दरबार हत्याकाण्डको यस्तो फेला पर्यो सनसनीपूर्ण ‘घटनाको यथार्थ विवरण’,यसकारण माधव नेपालले बहिस्कार गरे



नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड घटेको थियो राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।

यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि, नेपाल सो समितिमा बसेनन्। उनले राजिनामा दिएका थिए।

बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले तीन दिन समय दिइएकाे थियो। पछि फेरि ४ दिन थपिएको थियो।

समितिले सम्पूर्ण प्रतिवेदनलाई तीन भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो।

तर समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन्। नेपाल लाइभले सोही प्रतिवेदनको तेस्रो भाग अर्थात् प्रतिवेदनमा भनिएको ‘घटनाको यथार्थ विवरण’लाई जस्ताकाे त्यस्तै यहाँ प्रस्तुत गरेको छ।

भाग-३

घटनाको यथार्थ विवरण

नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रबार राति घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरू लगायतका व्यक्तिहरूसंग सोधपुछ गर्ने कार्य गरियो। यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरूबाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवं सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानबिनबाट निम्न बमोजिमको तथ्य खुल्न आएको छः–

१. नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राती नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो। नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनिएको), श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवीशाह (यस पछि श्री ५ बडामहारानी भनिएको), श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह (यस पछि श्री ५ मुमा बडामहारानी भनिएको), श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (यस पछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहका अतिरिक्त राजपरिबारका अन्य सदस्यहरू एवं शाही–नातेदारहरू गरी २४ जनालाई राती ७:३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी ३ जना वाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ। आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ।

२. उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राती ७:३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र वोहरा समेतको भनाइबाट पुष्टि भएको छ। त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ। राती ८ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राज हुने बंगला महेन्द्र–मञ्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसूफको मोटर आफैले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो।

श्री ५ मुमा बडामहारानी विलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राजभइबक्स्यो। राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्तमा राति करिब ८:३० बजे श्री ५ महाराजाधिराज मौसूफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि विलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो।

३. श्री ५ युवराजाधिराजले ७:३० बजे त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलिबक्सेको र त्यस क्रममा १/२ पेग निट (पानी नराखी) Famous Grouse ह्विस्की समेत पिइबक्सेको तथ्य मौसूफका एडिसी गजेन्द्र वोहरा र शाही नातेदार महेश्वर सिंह तथा रवि शम्शेर ज.ब.रा. समेतको भनाइबाट देखियो। श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिब १०–१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखि ह्विस्कीको असरले हो कि? भन्ने सम्झी श्री ५ अधिराजकुमार निराजन, श्री ५ शाहज्यादा पारस, कुमार गोरख र डा राजीव समेत ४ जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएका प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ।

४ श्री ५ युवराजाधिराज विलियार्ड कोठामा रहँदाकै अवस्थामा राती ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र वोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भए बमोजिम गजेन्द्र वोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाजाँ र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारस मार्फत् जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो। गाँजा लगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिब १ बर्षदेखि आफूले त्यस्तो चुरोट बनाई दिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए। श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र वोहरा र राजु कार्की समेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समिति समक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ।

५. छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकोले नेपाल दूरसंचार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राती ८:१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्यास उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेण्ड (१:१४) देवयानी राणासँग कुरा भएको र दोश्रो पटक देवयानी राणाले राती ८:१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसूफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकेण्ड (४:१४) कुरा भएको अभिलेखबाट देखियो। पुनः राति ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोवाइल नं. ९८१०२४३३९ मा :३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ।

काडमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरु गजेन्द्र वोहरा र राजु कार्की तथा श्री ५ युवराजधिराजको मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ। श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समिति समक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो। देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत डा. भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेप रिकर्ड अनुसार) पनि श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच घनिष्टता रहेको तथ्य पुष्टि भएको छ।

६. देवयानी राणाले श्री ५ युवराजाधिराजसँगको कुरा आफ्नो व्यक्तिगत विषय भएकोले त्यसबारे बताउन नचाहको र राती ८:२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लड्बराई रहेको जस्तो लागेकोले सरकारसँग अरु कुरा हुन नसकेको कारणले ‘श्री ५ युवराजाधिराजको स्वर अलि लड्बराइ राखेको छ अलि सञ्चो छैन कि? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र वोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ’ भनी उल्लेख गरेको पाइयो।

७. देवयानी राणाले श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र वोहरालाई फोन गरेपछि र राजु कार्कीले गजेन्द्र वोहरालाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्र वोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दा श्री ५ युवराजाधिराज भुइँमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजी बक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालीसकेपछि श्री ५ युवराजाधिराज वाथरूम सवारी होइबक्सेको, वाथरुमभित्र वाक वाक गरिबक्सेको आवाज जमुना अधिकारी समेतले सुनेको र वाथरुमबाट निस्किवक्सेपछि श्री ५ युवराजाधिराजले ती दुवैजनालाई सुत्न आ–आफ्नो कोठातिर जानू भनी हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ।

८. राती ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल फोन नं. ९८१०२१५१३ बाट देवयानी राणालाई ८१०२४३३९ नं. को मोबाइलमा ३२ सेकेण्ड कुरा गरिवक्सेको दूरसंचारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट ‘अब म सुत्न लागें, ‘गुड नाइट, भोलि कुरा गरौंला’ भनिबक्सेको भन्ने निजको कथन रहेको छ ।

