सुन तस्करलाई जोगाउन सेटिंग मिलाएर बहस गर्न वकिलहरु ज्यान फालेर लागे,कसकाे बचाउमा कसकाे बहस?



हाम्रो इकोनोमि

‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा बहसका लागि ६३ कानुन व्यवसायीले ११३ वकालतनामा भराएका छन्।

मोरङ जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको प्रतिरक्षात्मक बहसमा सुन काण्डमा जोडिएकामध्ये प्रहरी, एयरलायन्सका कर्मचारी र सुनमा लगानी गर्ने पैसावाला प्रतिवादीको पक्षमा वकिलको लाइन लागेको हो।

साढे ३३ किलो सुन र सनम शाक्यको हत्यामा जोडिएका भनिएका ६३ प्रतिवादीमध्ये पक्राउ परेका ३० जनामध्ये ७ जना प्रहरी अधिकारी, १३ जना एयरलाइन्सका कर्मचारी र दुईजना सुनका लगानीकर्तालाई वकिलहरूले बारम्बार बचाउ गर्दै बहस गर्ने गरेका छन्।

वकालतनामा भराउने अधिकांश पहुँचवाला र पैसावालाकै पक्षमा बहस लागिपरेको देखिएको छ।

कसकाे बचाउमा कसकाे बहस?
प्रतिरक्षात्मक बहसको तेस्रो दिन मंगलबार वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता रामचन्द्र सुवेदी र देवेन्द्र कोइरालाले प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीको संलग्नता नरहेको भन्दै उनको बचाउमा बहस गरेका थिए।

यसैगरी वरिष्ठ अधिवक्ता टंक उप्रेती, अधिवक्ता नारायण वस्ती, राजेन्द्र खनाल, केदार भण्डारीले प्रहरी नायब निरीक्षक बालकृष्ण सन्जेललाई बचाउ गर्दै बहसमा सामेल भएका थिए। अधिवक्ता नारायण दाहालले घटनामा संलग्न मध्येका टेकराज मल्ल ठकुरी र राजन थापा तथा अधिवक्ता जयबहादुर भुजेलले लालबहादुर मगर र राजन थापालाई पक्षमा राखेर बहस पैरवी गरे।

प्रतिरक्षात्मक बहस सुरु भएको पहिलो दिन आइतबार चार जना वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमनकुमार श्रेष्ठ, राजु बस्नेत र यदुनाथ खनालले ११ जना प्रतिवादीको बचाउमा बहस गरेका थिए । त्यसमा अधिकांश प्रहरी, सुनका लगानीकर्ता र एयरलाइन्सका कर्मचारी छानिएका थिए । वरिष्ठ अधिवक्ता थापाले सुनका लगानीकर्ता भुजुङ गुरुङ र प्रहरी उपरीक्षक विकासराज खनालको बचाउमा बहस गरेका थिए भने पूर्व महान्यायधिवक्ता समेत बनिसकेका रमनकुमार श्रेष्ठले भुजुङ गुरुङ, अवकाश प्राप्त डिआईजी गोविन्द निरौला र प्रहरी उपरीक्षक विकासराज खनाललाई अभियुक्त बनाउन नमिल्ने दावी इजलासमा पेश गरेका थिए । प्रहरी उपरीक्षक खनालकै पक्षमा अर्का वरिष्ठ अधिवक्ता यदुनाथ खनालसमेत आरोपितको बचाउ गर्दै बहसमा सामेल भए।

वरिष्ठ अधिवक्ता राजु बस्नेतले विमानस्थलका कर्मचारीहरू बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा र हेमन्त गौतमको बचाउमा बहस गरेका थिए। उनले प्रतिवादीमध्ये कर्तव्य ज्यानमा संलग्न भनिएका मोहन काफ्ले र टेकराज मल्लले दिएको बयानका आधारमा कर्मचारीको संलग्नता भएको पुष्टि नहुने तर्क राखेका थिए।

यसैगरी, सोमबार भएको प्रतिरक्षा बहसमा वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठ, योगेन्द्र न्यौपाने तथा अधिवक्ताहरू रामबहादुर राउत, अमर राउत, जनगप्रसाद फुयाँल, रमिता महर्जन, सुनिलकुमार सिंह, हरिनारयाण चौधरीले आफ्नो पक्षका आरोपित निर्दोष रहेको दावी इजालासमा पेश गरे।

वरिष्ठ अधिवक्ता आचार्य र राजेन्द्र भट्टराई तथा अधिवक्ता सुरेशलाल श्रेष्ठले प्रहरी नायब उपरीक्षक प्रजित केसीको बचाउमा बहस गरेका थिए। उनै अधिवक्ता श्रेष्ठले केसीसँगै अमरमान डंगोलको बचाउ गर्दै सादा तारेख आदेशको माग गरेका थिए।
प्रहरी नायब उपरीक्षक सञ्जय राउतको पक्षमा अधिवक्ता रामबहादुर राउत र अमर राउतले बहस गरेका थिए। यसैगरी सुनका लगानीकर्तामध्येका एक प्रतिवादी चाचाजी भन्ने महावीर गोल्यान अग्रवाललाई बचाउ गर्दै वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने र अधिवक्ता जगनप्रसाद फुयालले नखाएको विष प्रहरीका कारण लागेको दाबी गरेका थिए।

अधिवक्ता रमिला महर्जनले सम्बिरमान तोलाङ्गे, अमरबहादुर थापा र वीरेन्द्रमान श्रेष्ठलाई बचाउ गर्दै साधारणमा तारेख आदेश माग गरेकी थिइन्। अधिवक्ता महर्जनले पनि प्रहरी हवल्दार अमरबहादुर थापाको पक्षमा सोही माग राखिन्। प्रतिवादी तोलाङ्गे र वीरेन्द्रमान श्रेष्ठको पक्षमा अधिवक्ता सुनिलकुमार सिंहले बहस गरेका थिए। पुण्यप्रसाद लामाको पक्षमा अधिवक्ता हरिनारायण चौधरीले बहस गरेका थिए।
आइतबारदेखि सुरु भएको बहसमा मंगलबारसम्म २५ कानुन व्यवसायीहरूले प्रतिवादीको पक्षमा बहस गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...