‘गुड फेथ’मा गोरेसँग पैसाको कुरा भएको हो, आइजिपी साबलाई पनि थाहा थियो भन्दै डिएसपीले यसरी बके



सनम शाक्य हत्या घटनाको प्रारम्भिक प्रतिवेदन जाहेरी दिने प्रहरी अधिकृत हन् डिएसपी प्रजित केसी। प्रतिवेदन दिएको २ महिनापछि उनी आफैं सोही मुद्दाका प्रतिवादी बनेका छन्।
साढे ३३ किलो सुन लुकाएको आंशकामा मोरङ, उर्लाबारीका शाक्यको हत्या भएको सूचना पाएपछि डिएसपी केसीकै टोलीले शव बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ४ अभियुक्तलाई बुझाएको थियो। पक्राउ परेका तीनै ४ अभियुक्तसँगै उनी यतीबेला जिप्रका मोरङको हिरासतमा छन्।

हत्याका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीलाई भगाएको, एक ठाउँमा भेटिएको शवलाई अर्काे ठाउँमा भेटिएको भनेर प्रतिवेदन दिएको, तस्करसँग पैसाको डिल गरेको भन्दै गृह मन्त्रालयको छानबिन समितिले उनलाई समेत प्रतिवादी बनाउने निर्णय गरेको हो।

केसीले भने बयानमा ती आरोपहरु अस्वीकार गरेका छन्। गोरेसँग ‘गुडफेथ’मा कुरा भएको उनले बताएका छन्। अभियुक्तलाई पक्राउ गर्न त्यसरी पैसाको डिल गरेर अभियुक्तलाई पक्राउ गर्न खोजेको र त्यसबारे तत्कालिन आईजिपी प्रकाश अर्याललाई समेत जानकारी भएको उनको दाबी छ।

केही अभियुक्तहरुले इप्रका इटहरीका डिएसपी संजय राउतलाई केही दिनअघि भेटेकाले स्थानीय प्रहरीलाइृ घटनाबारे गोप्य राखेको उनको भनाई छ।

यस्तो छ डिएसपी केसीले दिएको बयानका मुख्य अंश– 

मिति २०७४।११।१८ गते म महानगरीय अपराध महाशाखामा रहेको थिए । सोही समयमा दिनको  ३  वजे तिर म कार्यरत भएको कार्यालयका कार्यालय प्रमुख प्र.व.उ.दिवेस लोहनी सरले मलाई सरको आफ्नो कार्यकक्षमा बोलाउनु भएकोले म सरको कार्याकक्षमा गएँ । म सरको कार्यकक्षमा पुगेपछि सरले मलाई पूर्ब तिर एक जना मानिस मारेको छ भन्ने खबर फोन नम्बर ९८१८३७२८३६ बाट  सइ बालकृष्ण संजेललाई निजले चिनेको पूर्व तिरै घर भएको गोरे भन्ने चुडामणी उप्रेतीले फोन गरेको रहेछ, उक्त हत्या सोही मानिसले गरेको हुन सक्छ, सो व्यक्ति पनि त्यतै होला र लाश पनि संगै छ भन्ने कुरा गरेको रहेछ भनी बताउनु भयो र सोहि समयमा सरले मलाई सो मोवाईल नम्बरको करेन्ट लोकेसन तुरुन्त लेऊ भनेपछि मैलै एनसेल कम्पनीलाई सो मोवाईल नम्बरको लोकेसन सोध्दा लोकेसन मधुमल्ला रोड सुनसरी, कोशी भनेर दियो ।

त्यो कुरा मैले प्र.ब.उ.दिवेस लोहनी सरलाई जाहेर गर्दा सो समयमा प्र.व.उ.दिवेस लोहनी सर, प्र.उ.नरेन्द्र उप्रेती सर, प्र.उ.उमाशंकर पन्जियार सर, सई बालकृष्ण सन्जेल र म संगै रहेको र हामीहरु बिच घटनाको अपरेशन के कसरी गर्ने भन्ने बारेमा छलफल भईरहेको समयमा प्र.उ.नरेन्द्र उप्रेती सरले मधुमल्ला रोड उर्लाबारी मोरङमा पर्छ भन्नुभयो । सो पश्चात एनसेल कम्पनीले दिएको लोकेसन र प्र.उ.नरेन्द्र उप्रेती सरले बताएको लोकेशन केही हद सम्म भेरिफाई भयो ।