९. देवयानी राणासँग फोन सम्पर्क गरिबक्सेपश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्ब्याट पोशाक पहिरी हात हतियार समेत लिई खोपी बाहिर निस्किबक्सिदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको वाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी ‘इमर्जेन्सी व्याग टक्रयाउँ सरकार?’ भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट ‘पर्दैन अहिले’ भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ ।

१०. श्री ५ युवराजाधिराज कम्व्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ वोर भिरिबक्सी विलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको विलियार्ड कोठासँगै जोडिएको डाइनिङ्ग कोठाको पूर्वपट्टिको बैठकबाट व्वाइज वच्चुराम केसीले देखेको भन्ने निजको कथन रहेको छ ।

११. श्री ५ युवराजाधिराज सैनिक कम्व्याट पोशाकमा विलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङ्गको बन्दुक (9 mm. Caliber MP-5K Automatic Sub-machine Gun) द्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल विलियार्ड टेवुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिवक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै विलियार्ड कोठा बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ्ग नजिक १२ वोरको बन्दुक (SPAS 12-L FRANCH SPA) फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरी वत्ती र टेलिस्कोप सहितको राईफल (5.5 mm Caliber Colt M-16) सोझ्याउदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरख शम्शेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रो पटक श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फायरिङ गरी श्री ५ युवराजाधिराज विलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर , डा. राजीव शाही, महेश्वर कुमार सिंह समेतको भनाइ रहेको छ।

१२. विलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्द फायरिङ गरेपश्चात् पछाडि सर्दैसर्दै पूर्व तर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य विलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाइनिङ रुमबाट ब्वाइज शान्तबहादुर खड्का समेतले देखेको भनी निजले बताएको पाइयो। विलियार्ड कोठाबाट पूर्व भित्रीबगैँचामा जाने बाटो हुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको संगम जस्तो ठाउँमा श्री ५ वडामहारानीको पछाडि पछाडि श्री ५ अधिराजकुमार निराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टर समेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झयाङ्ग नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार निराजन पूर्वतर्फ टाउको परेर ढलिबक्सेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी बिष्णु खड्का समेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पुर्याैएको भन्ने पाइयो।

१३. विलियार्ड कोठामा भएको फाएरिङ्ग पश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडिसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फाएरिङ्गको आवाज र ‘डाक्टर चाँडो बोलाऊँ…’ भन्ने आवाज सुनी भित्र गई विलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सधैँ बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप राना समेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पाश्र्ववर्तीहरूको कथन रहेको देखिन्छ।

१४. श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्यािङ्गको सातौं खुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भर्यााङ्गको माथिल्लो भागमा रहेको ल्याण्डिङ्ग एरियाबाट फायरिङ भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँ ठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ।

१५. श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जँहा श्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैँचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार घ्वार आवाज निकाली रहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्ती समेतले समिति समक्ष जानकारी गराएको देखिन्छ। श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको 9mm. Caliber Glock Ges. पिस्तोल र खोका समेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ। 5.56 Caliber M-16 A2 राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनको क्रममा पाइएको छ।

१६. उपर्युक्त बमोजिमको विलियार्ड कोठा र सो कोठाको पूर्वी वगैँचा एवं खोपीमा जाने भर्या ङ्गमा भएको घटना पश्चात् शाही पाश्र्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उद्धार गरी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुर्यााएकोमा अस्पताल पुर्यापउँदाको समय र अवस्थाको सम्बन्धमा यस समितिमा देहाय बमोजिमको जानकारी प्राप्त भएको देखिन्छः–
(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्या–उँदा मृत घोषित।

(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यायउँदा मृत घोषित।

(ग) श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित।

(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राती ९:२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्या–एको र ९ः५५ बजे अस्पतालमा मृत घोषित।

(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएउँदा मृत घोषित।

(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यायउँदा मृत घोषित।

(छ) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्या–उँदा मृत घोषित ।

(ज) श्री कुमार खड्गविक्रम शाह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याअउँदा मृत घोषित।

(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यातएको र २०५८/२/२२ गते सोही अस्पतालमा विहान ३:४५ बजे मृत घोषित।

(ञ) श्री धीरेन्द्र शाह २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउएको र २०५८/२/२२ गते बेलुकी
५:५७ बजे सोही अस्पतालमा मृत घोषित।

१७. माथि उल्लेख गरिएका १० (दश) जना वाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीँ कतैबाट खुल्न आएको देखिएन।

१८. घटनाबाट पीडित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शम्शेर ज.ब.रा. र श्रीमती केतकी चेष्टरलाई गम्भीर घा चोट लागेको तथ्य अस्पतालबाट प्राप्त घा चोट विवरणबाट देखिन्छ।

१९. श्री ५ युवराजाधिराजलाई घटनाको तत्काल पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८/२/२८ को पत्र अनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाईज (कम्व्याट) ज्याकेट, पाइण्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाईज भेष्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ। सो कपडा, पञ्जा, जुत्ता आदि र वेब बेल्ट समेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेँलो पहेँलो पदार्थको प्रयोगशालामा परीक्षण गराउँदा ‘B’ समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ। मृतकहरू मध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि ‘B’ रहेको पाइन्छ।

२०. श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्यामउँदा पञ्जा लगाएको अवस्थामा पुर्याकईएको अस्पतालको पत्र प्राप्त हुन आएको छ। सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ। सो एकजोर पञ्जा वाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिदैन।

२१. (क) 5.56 Caliber Colt M-16 A2 हतियार नं. A0073943 (Commando) Automatic Rifle बाट प्रहार भएका ४७ वटा Cartridge Cases फेला परेको पाइयो। उक्त राईफलको क्षमता प्रति मिनेट ७०० देखि १००० गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ।

