मिस नेपाल फिल्ममा टिक्न नसक्नुको यस्तो भेटियो कारण,कहिलेका मिस नेपाल अचेल कहाँ के गर्दैछन्?



निकिता चन्दकको लक्ष्य थियो नेपाली फिल्ममा अभिनय गर्नु। केही वर्ष अघिबाटै फेसन–शो र मोडलिङमा सहभागिता जनाउँदै आएकी निकितालाई अवसरको खाँचो थियो। तर उनका लागि फिल्मी करिअरको सपनाभन्दा उच्च उपलब्धि हासिल भयो। उनी मिस नेपाल वर्ल्ड २०१७ को ताज पहिरिन सफल भइन्।

उनले ठूलो उपब्धित हासिल त गरिन् तर फिल्मी दुनियाँमा फड्को मार्ने इच्छा पूरा गर्न थप एक वर्ष कुर्नुपर्‍यो। मिस नेपालको आयोजक हिडन ट्रेजरको औपचारिक नियममा बाँधिन पुगेकी उनले एक वर्ष आयोजकसँगै अनुबन्धित रहनुपर्‍यो।

अब भने उनको फिल्मी इच्छाले पूर्णता पाउँदैछ। उनी नेपालमा अहिलेसम्म घोषित मिस नेपालमध्ये छोटो समयमै फिल्ममा अनुबन्धित भएकी मिस नेपाल पनि हुन्। केही दिनअघि मात्रै ‘रानीमहल’का लागि अनुबन्धित भइन्। अभिनयका लागि उनले रु १० लाख पारिश्रमिक लिएको चर्चा भए पनि उनी त्यसलाई स्विकार्न तयार भइनन्।

मिस नेपालको उपाधिले चिनिएकी निकिताले फिल्मबाट दर्शकको मन कसरी जित्लिन्, त्यसका लागि फिल्म प्रदर्शन मिति कुर्नुपर्नेछ। त्यसो त धेरैले उनलाई चासोपूर्वक हेरिरहेका छन्। किनकि सन् १९९४ बाट सुरु भएको मिस नेपालका विजेताहरु जजसले अभिनय यात्रा तय गरे, उनीहरु टिक्न सकेनन्।

अभिनयको सौख र पलायन

पहिलो मिस नेपाल बनेकी रुवि राणाले तीन वटा फिल्ममा अभिनय गरिन्। उनको पहिलो फिल्म थियो, ‘अनमोल’। त्यसपछि उनले ‘भुतुक्कै भएँ नि’, ‘आधा बाटो’  फिल्ममा आफ्नो कला देखाइन्। तर अभिनय यात्रालाई उनले निरन्तरता दिन सकिनन्। यसको अर्थ फिल्म क्षेत्रमा उनको उपस्थिति जम्न सकेन। पछिल्लो केही महिनायता भने उनी अभियनबाट टाढिएर ‘आउँदै जाँदै’को निमार्णमा कस्सिएकी छिन्।

दोस्रो मिस नेपाल (१९९५)  सुमी खड्काले पनि अभिनय यात्रामा पाइला त चालिन्। तर ठूलो उपलब्धि पाउन सकिनन्। ‘समर्पण’, ‘सुपरस्टार’, ‘ग्रहण’, ‘एक नजर’ जस्ता फिल्ममा अनुबन्धित भएकी उनले अन्तत: यो क्षेत्र नै त्यागेर एयर होस्टेजको पेसा रोजिन्। अहिले उनी अमेरिकामा छिन्।

१९९७ की मिस नेपाल झरना बज्राचार्य भने तुलनात्मक सफल अभिनेत्रीका रुपमा दरिन्छिन्। ‘हतियार’बाट फिल्मी करिअर सुरु गरेकी झरनाले ‘भुतुक्कै भएँ नि’, ‘सिँउदोको सिन्दुर’, ‘अन्जुली’, ‘भाइटीका’, ‘माया गर्छु म’, ‘चाहन्छु म तिमीलाई’, ‘लभ इन नेपाल’ (हिन्दी), ‘परेँ नि माया जालैमा’, ‘सञ्जीवनी’, ‘फेरि अर्को साइनो’ जस्ता फिल्ममा अभिनय गरिन्। २००५ बाट फिल्मी दुनियाँबाट अलग्गिएकी झरनाले पुनः २०१० मा ‘कोही मेरो’मार्फत कमब्याक गरिन्। २०१६ मा ‘सेफ ल्यान्डिङ’मार्फत दर्शकमाझ आएकी उनका अधिकांश फिल्म सफल बन्न सकेनन्। मलेसियन व्यापारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी उनी हाल मलेसियामै बस्दै आएकी छन्।