सई बालकृष्ण संजेललाई घट्नाको बिषयमा जानकारी गराउने गोरे भन्ने चुडामणी उप्रेतीलाई मैले नचिनेको र निजलाई कहिल्यै नदेखेको हुँदा निजसंग हामिहरुले सई बालकृष्ण संजेल मार्फत सम्पर्क गरी घटनास्थल पिनप्वाइन्ट गर्न कोशिस गरेका थियौ तर सो मानिसले हामीहरुलाई अन्य थप जानकारी दिन मानेन । घटनास्थलको पिनप्वाइन्ट गर्न नसकिएको कारण हामीहरुले स्थानीय प्रहरीलाई घटनाको बिषयमा जानकारी गराउन खोजे पनि घटनाको सुचना कहि कतैबाट चुहिएको खण्डमा अपराधीहरु भाग्ने उम्कने सम्भावना रहेको हुँदा तत्काल एस.एस.पी.दिवेश लोहनी सरले उक्त कुराको जानकारी तत्कालीन संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल सरलाई गराउनु भयो ।

सो पश्चात प्रहरी महानिरीक्षक प्रकाश अर्याल सरबाट मौखिक आदेश लिएर हामीहरु अपराध महाशाखाको चलानी नं.२९०७ मिति २०७४।११।१८ गतेको लिखित आदेश सहित बिराटनगर बिमानस्थल हुँदै सो स्थान तर्फ जानको लागि प्लेन टिकट लिन खोज्दा १६ः०० बजेको समयको प्लेनको टिकट मिलेको तर सो समयमा हामीहरु बिमानस्थल सम्म पुग्ने नभ्याउने हुँदा सो पश्चातको प्लेन टिकट खोज्दा सो दिनको लागि प्लेन टिकट मिलेन र हामीहरु अपराध महाशाखाको गाडिमा सो स्थान तर्फ जाने कुरा भई दैनिक प्रयोगका सामान लिन सई बालकृष्ण संजेल र म मेरो घर बुढानिलकण्ठ पुगी पुनः हामीहरु कोटेश्वर सम्म आएर अपराध महाशाखाको गाडिमा पूर्व तर्फ लाग्यौ ।

हामीहरु पूर्ब तर्फ गैरहेको समयमा सई बालकृष्ण संन्जेलको मोबाइलमा निज गोरे भन्ने चुडामणी उप्रेतीको फोन आईरहेको थियो । मैले र संजेलले सो फोनमा कुरा गरीरहेका थियौं । निजले हामीहरुसंग फोनमा कुरा गर्दा मलाई बचाई दिनुहोस, मेरो केश मिलाई दिनुहोस भन्ने व्यहोराको कुरा गरेको थियो र मैले पनि निज व्यक्तीलाई पक्राउ गर्न निज सम्म पुग्ने उद्देश्यले निजलाई बचाई दिने भनी बिश्वास दिलाउन भरपुर प्रयास गरेको थिए ।

महाशाखाबाट हिड्दा निज गोरे भन्ने चुडामणी उप्रेतीले नै विश्वास गरेको मान्छे सई बालकृष्ण सन्जेललाई नै संगै लिएर जांदा निजलाई विश्वास हुन्छ र अपराधी पनि समातिन्छ, उनीहरुले लाश पनि गायव गर्दैनन् भन्ने सोच लिएर मेरो कमाण्डमा सई बालकृष्ण संन्जेल, प्र.ज.मेष राना र चालक प्र.ज.सुरेन्द्र कार्की समेत घटनास्थल तर्फ लागेको थियौ । अप्रेशन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा बिचार गर्दा गोरे भन्ने चुडामणी उप्रेतीले सई बालकृष्ण संन्जेललाई पटक पटक फोन गरी मलाई बचाई दिनु प¥यो भनेकोले उसलाई विश्वास दिलाउन प्रहरी अपरेशनका बिभिन्न औजार मध्ये आईजिपी सर समेतलाई जाहेर गरी पैसा माग्ने र गोरे भन्ने चुडामणी उप्रेती तथा उसका साथीहरुलाई त्यसै स्थानमा राख्न विश्वास दिलाउने निर्णय भएको हुनाले सोही अनुसार तत्कालिन आईजिपी सर प्रकाश अर्याल सरलाई समेत जाहेर गरी आदेश लिई सोही अनुसार नै अपराधी पक्राउ गर्ने नियतले गुड फेथमा मा गोरे भन्ने चुडामणी उप्रेतीसंग पैसाको कुरा गरेको र सोही अनुसार कुरा गर्दै जाँदा गोरे भन्ने चुडामणी उप्रेतीसँग  बीच बिचमा फोन सम्पर्क भइरहयो ।