(ख) घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm. Caliber MP-5 K Automatic Submachine Gun बाट प्रहार भएको र उक्त बन्दुक को क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ।

(ग) घटनास्थलमा फेला परेको २ वटा Cartridge Cases 9mm. Caliber MP-5 K Automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ। उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुल छेउमा रहेको पोखरीमा फेला परेको थियो।

(घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको A0073943 नं.को M-16 बन्दुक शाही रक्षक सैनिक प्रहरी राजदरबारको ०५६/५/३१ को माग बमोजिम निकाशी भई शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह–सेनानी माधव भण्डारीले बताएको। सो हतियार श्री ५ युवराजधिराज समेत ट्रेकिङ्गमा सवारी भैबक्सेको बेला साथमा लिइ सवारी भएको। श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको बेलामा राजदरबार कोतबाट सिधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पाश्र्ववर्ती गजेन्द्र बोहराले सोधपुछको क्रममा उल्लेख गरेको समेत पाइयो।

(ङ) एउटा पेस्तोल र 9mm. Caliber को बन्दुक १ समेत शाही पाश्र्ववर्ती राजदरबारबाट माग भए बमोजिम २०५३/१/२७ र २०५६/७/२८ मा निकाशा भएको देखिन्छ। श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र वोहराको अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराज कै साथमा (जिम्मामा) रहेको थियो।

(च) 9mm. G19 Glock नं. YY 334 नं. को पेस्तोल समेत २०५५/१०/२२ मा श्री ५ अधिराजकुमार निराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकाशा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ।

(छ) विलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटो छेउ कुनामा फेला परेको १२ Bore Single Barrel Shot Gun बाट सो घटनामा Fire भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुस समेतबाट देखिन आएन।

२२. नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडिसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको सानो गेट बाहेक सो घटनाभएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षतः देखिन आएन। घटनास्थलको नक्सा स्केच यसै प्रतिवेदनको अनुसूचीमा दिइएको छ।

२३. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दुकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ। घटनाबाट पीडित घाइतेहरूको घा चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयम् घाइतेहरूले सोधपुछका क्रममा उल्लेख गरेको पाइयो। वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारी अनुसार पनि घाइतेहरूको घा चोटको कारण बन्दुकको गोली लागी परेको भन्ने देखियो।

उपेन्द्र देवकोटा भन्छन-छानबिन आयोगमा बस्न नमानेर माधव नेपालले ठूलो गल्ती गरे
दरबार हत्याकाण्डमा हामीले थाहा पाएका कुराहरु धेरैसँग भन्दै हिँड्ने गर्नुहुँदैन हामीले भनेर श्रीमतीलाई भनें। मलाई अनौठो लागिरहेको थियो। मैले दुईतीनवटा कुरा सोचिहालेँ।

एउटा कुरो यति कम्प्लिकेटेड भएपछि प्रेसले पनि, राजपरिवारले पनि आफ्नो प्यासेन्टको उपचारको बारेमा जान्न चाहन्छ, एक नम्बर। दुई नम्बर ‘दे वान्ट ट्रिटमेन्ट द बेस्ट फर देयर प्यासेन्ट।’ जुन एकदम जायज हो।

सेकेन्ड ओपिनियन पनि उनीहरुले खोज्छन्। त्यो मेरो मनमा लागिरहेको थियो। म भोलिपल्ट उठेर नुहाइधुवाइ गर्न खोज्दै थिएँ, आर्मी अस्पतालबाट फोन आयो– डाक्टरसाब् तपाई चाँडै आएर असेस गर्नुपर्‍यो, यहाँ युवराजधिराजको अवस्था राम्रो छैन।

अर्को ब्रेनडेड नै हो भने भ्यान्टिलेटर बन्द गर्नुपर्ने पो हो कि? त्यसो भएर तपाई चाँडो आएर असेस गरिदिनु पर्‍यो फेरि एकपटक युवराजधिराजलाई भनेर फोन आयो। त्यो फोन आउने बित्तिकै मैले तत्कालै बिर्सेको एउटा कुरो सम्झेँ। दीपेन्द्रले गरेको हो भन्ने गाइँगुइँ हल्ला हुन थालिसकेको थियो।

त्यसो हो भने टक्सिकको प्रभावमा गरेको हो कि हैन भनेर पत्ता लगाउन जरुरी हुन्छ। त्यो पत्ता लगाउन ब्लडटेस्ट बाहेक अरु उपाय हुँदैन। यो अवस्थामा, यस्तो सामाजिक र राजनीतिक परिवेशको बेलामा यो बिरामीको ड्रग्स टेस्ट गर्नु पर्‍यो, ब्लड चाहियो भनेर माग्दाखेरि दिने सम्भावना भएन। त्यो सोझै माग्न सक्ने कुरा पनि भएन।

अस्पतालबाट फोन आउनेबित्तिकै मैले त्यहाँको टेक्निसियनलाई फोन गरेँ– उहाँलाई फेरि ब्लड ट्रान्सफ्युजनको आवश्यकता पर्न सक्छ, अरु अरु पनि चाहिन सक्छ, त्यस कारणले अहिले उहाँको २० एमएल ब्लड निकालेर सेन्टिफ्युज गरेर सेरमचाहिँ फ्रिज गरिदिनुस् है, त्यो पछि चाहिन सक्छ भनेँ मैले। किन कसो भन्दै भनिन।

