नापीका कर्मचारीको बहादुरी : एक महिनामा साठी लाख घुस असुली
नापी कार्यालय कलंकीका प्रमुख दीपक सापकोटाले कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतको फैसला विपरीत कृषियोग्य जग्गा कित्ताकाट गरी बैशाख महिनामा मात्र ६० लाख रुपैयाँ घुस लिएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।
भूमिब्यवस्था मन्त्रालयका सचिव गोपी मैनाली र अख्तियारमा उनले सरकारको निर्णय विपरीत जग्गा कित्ताकाट गरी उक्त रकम घुस लिएको सूचना पुगेको थाहा भएको छ । कलंकी नापी कार्यालयका प्रमुख सापकोटाले ६० लाख रुपैयाँ लिए भने अरु कर्मचारीहरुले पनि दामासाहीले लिंदा मासिक घुसको कारोबार १ करोड रुपैयाँ भन्दा बढी भइरहेको पुष्टि भएको छ ।
नापी कार्यालय कलंकीमा ५ नापी अधिकृत र ९ वटा फाँटमा ९ सर्भेक्षक कार्यरत छन् । त्यसैगरी अमिन र कार्यालय सहयोगीलाई ४० प्रतिशत घुसको हिस्सा भाग लगाउँदा पनि ६० लाख प्रमुखले लिंदा ४० लाख मातहतका अधिकृत र सर्भेक्षकहरुलाई भाग लगाउ“दा पनि १ करोड घुस कित्ताकाटबाट मात्रै कर्मचारीले लिएको कुरा पुष्टि हुन आउ“छ ।
कृषि, भूमि ब्यवस्था मन्त्रालयले ६ महिनादेखिको कित्ताकाटको विवरण काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयमा मागेको छ । मन्त्रालयले विवरण माग्दा पनि सरकारको निर्णय विपरीत कित्ताकाट गरी घुस खाने क्रम रोकिन नसकेको पीडितहरुको गुनासो छ ।
कृषियोग्य जग्गाको एकीन नभएको भन्दै आनाको ५० हजार मालपोत र ५० हजार नापी कार्यालयले घुस लिएर धमाधम कित्ताकाट भइरहेको छ ।
भूमिब्यवस्था मन्त्रालय र अदालतको फैसलाविपरीत उपत्यकाका कलंकीमात्र होइन, चावहिल, भक्तपुर, ललितपुर, साँखु, मनमैंजुका नापी र मालपोत कार्यालयमा कित्ताकाटमा दैनिक लाखौं लाख घुसको कारोबार हुने गरेको नजगुनासो छ ।
आनाको ५० हजार मालपोत, ५० हजार नापी र ५० हजार लेखन्दासलाई बुझाउँदै काठमाडौंमा जग्गा कित्ताकाट हुँदै आएको छ । आनाको १ लाख ५० हजार घुस लिएपछि कित्ताकाट फटाफट हुन्छ, तर तोकिएको यो घुस नदिए सरकारको परिपत्र र अदालतको फैसला देखाएर मिल्दैन भन्ने जवाफ सेवाग्राहीले कर्मचारीबाट पाउने गरेका छन् ।
नापी कार्यालय साँखुका प्रमुख भागवत साह २ लाख ५० हजार रुपैयाँ घुससहित २०७५ बैशाख १९ मा कार्यकक्षबाटै पक्राउ परे । उनले नयाँ पाटीको ३६ रोपनी कृषियोग्य जग्गा कित्ताकाट गर्नका लागि २० लाख घुसमा डिल गरेका थिए ।
सेवाग्राही सुजन पौडेलले उनलाई १७ लाख ५० हजार रुपैया“ घुस दिइसके पनि २ लाख ५० हजारका लागि धेरै नै कचकच गरेपछि उनले अख्तियारमा उजुरी दिएर पक्राउ गराएका थिए । सा“खुको यो काण्ड प्रतिनिधिमूलक उदाहरण हो, काठमाडौं उपत्यकाका सबै नापी र मालपोत कार्यालयमा भागवत साहकै जस्तो गरी कित्ताकाटमा घुस असुली भइरहेको गुनासो पीडितहरुको रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरोकारवाला निकायले अनुगमन गरी ६ महिनाका फाइल अनुसन्धान गर्ने हो भने कति घुस कारोबार भयो छर्लङ्ग हुनेछ ।
यसरी नापी र मालपोत कार्यालयले कित्ताकाटमा घुस खाने गरेका छन् । जसको हिस्सा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टसम्म पुग्ने गरेको कर्मचारी स्रोत बताउछ । महानिर्देशक भट्टले नियम विपरीत कित्ताकाट गर्ने काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुहरुलाई संरक्षण गर्ने सर्तमा मासिक ५ लाखका दरले दस्तुरी बुझ्ने गरेको आरोप छ ।
चावहिल नापीका प्रमुख मणि रेग्मी, मनमैजुका धु्रव थापा, डिल्लीबजारका मग्नु दत्त, ललितपुरका सुरेश जोशीलाई पनि भट्टले दररेट तोकेका छन् । कलंकी नापी कार्यालयका प्रमुख दीपक सापकोटाले मासिक दररेटका अलावा महानिर्देशक भट्टका सबै आवश्यकता पूर्तिको जिम्मा लिएका छन् । भट्ट मोजमस्ती गर्ने स्वभावका भएकाले पनि उनका आवश्यकता सापकोटाले पूरा गर्दैआएका छन् ।
सापकोटाले धादिङको नापी प्रमुख हुँदा राजमार्ग क्षेत्रका सयौं रोपनी वनका जग्गा ब्यक्तिका नाममा गैरकानूनी नापी गरेको आरोप छ । जुन मुद्दा अख्तियारले विस्तृत छानबिन गरिरहेको स्रोत बताउछ । ( साँघु साप्ताहिकबाट)