३ हजार ८ सय केजी सुन तस्करी गरेका गोरेकी प्रेमिका संग रात बिताएर डिएसपीले किन लिए ५० लाख?
साढे ३३ किलो सुन गयाब एवं सनम शाक्य हत्या प्रकरण अनुसन्धान पूरा भई अदालतमा मुद्दा दायर गर्न तयार पारिएको अन्तिम मिसिलमा प्रहरीका ती अधिकारीको नाम पनि छ जो हिजोसम्म सुन तस्करीको अनुसन्धान गरिरहेका थिए।
महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीले ‘अफ ट्रयाक’ गएर मुख्य अाराेपी पक्राउ गर्ने प्रयास गरेकाे दाबी गरे पनि समितिले अनुसन्धान शंकास्पद रहेको भन्दै कारवाही अघि बढाएको हो। प्रहरीकाे अनुसन्धान प्रक्रिया एवं तथ्य प्रमाणकाे अध्ययनपछि समितिले प्रहरीको ‘अफ ट्रयाक’ अनुसन्धानमाथि गम्भीर प्रश्न उठाउँदै एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल यो प्रकरणमा तानेकाे छ। केसीले गोरेकी प्रेमिका संग रात बिताएको र सनम शाक्यको लास ब्यबस्थापन गर्न भनेर ५० लाख लिएको श्रोतको भनाइ छ। प्रहरीका सबै युनिटहरूले गर्ने ‘अफ ट्रयाक’ अनुसन्धान सुन तस्करी अनुसन्धानमा कहाँनेर कैफियतपूर्ण छ त? अपराध महाशाखाले गरेकाे सुन तस्करीको ‘अफ ट्रयाक अपरेसनका’ पाँच अनुत्तरित प्रश्नहरू यस्ता छन्:
१. घटनास्थल परिवर्तन
अपराध महाशाखाको अनुसन्धानमा घटनास्थल परिवर्तन भएको देखिन्छ जो सबुतप्रमाण संकलनको मुख्य आधार हो। सनम शाक्य हत्यापछि महाशाखाले सूचना पाउँदा गोरे पूर्वी नेपालको सहर धरानमा थिए। तत्कालीन प्रहरी प्रमुखको अनुमतिमा फागुन १८ मा डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको टोली धरान पुग्दा गोरेले दिएको सूचनाअनुसार सनम शाक्यको शव राखिएको स्कोर्पियो गाडी धरानमै थियो। मुलुकी ऐनअनुसार अनुसन्धान गर्ने अधिकारीको पहिलो कर्तव्य घटनास्थलको सुरक्षा गर्नु हो। तर महाशाखाको टोलीले धरानभन्दा ४० किलोमिटर दक्षिणस्थित विराटनगरलाई घटनास्थल कायम गरेको छ।
अनुसन्धानका लागि धरान पुगेको प्रहरी टोलीले धरानलाई किन घटनास्थल बनाउन सकेन? विराटनगर पुग्नु अगाडि २४ घन्टासम्म चुणामणि किन पक्राउ परेनन्? जब कि महाशाखाका अधिकारी यो समयमा गोरेसँग सघन सञ्चार सम्पर्कमै थिए। यी प्रश्नको जवाफ अनुत्तरित छ। सुनसरीमा भेटिएको शव अर्को दिन मोरङ पुर्याउँदा के के प्रमाण नस्ट पारियो। यो पक्ष पनि अनुत्तरित छ।
२. अभियुक्तबिहीन प्रहरी प्रतिवेदन
अपराध महाशाखाका प्रहरी अधिकारी र सुन तस्कर चुणामणि उप्रेती उर्फ गोरेबीच टेलिफोनमा सघन सम्पर्क भएको छ। यो कुरा महाशाखाका प्रहरी अधिकारी स्वीकार्छन्। र उसैको सूचना पछ्याउँदै प्रहरी सनम शाक्यको शव बरामद पनि गर्छ। शब बरामद र प्रहरी प्रतिवेदनमा मुख्य सुन तस्कर गोरेको नाम कहीँ उल्लेख छैन। यसले महाशाखाको अनुसन्धानप्रति गम्भीर प्रश्न जन्माइदिएको छ। सुन तस्करसँग महाशाखाका प्रहरी अधिकारीको सम्बन्ध के हो? मुख्य आरोपीको नाम प्रतिवेदनमा किन उल्लेख गरिएन ? यी प्रश्न अनुत्तरित छन्।
३. मुख्य आरोपी पक्रन भएन प्रयास
महाशाखाबाट खटिएका डिएसपी केसी र सई सञ्जेल धरान पुगेर सनम शाक्यको शव भएको गाडी पहिचान गर्दा प्रहरी गोरेसँग लगातार सम्पर्कमा रहेको देखिन्छ। कल डिटेल ट्रयासमा गोरे मोरङको मधुमारामा भएको महाशाखाका प्रहरीले देखिरहेको हुन्छन्। तर लोकेसन थाहा पाइसकेपछि पनि उनलाई पक्रन कुनै प्रयास गरिँदैन। कुनै इकाइबाट पनि प्रहरी परिचालन गरिँदैन। जब कि अनुसन्धानमा खटिएको टोलीले सम्वाद गरिहँदा गोरे रहेको लोकेशनमा प्रहरी परिचालन गरी पक्राउ गर्न सक्ने स्थिति देखिन्छ। तर महाशाखाको सम्पूर्ण अनुसन्धान मुख्य आरोपी पक्राउ गर्न केन्द्रित भएको देखिँदैन। किन ?