माल्भिका सुब्बा सन् २००२ की मिस नेपाल हुन्। उनले पनि फिल्मी करिअरलाई नरोजेकी होइनन्। ‘गुडबाई काठमाडौं’, ‘गड लिभ्स इन हिमालय’ जस्ता फिल्ममा अभिनय गरेकी उनले ‘हाउ फन्नी’ निर्माणसमेत गरिन्। तर न उनी अभिनयमा जम्न सकिन् न त निर्माण गरेको फिल्मले नै सफलता पायो। अन्ततः कार्यक्रम उद्घोषक र युवा उद्यमीहरुका लागि आइडिया स्टुडियोको सिइओका रुपमा उनी स्थापित हुन पुगेकी छन्।

जेनिसा मोक्तान (२००९) ले पनि अभिनय यात्रालाई अन्य मिस नेपालले जस्तै पछ्याउने प्रयास गरिन्। ‘मेरो एउटा साथी’मा अभिनय गरेकी उनी त्यसपछि फिल्मी पर्दाबाटै अलप भइन्। पछि वैवाहिक सम्बन्ध गाँसेनकी उनी अन्य क्षेत्रमै जीवन बिताइरहेकी छन्।

सन् २०११ की मिस नेपाल मलिना जोशी भने अझै फिल्मी क्षेत्रमै छिन्। २०१४ मा ‘ऋतु’बाट अभिनय यात्रा थालेकी उनी ‘कति धेरै’, ‘झुम्की’, ‘द वीनर’, ‘रानी’, ‘संरक्षण’मा पनि आबद्ध भइन्। उनको अभिनय रहेको ‘तिमी हुन्छौ जहाँजहाँ’ भने प्रदर्शनको तयारीमा छ।

यतिका फिल्म काम गरिसकेकी मलिनाका फिल्महरु भने सफल हुन सकेनन्।

व्यावसायिक सफल फिल्म ‘गाजलु’की नायिका सृष्टि श्रेष्ठ मिस नेपाल २०१२ की विजेता हुन्। गाजलुले व्यापारिक सफलता पाउनुका साथै समीक्षकबाट पनि मिश्रित प्रतिक्रिया पाएको थियो। ‘गाजलु’बाटै उनले विभिन्न विधामा अवार्ड पनि प्राप्त गरिन्। उनी अभिनित ‘बाँध मायाले’ फिल्म प्रदर्शनमा आउँदैछ। गाजलुमा कमाएको चर्चा उनले अबको फिल्मबाट पाउलिन् त?

‘रोमियो एन्ड मुना’ पनि प्रदर्शनको तयारीमा छ। फिल्मको गीत सार्वजनिक  कार्यक्रममा ‘टु पिस’ नृत्यले विवाद आएपछि फिल्मको प्रचारप्रसार यतिबेला रोकिएको छ। सृष्टिकै फिल्म ‘लाहुरे’ पनि पाइपलाइनमा छ।

समग्रमा हेर्दा फिल्म प्रवेशका लागि मिस नेपालको ताज ‘ग्रिन सिग्नल’कै रुपमा देखिन्छ। अभिनय कला जस्तोसुकै भए पनि निर्माताहरु मिस नेपाललाई अनुबन्धन गर्न लालायित छन्।
साढे दुई दशक लामो मिस नेपालको शृंखलामा भने २०१८ की मिस नेपाल शृंखला खतिवडा फरक देखिइन्। फिल्मी क्षेत्रमा प्रवेश नगर्ने उनले बताइसकेकी छन्।

आफ्नो औपचारिक अध्ययन आर्किटेक्चर इन्जिनियरिङ भएकाले त्यतैतिर आफ्नो करिअर रहेको उनको भनाइ छ। निर्माता/निर्देशकको नजरमा परेकी उनी आफ्नो भनाइमा टिकिरहलिन्? त्यो चाहिँ भविष्यले बताउनेछ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्