३३ किलो सुन थाई एयरलाइन्सका कर्मचारीबाट हराएको सुन समितीको ठहर,समितिले यसरी केलायो तस्करीका सबै पाटा



बहुचर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका नयाँ तथ्यहरु खुल्दै गएका छन्। अनुसन्धान अन्तिम चरणमा पुग्दा घटनाका सबै पाटा छानबिन समितिले केलाएको छ।

छानबिन समिति स्रोतका अनुसार विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन थाई एयरलाइन्सका कर्मचारी सानु वनबाट हराएको थियो। थाई एयरलाइन्सका प्राविधिक वनको विमानस्थलभित्रै रहस्यमय मृत्यु भइसकेको छ।

गत माघ ७ गते ३३ किलो सुन रहेको लगेज बानेश्वरस्थित चुडामणि उप्रेती (गोरे) को कार्यालयमा ल्याउन उनलाई जिम्मेवारी दिइएको थियो। मध्य बानेश्वरबाट अनामनगर आउने बाटोमा सुन भएको झोला लुटपाट भएको उनले बताएका थिए। सोही सुन लुटेको हुनसक्ने आशंकामा मोरङ उर्लाबारीका सनम शाक्यको पनि हत्या भएको थियो। शाक्यको हत्या र त्यसको अनुसन्धानमा भएको चलखेलमाथि विस्तृत छानबिन हुँदा विमानस्थलबाट लामो समयदेखि प्रहरी र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको थियो।

गत माघ २२ मा विमानस्थलकै रनवेमा नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्याङ्करको ठक्करबाट वनको मृत्यु भएको थियो। जुन दुर्घटना जस्तो देखिएपछि आत्महत्या भएको प्रहरी अधिकारीहरु बताउँछन्। सिसिटिभी क्यामेरा फुटेजमा गुडिरहेको ट्याङ्करमुनि उनले हाम फालेको देखिएको छ। तस्कर समूहको यातना सहन नसकेर उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

३३ किलो सुनसँग प्रत्यक्ष रुपमा गाँसिएका वनको नै मृत्यु भएपछि त्यो सुन कहाँ पुग्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

प्रहरीका अनुसार विमानस्थलमा कार्यरत एयरलाइन्सका कर्मचारी आफैंले सुन राखिएका लगेज उप्रेतीको कार्यालयसम्म पुर्‍याउँथे। त्यसरी प्रत्यक्ष तस्करीमा संलग्न थाई एयरलाइन्सका ८ र नेपाल एयरलाइन्सका ४ कर्मचारी पक्राउ परिसकेका छन्।

विमानस्थलमा तीन तहको सेटिङ

विमानस्थलबाट सुन तस्करीका लागि तस्करहरुले तीन तहको सेटिङ मिलाएका थिए। लगेज बोक्ने लोडर, एयरलाइन्सका कर्मचारी र प्रहरी। लोडरहरुले सुन राखिएका सुटकेसको पहिले नै भाइबर तथा ह्वाट्स एपमार्फत सूचना पाउँथे। सोही सुटकेस उनीहरुले नेपाल एयरलाइन्स र थाई एयरलाइन्सका कर्मचारीलाई बुझाउँथे। ती सुटकेस बेबारिसे भएको जस्तो देखाएर आफैं राख्थे र अनुकूल मिलाएर आफ्नै झोलाका रुपमा लिएर निस्कथे। जसलाई उनीहरु आफैंले बानेश्वरस्थित तस्कर समूहका नाइके उप्रेतीको गोप्य कार्यालयमा पठाउने गर्थे।

त्यसका लागि विमानस्थलमा कार्यरत प्रहरीलाई पनि सेटिङ मिलाइएको थियो। उनीहरुले ती झोला निकाल्दा कुनै बाधा पुर्‍याउँदैन थिए। सुन तस्करीमा अप्रत्यक्ष सहयोग गरेको प्रमाण भेटिएपछि विमानस्थलमा त्यतिबेला काम गरेका डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउत पक्राउ परेका छन्।

साढे ३३ किलो र ३३ किलोमा एउटै समूह 

२०७३ पुस २० मा प्रहरीले विमानस्थलबाटै भन्सार कर्मचारी र प्रहरीको मिलेमतोमा भित्रिएको साढे ३३ किलो सुन गौशलामा बरामद गरेको थियो। जुन घटनापछि तस्कर समूहले सबैलाई पैसा खुवाएर लामो समयदेखि तस्करी गर्दै आएको खुल्यो। तस्करीमा संलग्नमध्ये एक उनै उप्रेती थिए। तस्करीमा संलग्न धेरैलाई प्रहरीले पक्राउ गरे पनि उनलाई पक्राउ गर्न सकेको थिएन। किनकि उनको धेरै प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध थियो।

हाल गृह मन्त्रालयले छानबिन गर्दा साढे ३३ किलो र ३३ किलो सुन तस्करीमा एउटै समूह रहेको खुलेको हो। उनीहरुले विमानस्थलमा ४–५ वटा समूहसँग सेटिङ मिलाएर तस्करी गर्दै आएका थिए। भन्सारका कर्मचारी पक्राउ परेपछि भन्सारसँगको सेटिङ भत्किए पनि एयरलाइन्सका कर्मचारीहरुसँगको सेटिङ जारी नै थियो। त्यसकारण उनीहरुलाई तस्करीमा कुनै समस्या थिएन।

विमानस्थलभित्रको सबै कमजोरी उनीहरुलाई थाहा थियो। त्यही कमजोरी पत्ता लगाएर उनीहरुले सजिलै सुन छिराउँदै आएको छानबिन समितिमा आबद्ध एक अधिकारीले बताए। स्रोतका अनुसार पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङले एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएका थिए। उनी पञ्चायत कालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आरके ज्वेलर्सका माकिल राजेन्द्र शाक्य साढे ३३ किलो सुन तस्करी प्रकरणका पनि प्रतिवादी हुन्। अधिकांश लगानीकर्ताहरु एउटै देखिएको छ।

मुख्य तस्करहरु फरार 

तस्करीमा सहयोग गर्ने ६ प्रहरी अधिकारी हिरासतमा छन्। तर, मुख्य नाइकेहरु फरार छन्। तस्करी र शाक्य हत्याका योजनाकार उप्रेती परिवारसहित फरार छन्। उनको सम्पत्ति रोकेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। तस्करीमा संलग्न मोहन अग्रवाल लगायत उनका धेरै साझेदार विदेश भागिसकेका छन्। उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायरको तयारी भइरहेको छ।

हालसम्म पूर्वडिआइजी गोविन्द निरौलासहित ६ प्रहरी पक्राउ परिसकेका छन्। एसपी विकासराज खनाल, डिएसपीहरु प्रजित केसी, संजय राउत, सइ बालकृष्ण सञ्जेल र जवान विष्णु खड्कामाथि मुद्दा अघि बढेको छ। यसैगरी, छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पनि सोधपुछका लागि पत्र काटेको छ।

त्यस्तै, बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम पनि हिरासतमै छन्।

सम्वीरप्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य,  अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार,   मदनप्रसाद घिमिरेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुविरुद्ध बुधबार मोरङ जिल्ला अदालतमा संगठित अपराध मुद्दा दर्ता हुँदै छ। सनम शाक्यको अपहरण र कर्तव्य ज्यान मुद्दा भने सबैउपर दायर नहुने एक प्रहरी अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्