अनाथ बालबालिकामा लगानी बढाउन आग्रह
बालबालिकाका निम्ति मायालु घर (एसओएस) ले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन र त्यस्ता बालबालिकालाई राज्यबाट गर्ने लगानी बढाउन आग्रह गरेको छ ।
बालगृह÷बालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै अन्य सदस्य हजुरबा, हजुरआमा, काकाकाकी, मामामाइज्यू, ठूलोबा, ठूलीआमा अथवा नजीकको आफन्त र नातेदारको संरक्षणमै त्यता बालबालिकाको संरक्षणमा संस्थाले पछिल्लो समय जोड दिएको हो ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसओएस बालग्राम यहाँस्थित कार्यालयले अनाथ बालबालिकालाई संरक्षण गर्न नजीकको आफन्त नातेदारको संरक्षण कार्य (किनसिप) को अवधारणालाई जोड दिइएको हो । चवालीस वर्षदेखि अभिभावकविहीन बालबालिकाको उचित संरक्षण, रेखदेख, शिक्षादीक्षामा सो संस्था सेवारत छ । साथै विसं २०७२ को भूकम्पमा बाबुआमा गुमाएका ५३ बालबालिकासमेत संस्थाको संरक्षणमा छन् ।
एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । संस्थाले गत एक वर्षमा सम्पन्न गरेका कार्यको मूल्यांकन, आम्दानी तथा खर्र्च एवं आगामी कार्यक्रम तर्जुमासम्बन्धी हालै भक्तपुरमा आयोजित सामाजिक लेखाजोखा कार्यक्रममा उहाँले यस वर्ष सन् २०१८ मा आकस्मिक पूर्वतयारी कक्ष, राष्ट्रिय कार्यालय भक्तपुर (ठिमी)मा सहित आफ्ना दश दश बालग्राममा स्थापना गर्न लागिएको, युवा एवं शारीरिक रुपमा अशक्त भएकालाई पुनःस्थापना एवं सीप केन्द्र स्थापना, बालबालिका तथा युवालाई मानसिक स्वास्थ्य सेवालगायत कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
सन् १९७२ देखि एसओएस बालग्राम नेपालको बाबुआमा गुमाएका बालबालिकालाई मायालुघरमा संरक्षण गरी समग्र रुपमा उनीहरुको शिक्षादीक्षासमेत प्रदान गर्दै आएको छ । आठदेखि दश जनासम्म बालबालिकालाई एउटा मायालुघरमा राखी आमा (स्याहार कार्यमा संलग्न) मार्फत संरक्षण गर्ने गर्छ । एक ठाउँका यस्ता घरको संख्या १२ देखि १५ सम्म रहेका हुन्छन् । हाल देशका दश शहरमा एसओएस बालग्राम छन् । एसओएस बालग्रामले सात स्थानमा विद्यालयसमेत सञ्चालनमा ल्याएको छ । एसओएस बालग्राम सानोठिमीका प्रमुख खगेन्द्र नेपालका अनुसार ती विद्यालयको शैक्षिक गुणस्तर देशका उत्कृष्ट २० विद्यालयभित्र छ ।
बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन शुरु गरेका (किनसिप) कार्यक्रमले विश्वप्रसिद्ध डारिककेयर पुरस्कारसमेत प्राप्त गर्न सफल भएको छ ।
सामाजिक लेखाजेखा सार्वजनिक कार्यक्रममा राष्ट्रिय निर्देशक शर्माले संस्थाले आफ्ना कार्यक्रमका हरेक वर्ष सामाजिक लेखाजोखा गर्दै आयव्यय सार्वजानिक गर्ने र पारदर्शी रुपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले सन् २०१७ मा आकस्मिक सहयोग कार्यक्रमसहित रु एक अर्ब ३५ करोड ८७ लाख खर्च भएको जानकारी दिनुभयो ।
नेपालमा वर्षेनी कति बालबालिका अनाथ हुन्छन् भन्ने यकिन जानकारी सरकारी संयन्त्रमा रहेको छैन । कार्यक्रममा एसओएस बालग्रामद्वारा सञ्चालित आकस्मिक सहायता कार्यक्रमका संयोजक शंकर प्रधानाङ्गले भूकम्पपछि तत्काल संस्थाले बालबालिकालाई बालबालिका संरक्षण स्थान स्थापना, विद्यालय मर्मत, बालबालिकाको पाठ्यसामग्री, खाद्यान्नलगायत सहयोग १२ जिल्लामा गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बाबुआमा गुमाएका अनाथ बालबालिकाको संरक्षणमा नै आफूलाई केन्द्रित गर्न एसओएस बालग्रामलाई आग्रह गर्दै सामाजिक लेखाजोखामार्फत आफ्ना आयव्यय र कार्यक्रमका बारेमा जानकारी गराउने कार्यको प्रशंसा गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले एसओएस बालग्रामले बालबालिकाका क्षेत्रमा गरेका कामप्रति मन्त्रालयका तर्फबाट धन्यवाद दिनुभयो । सो अवसरमा एसओएस बालग्राम नेपाल कार्यकारी समितिका अध्यक्ष डा ज्योतिरत्न धाख्वाले एसओएस बालग्रामको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । समाजकल्याण परिषद्का सदस्य सचिव नीलमणि बरालले एसओएस बालग्राम नेपालको सामाजिक लेखाजोखा कार्यलाई अरु संस्थाले पनि अनुसरण गर्नुपर्छ भन्नुभयो ।