सई बालकृष्ण संन्जेलले हामीहरु यहाँ यहाँ आई पुग्यौं भनेर जानकारी दिई राख्दा मैले निजलाई हाम्रो करेक्ट लोकेसन नभन, हामी आउँदै छौं, चाँडै आईपुग्छौं मात्रै भन भनेर भन्न लगाएँ र सई बालकृष्ण संन्जेलले सोही अनुसार ग¥यो । पछी एकै चोटी गोरे भन्ने चुडामणी उप्रेतीले आफ्नो मोबाइलको ब्याट्री सकिन लागेकोले अर्को नम्बर दिन्छु भनेर सई बालकृष्न संन्जेललाई भनेछ र सोही अनुसार अर्को नम्बर दियो । त्यो नम्बरमा फोन गर्दा गोरे भन्ने चुडामणी उप्रेतीसंगै कुरा भएकोले गोरे भन्ने चुडामणी उप्रेती त्यही छ भन्ने एकीन भयो ।

 समयमा निज गोरे भन्ने चुडामणी उप्रेतीले निजहरु धरान तिर आएको भन्ने जानकारी गरायो र हामीले त्यो नम्बरको पनि लोकेशन एनटिसीसंग सोधेर भेरिफाई गर्दा धरान तिरै लोकेसेन देखिएकोले झुट बोलेको होईन रहेछ भनेर निजको कुरामा विस्वास गयौं । पछी फेरि फोन गर्दा टेकराज मल्लले फोन उठायो र निजले आफु गोरे भन्ने चुडामणी उप्रेतीको मानिस भनी हामीहरुलाई फोनमा चिनायो र सोही समयमा हामीहरुले निजलाई गोरे भन्ने चुडामणी उप्रेती कता छन भनी सोध्दा निजले दाई एकछीन बाहिर जानु भएको छ भन्यो । सो पश्चात पनि हामीहरुको उक्त व्यक्तिसंग कुरा भइरहेको थियो र निजको लोकेशन पनि पहीला कै स्थानमा थियो । निजलाई हामी आएर बचाँउला भन्ने विस्वास दिलाएकोले गोरे भन्ने चुडामणी उप्रेतीलाई पनि त्यहीं भेटीन्छ र गोरे भन्ने चुडामणी उप्रेती तथा उसका सहयोगीहरुलाई त्यही पक्राउ गर्ने र लाश पनि बरामद गर्ने भन्ने हाम्रो योजना थियो ।

यस बिचमा भएका हरेक कुरा मैले दिवेस लोहनी सरलाई जाहेर गरीरहेको थिए र दिवेस लोहनी सरले पनि तत्कालिन निमित्त आईजिपी साब, एआईजिपी  बम बहादुर भण्डारी सरलाई सो कुरा जाहेर  भईरहेको भनी मलाई जानकारी गराउनु भएको थियो । हाम्रो टोली धरान पुग्ने बेला तिर दिवेस लोहनी सरले मलाई फोन गरेर केही सपोर्ट चाहीयो भने धरानको डिएसपी रामेश्वर पौडेलसँग समन्वय भईसकेको छ तिमीले पनि कुरा गरेर सपोर्ट माग्नु भन्नु भयो । मिति २०७४।११।१९ गते बिहानको राति हामीहरु धरान पुगेर मैले डिएसपी रामेश्वर पौडेललाई फोन गरे र उसले सिभिल र युनिफर्मको टोली स्टेनवाई छ भन्यो र म प्रहरी कार्यालय तर्फ गएँ । यस बिचमा हाम्रो टेकराजसंग कुरा भएको र निजले सो कुराकानीमा हामीहरुलाई कहाँ आई पुग्नु भयो भनेर सोध्यो र हामिहरुले निजलाई भानुचोक नजिकै छौ भन्दा निजले हामिहरुलाई तपाईहरु त्यही वस्नुहोस त्यही भेटौला भन्यो हामीहरुले निजलाई हुन्छ भनेर फेरि डिएसपी रामेश्वर पौडेललाई खबर गरी एउटा टोली नजिकै राखीदिनु प¥यो भन्दा निजले एक जना असई सावको नम्बर दिनु भयो र उहाँसंग सम्पर्क गरेर सिभिलमा दुई जना भानुचोकमा र अर्को युनिफर्म वाला टोली अफिसमा स्टेनवाई राखीयो ।

