बासी कुरा गरेर साझी सरकार बिरुद्द नलाग्न भन्दै योगेश भट्टराईले यसरी तताए संसद,हाने कांग्रेसलाई झाप्पु नै झाप्पु



सांसद योगेश भट्टराईले बासी प्रश्न गरेर सरकारलाई अल्छि नबनाउन विपक्षी कांग्रेसलाई सुझाव दिएका छन् । संसदमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै भट्टराईले कांग्रेसलाई समय सापेक्ष प्रश्न गरेर सरकारलाई जनताप्रति उत्तरदायी बनाउन सुझाव दिएका हुन् ।

‘आफ्नै मनको बाघ’ ले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफै भय, त्रास, अन्यौल, अनिश्चय र दुविधाको शिकार बनिरहेको छ । ऊ आफ्नै इतिहासको गह्रुङ्गो भारीले असाध्यै नराम्ररी थिचिएको छ’, संसदमा भट्टराई भने ।

उनले अगाडि भने, ‘प्रतिपक्षका माननीयज्यूहरुको अभिव्यक्ति बासी प्रश्नहरुको पुलिन्दा जस्तै छन् र समयले ताजा प्रश्नहरु जन्माएको छ र ताजा उत्तर खोजिरहेको छ । बासी र पुराना प्रश्ना तीर अल्यमल्याएर सक्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरुलाई अनुरोध गर्दछु ।’

नीति तथा कार्यक्रममार्फत सरकारले सपना मात्र बाँडेको भनेर विपक्षी कांग्रेसले आलोचना गरिरहको बेला भट्टराईले जिउँदो मान्छेले जस्तै जिउँदो सरकारले सपना देखेको जवाफ दिए ।

‘जिउँदो सरकार भएकाले सपना देखेको छ । सपना जिउँदोले मात्र लेख्छ’, उनले भने । भट्टराईले कांग्रेसले रचनात्मक भूमिका खेल्न नसकेको बताए ।

संसदमा भट्टराईले दिएको मनतव्यको पूर्ण पाठ यस्तो छ ।

सम्माननीय सभामुख महोदय

१) सम्माननीय राष्ट्रपतिले यही २०७५ जेठ ७ गते संघीय संदनको दुवै सदनको संयुक्त बैठकमा वर्तमान सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यो नीति तथा कार्यक्रम लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र परिवर्तनको निम्ति विगत सात दशकयता भएका ऐतिहासिक शान्तिपूर्ण राजनीतिक क्रान्ति, संशस्त्र संघर्ष, जनआन्दोलन, सामाजिक र समुदायिक आन्दोलनप्रतिको नेपाल राष्ट्रको उत्तरदायित्वको समष्टिगत दस्तावेज हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भावी विश्वास, बाटो र उज्यालो पनि हो ।

२) आधुनिक राष्ट्र निर्माण र लोकतन्त्र प्राप्तिका खातिर नेपाली आमाका कर्मठ र योग्य सन्तानहरुको वीरता र बलिदानको उच्च सम्मान गर्दै ती तमाम आदरणीय शहीद तथा अग्रजहरुको सपनालाई साकार पार्ने दृढ अठोटको मार्गचित्र हो, ‘यो नीति तथा कार्यक्रम ।’ नेपाली जनताको लामो समयदेखिको संघर्ष र बलिदानको जगमा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख भावी समृद्ध नेपालको मार्गचित्र हो । गएको निर्वाचनमा वाम गठबन्धनले नेपाली जनता समक्ष गरेका बाचा, खाएको कसम र देखाएको सपनालाई बस्तविकतामा बदल्ने बृहत परियोजना समेत हो ।

३) प्रतिपक्षको रचनात्मक भूमिका संसदीय लोकतन्त्रको गहना हो । ‘आफ्नै मनको बाघ’ ले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफैं भय, त्रास, अन्योल, अनिश्चय र दुविधाको सिकार बनिरहेको छ । ऊ आफ्नै इतिहासको गहुङ्गो भारीले असाध्यै नराम्ररी थिचिएको छ । प्रतिपक्षका माननीयज्यूहरुको अभिव्यक्ति बासी प्रश्नहरुको पुलिन्दा जस्तै छन् र समयले ताजा प्रश्नहरु जन्माएको छ र ताजा उत्तर खोजिरहेको छ । बासी र पुराना प्रश्ना तीर अल्यमल्याएर सक्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरुलाई अनुरोध गर्दछु ।

