प्रहरी र कर्मचारी मात्र होइन, न्यायाधीशसँग समेत ‘सेटिङ’ मिलाउँथे गोरे, २०४५ सालदेखि सुन तस्करीमा



नेपालमा २०४५ सालदेखि हुने सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा विचाराधीन अवस्था छ । सुन तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती (गोरे) सहित बहालावाला वरिष्ठ प्रहरी अधिकारी गरी ३१ जना अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

मोरङ जिल्ला अदालतमा गत वैशाख १९ गते ६३ जनाविरुद्ध दर्ता गरिएको मुद्दासँग सम्बन्धित अन्य व्यक्ति पक्राउ पर्ने क्रम अझै पनि जारी छ । सुन तस्करी प्रकरणमै मंगलवार (जेठ २२ गते) मात्रै राम तिवारी पक्राउ परेका छन् ।

दक्षिण कोरियाबाट ‘उपचार’ गरेर फर्किंदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका तिवारी सुन तस्करीका मुख्य नाइके गोरेका विशेष सहयोगी हुन् । कपडा पसलको सञ्चालनदेखि क्रसर व्यवसायी हुँदै जग्गा दलाल बनेका तिवारी पछिल्लो ४ वर्षदेखि गोरेले गर्ने सुन तस्करीका मूख्य साझेदार हुन् ।

तिवारीको प्रहरी, प्रशासन र अदालतसम्म ‘विशेष पहुँच’ रहेको विषय फेला परेको छ । सुनकाण्डबारे अनुसन्धान गरिरहेको गृह मन्त्रालयको समितिले तिवारी र केही अधिवक्ताबीच शंकास्पद सम्बन्ध रहेको फेला पारेको छ ।

‘तिवारीले बयानका क्रममा गोरेका लागि आफूले केही न्यायाधीशसँग समेत कुरा गरेको बताएका छन्,’ गृह मन्त्रालयको छानबिन समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘उनले भनेका सबै कुरा पत्याउने खालका त छैनन्, यद्यपि उनको बयानका आधारमा थप अनुसन्धान अगाडि बढाएका छौं ।’

तिवारीको बयानअनुसार सुन तस्कर गोरेले न्यायाधीशहरूसँग समेत ‘सेटिङ’ मिलाएर आफू र आफ्ना मान्छेसँग सम्बन्धित मुद्दालाई प्रभावित गर्ने गरेका थिए ।

‘गोरेले सेटिङ मिलाएर नै सुन तस्करीमा संलग्न रहेर पक्राउ परेका धेरैजना अदालतबाट धरौटी र साधारण तारेखमा छुटेका छन्,’ तिवारीले दिएको बयानलाई उद्धृत गर्दै छानबिन समितिका सदस्य भन्छन्, ‘केही न्यायाधीशलाई वकिलमार्फत सम्पर्क गरिन्थ्यो । केहीलाई भने सिधै पनि सम्पर्क गरिन्थ्यो ।’

सरकारी कागजात किर्ते गर्थे तिवारी

गोरेको मुख्य सहयोगी राम तिवारीविरुद्ध यसअघि सरकारी कागजात किर्ते गरेको मुद्दा पनि चलेको थियो । गृह मन्त्रालयको छानबिन समितिका अनुसार नुवाकोट जिल्ला अदालतमा तिवारीविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा मुद्दा चलेको थियो ।

तिवारीले विभिन्न सरकारी निकायको लेटरप्याड, छाप र सरकारी अधिकारीको हस्ताक्षर समेत किर्ते गर्ने गरेको फेला परेको छानबिन समितिले जनाएको छ । खास गरेर घर–जग्गा व्यवसायका क्रममा तिवारीले सरकारी कागजात किर्ते गर्ने गर्दथे ।

सरकारी कागजात किर्ते गर्ने क्रममा तिवारीको केही प्रभावशाली वकिलहरूसँग सम्पर्क बढेको गृहको छानबिन समितिले अनुसन्धानबाट पत्ता लगाएको छ । जसका आधारमा उनले केही मुद्दालाई प्रभावित पार्नेसम्मको हैसियत बनाए ।

खास गरेर केही जिल्ला न्यायाधीश र केही अवकाशप्राप्त न्यायाधीशका आफन्तहरूसँग तिवारीको विशेष सम्बन्ध रहेको छानबिन समितिले फेला पारेको छ । तर सम्बन्ध रहेकै आधारमा उनले मुद्दालाई प्रभावित पारे–नपारेको विषयमा भने अहिले नै भन्न नसकिने समितिका सदस्य बताउँछन् ।

‘तिवारीले केही न्यायाधीश र वकिलसँग सम्बन्ध रहेको भन्दै नाम पनि लिएका छन्,’ छानबिन समितिका सदस्य भन्छन्, ‘तर उनले भनेकै आधारमा यकिन गर्ने भन्ने कुरा हुँदैन । हामीले केही तथ्य फेला पा¥यौं भने त्यसमाथि पनि थप कारबाही प्रक्रिया अगाडि बढ्छ ।’

जग्गा कारोबार हुँदै अदालतका बिचौलिया

काभ्रेको नमोबुद्ध गाउँपालिकाका स्थायी बासिन्दा रहेका राम तिवारीको उमेरले ४० पार गरिसकेका छन् । कुनै पनि प्रकारको औपचारिक शिक्षा हासिल नगरेका तिवारीले शुरुमा काभ्रेमै कपडा पसल चलाउँथे । पछि गुण्डा नाइके गणेश लामासँग मिलेर काभ्रे र सिन्धुपाल्चोकका केही ठाउँमा क्रसर उद्योग चलाए ।

क्रसर उद्योग चलाउँदा प्रहरी अधिकारी, उच्च सरकारी कर्मचारीदेखि न्याय क्षेत्रका विशिष्ट व्यक्तिको घर निर्माण गर्दा सित्तैमा बालुवादेखि गिट्टीसम्म ढुवानी गरिदिने तिवारीले त्यसमार्फत नै जग्गा दलाली गर्ने सञ्जाल विस्तार गरे ।

त्यसपछि उनी काठमाडौं आइपुगे र जग्गा प्लटिङ व्यवसायमा लागे । जग्गा प्लटिङ गर्दा उनले धेरै वकिल र न्यायाधीशका लागि जग्गा मिलाइदिएको तिवारीले गृह मन्त्रालयको समितिलाई दिएको बयानमा उल्लेख गरेका छन् ।

जग्गा दलाली गर्दा केही वकिल र न्यायाधीशसँग सम्बन्ध विस्तार गरेपछि तिवारीले अन्य व्यवसायीसँग मुद्दा मिलाइदिने भनेर पैसा समेत उठाउने गरेको तथ्य छानबिन समितिले फेला पारेको छ ।

शुरु–शुरुमा तिवारीले गोरेबाट पनि मुद्दा मिलाइदिन्छु भन्दै पैसा लिने गरेका थिए । पछिल्लो २ वर्षयता भने तिवारी गोरेले गर्ने सुन तस्करीका ‘विजनेश पार्टनर’कै रूपमा सक्रिय रहेको अनुसन्धान समितिका सदस्य बताउँछन् । लोकान्तरबाट

प्रशान्त ओझा

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्