मैले डिएसपी रामेश्वर पौडेलसंग ३÷४ वटा मोटरसाईकल पनि स्टेनवाई राख्नुहोला अपराधिहरुलाई खोज्न जंगल तिर जानु पर्‍यो भने गाडी र वाईक लिएर जाँदा सजिलो हुन्छ पनि भनेको थिएँ र उहाँले हुन्छ भन्नु भएको थियो । हामिहरु भानुचोक पुगेको केहि समय पश्चात एउटा स्कार्पीयो गाडी भानुचोकमा आएर रोकियो र गाडी पार्क गरी गाडीबाट एक जना मानिस ओर्लीयो । भानुचोकको चारै तिर हामी निगरानी गरेर बसेका थियौं । हाम्रो टोलीलाई हामीलाई कभर गर है भनेर म र सई बालकृष्ण संन्जेल सो गाडि तर्फ गई गाडिबाट बाहिर निस्किएको मानिससंग कुराकानी गर्न थाल्यौ ।
कुराकानीकै क्रममा सो मानिसले निजको नाम टेकराज मल्ल ठकुरी रहेको कुरा हामीलाई जानकारि गरायो । हामीहरुले सामान्य कुराकानी गरी आफ्नो परीचय दियौ । सो पश्चात निजलाई हामीहरुले गोरे भन्ने चुडामणी उप्रेती कता छ त ? यहाँ आएन नि भनेर सोध्दा निज टेकराज मल्ल ठकुरीले दाई ईन्डीया तिर जानु भएको छ भन्यो । सो समयमा हामीहरुले निज टेकराज मल्ल ठकुरीलाई गोरे भन्ने चुडामणी उप्रेती नै नभई त कसरी केस मिल्छ ? उ त यहाँ हुनैपर्छ, उसलाई तत्काल सम्पर्क गर भन्यौ र उसले मसंग दाईको ईन्डियाको मोवाईल नम्बर छैन, भाउजूलाई भन्छु भनेर गोरे भन्ने चुडामणी उप्रेतीको श्रीमतीलाई फोन गरेर गोरे भन्ने चुडामणी उप्रेतीलाई धरान पठाईदिन आग्रह गर्‍यो । सोहि समयमा हामीहरुले घटनाको समयमा घटनास्थलमा अरु को को उपस्थित थिए भनेर सोध्यौं र निजले हामीहरुलाई केही ईन्डीयनहरु, गोरे भन्ने चुडामणी उप्रेती, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, सुरेन्द्र गौतम, रोहीत आचार्य, टुक बहादुर मगर र निज आफै घट्नास्थलमा उपस्थित रहेको कुरा जानकारी गरायो । लाश कहाँ छ भनी सोध्दा निज टेकराजले गाडी मै छ भन्यो ।