४. घटनाको आफू अनुकूल व्याख्या
एसएसपी लोहनीले तत्कालीन प्रहरी प्रमुखको जिम्मेबारीमा रहेका एआईजी बमबहादुर भण्डारीसँग अनुमति लिँदै गोरेसँग शव व्यवस्थापनका लागि २ करोड रुपैयाँ बार्गेनिङ भइरहेको जानकारी गराएका थिए। तर प्रहरी महानिरीक्षक सचिवालयमा कार्यरत तत्कालीन डिआईजी गोविन्द निरौलाले त्यो सूचना गोरेलाई चुहाएको समिति अनुसन्धानबाट पुष्टि गरेको छ।
फागुन १९ गते शाक्यको शव बरामदपछि सुन अनुसन्धान गरिरहेको महाशाखाले उक्त सुन रसुवाबाट भित्रिएको जनाएको थियो। जब कि सुन विमानस्थल भएर भित्रिएको जानकारी अनुसन्धानमा संलग्न महाशाखालाई पहिलैदेखि थियो। गयाब पारिएको साढे ३३ केजी सुनका विषयमा जानकार रहेका र सुन तस्कर गोरेसँग सघन सम्बन्धमा रहेका सञ्जेलले तत्काल गोरे पक्राउ गर्नुभन्दा उनलाई सघाएको प्रमाण भेटिएको छ। तिनै सञ्जेल महाशाखाको ‘अफ ट्रयाक अनुसन्धान’ टोलीमा किन परे?
५. ‘अफ ट्रयाक’का नाउँमा सन्देहपूर्ण काम
काठमाडौं उपत्यका क्षेत्राधिकार भएको महानगरीय अपराध महाशाखाले ‘अफ ट्रयाक’ अनुसन्धानका लागि क्षेत्राधिकार नाघेका थुप्रै उदाहरण छन्। सुन तस्करीकै अनुसन्धान किन विवादित बन्यो त? समितिले यसका केही तथ्य र कारण पहिल्याएको छ। मौखिक सूचनाका आधारमा दुई जना प्रहरी अधिकारी प्रदेश १ पुग्दा प्रदेश प्रहरीलाई खबर गरिएको छैन। महाशाखाका दुई प्रहरी अधिकारीले मुख्य आरोपी गोरे पक्राउको योजना बनाए पनि त्यसअनुसार कहीँकतै काम गरेको देखिँदैन। कागज र प्रक्रियामा सबै कुरा ठिकठाक देखाएर संदेहपूर्ण कार्य गरेको ठहर समितिको छ।
यी हुन् तस्करीको सुनका मुख्य लगानीकर्ता
सुन तस्करीको मुख्य आरोपी गोरे देखिए पनि उनलाई सुन भित्र्याउन लगानी गर्नेहरुमा सुन व्यापारीदेखि होटल व्यवसायीसम्म देखिएका छन्। गृह सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको छानवीनले देखाएअनुसार होटल मनाङ, मनाङ हेलिकोप्टर मालिक एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य भुजुङ गुरुङ तस्करको सुनमा लगानी गर्ने मुख्य व्यक्ति हुन्। एमके भनिने मोहन अग्रवाल, सुनचाँदी व्यवसायी पवन अग्रवाल, राजेन्द्र शाक्य एवं महादेव गोल्यान तस्करी सुनका थप लगानीकर्ता हुन्। यस्तै युनाईटेड अरब इमिरेटस (युएई) मा समेत लगानीकर्ता रहेको अनुसन्धानबाट देखिएको छ। समिति स्रोतका अनुसार २६ जनाको हाराहारीमा युएईमा रहेका नेपाली तथा भारतीय नागरिक सुन तस्करीको यो सञ्जालमा रहेको पाइएको छ।
गोरेले २ वर्षमा भित्र्याए ३ हजार ८ सय केजी सुन
समितले घटनाको अनुसन्धानमा मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेतीको दुई वर्षको लेजर फेला पारेको छ। सो लेजरका आधारमा विमानस्थल भएर पछिल्लो दुई वर्षमा करिब ३ हजार ८ सय केजी सुन नेपाल भित्रिएको छ। समितिको अनुसन्धानमा गोरे सुन तस्करी गिरोहले चलाएको अदृश्य कम्पनीका कार्यकारी अधिकृतका रुपमा सक्रिय रहेका थिए। उनले प्रहरी, प्रशासन, भन्सार, मिडिया र राजनीतिक दलका नेता–कार्यकर्ता व्यवस्थापनको जिम्मेबारी पाएका थिए। प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बरामद लेजरमा पक्राउ परेका र फरार रहेका प्रहरी अधिकारीहरुले अदृश्य कम्पनीका सदस्य सरह रकम बुझ्ने गरेको देखिएको छ। डिआईजी गोविन्द निरौला, फरार रहेका एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतले गोरेबाट लिएको नगद तथा जिन्सीको विवरण लेजरमा उल्लेख छ। समिति स्रोतअनुसार केही नामहरु लेजरमा कोडमा लेखिएकाले डिकोड गर्ने काम भइरहेको छ।
पत्रकार सम्मेलनको तयारी
सरकारले गठन गरेको अनुसन्धान समितिले सरकारी वकिल कार्यालयबाट अदालतमा मुद्दा बुझाएर आज बुधबार वा भोलि बिहीबार पत्रकार सम्मेलनमार्फत पहिलो चरणको अनुसन्धान प्रगति सार्वजनिक गर्ने तयारी गरेको छ। समितिले पहिलो चरणको अनुसन्धान सनम शाक्य हत्या र मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती फरार भएको घटना केन्द्रित भएर गरेको हो।