ओली प्रधानमन्त्री बनेको आज १०० दिन पुग्यो,बर्षौ देखी हुन नसकेका यस्ता पाँच काम गरेर बनाए यस्तो कीर्तिमानी



प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार प्रवेश गरेको शुक्रबार आज १०० दिन पुगेको छ। ‘हनिमुन अवधि’ पूरा गरेको सरकार आगामी बजेटको तयारीमा छ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लिएर अघि बढेका प्रधानमन्त्री ओलीले आफ्ना हरेक भाषणमा समृद्धि र विकासका योजना सुनाउन छाडेका छैनन्। जेठ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि ५ वर्षप्रति नेपालीको आय दोब्बर बनाउने र वैदेशिक रोजगारीमा जान नपर्नेजस्ता महत्वाकांक्षी योजना छन्।

नेपालमा सधैं सरकारले आकर्षक योजना सुनाउने तर कार्यान्वायन नहुने रोग पुरानै हो। त्यसको सबै अपसज अस्थिर राजनीतिलाई दिने गरिएको थियो। राजनीतिक स्थायित्वपछि गठन भएको पहिलो सरकार भएकाले अहिलेको सरकारसँग जनताले धेरै अपेक्षा गरेका छन्। सरकारले आफ्नो सय दिनमा केही राम्रा काम गरे पनि अपेक्षा अनुसार गति लिन भने सकेको छैन। भाषण र प्रचारका लागि कस्मेटिक काममा रुमल्लिएर सरकारले लिनुपर्ने गति लिन नसकेको विश्लेषणहरु हुन थालेका छन्।

तर, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल १२ वर्षे गुरुयोजना बनाएर सरकार अघि बढेको बताउँछन्। समृद्धिका आधारहरु बनिसकेको र अब सरकार त्यो बाटोमा अघि बढ्ने उनको भनाइ छ।

सरकारको एक सय दिन सफलतापूर्वक सम्पन्न भएको जनाउँदै उनले ५ वर्षको स्थीर सरकार भएकाले त्यहीअनुसार योजना बनाएर कार्यान्वायन सुरु गरिने बताए।

सय दिनमा ओली सरकारका ५ राम्रा काम 

१. यातायात सिन्डिकेटविरुद्ध प्रहार 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि चैत १ देखि मयुर यातायातले काभ्रेको बनेपासम्म रुट परमिट पायो। विगतमा यातायात समितिको सिफारिसमा मात्र रुट परमिट दिने गरिएकोमा सरकारले त्यो प्रावधान खारेज गर्‍यो।

देशभरि रुट परमिट खुला गरियो। त्यसको विरोधमा कोटेश्वर पूर्वका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिए। वैशाख २० मा यातायात नै ठप्प बनाएर सरकारलाई दबाब दिने प्रयास गरे। तर, सरकार झुकेन। व्यवसायीलाई पक्राउ गर्दै सरकारले मुद्दा चलाउने तयारी गरेपछि उनीहरु नै सेफ ल्यान्डिङ गरेर छुटे। बलियो सरकार भएकाले नै विगतमा निकै शक्तिशाली देखिने यातायात व्यवसायी महासंघ यसपटक निरिह बन्न पुग्यो।

यो घटनाले सरकार बलियो भएको संकेत दिएको छ भने अन्य व्यवसायमा भएका एकाधिकार तथा विकृति रोक्न शक्ति प्रदान गरेको छ । हनिमुन समयमा सर्वसाधरणबाट सरकारले ठूलो प्रशंसा कमाएको सिन्डिकेट अन्त्यकै विषयमा हो।

२. कर्मचारीको वैदेशिक भ्रमणमा लगाम 

प्रधानमन्त्रीको अर्काे राम्रो कदम भनेको सरकारी अधिकारीहरुको अनावश्यक वैदेशिक भ्रमणमा नियन्त्रण हो। कर्मचारीहरुले कुनै महत्व नै नभएका कार्यक्रममा विदेश जाने र राज्यबाट भत्ता लगायतका सुविधा लिने गरेका थिए।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको समेत वैदेशिक भ्रमणमा लगाम लगाएका छन्। एउटा एनजिओको कार्यक्रममा जान सरकारी भ्रमणको स्वीकृति मागेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकै अमेरिका भ्रमण समेत प्रधानमन्त्री ओलीले रोकिदिए।

३. विद्यालय भर्ना अभियान 

विद्यालय भर्ना अभियानका लागि विगतमा पनि प्रयास भएका थिए। यसपटक सरकारले नयाँ ‘कन्सेप्ट’सहित भर्ना अभियान चलायो। अभिभावकत्व ग्रहण गरी विपन्न बाल–बालिकालाई विद्यालयसम्म पुर्‍याउने अभियान गाउँ–गाउँसम्म सञ्चालन गरिएको छ।

प्रधानमन्त्री ओलीले मुगु र सिरहामा आफैंले अभिभावकत्व ग्रहण गरेर विद्यार्थीलाई भर्ना समेत गराए। मन्त्रीदेखि केन्द्रीय स्तरका नेताहरुले समेत बालबालिकालाई आफ्नो जिम्मामा लिएर विद्यालयमा भर्ना गराए। यसले राम्रै चर्चा पनि पायो। यो अभियानले विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहने संख्यामा कमी ल्याउने अपेक्षा गरिएको छ।

४. सुन तस्करीको पर्दाफास

नयाँ सरकार बनेपछि विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको सफल अनुसन्धान गरी त्यसमा संलग्नहरु पक्राउ परे। विमानस्थलका कर्मचारी र प्रहरीहरुलाई समेत पक्राउ गरियो। एउटै समूहले विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको थियो।

खासगरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुसन्धानका लागि सक्रियता देखाएकाले सुन तस्करीका धेरै पाटो बाहिर आएको छ। सायद यसले विमानस्थलबाट हुने संगठित तस्करी नियन्त्रणमा सहयोग पुग्नेछ।

५.कूटनीतिमा सन्तुलन प्रयास 

सरकारमा आएको सय दिनभित्रै प्रधानमन्त्री ओली आफू पनि भारतको राजकीय भ्रमण गए र भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा ल्याउन सफल भए। नाकाबन्दीको समयमा भारतविरुद्ध उभिन सकेकै आधारमा मत बटुल्न सफल ओलीले अहिले सरकारमा आएपछि भारतसँगको चिसो सम्बन्धलाई न्यायो बनाउने कोसिस गरे। त्यो केही हदसम्म सकारात्मक पनि देखियो।

प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीको भ्रमण विवादमा तानियो। तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल भने मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध ‘नर्मल’ भएकाले यो सरकारको कूटनीतिक सफलता भएको बताउँछन्।

‘भ्रमणका क्रममा यसपटक भारतीय प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा विगतमा जस्तो केही बोलेनन्,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले विराटनगरको फिल्ड अफिस बन्द गर्न प्रस्ट रुपमा अडान लिनुभएकाले नै त्यो बन्द गर्ने निर्णय भएको हो।’ चीन भ्रमणको तयारीमा रहेका ओलीले कूटनीतिक सन्तुलन कति कायम गर्न सक्छन्, त्यो उनका आगामी दिनका कदम र निर्णयले देखाउने नै छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्