हामीहरुले पहिले नै सई बालकृष्ण संजेलको मोवाईल मार्फत मृत लाशको फोटो हेरेको हुँदा लाश रहेको कुरामा शंका थिएन, त्यसैले लाश गाडिमा छ भन्ने टेकराज मल्ल ठकुरीको कुरामा बिश्वास गरेको भनि निजलाई  बिश्वास दिलाउन र हामीहरु प्रती कुनैपनी शंका उपशंका नगरुन भन्ने हिसाबले प्रयास गर्‍यो । हामीहरुले घट्नास्थलमा भएका मानिसहरु को कहाँ छन भनी निज टेकराज मल्ल ठकुरीलाई सोधपुछ गर्दा निजले घट्नामा संलग्न मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की सुनसरी जिल्ला कै ईटहरीमा रहेको कुरा हामीहरुलाई जानकारी गरायो । सो समयमा मैले अब के गरौं भनेर प्र.ब.उ.दिवेस लोहनी सरलाई रिपोर्ट गर्दा सरले अहिले नै लाश एक्सपोज भयो भने हल्ला खल्ला हुन्छ र मुख्य अपराधी लगायत अरु अपराधीलाई पक्राउ गर्न गाह्रो हुन्छ भन्नु भयो र गाडीलाई यथास्थितिमा राखेर टेकराज मल्ल ठकुरीलाई लिएर नजिकैको कुनै होटलमा बस्ने र गाडी हामीहरुले पालै पालो कुर्ने भन्ने कुरा भयो ।

हामीहरु बिच त्यसरी समय व्यतित गर्दा अपराधिहरु भाग्ने हुन् कि भनी एसएसपी साबसँग छलफल गरी हामीहरु तत्काल ईटहरी पुगेमा घटनामा संलग्न थप दुई जना मानिसहरुलाई समेत पक्राउ गर्न सकिने प्रचुर संभावना देखी धरान देखि ईटहरी जाने कुरा भयो । सोहि बमोजिम जादाँ धरान देखी ईटहरी जाने बाटोमा ठुलो जंगल रहेको हुँदा सुरक्षा प्रयोजनले सई बालकृष्ण संजेल र प्रहरी जवान मेष राना टेकराज मल्ल ठकुरीले चलाएको स्कारपियो गाडिमा म र सुरन्द्र कार्की हामीहरु काठमाडौंबाट चढि आएको प्रहरीको गाडिमा ईटहरी तर्फ लाग्यौ ।

हामीहरु सुनसरी जिल्लाको ईटहरीमा पुगेर टेकराज मल्ल ठकुरीले निजसंग मोहन काफ्लेको मोवाईल  नम्बर नभएको हुँदा निजले कृष्ण भन्ने नरेन्द्र कार्कीको मोवाईल नम्बरमा पटक पटक सम्पर्क गर्न खोज्दा समेत निज कृष्ण भन्ने नरेन्द्र कार्की संग सम्पर्क हुन नसकेको हुँदा निज टेकराज मल्ल ठकुरीले निजसंग मोहन काफ्लेको श्रीमतीको मोवाईल नम्बर रहेको र बिहान भएपछी मोहन काफ्लेको श्रीमतीलाई फोन गरी मोहन काफ्लेको मोवाईल नम्बर मागेर मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई समेत सम्पर्कमा ल्याउने कुरा टेकराज मल्ल ठकुरीले हामीहरुलाई बतायो ।

सो पश्चात भए गरेका सम्पुर्ण कुराहरु मैले प्र.ब.उ.दिवेश लोहनी सरलाई जाहेर गरेपछी एसएसपी साबले टेकराज मल्ल ठकुरीको मोबाइलमा गोरे भन्ने चुडामणी उप्रेतीको ईन्डीयाको नम्बर छ की हेर र मलाई खबर गर ईन्डीयन प्रहरी संग समन्वय गरेर सो मोवाईल नम्बर ट्रयाक गरेर निज गोरे भन्ने चुडामणी उप्रेतीलाई समात्नु पर्छ भन्नु भयो । तर टेकराज मल्ल ठकुरीको मोवाईलमा गोरे भन्ने चुडामणी उप्रतीको मोवाईल नम्बर नरहेको हुनाले त्यो राति गोरे भन्ने चुडामणी उप्रेतीको ईन्डीयाको नम्बर पत्ता लगाउन सकिएन । घट्नामा संलग्न मुख्य अपराधी र अन्य अपराधीहरुलाई समाउने उद्देश्यले धरानको भानु चोकबाट तत्काल ईटहरी तर्फ जानु परेको र सो समयमा अपराधीहरु मध्ये कोही कसैले पनी हामीहरुको गतिविधिहरुमा शंका नगरुन भनी सजग रहनु परेको साथै रातको समय भएको कारण सुनसरीको धरानमा हामीहरुले टेकराज मल्ल ठकुरीले चलाएको गाडी सर्च नगरिकन सुनसरी जिल्लाकै ईटहरी सम्म पुगेका थियौ ।