ब्लड बैंकको सर्भिस आर्मी अस्पतालमा थियो। आर्मीका मान्छे अनुसाशित हुन्छन्, गरिहाले, मेरो साइन्टिफिक थिंकिङचाहिँ भोलि कसैले प्रश्न गर्‍यो भने टक्सिकोलोजिकल स्क्रिनिङ पनि हामी गर्न सक्नुपर्छ भन्ने थियो। त्यो चिकित्सकको टिमका अरु डाक्टरलाई र खगेन्द्र डाक्टर साहेबलाई पनि भनिनँ मैले।

मेरो प्लानचाहिँ त्यही थियो। मलाई प्राइमरी रेस्पोन्सिबिलिटी युवराजको हेर्न दिएपछि सबै कुरा गर्नुपर्‍यो भनेर त्यो भएको थियो। अहिले पनि गएर कसैले खोज्यो भने सेरम प्रिजमड अवस्थामा हुनुपर्छ आर्मी अस्पतालको स्टोरमा। धेरै जनालाई थाहा पनि छैन।

किनकि त्यो स्पेसिफिक रिक्वेस्टमा गरिएको थियो। यतातिर त हुँदैन टोक्सिकोलोजिकल स्क्रिनिङ। मलाई बेलायतमा हुन्छ भन्ने थाहा थियो, बेलायतमा बस्ने एकजना डाक्टरलाई फोन गरेर यताको परिस्थिति नबताई त्यहाँ टक्सिकोलोजिकल स्क्रिनिङ कुन अस्पतालमा गर्छ? कतिजति पैसा लाग्दो रहेछ मलाई बुझेर पठाइदिनुस् न भनेँ।

सबै ठाउँमा हुँदैन। लन्डनको पनि कुन हस्पिटलमा गर्छ मलाई थाहा थिएन। उहाँले १०/१५ मिनेटमै मलाई फोन गर्नुभो। एक सय ३० पाउण्ड पर्दोरहेछ, गाइल्स हस्पिटलमा गर्दो रहेछ, जरुरत परेको खण्डमा गर्न सकिन्छ भन्नुभो। त्यसपछि मैले आफ्नो तयारी पूरा गरेजस्तो लाग्यो। त्यत्तिकैमा आर्मीको मोटर आइपुग्यो। अनि आर्मी अस्पताल गएँ शनिबार बिहान। सबै टिमका डाक्टरहरु जम्मा भैसकेका थिए।

हामीले सरसर्ती आ–आफ्ना बिरामी हेर्‍यौँ। अनि ठूलो हलमा गएर सबै बिरामीहरुको सामूहिक कन्फ्रेन्स गर्ने चलन थियो, गरियो।

त्यसपछि त्यो दिनको प्लान, के ट्रिटमेन्ट गर्ने, कस्तो ट्रिटमेन्ट गर्ने, आफ्नो जिम्मामा रहेकाहरुका लागि छलफल हुन्थ्यो। अरुले केही सजेस्ट गर्न मन लागे, गर्‍यो, हैन भने त्यो ट्रिटमेन्टलाई ओके भनेर जाने चलन थियो। शनिबार त्यही भयो। त्यो राउण्ड सकिने बित्तिकै मैले आफ्नो अर्को तयारी गरेँ।

खुरुखुरु त्यहाँबाट वीर हस्पिटल गएँ। त्यो बेला मसँग इमेलको सुविधा त्यहाँ मात्रै थियो। त्यहाँ एउटा चिठी ड्राफ्ट गरेँ। त्यो चिठीचाहिँ युनिभर्सिटि अफ लन्डनको न्युरोसर्जरीको चिफ प्रोफेसर टोनी बेललाई थियो।

उहाँलाई सबै कुरा भनेँ– हाम्रो राजाको यस्तो दुर्घटना भयो, मैले यस्तो अप्रेसन गरेर मेरो बिरामीलाई राखेको छु तपाईँको केही अल्टरनेट भिउज, ओपिनियन, सजेसन केही छ कि? यसरी टोनी बेललाई अनुरोध गरेर अफिसियल दोस्रो ओपिनियन मागेँ।

उहाँले इमेलमा तत्कालै जवाफ दिनुभो। तर, अफिसियल ओपिनियनको चिठीचाहिँ भोलिपल्ट आइपुग्यो। त्यो सेकेन्ड ओपिनियनको पनि तयारी भयो।

त्यसको भोलिपल्ट आइतबार बिहानै अस्पताल पुग्छु त, त्यहाँ अर्कै खालको सन्नाटा छ। डाक्टरहरु जम्मा हुन थालिसकेका बिहान साढे आठ बजेतिर। डाक्टर मृगेन्द्रराज पाण्डे र डाक्टर खगेन्द्रबहादुर दुईजनाचाहिँ एकदम सिरियस मुडमा हुनुहुन्थ्यो। पुग्नेबितिकै मलाई बोलाउनुभो, ‘डाक्टरसाब् तपाईँसँग छुट्टै कुरा गर्नुपर्नेछ’ भन्नुभो। मैले के भो डाक्टरसाब् भन्दा अर्को कोठामा गएर कुरा गरौं न भन्नुभो।

अझ गोप्य कोठामा गएपछि भन्नुभयो। के भएछ भने शनिबार म त आफ्नो बिरामी हेरेर आइहालेँ। तर म स्पष्ट थिएँ, जुन तरिकाले उहाँहरुले बिरामीहरुको उपचार फलानाले गर्ने फलानाले गर्ने भनेर भाग लगाउनु भो, त्यो गलत हो।

