सरकार र यातायात व्यवसायीबीच सिन्डिकेट हटाउने सहमति,यी हुन् सहमतिका पाँच बुँदा



हाम्रो इकोनोमि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीरप्रसाद महासेठले करिब तीन दशकयता यातायात क्षेत्रमा मौलाएको र फस्टाएको सिन्डिकेट प्रथा अन्त्य भएको बताएका छन्। सरकार र यातायात व्यवसायीबीच भएको पाँचबुँदे सहमति सार्वजनिक गर्दै मन्त्री महासेठले आफूले सबै क्षेत्रको सिन्डिकेट हटाउन पहल गर्ने पनि बताए।

मन्त्री महासेठले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायी र सरकारको नङमासुको सम्बन्ध भएको उल्लेख गर्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्न सिन्डिकेट हटाइएको जिकिर गरे।

‘बिगतमा पनि प्रयास भएको थियो। व्यवसायी साथीको सहयोगमा अहिले सिन्डिकेट हटाउन सकिएको हो,’ उनले मन्त्रालयमा भने।

मन्त्री महासेठले आन्तरिक व्यवस्थापन गर्न नसक्दा आन्दोलन घोषणा गरिएको उल्लेख गर्दै आन्दोलनलाई कतैबाट सहयोग नपुगेको उल्लेख गरे।  ‘कतैबाट सहयोग मिलेन। आन्दोलनलाई हामीहरु र यातायात व्यवसायी सबैले आफ्नो आफ्नो तवरले ब्याख्या भयो। मिडियाले सहयोग नगरेको भए सिन्डिकेट समाप्त हुने थिएन,’ मन्त्री महासेठले भने, ‘यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित र व्यवसायीको लगानी सुरक्षित गर्न हामी प्रतिबद्ध छौं। यातायात व्यवसायीको सहयोग नभएको भए सिन्डिकेट हटाउन सकिने थिएन।’

उनले अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतले सहयोग नगरेको भए सिन्डिकेट हटाउन सम्भव नभएको पनि बताए। मन्त्री महासेठका अनुसार आइतबार राति१० बजे सम्पुर्ण यातायात व्यवसायीहरुको सहमतिमा सम्झौता भएको र त्यस सम्झौताले यातायात क्षेत्रको सिन्डिकेटलाई समाप्त पारेको बताए।

‘व्यवसायी र हामी मिलेर यातायात क्षेत्रलाई व्यवस्थित गर्न लागेका छौं। अब यो देशमा यातायात क्षेत्रको सिन्डिकेट रहने छैन। हामीभित्र भएको लाइसेन्स, बिलबुक लगायतमा भएका कमजोरी हटाउने छौं,’ मन्त्रीले भने।

व्यवसायी र सरकारबीच भएका पाँचबुँदे सहमति पनि उक्त अवसरमा सार्वजनिक गरिएको छ।

सहमतिमा लेखिएको छ:

१. व्यवसायीले सरकारले सिन्डिकेटबिरुद्ध गरेको कदमको स्वागत गर्ने।

२. सर्वोच्च अदालतको आदेश अनुसार जाँचबुझ आयोग गठन गर्ने।

३. यातायात क्षेत्र रहेका सम्पूर्ण सिन्डिकेट हटाउने

४. आन्दोलन स्थगित गर्ने।

५. मन्त्रालयलाई सुझाव दिन एक कार्यदल गठन गर्ने।

तर,  यातायात व्यवसायीहरुले भने सरकारले सम्झौताअनुसार सहमति नगरेको भन्दै आपत्ति प्रकट गरेका छन्। राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले आफूहरु सिन्डिकेटको बिरोधी भएको उल्लेख गर्दै यातायात मन्त्रालयले नै सिन्डिकेट हटाउन नचाहेको बताए। उनले भने, ‘हामीले सहमति स्वीकार गरेका छौँ, यदि सिन्डिकेट सबै तिरको अन्त्य हुन्छ भने।’

कर्माचार्यले सबै क्षेत्रको सिन्डिकेट हटाउने गरी विज्ञप्तिमा आउनुपर्ने बताए। यद्यपि मन्त्रीले भने यातायात मन्त्रालयले यातायातको क्षेत्रमा मात्र बोल्न सक्ने उल्लेख गरेका थिए। 
अध्यक्ष कर्माचार्यले सम्झौतालाई अहिले मान्ने र सरकारको कदमको प्रतीक्षा गर्ने बताए।  खाता रोक्काको विषयमा छानबिन प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै त्यो यातायात मन्त्रालयले नहेर्ने पनि यातायात मन्त्री महासेठले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...