ईटहरी पुगेको समय समेत बिहानको रातीको समय रहेको हुँदा हामीहरु कुन होटेल खुल्ला छ भनी नजिकको होटेलहरुको साईन बोर्ड हेर्दै फोन गर्दै जाँदा एउटा होटलले ढोका खोली दियो र केही घन्टा विश्राम गरी एक नेपाली कागजमा साईन गराउने बाहाना बनाई घट्नामा संलग्न मानिसहरुलाई बिहान त्यही होटलमा बोलाउने सल्लाह भयो । सो पश्चात म एउटा सानो रुममा, सई बालकृष्ण संन्जेल अर्को रुममा र अर्को ठुलो रुममा प्र.ज.सुरेन्द्र कार्की, प्र.ज.मेष राना र टेकराज मल्ल ठकुरी बस्ने भनेर छुट्यायौं र सो कुरा मैले एस.एस.पी.दिवेस लोहनी सर लाई जाहेर गरी हामीहरु केही घण्टा आराम गर्यौ ।

बिहान लगभग ०७ः०० बजेको समयमा गोरे भन्ने चुडामणी उप्रेतीले के कुन नम्बर बाट सई बालकृष्ण संजेललाई फोन गर्दा हामिहरुले निजलाई केश मिलाउन निजको आवश्यकता परेको कुरा बाताउदै निज हामिहरु भएको ठाँउमा आएर एउटा नेपाली कागजमा साईन गरेर जहा पनि जान सक्ने र सो पश्चात निजलाई केहि केश नलाग्ने भनी निजलाई बिश्वास दिलाउने उद्देश्यले बाहाना बनाई निजलाई हामिहरु भएको ठाँउमा बोलाउन कोशिस गर्यौ । सो पश्चात हामिहरुले टेकराज मल्ल ठकुरीलाई मोहन काफ्ले र कृष्ण भन्न नरेन्द्र कार्कीलाई हामिहरु भएको स्थानमा बोलाउन आग्रह गर्दा निजले मोहन काफ्लेको श्रीमतीलाई फोन गरी मोहन काफ्लेको नम्बर मागेर निजले मोहन काफ्लेलाई फोन गर्यो र निजहरुलाई हामीहरु भएको होटेलमा बोलायो ।

केहि समयमा मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की मे १ च ५३९५ नं. को टाटा गाडीमा सो स्थानमा आईपुगे र निजहरुलाई म र सई बालकृष्ण संजेल समेत भएर म बसेको रुममा लगेर घट्नाको बारेमा सोधपुछ गर्दा निजहरुले मोरङ जिल्लाको उर्लाबारीमा घट्ना घटेको र सो घट्नामा निजहरु र निजहरुको साथि सनम शाक्लाई  गोरे भन्ने चुडामणी उप्रेती लगायतले करेन्ट लगाएको र सो करेन्टका कारण सनम शाक्यको मृत्यु भएको कुरा जानकारी गराउनुका साथै सो घटनामा टेकराज मल्ल ठकुरी समेतको संलग्नता रहको कुरा जानकारी गराए ।