उहाँहरुले के विचार गर्नु भा’रछ भने दीपेन्द्रको न्युरोसर्जिकल हेर्न लगाएपछि अरु यस्तै समस्याका बिरामी हेर्न यसो समावेशी हिसाबले टिचिङका डाक्टर पनि ल्याउनु पर्‍यो। धीरेन्द्रलाई टिचिङको न्यूरो सर्जनको जिम्मा लगाइएको थियो।

शनिबार बल्ल थाहा पाएछन् उनीहरुले, धीरेन्द्रको खुट्टा नचलेको। टुलुटुलु हेर्ने, हातसात चलाउने, यताउता गर्ने अवस्था थियो। हुन त भेन्टिलेटरमा राखिएको थियो उनलाई। तर, खुट्टा चलाउँदैनन् भन्ने शनिबार मात्र थाहा पाएछन्। बुलेट चेस्टबाट गएको छ। डाक्टरले थाहा पाए, मेडिकलका अरुले पनि थाहा पाए।

हुँदाहुँदै परिवारले थाहा पाएर के गर्दैछौ त, किन भयो, किन अहिले आएर मात्रै थाहा भयो भनेर गम्भीर प्रश्न गरिसकेपछि त्यहाँका डाक्टरलाई बडो गाह्रो परेछ। उहाँहरुले सिटिस्क्यान गर्न पनि सुविधा छैन, एक्सरे गर्न पनि आइसियुमा राखेको मोटो बिरामीलाई तल झार्न मिलेन।

केही गर्न नसकेर उहाँहरु चुप लागेर बस्नु भएछ। उता बिरामीका परिवार एजिटेड हुनु स्वभाविकै थियो। हुने पनि भयो, परिवारको बाँचेको मध्यमा अधिराजकुमार पारसले रिसाउँदै भन्नुभो– के छ प्लान, किन पत्ता लागेन?

यस्तै परिस्थितिमा आइतबार बिहान मलाई छुट्टै लगेर खगेन्द्र र मृगेन्द्र डाक्टरले के गर्न सकिन्छ डाक्टरसाब् भन्नुभो। हिजो पत्ता लाग्नेबित्तिकै किन खबर नगरेको भनेँ मैले।

खगेन्द्रले भन्नुभो, ‘अब डाक्टरसाबलाई पहिल्यै दीपेन्द्रको जिम्मा लगाइसकेपछि लोड धेरै होला भनेर धीरेन्द्रलाई टिचिङको न्यूरो सर्जनहरुलाई हेर्न भन्या ह। एक जना न्यूरोसर्जन पहिल्यै संलग्न भएका कारण तपाईँलाई बोलाउन जरुरी महसुस गरिएन।’

यहाँनेर तपाईँहरुलाई मेलै दम्भ देखाएको जस्तो लाग्ला। तर मैले भनेको कुरा यही हो, ‘ए डाक्टरसाब, यो देशको इज्जतको कुरा हो। देशभरिका मान्छेले हेरिराखेको घटना हो यो, यस्तो अवस्थामा भागबण्डा लगाएर एउटालाई यसले, अर्कालाई यसले हेर्ने भन्नु नै मुर्खता हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको घटनामा तपाईँले ‘ए’ न्यरो सर्जन बोलाएर हुँदैन, ‘द’ न्यूरो सर्जन चाहिन्छ। ल अब म संलग्न भएँ, डन्ट वरी।’

मेरो घमण्ड बोल्या हैन तर ‘ए’ र ‘द’ न्यूरो सर्जनमा फरक हुन्छ। तपाईंले देशभित्रको उत्कृष्ट त दिनैपर्छ, आवश्यक पर्दा बाहिरबाट झिकाउनु पर्छ, मैले भनेँ। दीपेन्द्रलाई धेरै हेर्नु पर्ने थिएन। एक राउण्ड हेरेपछि फर्केर गएँ। धीरेन्द्रलाई राखेको कोठामा पुगेर त्यहाँका डाक्टरलाई माथि एक्सरेमा बोलाएँ। उहाँको एक्सरे गर्नुपर्‍यो, शरीरको यो भागको, तपाईँसँग पोर्टेबल एक्सरे छ कि छैन भनेर सोधेँ।

‘पोर्टेबल एक्सरे एकदम पुअर क्वालिटीको छ, त्यसको क्षमता नै पुग्दैन। उहाँ यति मोटो हुनुहुन्छ, माथि लान पनि मिल्दैन। धीरेन्द्रको गर्धनको फेद र छातीको माथिबाट बुलेट गएको छ। त्यो एरियाको एक्सरे गर्नलाई असाध्यै पावरफुल एक्सरे चाहिन्छ। हाम्रो पोर्टेबलले भ्याउँदैन’ भन्नुभो।

त्यसपछि मैले अर्कैखालको एक्सरे ‘सिआर्म’ छ कि छैन भनेर सोधेँ। सिआर्म छन त छ, इन्सटल गर्दा बिचमा समस्या आएर तल त्यतिकै राखेको छ मेसिन भने। त्यो कम्पनीको सप्लायर्सलाई बोलाएर तत्काल इन्स्टल गर्न भनेँ मैले। हामीले गरेरै छाड्यौं। एक डेढघण्टाभित्रमा सिआर्म मेसिन इन्स्टल गरेर धीरेन्द्रको एक्सरे गर्‍यौँ। त्यहाँ एक्सरे मात्रै गर्ने सम्भावना थियो। त्यो बुलेटले गर्दा एमआरआई गरेर कामै छैन। बुलेटको फ्र्यागमेन्टले एमआरआईमा केही पनि देखिँदैन।