यहाँनिर म भन्न चाहान्छु, ‘लोकतन्त्रलाई पद्धतिको रुपमा मात्रै होइन संस्कृतिको रुपमा समेत अबलम्बन गर्दै आएको ‘नेपाल कम्युनिष्ट पार्टी’ प्रतिपक्षको संबैधानिक भूमिका र मर्यादाप्रति सदैव संबेदनशिल छ । हुनेछ ।’ २०४८ सालको संसदमा जस्तो वर्तमान संसदमा प्रतिपक्षले उपेक्षा भोग्नु पर्ने छैन । निधेषको अनुभव गनुपर्ने छैन । तत्कालीन अवस्थामा मृत्यु र जीवनसँग जुधिरहनु भएका आदरणीय नेता मनमोहन अधिकारीमाथि गरिएको अमावनीय र संवेदनहीन व्यवहार यो संसदको कुनै पनि माननीय सदस्यमाथि पुनरावृत्ति हुने छैन । बिर्सन लायक संवेदनहीन कदम दोहोरिन दिने छैनौं भन्ने कुरामा म विश्वास व्यक्त गर्न चाहन्छु ।

४) २००७, २०४६ र २०६२/०६३ मा भएका ऐतिहासिक क्रान्ति र आन्दोलनहरु मुलतः वाम लोकतान्त्रिक शक्ति र उदार लोकतान्त्रिक शक्तिको सहकार्यबाट सम्पन्न भएको वास्तविकलाई कसैले विर्र्सन सक्दैन । भुल्न मिल्दैन । संबिधानसभामा वामपन्थी शक्तिले प्रभावकारी भूमिकासहित नेतृत्व नगरेको भए संबिधानको घोषणा हुन असम्भव थियो भन्ने इतिहासको तथ्य हामीलाई संस्मरण छ । संबिधानको कार्यान्वयनमा तीनै तहको निर्वाचन, नयाँ संरचना र संस्थाहरुको निर्माणसँगै मुलुक राजनीतिक स्थिरता र शासकीय स्थायित्वतर्फ अघि बढ्दैंछ । यस्तो अवस्थामा विगतमाझै सरकारमा साझेदारी गरिरहन पर्ने छैन । तर, नेपाली समाजको अग्रगतिका लागि सबैधानिक राजनीतिक शक्तिहरुकोबीचमा सहकार्य अनिवार्य छ । नीति तथा कार्यक्रमले यो महत्वलाई आत्मासात गरेको छ ।

५) भौगोलिक अखण्डता तथा सामाजिक एकता नेपाली राष्ट्रियताका अभिन्न पाटाहरु हुन् । हाम्रा पूर्खाहरुको वलिदान र रगतसँग साटिएको हाम्रो प्यारो देश र हाम्रो माटो हाम्रा लागि सबैभन्दा प्रिय छन् । हामी सबै यही प्यारो देशलाई शीरमा सजाएर र यही माटोलाई मुटुमा राखेर दौडिरहेका छौं । सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृति, भूगोल र लिङ्गका नेपाली जनताबीचको अटुट एकताले हाम्रो राष्ट्रलाई अझ बलियो र चीरस्थायी बनाउनेछ । जङ्गी महत्वकांक्षासहित तीव्र गतिमा दौडिरहेका हाम्रा छिमेकी मित्र राष्ट्रहरुको प्रगतिबाट फाइदा लिदै भौगोलिक अखण्डतालाई अक्षुण राख्नु हाम्रो साझा संकल्प हो । यस्तो परीक्षामा पास भएर नेपाली जनताको अपार समर्थन प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वमा रहेको वर्तमान सरकारले यो भू–राजनीतिलाई तीव्र आर्थिक बिकासका लागि अवसरका रुपमा अघि बढाउने संकल्प यो नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । ‘नेपाली राष्ट्रवाद कुर्सीे अनुसार बदलिँदैन : अवस्था र स्थिति अनुसार फेरिदैन’ भन्ने मानक सधैभरीका लागि स्थापित गर्नुछ ।

६) चौडा सडक, अग्ला भवन, रेल, पानीजहाज, ठूला हवाई मैदान आदि यो नीति तथा कार्यक्रममा चर्चित प्रस्तावहरु हुन् । तर, प्रश्न छ, ‘यो सबै के–का लागि ? कसका लागि ?’ यसले विद्यमान सामाजिक संरचना र वर्ग संरचनामा के परिवर्तन ल्याउँछ ?’ तर, हामी प्रष्ट छौं, ‘यसले ल्याउने प्रतिफल ती तमाम सीमान्तकृत र श्रमजीवि जनताको जीवनमा उज्यालो ल्याउनु हो । अनेकौ बोझ, पीडा र नियतिहरुले अभिशप्त उनीहरुको अनुहारमा मुस्कान ल्याउनु हो ।’ त्यही हो, समाजवादी दिशा अनि त्यही हो सामाजिक न्याय भनेको पनि । जो, यो नीति तथा कार्यक्रममा प्रतिबद्धताको रुपमा रहेको छ ।