  निजहरुले सो घटनामा गोरे भन्ने चुडामणी उप्रेतीको लागि काम गर्ने सुरेन्द्र गौतम, रोहीत आचार्य, टुक बहादुर मगर लगायतको समेत संलग्नता रहेको कुरा हामिलाई जानकारी गराए । सम्पुर्ण कुराहरु मैले एसएसपी दिवेश लोहनी सरलाई क्रमश जाहेर गरिरहेको थिए । बिहानको सुर्योदय समेत भईसकेको र सोही समयमा हामीहरु संगै रहेका मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की समेतले गोरे भन्न चुडामणी उप्रेतीले १÷२ दिन अगाडि ईलाका प्रहरी कार्यालय ईटहरीका डि.एस.पी.संजय बहादुर राउत संग भेट गरेको कुरा हामीहरुलाई जानकारी गराएको हुँदा त्यहाँ सर्च गर्दा अनुसन्धान प्रभाबित हुन सक्ने र घट्ना समेत एक्सपोज भई मुख्य अपराधि लगायत अन्य अपराधिहरु समेत भाग्ने उम्कने सम्भावना रहेको हुँदा अब के गर्ने भनी एस.एस.पी.दिवेश लोहनी सर र म बिच छलफल हुँदा गोरे भन्ने चुडामणी उप्रेती भारतमा भएकोले बिराटनगर आसपास सम्म आउन सक्ने  संभावना हुनाले हामीहरुले टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की समेतलाई नियन्त्रणमा लिएर सुरक्षा प्रयोजनार्थ मोहन काफ्लेले चलाएको गाडिमा सई बालकृष्ण संजेल र टेकराज मल्ल ठकुरीले चलाएको गाडिमा प्र.ज.मेष राना र प्रहरीको गाडिमा म र सुरेन्द्र कार्की लगायत चढेर बिराटनगर तर्फ लाग्यौ ।

हामीहरु बिराटनगरको बरगाछि पुग्दा समेत गोरे भन्ने चुडामणी उप्रेती संग सम्पर्क हुँन नसकेको हुँदा सो पश्चात तत्काल थप अपराधिहरु पक्राउ पर्ने सम्भावना कम रहेको देखीन आएकोले हामीहरु केही पुर्व लागेर खुल्ला बाटोमा पुगेर टेकराज मल्ल ठकुरीले चलाई ल्याएको बा १२ च ५९६३ नं. को गाडिलाई हाम्रो गाडिले छेकेर टेकराज मल्ल ठकुरीलाई समेत नियन्त्रणमा लिई सो गाडि सर्च गर्दा सो गाडिमा लाश फेला परेको हुनाले मैले तत्काल जिल्ला प्रहरी कार्यालयमा फोन गरी सो कुराको जानकारी गराएको र सो समयमा एसएसपी दिवेश लोहनी सरले पहिले नै सुनसरी र मोरङ जिल्लाको प्रहरी टोलीलाई स्टेनवाई राखिदिन अनुरोध भए बमोजिम जिल्ला प्रहरी कार्यालय मोरङमा स्टेनवाई रेहेको  प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको प्रहरी टोली समेत घटनास्थलमा पुगेर घटनास्थल सुरक्षीत गरेर लाश जाँच प्रकृती मुचुल्का गर्न थाल्यो ।

 समयमा समेत गोरे भन्ने चुडामणी उप्रेतीलले सई बालकृष्ण संजलको मोवाईलमा फोन गरेको हुँदा सई बालकृष्ण संजेलले सर गोरे भन्ने चुडामणी उप्रेतीको फोन आयो निजसंग हजुर कुरा गर्नुहोस भनी निजले मलाई फोन दिएको हुँदा सो फोनबाट मैले निज गोरे भन्ने चुडामणी उप्रेती संग कुराकानी गरि अझै पनि केहि बिग्रिएको छैन तिमी जसरी भए पनि आउ तिमी आयौं भने तिमीलाई सहज हुन्छ, सत्य कुरा बाहिर आउँछ, भागेर बस्यौ भने त सबै कुरा तिमीले नै गरेको भनेर सबैले भन्छन, एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ भनेर निजलाई पक्राउ गर्ने उद्देश्यले निजलाई बोलाउने प्रयास गर्दा उसले अन्य कुरा गरेर कुरा मोडी रह्यो । मुचुल्का भईरहेको बेला ईन्डीयाबाट आएको गोरे भन्ने चुडामणी उप्रेतीको सो फोन कलमा मैले निजलाई तिम्रो को को प्रहरीसंग यस घटना बारेमा कुरा भएको छ भनेर सोध्दा निजले भन्न मानेन र पछी डिआईजी गोविन्द प्रसाद निरौला र एस.पी.बिकाश राज खनालसंग कुरा भएको थियो भन्यो ।