एक्सरे गरेर हेर्दाखेरि बुलेटका टुक्राहरु छरपस्ट तर मेरुदण्डको हड्डीचाहिँ केही पनि नभएको। मेरो लागि त्यसको इम्प्लिकेसन एकदम क्लिअर थियो। यदि हड्डी पनि भाँचिएर प्यारालाइज भएको हो भने अप्रेसन गर्दा फाइदा हुन सक्थ्यो, भाँचिएको हड्डीलाई ठाउँमा ल्याइदिएर यताउता गर्‍यो भने। तर हड्डी भाँचिएको छैन, नजिकबाट गएको बुलेटको कारणले इन्जुरी भएको छ भने त्यसले स्पाइनल कर्डलाई पूरै ड्यामेज गरेको हुन्छ। त्यसलाई हामी क्याबिटेसन इन्जुरी भन्छौँ।

फ्याक्चर नदेखेपछि त्यो क्याबिटेसन इन्जुरी हो भन्न जसले पनि सक्छ। मैले एक्सरे गरिसकेपछि मृगेन्द्रराज र खगेन्द्र डाक्टरसाबले अब परिवारसँग कुरा गर्नुपर्छ भन्नुभो। अब म कुरा गर्छु भन्दै परिवारसँग कुरा गर्न तयार भएँ। यहाँ यस्तो दुर्दशा देखेपछि परिवारले सेकेन्ड ओपिनियनको लागि सिंगापुरका न्युरो सर्जनसँग कुरा गरिसकेका रहेछन्।

बचेको परिवारमा त्यो बेलाको सबैभन्दा जिम्मेवार व्यक्ति अधिराजकुमार ज्ञानेन्द्र भा’ भएर उहाँसँग कुरा गरेँ पहिला। ‘भाइको के भएको हो? हाउ बेस्ट कुड वी हेल्प हिम?’ सोध्नु भो। भाइको के भएको हो भनेर उहाँ चिन्तित हुनुहुन्थ्यो। मैले वास्तविकता बताएँ। उहाँको चोट गम्भीर छ। यो बुलेटले गरेको क्याबिटेसन इन्जुरी हो। यसले स्पाइनलकर्डलाई नछेडिकन नजिकबाट गएको तर बुलेटको भाइब्रेसनले पूरा कर्ड ड्यामेज गरेको छ। यसलाई ठीक गर्न सकिन्न। प्यारालाइसिस रिकभर हुने सम्भावना छैन। यो मेरो ओपिनियन हो। अर्को ओपिनियन पनि लिने हो भने म त्यो गर्न सक्छु भनेँ। बिरामी नै बाहिर लग्नु पनि अर्को विकल्प हुनुसक्छ, मैले प्रस्ट भनें, ‘यो क्याबिटेसन इन्जुरी हो, रिकभरेवल हैन। यसको कुनै सर्जरी छैन। अरु विकल्प पनि छैन। तर चाहिन्छ भने सेकेन्ड ओपिनियन पनि लिइदिन्छु म।’

त्यसपछि अधिराजकुमार ज्ञानेन्द्रले जवाफ दिनुभो, ‘म आमासँग पनि कुरा गर्छु अनि तपाईँसँग फेरि कुरा गर्छु।’ त्यसपछि उहाँहरु र रानी रत्नबीच कुरा भएको हुनुपर्छ। त्यसको एक घण्टापछि उहाँसँग मेरो फेरि कुरा भो। उहाँ प्रस्ट हुनुहुन्थ्यो, कुनै द्विविधा थिएन। ‘डाक्टर तपाईले गरेको असेसमेन्टमा हामीलाई विश्वास छ, यो हामी एक्सेप्ट गर्छौं। र, सेकेन्ड ओपिनियन पनि हामीलाई चाहिँदैन।’

त्यसपछि त्यो च्याप्टर क्लोज भयो। मैले यहाँ एउटा कुरा भन्न खोजेको के हो भने राष्ट्रिय महत्वका विषयमा भागबण्डाको कुरा आउनु हुँदैन। त्यो गल्ती अहिलेसम्म पनि चलिरहेको छ। देशमा क्राइसेस हुँदाखेरि देशभित्रको सबैभन्दा राम्रो मान्छे जो हो उसैले लिड गर्नुपर्छ।

त्यो बेलामा सायद मेरो विकल्प कोही पनि थिएन होला। मलाई बाइपास गरेर अरुबाट ओपिनियन लिएर ट्रिटमेन्टमा भएको गल्ती या टीमवर्कलाई प्रोत्साहित गर्न बाधा आउनु हुँदैनथ्यो। यो हाम्रो चरित्रमा सुधार्नु पर्ने ठूलो पाटो हो। त्यसपछि दीपेन्द्रको भेन्टिलेटर अफ गर्ने लगायतका सबै कुरा अड्किएपछि सायद अब अन्त्य भैदिएकै राम्रो हुन्थ्यो होला भन्ने आम ओपिनियन बन्यो। मलाई रिक्वेस्ट आयो– ब्रेनडेड भएको अवस्था हो भने भेन्टिलेटर स्विचअफ गर्न सकिन्छ कि? मेरो कुरा क्लियर थियो त्यसमा। यस्तो केसलाई एक्स्पेडाइट गर्ने बाहिरतिर चलन छ।

