि अनुरोध गर्नेबारेमा उनले प्रष्ट पारेको स्रँेतको दावी छ ।

ज्ञानेन्द्र कार्कीकै सल्लाहमा मेयर शाक्यले धुलिखेल भेला गरेको आरोप छ । सुन्धारामा साइडवाकर्सबाट मासिक ३ लाख घुस लिने गरेको आरोप खेप्दै आएका कार्कीले भोटाहिटी सब वे का पसल कबलहरूका ठेकेदारबाट पनि मासिक १ लाख भन्दा बढी घुस लिने गरेको आरोप छ ।

भोटाहिटी सब वे (अन्डरग्राउन्ड) का भित्तामा समेत ठेकेदारलाई पसल राखी भाडा असुली गर्न दिएर ज्ञानेन्द्र कार्कीहरूले ब्यक्तिगत लाभ लिने गरेको महानगर स्रोत बताउछ ।

न्यूनतम ५० हजार रुपैयाँ भाडा भोटाहिटी चोकमा लाग्ने गर्दछ तर काठमाडौं महानगरपालिकाले भने मासिक ४ सय रुपैयाँ मात्र भाडा भोटाहिटी सब वेका पसलहरूबाट पाउने गरेको छ ।

ठेकेदार राजु श्रेष्ठले पैदल यात्रुलाई हिंड्नै असहज हुनेगरी बाटोको भित्तामा समेत पसल राख्न दिएर मासिक प्रतिब्यापारी ५० हजार रुपैयाँसम्म असुल्दै आएका छन् ।

तर महानगरपालिकालाई भने उनले बार्षिक १ लाख ४४ हजार रुपैयाँ मात्र बुझाउने गरेको स्रँेत बताउछ । सम्झौताअनुसार १० देखि १५ बर्षसम्म बृद्धि हुने ८ प्रतिशत भाडा जोड्दा पनि प्रतिपसल ४ सयका दरले राजु श्रेष्ठले महानगरपालिकालाई भाडाबापत बुझाउने गरेका छन् ।

भोटाहिटी सब वेमा सटर र भित्तामा राख्नेसमेत २८ जना ब्यापारी छन् । सब वेको पारीपट्टि सम्झौता भन्दा बाहिर गएर राजु श्रेष्ठले ३ वटा सटर बनाएका छन् भने वारीपट्टि २ वटा छन् ।

जम्मा ३३ वटा सटर र ब्यापारीबाट ठेकेदार राजु श्रेष्ठले मासिक २५ हजारका दरले ८ लाख २५ हजार हुन आउँछ । त्यसको भाडा बार्षिक ९९ लाख हुन आउँछ ।

ठेकेदार राजु श्रेष्ठले बार्षिक १ लाख ४४ हजार रुपैयाँ महानगरपालिकालाई बुझाएर सब वेबाट ९७ लाख ५६ हजार रुपैयाँ कमाइ गर्दैआएको ब्यापारीहरू बताउछन् ।

सब वेको रेखदेख र ब्यवस्थापन गर्ने महानगरपालिकाले नै यस्तो ब्रम्हलुट गर्न छुट दिइरहेको छ । महानगरपालिकालाई बार्षिक १ करोड भन्दा बढी भोटाहिटी सबवेबाट हुने आम्दानी गुमिरहेको छ ।

तर, ज्ञानेन्द्र कार्कीले सम्झौता भंग गरिदिने धम्की दिएर ठेकेदार राजु श्रेष्ठबाट ब्यक्तिगत लाभ लिने गरेको ब्यापारी स्रँेत बताउछ । २०५९ असार ३१ मा भोटाहिटी सब वे २५ बर्षका लागि ठेक्का दिइएको छ ।

भोटाहिटी सब वे को १५ बर्ष अघिको सम्झौता तोडेर नयाँ ढंगले टेण्डर गर्नुपर्नेमा सिंत्तैमा ठेकेदार पोसिरहेका छन् ।
ज्ञानेन्द्र कार्की र उनको समूहले महानगरका स्रोत साधनमाथि गरेको अत्यधिक दोहन र खरिददेखि कर्मचारी सरुवा बढुवामा गरेको मनपरी रोक्न कोइराला लागिरहेका बेला उनले महानगरपालिकामा सधैं आकर्षक विभागको प्रमुख भएर मस्ती गरेका अर्बपति अर्का डन हरि कुँवरलाई वातावरण विभागबाट सरुवा गर्ने तयारी गरेका थिए ।

तर कुँवरले भ्रष्टाचार गरेको रकम खर्चेर नेकपाका नेताहरूलाई प्रभावमा पारी कोइरालामाथि दबाब दिइरहेका छन् । महानगरपालिकाको वातावरण विभाग भन्सारका रुपमा चिनिन्छ ।

वातावरण विभागमा ५० करोड बजेट छ । जुन बजेट खाल्डा खन्दै पुर्दै, वागमती सफाइ अभियानमा २ रुपैयाँमा पाइने मास्कलाई १० रुपैयाँमा किनेर सकिने गर्दछ । वातावरण विभागको बजेटको २५ प्रतिशत पनि सदुपयोग नगरी ७५ प्रतिशत भ्रष्टाचार हुने गरेको छ । हरि कुँवर र ज्ञानेन्द्र कार्की कांग्रेसका चिनिएका कर्मचारी हुन् ।

तर एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यका उनीहरू सबैभन्दा नजिकका हुन् । यसैबीच, जागिर खाएदेखि नै काठमाडौं महानगरपालिकाको नक्सा शाखामा बसी ब्रम्हलुट गर्दैआएका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सरुवा गरेका छन् ।

नक्सा शाखामा बसेर सेवाग्राहीसंग घुसको मोलमोलाई गर्ने पाँचौं तहका काशी कोइराला र सरु सोतीलाई सरुवा गरेका छन् ।

कोइराला निर्माण र सोती आलेपमा सरुवा भएका छन् । पहिलाका नक्सा विभागका प्रमुख रामबहादुर थापा र अहिलेका रवि पौडेलले कोइराला र सोतीले घुसमा डिल गरेर ‘ओके’ भनेपछि मात्र सदर गर्ने गरेका थिए ।

विगत १२ बर्षदेखि महानगरपालिकाको साधन स्रोतमा कब्जा जमाउँदैआएका ज्ञानेन्द्रबहादुर कार्कीले नै नक्सामा कोइराला र सोतीलाई जागिर खाएदेखि नै राखेका हुन् ।

नक्सामा असुलेको घुसको हिस्सा कोइराला र सोतीले कार्कीलाई पनि दिने गरेको कर्मचारीहरू नै चर्चँ गर्दछन् । वडा वडामा लेखापालदेखि कर्मचारी खटाउने र घुस लिने कार्कीको समूहले नक्सामा राखेका पदम तामाङ पनि आलेपमा सरुवा भएका छन् । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...