सुन तस्करीमा मितेरी साइनोको प्रयोग,पूर्व आइजीपी अर्यालसंगै उपेन्द्र महतो पनि यसरी भए संलग्न



करिब साढे ३ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालसँगै उनका मित डा उपेन्द्र महतो पनि अनुसन्धानको दायरामा आउने देखिएको छ । उपेन्द्रकान्त अर्यालको कार्यकालमा सबैभन्दा धेरै सुन तस्करी भएको तथ्य भेटिएपछि विशेष अनुसन्धान टोलीले उनीमाथिको छानबिनलाई तीव्रता दिएको बुझिएको छ । अर्यालसँगै उनका व्यावसायिक साझेदार तथा गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष डा महतोसमेत छानबिनको दायरामा तानिएको स्रोतको भनाइ छ ।

अर्यालको साढे ३ वर्षे कार्यकालमा करिब ४० टन सुन तस्करी भएको विशेष अनुसन्धान टोलीको प्रारम्भिक अनुमान छ । करिब २० टन जति सुन महतो समुहको लगानीमा भारततर्फ तस्करी भएको र सो बाट भएको आम्दानी हुण्डी मार्फत रसिया, अजरबैजान र साइप्रसका बिभिन्न कम्पनीमा लगानी गरेको भेटिएको स्रोतको दाबी छ । ‘उपेन्द्रकान्त अर्यालले सुन तस्करीबाट भएको आम्दानी मध्येको ३६ करोड रुपैयाँ महतोका एक आफन्तमार्फत साइप्रसमा लगानी गरेको भेटिएको छ, अरु रकम कता कता लगानी छ भन्ने अनुसन्धानबाट खुल्दै जाला,’ गृहका एक उच्च अधिकारीले भने ।

त्यसो त अर्यालको कार्यकालमा विमानस्थल बसेका पूर्वडीआईजी गोपाल भण्डारीले पनि सुन तस्करीलाई राम्रै मलजल गरे । विमानस्थलमै रहँदा अख्तियारले मुद्दा दायर गरेका कारण भण्डारी निलम्बनमा परेपछि तत्कालीन डीआईजी यादव अधिकारी विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइयो । प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका अधिकारीले सुन तस्करी गर्न नमानेपछि उनलाई तीन महिनामै हटाएर महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी विजयलाल कायस्थलाई निमित्त प्रमुख जिम्मेवारी दिइएको थियो । संगठनमा थुप्रै काविल डीआईजी हुँदाहुँदै एसएसपीलाई लैजानुको उद्देश्य पनि सुन तस्करी नै रहेको जानकारहरु बताउँछन् ।

सुशासन साप्ताहिकका अनुसार कायस्थलाई विमानस्थलको सुरक्षा प्रमुखमा लैजानुको पछाडि तत्कालीन आइजीपी अर्याल र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको मुख्य हात रहेको स्रोतले बतायो । विमानस्थल गएको दुई महिनामा डीआइजीमा बढुवा भएका कायस्थले करिब डेढ वर्ष विमानस्थलको सुरक्षा प्रमुखको रुपमा काम गरे । कायस्थको कार्यकालमा सबैभन्दा धेरै सुन तस्करी भएको उनीसँगै काम गरेका अधिकृतहरु बताउँछन् । गत चैत २८ मा एआईजीबाट् अवकाश पाएका कायस्थविरुद्ध अकुत सम्पत्तिको मुद्दा हाल अख्तियारमा विचाराधीन छ ।

कायस्थको सरुवापश्चात् आएका डीआइर्जी गोविन्द निरौला सुन तस्कर गोरेसँगको सम्बन्धका कारण हाल मोरङ प्रहरीको हिरासतमा छन् भने त्यसबेलाका एसएसपी श्यामबहादुर खत्री हाल फरार छन् । डेढ वर्षअगाडि सीआईबीले बरामद गरेको साढे ३३ किलो सुनकाण्डमा संलग्नता देखिएपछि सीआईबीका तत्कालीन डीआईजी नवराज सिलवालले निरौलालाई पक्राउ गर्न तयारी गरेपछि तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले सीआईबीको काममा हस्तक्षेप गरेर निरौलालाई जोगाउन सफल भएको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्