तस्करी गरेर ल्याएको ३३ किलो सुन प्रहरीले नै लुटेको पोल खुल्यो,रमेश खरेल लगायतको संलग्नता



गत आइतवार (जेठ २० गते) ललितपुरको पाटनढोकामा रहेको एक चर्चित क्याफेमा नेपाल प्रहरीका तीनजना पूर्व उच्च अधिकारी र केही ‘सञ्चारकर्मी’को भेला भयो ।

सीमित सञ्चारकर्मीलाई मात्र छिर्न दिइएको उक्त भेलामा प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी तथा पूर्व डीआईजी हेमन्त मल्ल र रमेश मल्ललाई सुनकाण्डको अनुसन्धान नै त्रुटिपूर्ण भएको ‘बोल्न लगाइयो’ ।

प्रहरीका पूर्व अधिकारीहरूले सुनकाण्डमा मुछिएर हाल मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका प्रहरी अधिकारीको पक्षमा सकेजति बोले ।

महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन प्रमुख निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, अपराध महाशाखाकै तत्कालीन अनुसन्धान अधिकृत निलम्बित डिएसपी प्रजित केसी र निलम्बित असई बालकृष्ण सञ्जेलको पक्षमा जस्तो देखिने भेलाको भित्री उद्देश्य भने अर्कै रहेको तथ्य खुल्न थालेको छ ।

इनकाउन्टरबाट बचेका थिए गोरे

हराएको भनिएको तस्करीको साढे ३३ किलो सुनको खोजीका लागि भन्दै चूडामणि उप्रेती (गोरे)को समूहले दिएको यातनाबाट फागुन १८ गते सनम शाक्यको मृत्यु हुन्छ । त्यसपछि उपराध महाशाखाबाट गोरेलाई सहयोग गर्ने र सनमको शव व्यवस्थापनका लागि भन्दै डिएसपी प्रजित केसीको नेतृत्वको काठमाडौंबाट टोली जान्छ ।

तर जब केसीको टोली सुनसरीको धरान पुग्छ, घटनालाई अर्कैतर्फ मोड्ने प्रयास हुन्छ । केसीको टोलीले गोरेसहित उनको समूहका सदस्यलाई ‘फेक इन्काउन्टर’ गरेर मार्ने योजना बनाउँछ ।

डीएसपी केसी र अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी लोहनीबीच पटक–पटक फोनमा कुरा हुन्छ, इन्काउन्टरलाई अन्तिम रूप दिन ।

सनमको मृत्यु भइसकेपछि भारत भागेका गोरेलाई नेपाल बोलाएर धरान र इटहारीको बीचमा पर्ने चारकोसे झाडीको जंगलमा लगेर इन्काउन्टर गर्ने योजना बनिसकेको थियो । तर गोरेले प्रहरीको चाल थाहा पाइसकेपछि योजना सफल हुन सकेन ।

अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी लोहनी र डिएसपी केसीबीच भएको टेलिफोन संवाद सार्वजनिक भएपछि गोरे र उनको समूहलाई इन्काउन्टरमा मार्ने योजना पनि बाहिर आएको हो ।

डीएसपी केसीले लोहनीसँगको फोन संवाद आफ्नै मोबाइलमा रेकर्ड गरेर राखेका थिए । पछि मोरङ जिल्ला अदालतसमक्ष उक्त रेकर्ड बुझाएका थिए । सोही फोनकलको रेकर्ड अहिले सार्वजनिक भएको छ ।

सार्वजनिक भएको लोहनी र केसीको फोन वार्तामा मुख्य केटो (गोरे) र उनका साथीलाई कुन जंगलमा लगेर इन्काउन्टर गर्ने भन्ने विषयमा भएको कुराकानी सुन्न सकिन्छ ।

फोन संवाद सुन्दा गोरे र उनको समूहका सदस्यको इन्काउन्टर गर्न नै केसीको टोली मोरङ पुगेको अनुमान लगाउन सकिन्छ ।
साढे ३३ किलो सुन लोहनीको सम्पर्कमा ?

