सुन आउने बेला डिआइजी र एसएसपी सा’ब कुरेर बस्नुहुन्थ्यो भन्दै प्रहरी जवान यसरी बके



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रुपमा भइरहेको सुन तस्करीमा सघाएको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये एक प्रहरीले आरोप स्वीकार गरेका छन्। प्रहरी जवान विष्णुबहादुर खड्काले आरोप स्वीकार्दै आफूले तस्करहरुसँग पैसा पनि लिएको बयानका क्रममा बताएका छन्।

प्रहरीसँगको लिखित बयानमा उनले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतको नाम लिएका छन्। विमानस्थलमा प्रहरीको स्कर्टिङबाटै सुन तस्करी हुने र तत्कालीन डिआइजी निरौला  लगायत प्रहरी अधिकारीहरुले आफ्नै कोठामार्फत सुन पास गराउने गरेको समेत खड्काले बताएका छन्।

पक्राउ परेका अन्य सबै प्रहरी अधिकारीहरुले बयानको क्रममा आफूहरुलाई तस्करहरुलाई सघाएको अस्वीकार गरेको नेपाल लाइभले उल्लेख गरेको छ।

यस्तो छ खड्काको लिखित बयानको अंश 

२०५८ माघ ५ मा बागमती अञ्चलबाट जिप र कारको सवारीचालक अनुमतिपत्र प्राप्त गरी करिब ५/६ महिनापछि तत्कालीन प्रनाउ शेरबहादुर बस्नेत सरको गाडी चलाउन थालेँ। करिब २ वर्षसम्म तत्कालीन डिएसपी शेरबहादुर बस्नेत सरको गाडी चलाएँ। सो पश्चात् डिएसपी शेरबहादुर बस्नेत सरको एसपी पदमा बढुवा भएपश्चात् पनि सर सोही कार्यालयमा बस्नुभएको हुँदा मैले सरकै गाडी कुदाएर बसेँ।

उहाँको ठाउँमा तत्कालीन एसपी श्यामबहादुर खत्री सर आउनुभयो। महानगरीय प्रहरी अपराध महाशाखामा एसपी श्यामबहादुर खत्री सर करिब २७/२८ महिना कार्यरत रहनुभयो। त्यसपछि एसपी श्यामबहादुर खत्री सरको लागुऔषध नियन्त्रण ब्युरो नयाँ बानेश्वरमा सरूवा भयो र सरले मलाई पनि सँगै लिएर जानुभयो। लागुऔषध नियन्त्रण ब्युरोमा ७/८ महिना कार्यरत रहँदा उहाँको एसएसपी पदमा बढुवा भयो र अञ्चल प्रहरी कार्यालय सगरमाथा पदस्थापन भई जानुभएपछि म पुनः महानगरीय अपराध महाशाखा फिर्ता भएँ। महाशाखामा करिब एक वर्ष अफिसकै गाडी चलाएँ। सोपश्चात् एसएसपी श्यामबहादुर खत्री सरले नेपालगञ्ज तालिम केन्द्रमा मलाई काजमा झिकाउनुभयो। त्यहाँ सरसँग करिब एक वर्ष बसेँ। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा एसएसपी श्यामबहादुर खत्री सरको सरूवा भयो र उहाँसँगै म पनि काठमाडौं आएँ। २०७२ सालको दशैंतिरबाट एयरपोर्टमा करिब १७/१८ महिना सरसँग बसेँ। एसएसपी श्यामबहादुर खत्री सर ३३ केजी सुन तस्करीमा छानबिनको क्रममा निलम्बन हुनु भएपछि म मेरो तत्कालको दरबन्दीमा फिर्ता भएको थिएँ। पछि सुरक्षा सेवा निर्देशनालयबाट सवारी महाशाखामा काज भयो र फेरि पछि एसएसपी श्यामबहादुर खत्री सरको निलम्बन फुकुवा भएपछि म मानवश्रोत विकास विभागमा सरको ड्राइभरको रूपमा खटिएको थिएँ। विभागमा विगत ७/८ महिना देखि म पुनः सरको चालकको रूपमा खटिरहेको थिएँ।

