यो घरमा सुन तस्करलाई यसरी दिइन्थ्यो तस्करी तालिम,३८ सय केजी सुन यहि घरबाट भारतमा पुर्याइयो



हाम्रो इकोनोमि

न्यूप्लाजा मोडबाट कालिकास्थानतर्फ मोडिने मार्गको दाहिनेतिर डाँडामा यो घर पर्छ। आधुनिक घरका गतिविधि दुवै तर्फका छिमेकी र सडकबाट देख्न सकिँदैन।
घरको संरचना नै सोही अनुसार निर्माण भएको छ।

काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित याे घरका धनी धरान उपमहानगरपालिका-३ का स्थायी बासिन्दा शिबकुमार अग्रवालका छोरा एमके मामा उपनाम भएका मोहनकुमार अग्रवाल हुन्। एमके ३ हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सर्वाधिक खाेजी भइरहेका व्यक्ति हुन्।

२० चैत्र २०७४ सम्म यो घर काठमाडौंका अन्य सामान्य घर सरह नै थियो। तर शुक्रबार (२५ जेठ ०७५) ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितिले करिब ७ घण्टा भन्दा बढी समय गरेको खानतलासीबाट देखियो, यो घर सुन तस्करीकाे तालिम केन्द्र रहेछ।

‘हामीलाई यो घर सुन तस्करीबारे सिकाउने ‘विश्वविद्यालय’ जस्तै लाग्यो, भेटिएका सामाग्रीले त्यहाँ सुन तस्करीबारे सिकाउने कक्षा नै सञ्चालन हुने गरेको देखिन्छ’, समितिका संयोजक इश्वरराज पौडेलले भने, ‘सुन तस्करीको गिरोहमा भर्ना हुने नयाँ सदस्यलाई सोही घरमा तामिल दिने गरिएकाे तथ्य भेटिएका छन्।’

समितिले एमकेको घरबाट तीन थान सुन बोक्न प्रयोग हुने ज्याकेट बरामद गरेको छ। ज्याकेट काठमाडौं महानगरपालिका-७ खरिबोटस्थित एक टेलर्समा बनेको थियो। कम्मरमा वरिपरिबाट बाँध्ने र १० वटा खल्ती भएका ती जिन्सका ज्याकेट पूर्पक्षका लागि थुनामा रहेका टेकराज मल्लले अर्डर गरेर नेपालीले बनाएका थिए।

२० किलोसम्म सुनका बिस्कुट राख्न सकिने ती ज्याकेट लगाएर सामान्य अवस्थामा विमानस्थल बाहिरिने तालिम एमकेको घरमा दिने गरिएको समितिको निष्कर्ष छ। सुन तस्करीका संगठित सदस्यहरुको जिम्मेवारी, अधिकार र दायित्वका विषयमा समेत एमकेकै घरमा नियमित कक्षा (छलफल) हुने गरेको थियो।

सुन ओसारपसारमा उच्च प्रविधि प्रयोग
समितिका संयोजक पौडेलको नेतृत्वमा शुक्रबार १२ बजे छापा मार्न पुगेको टोलीले घरका सबै कोठाहरुमा खानतलासी सक्दा साँझको साढे सात बजेको थियो। घरका सबै कोठा बन्द भएकाले ताला तोड्ने प्राविधिक नै हैरान भए।

घरका कोठाहरुमा समितिले बिद्युतीय सामाग्री बरामद गरेको छ। विदेशबाट आयात गरिएका एबं महँगा ती सामाग्री एमकेको समुहले सुन ओसापसारका लागि प्रयोगगर्ने गरेको हुनसक्ने समितिको अनुमान छ।

‘घरमा महंगा र अत्याधुनिक बिद्युतिय सामाग्री बरामद भएका छन्’ पौडेलले भने, ‘ती सामाग्री सुन ओसारपसारका लागि प्रयोग भएका हुनसक्छन्।’

गायब सुन एमकेकै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएर एकाएक गायब साढे ३३ किलो सुन एमकेका लागि तस्करी भएर आएको पुष्टि भइसकेको छ।

