सुन तस्कर गोरेलाई भान्जा बनाएर एसएसपीले दुई करोड यसरी सोरे,एक करोड अझै उधारो



हाम्रो इकोनोमि

महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रहँदा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले तस्करीको लाइन चलाएर कमिसन बापत लाखौं लिने गरेको पाइएको छ । सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी कृष्ण भन्ने नरेन्द्र कार्कीले सुन छानविन समिति समक्ष बयान दिने क्रममा आफैंले पटक–पटक गरेर श्याम खत्रीलाई लाखौं दिएको स्वीकार गरेका छन् । २०७२ असोजपछि लामो समय त्रिभुवन विमानस्थलमा बसेका खत्रीले ड्राइभर र बडिगार्ड प्रयोग गरेर आफ्नै गाडीमा सुन ओसारपसार गर्ने गरेको तथ्य यसअघि उनकै ड्राइभर प्रहरी जवान विष्णुबहादुर खड्काले बताएका थिए ।

‘गोरेले भनेर मैले करिब ९ महिना अगाडि एसएसपी श्याम खत्रीलाई मध्य बानेश्वरको ह्वाइट हाउस कलेज छेउमा भेटेर १६ लाख दिएको थिएँ’, समितिसमक्ष बयान दिँदै नरेन्द्र कार्कीले भनेका छन्, ‘ह्वाइट हाउसमा पैसा दिन जाँदा एसएसपी खत्रीसँग मैले नचिनेका एक जना गाडी चालकसमेत आएका थिए ।’

सुन तस्कर गोरेले श्याम खत्रीलाई ‘मामा’ भन्थे । ‘गोरे’ले खत्रीलाई आवश्यक पर्दा स्कोरपियो गाडीसमेत दिने गरेको पाइएको छ । सुन तस्करले पठाएको स्कोरपियो खत्रीले आफ्नो सहयोगी पठाएर काठमाडौंको घण्टाघरबाट रिसिभ गरेको कार्कीले बयान दिएका छन् ।

२०७३ पुस २३ गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल हुँदै आएको साँढे ३३ किलो सुन प्रकरणमा श्याम खत्री प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परे । त्यतिबेलासम्म सुन तस्करीको कमिसन बापतको रकम ‘गोरे’बाट खत्रीले १ करोड लिन बाँकी रहेको खुलेको छ ।

चूडामणि उप्रेतीका भरियाले विदेशबाट ल्याएको सुन त्रिभुवन विमानस्थलस्थित थाई एयरको टिमले जिम्मा लिने गरेका थिए । कत्तिपय अवस्थामा ‘गोरे’का भरियाले सीधै एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यकक्षमा लगेर दिने गरेको पाइएको छ ।
‘३३ केजी सुन काण्डमा श्याम खत्री पक्राउ परेपछि गोरे भन्ने चूडामणि उप्रेतीले निजले एसएसपी खत्रीलाई सुन पास गराई दिएबापतको १ करोड दिन बाँकी छ भन्ने कुरा गरेको थियो’– मोरङ जिल्ला अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेखित बयानमा कार्कीले भनेका छन्, ‘तर, उक्त पैसा खत्रीलाई चूडामणि उप्रेतीले दियो वा दिएन त्यो चाहिँ मलाई थाहा छैन ।’

चूडामणि उप्रेतीका भरियाले विदेशबाट ल्याएको सुन त्रिभुवन विमानस्थलस्थित थाई एयरको टिमले जिम्मा लिने गरेका थिए । कत्तिपय अवस्थामा ‘गोरे’का भरियाले सीधै एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यकक्षमा लगेर दिने गरेको पाइएको छ ।

‘हाम्रो टिमले श्याम खत्रीलाई उक्त सुन दिएपश्चात उहाँले चूडामणि उप्रतीसँगको सल्लाहा बमोजिम उक्त सुन आफ्नो बडिगार्ड र सवारी चालकलगायतले एयरपोर्ट बाहिर पास गराउने गरेका थिए’ नरेन्द्र कार्कीले भनेका छन्, ‘सुन छानविन समितिले फेला पारेको गोरेको डायरीमा उल्लेखित (एसएसपी मामा) भन्ने व्यक्ति श्याम खत्री नै हुनुपर्छ ।’

छानविन समितिले फेला पारेको गोरेको डायरीमा खत्रीले पटक पटक गरेर लाखौं रुपियाँ सुनको कमिसन लिएको हिसाब राखिएको छ । कोड भाषामा डायरीमा नाम लेखेर सुनका कारोबार गर्दै आएका ‘गोरे’ले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा शङ्कास्पद मृत्यु भएका प्रेमलाल चौधरीलाई ‘एरी मामा’ भन्ने गरेका थिए ।

नेपाल एयरलाइन्समा कामर्यरत प्रेमलाल चौधरी र हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका राजु महर्जनले फ्लाई दुबईबाट आएको सुन तस्करी गर्न सहयोग गरेको र त्यसपबापत चूडामणि उप्रेतीको निर्देशनमा राजु महर्जनलाई सोह्र खुट्टे र सोभा भगवतीमा भेटेर एक पटकको १८ लाखसम्म बुझाउने गरेको कार्कीले बताएका छन् । ‘एक पटकको १५ देखि १८ लाखका दरले लगभग १५ पटकसम्म निजहरूको कमिसन बापतको रकम मैले नै बुझाएको थिएँ’, समितिसँग बयान दिँदै कार्कीले भनेका छन्, ‘हाम्रो सुनको सम्पूर्ण कारोबारको हिसाबहरू चूडामणि उप्रेती र सनम शाक्यले नै राख्ने गरेका थिए ।’

मोरङको उर्लाबारी स्थायी घर भएका नरेन्द्र कार्कीले एसएलसी पनि पास गरेका छैनन् । २०६२ सालमा वैदेशिक रोजगारीका लागि कतार गएका कार्की त्यहाँ ३ वर्ष बसेर नेपाल फर्केका थिए । कतारबाट आएको केही वर्षपछि ट्याक्सी चलाउन थालेका उनलाई ‘गोरे’ले २०७२ सालदेखि तस्करीको सुन बोक्ने भरिया बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...