ओलीको छाया देखे मात्र तर्सिनु पर्ने प्रचण्डलाई आइपर्यो यस्तो बाध्यता,प्रचण्ड नै एकता नगर्न यसरी तम्सिए



एकता प्रक्रिया निकटमा पुगेको भनिएको बेला एकाएक एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दूरी बढेको जस्तो देखिएको छ ।

यसको पछिल्लो उदाहरण हो–प्रधानमन्त्री ओलीको ट्वीट र त्यसको जवाफमा प्रचण्डले जनाएको प्रतिकृया । ओली–प्रचण्डबीचको यो तिक्तताको बेलैमा सम्बोधन नभए पार्टी एकता, दिगो सरकार र सम्बृद्धिको सपना अधुरो र अपुरो हुने खतरा छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच दूरी बढ्नुमा खासगरी तीनवटा फ्याक्टरले काम गरेको विश्लेषण हुन थालेको छ ।
१.पार्टी एकतामा ढिलाई ।
२.सरकार सञ्चालनमा छलफलको अभाव ।
३.ट्वीट प्रकरण ।
यी तीनवटै विषय एक अर्कामा अन्तरसम्बन्धित देखिएका छन् ।

पार्टी एकतामा ढिलाई
‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखान नेपालीहरुबीच निकै चलचल्तीमा छ । यो उखान जस्तै एमाले–माओवादी एकता प्रकरण पनि त्यस्तै नहोला भन्न सक्ने अवस्था छैन । गत वर्षको असोज १७ गते सबैलाई चकित पार्नेगरी एकता गर्ने घोषणासहित हस्ताक्षर गरेका दुई दलले सात महिना बितिसक्दा पनि पार्टी एकतालाई मूर्त रुप दिन सकेका छैनन् । यो बीचमा एउटै घोषणापत्र बनाएर चुनावमा बहुमत ल्याई सरकार समेत बनाएका दुई दलको एकताले मूर्त रुप नपाउँदा दुबै पार्टीका तल्लो तहका नेता कार्यकर्तामा निरासासँगै आपसमा मनमुटाव र तिक्तता झाँगिदै गएनमात्रै अध्यक्ष तहमै यसको असर देखिन पुग्यो ।

एकताका लागि विभिन्न स्तरका कार्यदल र एकता संयोजन समितिमार्फत गृहकार्य भएपनि अन्तिममा मुख्यगरी तीनवटा विषयको सम्बोधन गर्ने जिम्मेवारी पाएका ओली र प्रचण्डले कार्यकर्ताको माग अनुसार सक्रियता नखेखाउँदा एकता घोषणामा ढिलाइ भएको दुवै पक्षले स्वीकारिसकेका छन् । सात महिनासम्म एकीकृत पार्टीको संगठनमा समाहित हुने सदस्य संख्यामा कसका कति ? एकीकृत पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने या नराख्ने र निर्वाचन चिन्ह सूर्य मात्रै वा सूर्यभित्र हसिया हथौडापनि राख्ने भन्नेमा कुरा मिलेको छैन । सतहमा यी तीन विषयले एकता घोषणमा ढिलाइ भएको भनिएको छ ।
यो बाहेक पनि कतिपयले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा आधा कार्यकाल, महाधिवेशनपछि अध्यक्ष बन्ने सुनिश्चितता समेत खोजेको भन्ने समचारहरु आएपनि त्यसलाई पुष्टि गर्ने प्रयाप्त आधार अहिलेसम्म भेटिएको छैन । पटक पटक दुई अध्यक्षबीच यिनै विषयमा घण्टौंसम्म छलफल भएपनि उनीहरुले बाहिर यसबारे भएका प्रगति नवताएपछि अनुमानका भरमा आएका यस्ता टिप्पणीलाई उनीहरुले खण्डन पनि गर्दै आएका छन् ।

उदाहरणकै लागि पछिल्लो पटक सोमबार माओवादी भातृ संगठन वाइसीयलले गौशालामा आयोजना गरेका एक कार्यक्रममा प्रचण्डले आफू र ओलीबीच कुनै पनि सहमति नभएको भनेर प्रष्ट्याउनु नै प्रयाप्त छ ।
सरकार सञ्चालनमा छलफल अभाव
गत मंसिरमा सम्पन्न निर्वाचनपछि माओवादीसहितको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । ओलीले गत फागुन ३ गते प्रधानमन्त्रीको सपथ लिएपछि दोस्रो र तेस्रो चरणमा माओवादीलाई सरकारमा सहभागी गराए ।

पहिलो चरणमा माओवादीलाई सरकारमा सहभागी गराउन नसक्नु नै ओलीका लागि ‘पहिलो गाँसमै ढुङगा’ जस्तै बन्न पुग्यो । आज ओली नेतृत्वको सरकार बनेको ८२ दिन बितेको छ । यो बीचमा सुशासन र सम्बृद्धिको सपना पुरा गर्ने भाषण सरकारका मन्त्री, प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले समेत बारम्बार दोहोर्यारहेका छन् । तर, सुशासन र सम्बृद्धि पुरा गर्ने विषयमा सत्तारुढ दलहरुवीच नै प्रयाप्त छलफल हुन नसक्दा दुई दलबीचको तिक्तता फराकिलो बन्दै जाँदा आपसमा आरोप–प्रत्यारोप नै हुन पुग्यो ।

यसैका कारण सरकारले ल्याउने बजेट, नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले सरकारकै मन्त्री र सत्तारुढ दलसँग प्रयाप्त छलफल र परामर्श नगरेको माओवादी मन्त्री र नेताहरुले गुनासो गर्न थाले ।
त्यो भन्दा अघि सचिव सरुवादेखि सरकारका महत्वपुर्ण निकायहरु प्रधानमन्त्री मातहत ल्याउने प्रधानमन्त्री केपी ओलीको चाहाना र गृहकार्यले पनि प्रचण्ड र ओलीबीचको दूरी बढाउन थप मलजल गरेको थियो । सचिव सरुवा गरेर प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका बेला माओवादी मन्त्रीहरुले प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको भन्दै अध्यक्ष प्रचण्डसँग त्यसको प्रतिपाद गर्न सुझाएका थिए ।

ओली भारतबाट फर्केपछि ओली र प्रचण्डबीच यसवारे छलफल हुँदा सहमतिमै अघि बढ्न दुवै नेता तयार भएको बताइएको थियो । तैपनि, नेता कार्यकर्ता र जनतामा निराशा पैदा नहोस् भनेर दुबै दलका नेताले सरकारसँगै पार्टी एकताको गृहकार्यलाई अगाडि बढाउदै आफूहरुबीच दूरी बढेको आभास नहोस् भनेर एकता र सरकार सञ्चालनबारे एकै भाषा प्रयोग गर्दै आएका थिए । माओवादी अध्यक्ष प्रचण्डले त पोखराको एक कार्यक्रममा पार्टी एकतापछि दुवै पार्टीका नेता कार्यकर्तामा व्यवहार परिवर्तन गर्नुपर्ने समेत बताएका थिए ।

तर, यति समिप्यता र नजिक भएका ओली प्रचण्डबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा एकाएक दुरी बढ्न पुगेपछि भने कुन तत्वले काम गरेको हो ? भन्ने प्रश्न समेत उठ्न पुगेको छ ।

प्रधानमन्त्री केपी ओलीको ट्वीटप्रति प्रचण्डको आक्रोश
ओलीको ट्वीटले थप आशंका
दुई अध्यक्षबीच यसबीचमा एक्लाएक्लै सघन वार्ताहरु हुने गरेको सबैले थाहा पाएपनि ती वार्तामा के–के छलफल हुन्थे भन्ने कुरा ओली र प्रचण्डबाहेक अरु कसैलाई थाहा छैन । उनीहरुका सहयोगीहरुले पार्टी एकतामा देखिएका विवादमा सहमति खोज्न ओली प्रचण्डबीच छलफल हुने गरेको भनेर दिएको सूचनालाई नै आधार बनाएर सामचारहरु लेख्नुपर्ने बाध्यता थियो । तर, यहि बीचमा सोमबार मात्रै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ‘समिकरण फेरबदल गर्न बानी परेकालाई विकास र सम्बृद्धिप्रति अरुची हुनसक्ने’ भनेर अभिव्यक्ति दिए । ओलीको यो अभिव्यक्ति माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित भएको माओवादीले विश्लेषण गर्यो ।

हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।

त्यहि आशंकाकाबीच मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा ओलीको ट्वीटर प्रकरणबारे माओवादीका सांसदहरुले प्रचण्डको ध्यानाकर्षण समेत गराए । सांसदहरुले यसवारेमा प्रश्न उठाएपछि प्रचण्ड मंगलबारै यसबारे ओलीसँग गम्भीर छलफल गर्न भन्दै बालुवाटर पुगे । पुर्व प्रधानमन्त्रीहरु र परराष्ट्रविदहरुसँगको छलफलपछि ओली र प्रचण्डबीच विकसित घटनाक्रमबारे लामो छलफल भयो । तर, उनीहरुबीच पछिल्लो भेटमा के कस्तो छलफल भयो त्यो भने बाहिर आइनसकेकाले आगामी दिनमा उनीहरुबीचको दूरी थप बढ्छ या मथ्थर हुन्छ त्यो आगामी दिनको विकसित घटनाक्रमले पुष्टि गर्दै जानेछ ।

दूरी घटाउने उपाय के हुन्छ ?
अब प्रश्न उठ्छ –अध्यक्षद्धय ओली र प्रचण्डबीचको दूरी घटाउने उपाय के हुन सक्छ त ? उत्तर सहजै आउछ– आपसी सम्बादमा जोड ।
एमाले उपाध्यक्ष भीम रावलका अनुसार जेसुकै बहाना बनाएपनि एकता रोकिदैन । रावल भन्छन्–‘ निर्वानमा एउटै घोषणापत्र बनाएर सहकार्य गर्दै यहाँसम्म आइसकेपछि अब कुनैपनि नेतालाई दूरी बढाउने किसिमका गतिविधि गर्न र एकता हुन नदिने छुट छैन । जनताले एमाले माओवादी एकता हुन्छ, त्यसपछि सुशासन र सम्बृद्धि कायम हुन्छ, बेरोजगारी समस्या समाधान हुन्छ भनेर नै मत दिएका हुन् ।’
‘अब पनि फेरि यो वा त्यो बहानामा एकअर्काबीच एकता हुन नदिने, सानो सानो कुरामा चित्त दुखाउने गर्ने हो भने इतिहास र जनताले कहिल्यै माफि दिने छैनन्’, उनले थपे ।

नेता रावलले नेताहरुबीच दूरी बढेको अस्वीकार गर्दै यदि त्यसो हो भने पनि आपसमा बसेर सम्बाद र छलफलमार्फत सहमतिमा पुग्न कठिन नहुने दावी गरे । उनले ठूलठूला चुनौती र अप्ठ्यारामा पनि हातेमालो गर्दै अघि बढेका दलका नेताहरु त्यति सजिलै जनताका माग र एजेण्डाबाट पछि नहट्ने विश्वास गरे ।

त्यस्तै माओवादी नेता हरिबोल गजुरेलले नजिक पुग्दा एक अर्कामा ठोक्किनु सामान्य भएको बताए ।

उनले रातोपाटीसँग भने ‘धेरै नजिक पुगेपछि कहिलेकाँही ठोक्किन सक्छ । अहिले दुई अध्यक्षबीच त्यस्तै भएको हो । कुुनैपनि चिज वा बस्तु आपसमा मिल्न लाग्दा स्वभाविक रुपमा घस्रण हुन्छ र हामीले त्यहि घस्रणका रुपमा बुझ्न सकिन्छ । यस्ता घस्रण थप नजिक्याउन र मजबुत बनाउन सहयोग पुग्छ ।’

नेता गजुरेलले नेताद्धयको पछिल्लो एक–अर्काप्रतिको अभिव्यक्तिलाई अस्वभाविक रुपमा लिन नमिल्ने भन्दै यसैका कारण पार्टी एकता र सत्ता सञ्चालनमा कुनै असर नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्