तर, त्यो आधारमा अर्थात ब्रेनडेड केसमा भ्यान्टिलेटर स्विचअफ गर्न कानुनी आधार नेपालमा छैन। यति महत्वपूर्ण राष्ट्रिय विषयमा कानूनमा नटेकी मैले केही गर्न मिल्दैन। म गर्न सक्दिन, जसले गर्छ त्यो गैह्रकानुनी हुन्छ, मैले स्पष्टसँग भनेँ। अडान नै लिएँ।

त्यसको १६/१७ वर्षपछि र निरन्तरको संघर्ष या अभियानपछि नेपालमा एउटा स्पष्ट मान्यता तय भयो। त्यो बेलामा गर्नसक्ने कुरै थिएन। दीपेन्द्रको पनि गरिएन। त्यसपछि नेचुरल्ली ट्रिटमेन्ट गर्दै जाँदा जे हुन्छ हुन्छ भन्दाभन्दै उहाँको निधन भयो।

त्यसपछि पनि म त्यहाँ अरु बिरामीहरु हेर्न जान्थेँ। एकदिन बडा रोचक घटना भो। बिरामीको भाग लगाइदिसकेका। मेरो सिरियस बिरामी कोही बाँकी थिएनन् त्यतिबेला। धीरेन्द्रलाई पहिला नै स्पाइनल इन्जुरी भएको बेला हेरेको भएकाले उनलाई हेर्न म जाने गर्थेँ। १८/२० जना डाक्टर भएकाले सबैले सबै बिरामी हेर्ने कुरा भए। त्यो सकेर हामी माथि कन्फ्रेन्स हलमा आयौं। सबै बिरामीको कुरा हुँदै जाँदा धीरेन्द्रको कुरा आयो। त्यो बेला धीरेन्द्रलाई ३/४ जना क्षमतावान डाक्टरले नै हेर्नु भएको थियो।

क्रिटिकल केयरको एक्सपर्टहरु पनि इन्भल्ब हुनुभएको थियो। उहाँलाई हेर्ने टिम ठूलै थियो। त्यो दिन कन्फ्रेन्सको लागि मिटिङ हलमा आइसकेपछि त्यो टिमको डाक्टरहरुमध्ये धेरैले एक स्वरमा भन्नुभयो– ‘आज धीरेन्द्र इज अ बेटर, त्यसो भएर उहाँको ब्लड प्रेसर उठाउने औषधी बिस्तारै घटाउँदै जानु पर्ला।’

त्यो निर्णय भयो हाम्रो भने। सबैको प्रतिक्रिया ओके भन्ने नै भयो। मैले आफ्नो विवेकलाई धोका दिन सकिनँ। टाढैबाट हेरे पनि धीरेन्दलाई बढी सिरियस देखेको थिएँ मैले। यस्तो कुरामा छुचो हुन सबैभन्दा अगाडि छु। चुप लागेर बसेको भए पनि हुन्थ्यो। मैले भनेँ, ‘अँ हँ, नो नो नो। मेरो विचारमा धीरेन्द्र इज मोर सिरियस टुडे। मैले जाँच्न त जाँचिन, हेर्दाखेरि आइ फाउण्ड हिज लुक भेरी सिरियस टुडे।

यो अहिले औषधी घटाउने काम नगर्नुहोस्।’ त्यसपछि अर्को कुनाबाट डाक्टर श्यामबहादुर पाण्डेले पनि मेरो सपोर्टमा बोल्नुभो– मलाई पनि धीरेन्द्रको अवस्था सिरियस लाग्छ है, आज औषधि घटाउने काम नगरौं। डिबेट हुँदैथ्यो, त्यसैबिच आइसियुबाट कल आयो–तुरुन्त आउनुहोस् धिरेन्द्र हायज कोलाप्सड।

त्यसपछि सबै दौडियौं हामी। अझै बढी उहाँको टिमका डाक्टर दौडिए। यो एउटा घटना थियो। यसरी विस्तारै सिरियस बिरामीहरु मर्ने, कम सिरियसहरु बाँच्ने क्रम जारी थियो।

यो सँगै अब दरबारको इन्क्वाइरीको कुरा आउन थाल्यो। म मेडिकल कमिटीमै थिएँ। राउण्डको बेलामा अस्पताल गाकोबेला, म भित्रै थिएँ। अधिराजकुमार ज्ञानेन्द्रले सूर्यबहादुर थापा, माधव नेपाल, केशरजंग रायमाझीलगायत ३/४ जना मान्छेको अगाडि अब यो घटनाको छानबिन कमिटी बनाउनु पर्‍यो, तपाईँहरुले जिम्मेवारी लिनु पर्‍यो भन्नुभो। माधव नेपाल सहमति जनाएर निस्कनुभयो। वास्तवमा त्यसमा आफू छुट्न नहुने चाहना उहाँले नै राख्नुभएको हो। आयोग बन्ने निर्णय भइसकेपछि उहाँले त्यसको भोलिपल्ट नाइँ भन्नुभ। अनि नाइँ भनेको भोलिपल्ट मलाई खोज्नुभो।

मैले स्पष्ट भनेँ, म त अहिले डाक्टर हो, कसैलाई पनि व्यक्तिगत रुपमा भेट्दिन। यो घटनाबारे कुरा गर्न। तपाईँ मलाई भेट्न आउनु भो भने त्यसको अर्थ अर्कै हुन्छ। म तपाईँको घर गएमा अर्कै मतलब राख्छ।