समितिले पक्राउ गरी अदालतमा बुझाउनु अघि एकदर्जन बढी प्रतिवादीले बयानमा एमकेको नाम लिएपनि त्यो सुन कसको हो भन्ने बारेमा समिति विश्वस्त हुन सकेको थिएन।

तर शुक्रबारको छापामारीपछि गायब सुनका लागि एमकेले १६ करोड रुपैयाँ लगानी गरेको तथ्य समितिले भेटेको छ।

‘सुन तस्करीका मुख्य लगानीकर्ता र कारोबारी रहेका एमकेले १६ करोड लगानी गरेका थिए’ समितिका एक बरिष्ठ अनुसन्धान अधिकारीले भने, ‘उनले नेपालको अवैध सुन बजारको आधाभन्दा बढी हिस्सा ओगटेका थिए।’

गोरेले जोगाउन खोजेका एमके
समितिले एमकेको घरमा छापा मार्नुअघि पुर्पक्षका लागि थुनामा रहेका चुडामणि उप्रेति (गोरे) का विभिन्न अड्डाबाट बरामद गरेका रजिष्ट्ररले सबैभन्दा बढी सुन एमकेका लागि भित्रिएको पुष्टि देखाएको थियो।

समितिका अनुसार १९ महिनामा भित्रिएको ३ हजार ८ सय किलो सुनमध्ये २ हजार १ सय ५४ किलो सुन एमकेका लागि दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको थियो।

‘नेपाली बजारमा तस्करीको अबैध सुन बेचबिखनगर्ने मुख्य व्यक्ति नै एमके हुन्’ पौडेलले भने, ‘एमकेले पूर्वी नेपाल र भारतसम्म तस्करीको सुन पुर्‍याउने गरेका थिए।’

तीन दशक पुराना तस्कर
प्रतिवादीहरुले समितिमा दिएको श्रब्यदृश्य बयानमा सबैभन्दा बढी नाम लिएका व्यक्तिमध्ये एक हुन्, एमके। उनको तस्करीका बिषयमा होटल मनाङका सञ्चालक तथा राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङले बयानमा एमके र आफूले २०४० देखि सुन कारोबार गरेको बताएका छन्। मुख्य भरियाहरु टेकराज मल्ल र मोहन काफ्लेले पनि एमकेकै नाम लिएका छन्। मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) ले चाहिँ अदालतमा दिएको बयानमा गायब भएको सुन आफुले नचिन्ने भारतीय नागरिकले मगाएको बताएका छन्।

गोरेले एमकेले सुन तस्करीमा लगानी नगरेको बयान अदालतमा दिएका थिए। तर शुक्रबार समितिले एमकेको घरमा छापा मारेर बरामद गरेका सबुतले गोरेले अदालतमा एमकेको बचाउ गर्न खोजेको पुष्टि भएको छ।

यी हुन् एमके
आफूलाई धरानिया मारवाडी (राजस्थानी नभई धरानको) मारवाडी बताउने मोहनकुमार अग्रवालको जन्म पूर्वी पहाडी जिल्लामा भएको हो। एमकेका आमाबुबा सानैमा बितेका थिए। धरानका एकजना मारवाडीले धर्मछोरा बनाएका एमकेको निश्चित कुनै व्यापार छैन।

उनको घरबाट एउटा ट्रेडिङ कम्पनीको छाप भेटिएको छ। यस बाहेक एमकेको अन्य व्यापार भन्दा सुन तस्करीका लागि प्रयोग भएका सामाग्री नै बढी भेटिएका छन्।

‘एउटा ट्रेडिङ कम्पनीको छाप भेटेका छौं, मुख्य पेशा नै सुन तस्करी हो’ संयोजक पौडेलले भने, ‘एमकेका ३ दाजुभाईमध्ये घनश्याम अग्रवालको महाभुकम्पमा पर्खालले किचिएर मृत्यु भएको रहेछ, अर्का भाई एमकेको सम्पर्कमा पनि छैनन्।’

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...