डीएसपी केसीले एसएपी लोहनीसँग भएको फोन संवादको अडियो अदालतमा मात्रै बुझाएका थिए । सुनकाण्डको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको टोलीका सदस्यलाई समेत उनीहरूले गोरेको इन्काउन्टर गर्न खोजेको विषयबारे पत्तो थिएन ।

तर अब फोन कलको अडियो नै सार्वजनिक भइसकेपछि सुन काण्डको अनुसन्धानमा नयाँ ट्वीस्ट आएको छ ।

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपत्ता भएको भनिएको साढे ३३ किलो सुन एसएसपी लोहनी र उनको समूहको सम्पर्कमा रहेको हुनसक्नेतर्फ सुन समितिले अनुसन्धान अगाडि बढाएको छ ।

‘अपराध महाशाखाको तत्कालीन नेतृत्वले शुरुमा गोरेलाई बचाउन ५ करोडको बार्गेनिङ गर्छ । तर अन्तिममा २ करोडमा कुरा मिल्छ । यसको अर्थ केही नयाँ प्लान बनाएर मात्रै बार्गेनिङको रकम कम हुँदा पनि सहमति जनाएको बुझ्न सकिन्छ,’ गृहमन्त्रालयको अनुसन्धान समितिका एक सदस्य नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘पछि सञ्जेलले गोरेसँग फोनमा कुरा गर्दा पैसाको कुरा मिलिसक्यो, जसरी पनि नेपाल आऊ भन्छन् । यो भनेको गोरे र उनका समूहलाई इन्काउन्टरमा मार्ने योजना थियो ।’

नेपालमा हुने सुन तस्करीको व्यवस्थापन गर्नेसम्मको जिम्मेवारी पाएका गोरेको इन्काउन्टरमा एसएसपी लोहनी र उनको टोलीका २ वटा मात्रै स्वार्थ जोडिएको हुनसक्ने अनुसन्धान समितिका ती सदस्य बताउँछन् ।

‘गोरे पक्राउ परे सुन तस्करीमा संलग्न उच्च प्रहरी अधिकारीको पोल खोलिदिन सक्छन् भन्ने डर अपराध महाशाखाको नेतृत्वलाई भएको देखिन्छ,’ अनुसन्धान समितिका सदस्य भन्छन्, ‘अर्को भनेको हराएको ३३ किलो सुन पचाउन गोरे र उनको समूहलाई मार्ने ठूलै योजना हुनसक्छ ।’

२० किलो सुन बरामद भएको हल्ला

साढे ३३ किलो सुन भित्रिएर हराएको करीब १० दिनपछि (माघ १९ गतेतिर) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले २० किलो सुन बरामद गरेको हल्ला चल्यो ।

चूडामणि उप्रेतीको समूहले हराएको साढे ३३ किलो सुन खोजिरहेका समयमा २० किलो सुन बरामद गरेको हल्ला चल्नु हराएको सुनतर्फको ध्यानलाई अन्तै मोड्न गरिएको प्रयास भएको बुझ्न सकिने अनुसन्धान समितिका सदस्य बताउँछन् ।

‘प्रहरीले सुन बरामद गरिसक्यो भनेर हल्ला चलाउँदा हराएको सुनबाट अन्तै ध्यान मोड्न सजिलो हुनेभयो,’ समितिका सदस्य भन्छन् ।

तर २० किलो सुन बरामद भएको हल्ला एक दिन पनि नटिकेको सनम शाक्यको शवसँगै पक्राउ परेका टेकराज मल्ल ठकुरीसहितका प्रतिवादीले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

अनुसन्धान समितिका सदस्य भने तत्कालीन अवस्थामा अपराध महाशाखा स्रोतबाटै २० किलो सुन बरामद भएको हल्ला चलाइएको हुनसक्ने बताउँछन् ।यद्यपि यसबारेमा अनुसन्धान भइरहेकाले थप तथ्य फेला परेपछि मात्रै यकिन साथ भन्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्