त्यस कारण तपाईँलाई मसँग भेट्न मन लागेको छ भने ९ बजे वीर हस्पिटलमा आउनुस् भोलि, अफिसमा बसेर कुरा गरौँ भनेँ। उहाँ आउनुभो भोलिपल्ट। उहाँलाई लागेको थियो होला बोलाइसकेपछि डाक्टरले सबै कुरो भन्। मेरो अफिसमा उहाँ आएपछि ढोका बन्द गरेँ, चुकुल पनि लगाएँ। त्यसपछि सोधेँ माधवजीलाई, के थियो त अरु भनेर। उहाँले इसाराले दीपेन्द्रको एउटा गोली हो कि, दुईटा गोली हो भनेर सोध्नु भो। म भन्दिनँ भनेँ।

मैले स्पष्ट के भनेँ भने तपाईँ इन्क्वायरी कमिसनमा बसेर सोध्न आएको भए, तपाईँलाई भन्नु मेरो कर्तव्य हुन्थ्यो। तपाईँ इन्क्वायरीमा नभई एउटा व्यक्ति वा कुनै एउटा पार्टीको नेताको हैसियतले मात्रै सोध्नुहुन्छ भने तपाईँलाई नभन्नु मेरो कर्तव्य हुन्छ।

मैले भनेँ, ‘माधवजी तपाईँले यो आयोगमा नबसेर गल्ती गर्नुभो। सत्यतथ्य बाहिर ल्याउनलाई सहयोग पो गर्नुपर्छ त। सत्यतथ्य बाहिर आयो भने घाटा हुन्छ, नआए हल्ला गर्न पाइन्छ भनेर छोडेर हिँडेको त राम्रो हैन।’ त्यति चाहिँ मैले भनेको हो।

त्यहाँ बसेर सत्य तथ्य बाहिर ल्यायो भने नारा जुलुस लाउन पाइँदैन। आफू सत्तामा भएपछि मदन भण्डारी सम्बन्धी घटनाको छानविन किन नगर्‍या? त्यही त हो नि!

यसरी अरु पनि थुप्रै नेताहरु मलाई त्यहाँको जानकारी केही पाइन्छ कि भनेर सोध्न आउनु भयो। तर मैले सबैलाई हामी प्रोफेसनल हौँ, भन्न मिल्दैन भनेँ। जुन बेला छानबिन होला, त्यसबेला भनौंला भनेर चुप लागेर बसियो।

त्यसपछि मलाई चिनेजानेका जति थुप्रैले केही भनिहाल्छ कि भनेर जानकारीको लागि फोन गर्ने, आउने क्रम जारी रह्यो। मैले नभनेपछि कति रिसाए पनि होलान्। माधव नेपाललाई चाहिँ सरी भनेँ। उहाँले जसरी लिनुहुन्छ। उहाँ छानबिन समितिमा बस्नु हुने भो भन्दाखेरि हामीलाई पनि खुशी लागेको थियो।

राष्ट्रको चासोको विषयमा सत्यतथ्य बाहिर ल्याउनलाई उहाँहरु बसेको राम्रो हुने थियो। उहाँकै अनुरोधमा हो, राजा ज्ञानेन्द्रले त्या कन्सिडर गर्नुभाको पनि। त्यसपछि आफू बस्दिन भनेर छाडेपछि व्यक्तिगत रुपमा उहाँलाई पनि घाटा भयो। र, पार्टीलाई पनि घाटा गर्छ यस्तो कुराले। राज्य सञ्चालनका जिम्मेवार पार्टी र त्यसका नेताहरुको व्यवहार सधैं कन्सिस्टेन्ट हुनुपर्छ।

कति नेताहरु घरमा आउनु भो। मैले चियासिया ख्वाएर राम्रोसँग सत्कार गरेँ। ‘लौ त अब म अस्पताल जानुछ’ भनेर हिँड्ने गर्थें, घटनाबारे केही बोल्दै नबोलिकन।

उहाँहरुलाई नरमाइलो लाग्यो होला। माधव नेपालहरु दीपेन्द्रलाई भेट्न जाँदाखेरि अधिराजकुमार ज्ञानेन्द्रले उहाँहरुलाई चिनाउँदाखेरि उहाँहरुको हाउभाउ पनि देखेको थिएँ मैले। माधव नेपाल मलाई अस्पतालमा भेट्न आएको बेला त्यो पनि सम्झाएको थिएँ।

‘माधबजी तपाईँलाई त्यो पनि याद छ होला, त्यतिबेला त्यहाँ उपस्थित भएकामध्ये मरिचमान सिंह, सूर्यबहादुर थापा, केशरजंग रायमाझी भएकाबेला तपाईँलाई अधिराजकुमारले गरेको व्यवहार बुझ्नुभो? तपाईँलाई अरुलाईभन्दा आदरपूर्ण व्यवहार गरेको तपाईँले याद गर्नुभो होला।

‘त्यो त हो डाक्टरसाब’ भन्नुभो। अनि तपाईँ त्यति मर्यादित र त्यति विश्वासिलो व्यक्ति हुँदाहुँदै अहिले आएर पार्टीले मानेन भन्न सुहाउँछ? त्यति भनेँ उहाँलाई। गल्ती भो भन्नु भो। मलाई अहिले पनि लाग्छ त्यो एमालेकोतर्फबाट भएको गल्ती हो। उनीहरुले जिम्मेवारी लिएर अनुसन्धान पूरा गर्नुपर्थ्यो।

उपचार हुनेको उपचार भयो, अनि मर्ने मरिसकेपछि मेडिकल च्याप्टर क्लोज भयो।

नेपाल लाइभ र देश संचारको सहयोगमा

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय