गोरेको बयान, उच्च तहका नेतादेखि दुई पूर्व आइजीपी सम्म सुुन तस्करीमा, प्रकाश अर्याल पनि तानिदै



चुडामणि उप्रेती गोरेले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको दाबी गरेका छन् ।जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् ।

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’

छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गर्छ । कोको संलग्न छन् यकिन भन्न सक्दिनँ ।

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा तेस्रो दिन  पनि बयान सकिएन । औपचारिक भन्दा अनौपचारिक कुरामा रुमलिएको बयान शुक्रबारसम्म आइपुग्दा लगभग अन्त्यतिर आएको अदालत स्रोतले जानकारी दिएको छ ।

गोरेले दिएको बयान २७ पेजमा उतारिएको छ । सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराए । बयान सकिएपछि आइतबार नै थुनछेकको बहस प्रारम्भ हुने बताइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि सुरु भएको गोरकोे बयान २७ पृष्ठमा पुगेको हो ।

बन्द इजलासमा बयान भइरहेका कारण बयानका बारेमा कुनै पनि कुरा अदालतले सार्वजनिक नगरेको स्रेस्तेदार गौतमले जानकारी दिए । उनले विभिन्न सञ्चार माध्यममा गोरेले बयानमा भनेको भन्दै अनेक खालका समाचारहरू सम्प्रेषण भइरहेको बारेमा अदालतको ध्यानाकर्षण भएको बताएका छन् । ‘सञ्चारमाध्ययममा आएका समाचारबारे हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने, ‘बयानको विषयमा अदालतले हालसम्म केही पनि सार्वजनिक गरेको छैन ।’

यसैबीच, विमानस्थलबाट भएको ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुई जना पक्राउ परेका छन् । गृह मन्त्रालयको विशेष छानबिन समितिले दुई जनालाई पक्राउ गरी शुक्रबार नै जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ । पक्राउ पर्नेहरूमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन् ।

नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफरबाट उनले दुबईबाट तस्करी गरेर ल्याइने सुनको हुन्डीमार्फत भुक्तानी दिन सघाउने गरेको आरोप लगाइएको छ । त्यस्तै, पक्राउ परेका फाल्दुन भुजुङ गुरुङका चालक हुन् । भुजुङ यसअघि नै पक्राउ परी जेल चलान भइसकेका छन् । राप्रपा (प्रजातान्त्रिक)का नेता समेत रहेका भुजुङ पञ्चायतकालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन् ।

सुन तस्करीको बेला फाल्दुनलाई पनि उनले प्रयोग गर्दथे । समितिसँगको बयानमा उनले सुन तस्करीको बेला आफूलाई ‘स्कर्टिङ’ गर्न प्रयोग गरिने बताएका छन् ।

३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम हत्या प्रकरणमा पुर्व आईजीपी प्रकाश अर्याल पनि तानिएका छन । सो प्रकरणमा मंगलबार पक्राउ परेका चुडामणी उप्रेती गोरेले अर्यालको पनि संलग्नता भएको भन्दै नाम पोलेको उच्च स्रोतको दाबी छ । गोरेले जिल्ला अदालत मोरङमा दिएको बयानमा तस्करीको सुन ल्याउन माथिल्लो तहसम्म सेटिङ रहने गरेको बताएका हुन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा जारी प्रारम्भिक बयानमा उनले नाम उल्लेख नगरी तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्यालको संलग्नता रहेको खुलाएका हुन् । उनले राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका भुजुङ गुरुङले प्रहरी प्रमुखसँग भनेर विमानस्थलबाट सेटिङ गर्ने गरेको उल्लेख गरेको स्रोतले जानकारी दिएको छ ।

पहिलो दिनको बयानका क्रममा गोरेले सुरुवातमा आफ्नो जिवन, दुबई बसाईको अनुभव, त्यहाँबाट कसरी सुन तस्करीमा संलग्न भएको र पछिल्लो काण्डका केही अंश मात्र सकाएका छन् । यद्यपि उनले बयान दिने क्रममै पटकपटक आफू सनम शाक्यको हत्याकाण्डमा संलग्न नभएको बताउँदै आएका छन् ।

पहिला प्रक्राउ परेका सबैले मलाई फसाएका मात्र हुन्, सनमको हत्यामा मुख्यरूपमा भारतिय नागरिकहरू संलग्न रहेको उनको भनाइ छ । स्रोतका अनुसार गोरेले सुनमा नेपालका केही व्यवसायी र अधिकाशं भारतियकै लगानी रहेको बताएका छन् । उनले दुबईबाट भने मुख्य लगानीकर्ताका रूपमा दाउद इब्राहिम रहेको र उनको जालोमा अरू को को नेपाली र भारतीय छन् भनेर फरार एसएसपी श्याम खत्रीलाई मात्र थाहा भएको बयान दिएका छन् । श्रोतका अनुसार अर्याललाई आजै सुन समितिले कब्जामा लिदैछ।

प्रहरीसँग २ करोडको डिल भएपछि कोलकता भागेँ गोरे

सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ प्रहरीसँग शव लुकाउने ‘डिल’ भएपछि भारत छिरेको खुलेको छ ।

जिल्ला अदालत मोरङमा दिएको बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका हुन् ।

गोरेले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । ‘मैले सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेका थिएँ’, उनले भने, ‘उनले ‘माथि सरहरुसँग कुरा गरेपछि’ मात्रै बताउने जानकारी गराएका थिए ।’

आफूलाई सहयोग गर्न महाशाखका डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ हिँडेको गोरेले खबर पाए । बाटोमा पुगेपछि डिएसपी केसीले फोन गरेर ‘लास व्यवस्थापन गरिदिए वापत पैसा दिनुपर्ने’ भनेर रकम माग गर्न थालेको गोरेको दाबी छ ।

सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन् । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो’, उप्रेती भन्छन्, ‘त्यसवापत प्रहरीलाई दुई करोड दिने कुरा भएको थियो ।’

तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ’, उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ ।’

‘प्रहरीले सहयोग गर्ने यकीन थिएन । प्रहरीलाई विश्वास गर्नु राम्रो पनि होइन भन्ने लाग्यो’ उप्रेतीले भने, ‘मलाई पक्रन सक्छन् जस्तो लागेपछि भारत जाने योजना बनेको थियो । म, भोजे मामा, टुकबहादुर, दावा शेर्पा, सुरेन्द्र गौतम, लाक्पासहित इन्डिया जान जोगवनीतर्फ गयौं ।’

आफूसहित ५ जना साथीको प्राडो गाडी चढेर कलकत्ता पुगेको उनले बयान दिएका छन् । उनले भनेका छन्, ‘मैले सई सञ्जेललाई टेकबहादुरको नम्बर दिएँ । त्यसपछि के भयो थाहा छैन ।’

आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको भन्दै उनले भने, ‘मलाई बारम्बार नेपाल आउन भनेका थिए । तर, म टाढा गइसकेको थिएँ ।’

यो मुद्दामा एसएसपी दिवेश लोहनी, डीएसपी केसी, सई बालकृष्ण सञ्जेजलाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला अदालतको आदेशमा उनीहरु अहिले पूर्पक्षका लागि थुनामा छन् ।

अपराध महाशाखामा रहेका उनीहरुले गोरेलाई पक्राउ गर्ने योजनाका साथ गएको दाबी गरेका छन् । जिल्ला अदालतमा बयान दिने क्रममा उनीहरुले भने गोरे भाग्लान् भनेर ‘गुड फेथ’ मा आर्थिक डिल गरेको र यो तत्कालीन नेतृत्वलाई जानकारी गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट