१९५० को सन्धि खारेज गर्न मोदीलाई मनाएको छु भन्दै प्रधानमन्त्री ओलीले संसदमा सुनाए देशभक्तीको यस्तो उक्ती



प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ बैठकमा विशेष सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणले दुवै देशको सम्बन्ध अझ उचाइमा पुगेको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार र शनिबार दुईदिने नेपाल भ्रमण औचित्यपूर्ण र सार्थक भएको पुष्टि गर्दै प्रधानमन्त्री ओलीले भ्रमणको सेरोफेरोमा उठेका आलोचनाप्रति वास्ता गर्नु जरुरी नभएको बताए।

प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई कायम राख्दै छिमेकीसँग बराबरीको सम्बन्ध कायम गरेको संसद्‌मा उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट सन्तुलित सम्बन्धन र स्वाभिमान कायम राख्ने पक्षमा रहेको संसद्‌लाई जनाए।

नेपाल भारत सम्बन्ध ३ वर्ष पहिले तनावग्रस्त रहेको सम्झँदै ओलीले भने, ‘म सम्झछु ३ वर्ष पहिले म नै प्रधानमन्त्री थिएँ। नाकाबन्दी थियो। तत्कालीन समयमा मैले नकाबन्दी अन्त्य नभएसम्म भारत नजाने अडान राखेको हो। नाकाबन्दी खुलेपछि मात्र म भ्रमणमा गएको हुँ।’

सँधै एउटै अवस्थामा दुई देशबीच सम्बन्ध नरहने भन्दै उनले भने, ‘हाम्रो कसैसँग दुश्मनी होइन। र यस्तो होस् भन्ने चाहँदैनौं। हामी मित्रता गाँस्दै साथ र सहयोग चाहन्छौं।’

‘सम्बन्ध सुधार गर्नुपर्छ, हेपाई सहनु हुँदैन,’ ओलीले थपे, ‘हामीले त्यही गरेका हौं, विगतमा त्रुटि सच्चाउँदै बराबरीको सम्बन्ध अब कायम भएको छ।’

दक्षिण र उत्तर कोरियाले जारी विवाद समाधान थालेको, मोदी र सी जिङपिङकाबीच वार्ता भएको उल्लेख गर्दै ओलीले कहिलेकाँही चिसोपन आउने तर सधैं चिसोपनमै सम्बन्ध नरहेने उल्लेख गरे।

आफ्ना सबै काम सार्वजनिक र पारदर्शी भएको भन्दै ओलीले जे गरे पनि आलोचना गर्न नहुने बताए। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको समयमा जारी गरेको घोषणापत्र, संयुक्त प्रेस वक्तव्य, सार्वजनिक भएकाले आलोचना गर्न उचित नभएको उनको भनाइ थियो।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण जनकपुरबाट सुरु भई पशुपति दर्शनसँगै पूरा भएको भन्दै प्रधानमन्त्री ओलीले नेपालका लागि रामायाण सर्किट सुरु हुनु महत्वपूर्ण भएको जनाए। रामायाणमा वर्णित महत्वपूर्ण धार्मिक स्थल समेटेर निर्माण हुने उक्त सर्किटले नेपालाई पर्यटन विस्तारमा फाइदा पुग्ने ओलीको भनाइ थियो।

‘बाल्मिकी आश्रम, जनकपुर लगायतका क्षेत्रसमेत उक्त सर्किटमा समेटिन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘दुवै देशका प्रधानमन्त्रीले जनकपुर-आयोध्या बस सेवा सुरु गर्नु यसको कार्यान्वयनको शुरुवात हो। यो बस पहिलो यात्रा हो, आगामी दिनमा यसले थप निरन्तरता पाउनेछ।’

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर जनकपुरमा आमजनताको सकारात्मक चासो र सर्मथन देखिएको भन्दै ओलीले धन्यवाद दिए। जनकपुरमा भएको मोदीको नागरिक अभिनन्दन, काठमाडौं र मुक्तिनाथमा भएको भव्य स्वागतले भारतसँगको नेपाल सम्बन्ध झन प्रगाढ बनेको ओलीले बताए।

प्रधानमन्त्री ओलीले मोदीसँगको एक्लाएक्लै भेटमा नेपालको पक्षमा धेरै कामका विषयमा आफूले सहमति गरेको बताएका छन्। व्यापारमा चरम असन्तुलन के-के गरेर हटाउन सकिन्छ भनेर ३ महिनामा नीति संशोधन गर्ने र भारतीय बजारमा नेपाली उत्पादन बढाउने, चिया, अलैँची, जुट लगायतका कृषि सामग्री निर्यातमा देखिएका समस्या समाधान गर्नेबारे आफूले सहमति गरेको ओलीले सदनमा जानकारी गराए।

यस्तै, नेपालगञ्ज, भैरहवा र विराटनगरबाट समेत अन्तर्राष्ट्रिय हवाइ रुट माग गरेको ओलीले सदनमा जानकारी गराए। ४ वटा रुट नेपालका लागि उपलब्ध गराउन दुई पक्षीय प्राविधिक अध्ययन गर्ने र सेप्टेम्बरसम्म निर्णय गर्ने सहमती भएको ओलीले जनाए।

भेटमा तराईका क्षेत्रमा प्रत्येक वर्ष देखिने डुबानको विषयमा समेत कुरा भएको प्रधानमन्त्री ओलीले बताए।  ‘सिमानामा बाँध बाँध्ने वा बाटो बनाउने नाममा नेपाली भूमि बर्सेनि डुबानमा पर्दै आएका छन्,’ ओलीले मोदीसँग गरेको कुराकानी उदृद् गर्दै संसदमा भने, ‘छिमेकी सम्बन्धमा अन्याय र अनुचित कार्य हुनु हुँदैन।’ उनले अघिल्लो भ्रमणमा पनि आफूले उक्त कुरा उठाएको र अहिलेको भेटमा पनि सम्झाएको सदनमा जानकारी गराए।

‘भारतको आफ्नो जमिन, बस्ती बचाउनका लागि हाम्रो क्षेत्र डुबानमा पार्न मिल्दैन मैले भनेको छु,’ ओलीले भने, ‘यसमा भारत पनि तयार छ। यसमा छिटै सयुक्त कार्यदल बनाएर काम गर्ने सहमति भएको छ।’

बाँध समस्यामा अहिले सकिने अहिले र बाँकी विस्तारै समाधान गर्ने सहमति भएको ओलीले संसद्‌मा उल्लेख गरे। सन् २०१४ को ऊर्जा नीतिलाई पनि परिमार्जन गर्ने कुरा भेटमा भएको ओलीले बताए। अरुण तेस्रो ५ वर्षभित्र बन्ने निश्चित भएको पनि ओलीले उल्लेख गरे। ४ वर्षमा ट्रान्समिसन लाइन तयारी हुने र त्यसको एक वर्षभित्रै ९०० मेघावाट उत्पादन र प्रयोग हुने सहमति अनुसार नै संयुक्त उद्घाटन गरिएको ओलीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धिका विषयमा छिटै बैठक बसी निर्णय गर्ने सहमति भएको बताए। ‘सन् १९५० को सन्धि र त्यसको प्रावधान कसरी अध्यावधिक गर्ने भन्ने विषयमा अध्ययन गर्न दुवै पक्षका ४–४ जनाको प्रवुद्ध समूहका सदस्यको प्रतिवेदन प्राप्त भए लगत्तै काम थाल्ने सहमति भएको छ,’ ओलीले सदनमा भने, ‘अब छिटै यसमा काम हुन्छ, कम्तिमा पनि १९५० को सन्धि, एउटा देशको प्रमुख र राजदूतका बीचमा भएको सम्झौता खारेज हुन्छ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना पनि अघि बढ्ने ओलीले दाबी गरे। १३ सय मिटरको लिङ्करोड, दोधारा-चाँदनी, महाकालीमा ३ वटा पुल निर्माण, महेन्द्रनगरमा पुल निर्माण गरेपछि भारतीय राजमार्ग ६ दशमलब ८ किलोमिटर निर्माण गरी जोड्नेगरी कुरा भएको ओलीले जनाए।

रेलवे र जलमार्गका लागि थप सम्झौता गर्ने सहमति भएको ओलीले सदनमा जानकारी गराए। नेपालले जारी गरेको प्रमाणपत्रलाई भारतको मेडिकल काउन्सिलबाट मान्यता दिनका लागि आफूले कुरा उठाएको ओलीले जनाए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्