मैले सरहरुसंग के के कुरा भएको थियो भनेर सोध्दा निजहरुले गाडी र लाश त्रिशुलीतिर लगेर फालिदिए हुन्छ भन्ने सल्लाहा दिएको कुरा मलाई गोरे भन्ने चुडामणी उप्रेतीले बतायो र केही कुरा पछि फोन राखीदियो उसले सो कुरा किन ग¥यो मलाइ थाहा भएन । सो समयमा मलाई यो कुराहरु रेकर्ड भएको भए पछिलाई प्रमाण हुने थियो भन्ने मनमा आयो र तत्काल मैले सई बालकृष्ण संन्जेललाई तिम्रो सिम मेरो रेकर्ड हुने मोबाइलमा राखौं, अनुसन्धानलाई प्रमाण हुन्छ भनेर भनी निजको सिम मेरो मोबाइलमा राखें । मैले सो कुराहरु समेत सोहि स्थानबाट एस.एस.पी.दिवेश लोहनी सरलाई जाहेर गरेको थिए र मैले एस.एस.पी.दिवेश लोहनी सरलाई सो कुरा जाहेर गरेको अडियो रेकर्ड म संग सुरक्षीत रहेको छ जुन आवश्यक परेमा म पछी पेश गर्नेछु ।

गोरे भन्ने चुडामणी उप्रेतीसंग मेरो कुराकानी भएको सो भारतीय मोवाईल नं.मैले एस.एस.पी.दिवेश लोहनी सरलाई दिएर ईन्डीयामा ट्रेस गर्नुपर्ला भन्दा सरले ईन्डीयन प्रहरीसंग समन्वय भई रहेको बताउनु भएको थियो । लाश मुचुल्का गरेर बुझाएपछि पैसाको कुरा केही पनि भएको छैन तर गोरे भन्ने चुडामणी उप्रेती आफैले पछी म ससुराली जाने बेलामा फोन गरेर राम तिवारी भन्ने मानिस चिन्नु हुन्छ ? भनेर सोध्यो, मैले चिन्दीन भने एक पटक उसलाई भेट्नुहोस भन्यो, मैले जो पायो त्यसलाई भेट्दीन, कस्तो मानिस हो थाहा छैन भने तर मनमा झट्ट आयोकी कोही मान्छे जो गोरे भन्ने चुडामणी उप्रेतीको नजिक छ, त्यसलाई धेरै कुरा थाहा हुन सक्छ र हाम्रो अनुसन्धानमा सहयोग पुग्छ भन्ने लागेर नम्बर पठाऊ न त राम्रो मान्छे रहेछ भने भेट्छु भने तर उसले नम्बर पठाएन र भेट्दा पनि भेटीन । राम तिवारीको नाम मैले बिशेष अनुसन्धान टोलीलाई दिएको प्रारम्भिक बयानमा पनि सुझाएको छु । सबै कुरा मोरङ प्रहरीलाई जिम्मा लगाएपछि हाम्रो टोली खाना खान गयौं र खाना पछि मलाई मेरो ससुराली सम्म चालक सुरेन्द्र कार्कीले छाडी दियो ।

अन्य तिन जना जिल्ला प्रहरी कार्यालयमै बिश्राम गरे । म सशुराली जानै लाग्दा फेरी गोरे भन्ने चुडामणी उप्रेतीको फोन आएकोले म कुरा गर्दै गाडीमा चढेर सशुराली तर्फ गएँ र मोबाइल सिम मसंग रहन गयो अन्यथा त्यतीबेलै मैले सिम सई बालकृष्ण संन्जेल लाई दिन्थे । कुरा गर्दा गर्दै म सशुराली पुगे र चालक लाई म रेस्ट गरेर फोन गर्छु तिमी यही लिन आउँनु भनेर भनी म अब थाकेको छु अहिले फोन नगर म सुत्छु भनेर गोरे भन्ने चुडामणी उप्रेती लाई भन्दै सुतें । यस बेलाको कुरा भएको भ्वाइस रेकर्ड मसंग सुरक्षित छ । यी सबै कुराहरु अपराध महाशाखाका तत्कालिन प्रमुख प्र.व.उ. दिवेस लोहनी सरलाई रिपोर्ट गरेरै गरेको हुँ र दिवेस सर ले पनि सवै रिपोर्ट तत्कालिन आईजिपी साव प्रकाश अर्याल र निमित्त आईजिपी साब एआईजिपी बम बहादुर भन्डारी सरलाई गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