२०७५ बैसाख ५ गते मलाई एसएसपी श्यामबहादुर खत्री सरले मलाई निजको घरमा पुगेको समयमा तिमीलाई गृह मन्त्रालयको टोलीले खोजेको छ अरे तिमी गृह मन्त्रालयमा गएर १०९ नं को कोठामा जाऊ भनेको हुनाले म २०७५ बैसाख ५ गते म गृह मन्त्रालयमा रुम नं १०९ मा पुगेर नेपाल सरकार विशेष अनुसन्धान टोलीमा खटिनुभएका सरहरुलाई भेटी निजहरुले मलाई विमानस्थलबाट हुने गरेको सुनको तस्करी, काठमाडौंबाट लुटिएको भनिएको साढे ३३ केजी सुन र सोसँगै जोडिएको सनम शाक्यको हत्या लगायतका घटनाबारे सोधपुछ गर्ने क्रममा म पक्राउ परेको हुँ। मिति २०७४ चैत २७ गते मोरङको उर्लाबारी नगरपालिका ४ स्थित मोहन काफ्लेको घरबाट बरामद भई आएका सुनको परिमाण र प्रहरी कर्मचारीहरुको विभिन्न दर्जालाई दिएको भनेका हिसाबका विवरणहरू देखाउँदा देखिपाएँ। उक्त विवरणमा उल्लिखित डिआइजी मामा भन्ने व्यक्ति तत्कालीन समयमा विमानस्थलको सुरक्षा प्रमुखको रुपमा कार्यरत डिआइजी गोविन्दप्रसाद निरौला सर हो। यसैगरी एसएसपी मामा भन्ने मानिस एसएसपी श्यामबहादुर खत्री सर, एसपी मामा भन्ने व्यक्ति एसपी विकासराज खनाल सर, डिएसपी मामा भन्ने व्यक्ति डिएसपी सञ्जयबहादुर राउत सर हो भने एसएसपी मामाको ड्राइभर भन्ने व्यक्ति म स्वयं हुँ।

एसएसपी श्यामबहादुर खत्री सरको निर्देशनमा मैले तस्करीको सुन गाडीमा पुर्याई दिएबापत दाह्रीवाला पछि नाम थाहा पाएको मोहन काफ्लेले मलाई एक पटक रु ५ हजार र अर्को पटक रु १० हजार गरी जम्मा रू १५ हजार दिएका थिए। अवैध रुपमा नेपाल भित्रिने उक्त सुनको तस्करीमा एयरपोर्टमा तत्काल कार्यरत डिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, एसएसपी श्यामबहादुर खत्री सरको बडिगार्ड तत्कालीन प्रज. हाल प्रह. अमरबहादुर थापा मगर र म समेत संलग्न रहेका थियौं।

मिति २०७४ फागुन १८ गते मोरङ उर्लाबारी नपा. १ स्थितमा सनम शाक्याको हत्या गरिएको रहेछ। २०७४ फागुन १९ गते विराटनगर महानगरपालिका ३ स्थित गाडीमा सनम शाक्यको लास फेला परेको र सोही स्थानबाट मोहन काफ्ले पक्राउ परेको रहेछन्। मोहन काफ्ले लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा निजहरुले विदेशबाट सुन लिएर इमिग्रेसनसम्म आउने र निजहरुको पासपोर्टमा इमिग्रेसनको छाप लागेपश्चात् कहिले डिएसपी सञ्जयबहादुर राउत सरले र कहिले एसपी बिकासराज खनाल सरले निजहरुलाई इस्कर्ट गरेर सिधै एसएसपी श्यामबहादुर खत्री सरको र डिआइजी गोविन्दप्रसाद निरौला सरको विमानस्थलस्थित अफिस कोठामा पुर्याउने गरेका थिए। सुन आउने समयमा डिआइजी गोविन्दप्रसाद निरौला सर र एसएसपी श्यामबहादुर खत्री सर आफ्नो कार्यकक्षमा कुरेर बस्ने गर्नुहुन्थ्यो। पछि एसपी विकासराज खनाल सरलाई कारबाही स्वरुप हेडक्वाटर तानेपछि सो काम डिएसपी सञ्जय राउत सर र एसएसपी श्यामबहादुर खत्री सरले गर्न थाल्नुभएको थियो। सुन आउने समयमा एसएसपी श्यामबहादुर खत्री सरको बडिगार्ड तत्कालीन प्रज. अमरबहादुर थापा मगर सरकै अफिसमा बस्ने गरेको र कहिलेकाहीँ निजले समेत अफिस छेउबाट स्कर्टिङ गर्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्