७) ‘सिद्धान्त र इतिहासको मृत्यु’ भयो भन्ने भ्रान्तीलाई प्रचार गरेर राज्यलाई दलालहरुले कब्जा गर्ने, राज्य र जनताबीचमा सदैव शत्रुतापूर्ण सम्बन्ध बनाइरहने मान्यता कुनै पनि वहाना र मूल्यमा हामीलाई स्वीकार्य छैन । तसर्थ, यो नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतमा राज्यको नेतृत्वदायी भूमिकालाई स्वीकार गरेको छ । लोककल्याणकारी राज्यको स्थापना सँगै राजनीतिक संस्थाहरुमा बढ्दो दलाली चरित्रलाईलाई अन्त्य गर्ने अपेक्षा गरिन्छ । संसद, जनप्रतिनिधिमुलक संस्था व्यवस्था, दल र नेतृत्वले विगतमा आफ्नो साख बचाउन नसक्दा जसरी मुलुकले ठूला–ठूला क्षति व्यहोर्नु प¥यो । राष्ट्रको समय बर्बाद भयो । हाम्रा पूर्खाहरुले आफ्नो उर्बर र अमूल्य समय निर्माणमा होइन अभियान र आन्दोलनमा खर्चिनु प¥यो । यसबाट पाठ सिक्दै राजनीतिक संस्थाहरुभित्र यो वा त्यो कुनाबाट प्रभाव विस्तार गरिरहेको दलाल प्रवृत्तिलाई अन्त्य गर्दे संसदमार्फत व्यबस्थाले आफ्नो विश्वास बचाई राख्नु पर्नेछ । यो हाम्रो सबैको साझा दायित्व पनि हो ।

८) नेपालको लोकतान्त्रिक क्रान्तिले संबिधान निर्माणसँगै पूर्णता पाएपछि विकास र समृद्धिको भोक जागेको छ । जगाइरहेको छ । हाम्रो भू–राजनीतिले भोक–भोकै हिंडेर भावनात्मक गीत मात्रै गाउने छुट दिदैन । दिइरहेको छैन । भोका पेटहरुलाई सन्तुष्ट बनाउन सकियो भने राष्ट्र निर्माणको अजंग शक्ति त्यही हुनेछ । तर, भोका पेटहरु भोकै बसिरह्यो भने विध्वंशको रुप लिनेछ । यो हामी सबैका लागि गम्भिर चुनौती हो । हामीले ती भोका पेटहरुलाई राष्ट्र निर्माणमा लगाउनु छ । संसारलाई सुन्दर बनाउन योगदान दिइरहेको हाम्रो श्रमशक्तिलाई यही देशलाई सुन्दर बनाउन र यही माटोलाई उर्बर बनाउन परिचालन गर्नु पर्दछ । ‘पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका रुपमा यो संकल्प नीति तथा कार्यक्रममा प्राथमिकताकासाथ समावेश भएको छ ।

९) यो नीति तथा कार्यक्रममा कृषिको आधुनिकीरण जलस्रोतको बहुउपयोग, पर्यटन पूर्वाधार, मानव संसाधनको बिकासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने उत्पादनमा बृद्धि गर्ने न्यायोचित वितरण गर्ने, व्यापार घाटाबाट उत्पन्न परनिर्भरतालाई अन्त्य गर्ने अठोट गरिएको छ । बार्षिक रुपमा श्रम बजारमा आउने युवा शक्तिलाई योग्यता अनुसारको काम दिने, दुई अंकको आर्थिक बृद्धि गर्ने, प्रतिव्यक्ति आयमा बढोत्तरी गर्ने भ्रष्टचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लक्ष्य राखिएको छ । यसको समष्टि परिणाम ‘सुखी नेपाली ः समृद्ध नेपाल’ का रुपमा देखाउनु पर्नेछ । यसका लागि सवत्र परिर्वतन गर्नुपर्ने छ । कार्लमाक्र्सले भन्नु भएको थियो, ‘दार्शनिकहरूले विभिन्न ढङ्गबाट संसारको व्याख्या मात्रै गरेका छन्, जबकी सवाल यसलाई परिवर्तन गर्ने हो ।’ अबको हाम्रो सवाल पनि परिर्वतन हो । तसर्थ परिर्वतनको मार्गचित्र समावेश यो नीति तथा कार्यक्रमलाई समर्थन गर्न म सबै राजनीतिक दल र मान्य सदस्य ज्यूहरुलाई हार्दिक आग्रह गर्दछु ।

धन्यवाद !

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी