सर्बेन्द्र खनाल आइजीपी बने पछी प्रहरी अधिकारीमा यसरी बढ्यो इन्काउन्टर मोह,यस्तो छ कानुन



हाम्रो इकोनोमि

मकवानपुर जिल्लाको प्रमुखका रुपमा सरुवा भएर गएका एसपी लोकेन्द्र श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरेर भने, ‘जघन्य अपराधमा संलग्न अपराधीहरुमाथि जिल्लामा इन्काउन्टर हुनेछ। यो मेरो बोली मात्र होइन, व्यवहारमै देखिनेछ।’

कुनै पनि अपराधमा संलग्नलाई गोली हानेर मार्ने अधिकार कानुनले प्रहरीलाई दिएको छैन। तर, सिनियर प्रहरी अधिकारीहरु खुलेआम रुपमा अपराधमा संलग्नहरुलाई गोली हानी सिध्याइदिने धम्की दिइरहेका छन्।

आइतबार बाँकेका एसपी टेकबहादुर तामाङले पनि हातहतियार बोकेर हिँड्नेहरुलाई ‘इन्काउन्टर’ गरिने बताए। पत्रकारसँग कुरा गर्दै उनले त्यस्तो बताएका थिए।

नयाँ कार्यालयमा सरुवा भएर गएलगत्तै अपराधीको इन्काउन्टर गर्ने भनेर भाषण गर्ने प्रवृत्ति प्रहरीमा बढ्दै गएको छ। मानव अधिकारकर्मीहरु भने इन्काउन्टर गर्ने प्रहरीको धम्कीबाट चकित छन्।

इन्काउन्टर गर्ने नै होः एसपी श्रेष्ठ

मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले आफूले जघन्य अपराधमा संलग्नहरुलाई इन्काउन्टर नै गर्ने योजना बनाएको बताए।

‘जो बलात्कार गरेर भाग्छ, त्यस्ता व्यक्तिलाई इन्काउन्टर नै गर्ने हो’, उनी भन्छन्, ‘हतियार देखाएर चन्दा माग्दै सर्वसाधारणलाई आतंकित बनाउनेलाई इन्काउन्टर नगरेर के गर्ने?’

जघन्य अपराधमा संलग्न भई फरार हुने व्यक्तिहरुको हकमा आफूले इन्काउन्टर गर्ने उनको भनाइ छ।

बाँकेका एसपी तामाङ पनि अपराधीहरुलाई इन्काउन्टर गर्ने कुरा आफूले बोलेको स्विकार्छन्।

‘खासगरी हातहतियार बोकेर हिँड्नेहरुलाई कानुनले दिएको अधिकार अनुसार इन्काउन्टर गर्ने कुरा गरेको हुँ’, एसपी तामाङले भने।

प्रहरीमा ‘इन्काउन्टर’ भन्ने शब्द छैनः प्रहरी प्रवक्ता

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी मनोज नेउपाने प्रहरीलाई इन्काउन्टर भन्ने शब्द थाहा नभएको बताउँछन्।

‘प्रहरीमाथि नै कसैले आक्रमण गर्छ भने त्यो अवस्थामा प्रहरीले गोली चलाउँछ’, उनले भने, ‘तर इन्काउन्टर भन्ने हामीलाई थाहा छैन।’

अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गरिने दायित्व प्रहरी अधिकारीको भएको र सीधै गोली हान्ने आदेश कुनै पनि प्रहरीले नपाएको प्रहरी मुख्यालयका अधिकारीहरु बताउँछन्। तर, चर्चाका लागि धेरैले इन्काउन्टर गर्ने भनेर उग्ररुपमा बोल्न थालेको उनीहरुको भनाइ छ।

काठमाडौंका केही गुन्डा नाइकेहरुको ‘इन्काउन्टर’ गर्ने प्रहरी अधिकारीहरु चर्चित बनेपछि अन्य प्रहरी अधिकारीहरुले त्यसैको सिको गर्दै इन्काउन्टर गर्ने भन्दै चर्चा कमाउने प्रयासमा लागेको एक प्रहरी अधिकारी बताउँछन्।

के छ कानुनी प्रावधान?

स्थानीय प्रशासन ऐनले प्रहरीलाई गोली हान्ने अधिकार दिएको छ। ऐनको दफा ६ मा गोली चलाउनुपर्ने आवश्यकता देखिएमा चेतावनी दिएर घुँडामुनि गोली हान्नुपर्ने उल्लेख छ। सोही कानुनी आधारलाई टेकेर प्रहरीमा ‘इन्काउन्टर क्रेज’ बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...