३३ किलो सुन प्रकरणमा नेता समेत तानिएको यस्तो आयो सूचना,सरकारमाथि नै प्रश्न गर्दै नेताले नै भने-‘अपराधीको संरक्षण गर्नेहरु नै सत्तामा पुगे’



गृहमन्त्री रामबहादुर थापाले गत चैत १९ गते गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै भनेका थिए, ‘२/४ सय तोला होइन, एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको छ।’

गृहमन्त्रीले नै टनका टन सुन तस्करी भइरहेको बताउँदा कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरुको अनुहारमा भने आश्चर्यको भाव देख्न सकिन्थ्यो। तर गतवर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भित्रिएको ३३ केजी सुन प्रकरणको लहरो फैलँदै व्यापारी, नेताहरु र प्रहरीसम्म पुगेपछि धेरै शंका उब्जिएको छ।

यही तस्करी प्रकरणमा जोडिएका पूर्वडिआइजी गोविन्द निरौलाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको छ भने अन्य प्रहरी अधिकारी पनि यसमा मुछिएका छन्। यही घटनामा जोडिएर सनम शाक्यको हत्यासमेत भएको छ। सुन कहाँ लुकाइयो? अझै फेला पर्न नसक्दा रहस्यको जालो थप जटिल बनिरहेको छ।

पछिल्ला दिन सुन तस्करीसँग जोडिएका समाचारले प्राथमिकता पाइरहेका बेला राजनीतिक दलका नेताहरुको धारणा भने बाहिर आएको छैन। जनप्रतिनिधिहरुले बहस गर्नका लागि यतिबेला संसद सुचारु नभएको अवस्थामा हामीले केही नेताहरुको धारणा बुझ्ने प्रयास गरेका छौं।

प्रकाशमान सिंह, नेपाली कांग्रेस : सरकारको काम सुन तस्करीलाई रोक्ने हो। सरकारले काम गरेन भने वा आँखा चिम्लियो भने तस्करी भइरहन्छ। रोकिँदैन। अहिले त सरकारको धारणा के हो भन्ने नै प्रस्ट छैन। सुन तस्करी किन बढिरहेको छ, किन यस्तो भइरहेको छ? कतै सरकारी संयन्त्रकै संलग्नता त छैन? यसलाई सरकारले गम्भीर रुपमा हेर्नुपर्योर। होइन भने सरकारमाथि नै प्रश्न उठ्छ। कतै सरकार नै तस्करीलाई प्रोत्साहित गर्नेगरी संलग्न छैन? भन्ने कुरा त आउँछ!

देवेन्द्र पौडेल, नेकपा माओवादी केन्द्र : यस्ता कुरामा जोसुकै जोडिए पनि तीव्र अनुसन्धान हुनुपर्छ। अनुसन्धानबाट दोषी देखिएकाहरुलाई राज्यले कारबाही गर्छ। अहिलेको अनुसन्धान आवश्यक मात्रामा प्रभावकारी भएको त छैन तर त्यसलाई अलि बढी प्रभावकारिताका साथ खोजीनीति गर्ने भनेर गृह मन्त्रालयले निर्देशन जारी गरेको छ। मलाई लाग्छ, दोषीले सजाय पाउँछन्। पाउनु पनि पर्छ।

घनश्याम ढकाल, नेकपा एमाले : अपराधपूर्ण कार्यहरु सम्पूर्ण रुपमा रोकिनुपर्छ। अपराध गर्नेहरुलाई कारबाही हुनुपर्छ। तस्करी जस्ता कामलाई सरकारले नियन्त्रणमा लिनुपर्योब नि! सुन तस्करी जस्ता कुनै पनि नाजायज काम सरकारले हुन दिनु हुँदैन, रोकथाम गर्नुपर्छ। अहिले भइरहेको अनुसन्धान पर्याप्त छैन। जे होस्, सुन तस्करी नियन्त्रण गर्नैपर्छ भन्ने मेरो धारणा छ।

डिला संग्रौला, नेपाली कांग्रेस : अहिले सुन तस्करीका समाचार खुबै आएको मैले पनि सुनेको छु। यसको यथार्थ पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्छ। पत्ता लाग्दैछ, गृहमन्त्रीले हेरिरहनुभएको छ, अनुसन्धान भइरहेको छ भनेर मात्रै त भएन नि! अनुसन्धान भइरहेको छ, आदेश दिइरहेको छ भन्ने कुराले प्रभावकारी अनुसन्धान भइरहेको कुराको पुष्टि गर्दैन। अलि छिटो छरितो अनुसन्धान गरेर कारबाही प्रक्रिया जनताले देख्नेगरी थाल्नुपर्यो ।

लक्ष्मणलाल कर्ण, राष्ट्रिय जनता पार्टी : सुन तस्करीमा जोडिएका जतिलाई कारबाही गर्नुपर्छ। देशमा दण्डहीनता हुन त दिनुभएन नि। सरकार यसमा सतर्क हुनुपर्छ। जहाँजहाँ यस किसिमको तस्करी छ, त्यसमा शुद्धीकरण गर्नैपर्छ। जहाँ शंका हो, त्यहाँ सरकारको अनुसन्धान पुग्नैपर्छ, कडाइका साथ।

जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि कारबाही भएन भने केही काम लाग्दैन। सरकार तस्करको प्रभावमा पर्नु हुँदैन। पर्‍यो भने ऊ पनि भ्रष्टाचारी ठहरिन्छ। सरकारले खुट्टा नकमाईकन दोषीमाथि कारबाही गर्नुपर्छ।

प्रेम सुवाल, नेमकिपा : कालाबजारी, तस्करी, घुसखोरी, भ्रष्टाचार यी सबै सामाजिक, आर्थिक र फौजदारी अपराध हुन्। यस्तो विषयमा कुनै सम्झौता गर्नुहुन्न। अर्थमन्त्रीले श्वेतपत्र जारी गरेर ढुकुटी रित्तियो भन्नुभयो। तर ढुकुटीमा आउने चिजजति सबै चुहावट भएपछि रित्तो त हुने नै भयो। चुहावट गर्नेलाई कारबाही गर्नुपर्छ। हामीले त भ्रष्टाचारी, कालोबजारी, तस्करी र महिला हिंसा गर्ने सबैलाई फाँसी दिनुपर्छ भनेर संविधान बनाउँदा कुरा राख्यौं। तर सरकारमा जाने पार्टीहरुले मानेनन्। अहिले पनि अपराधीलाई संरक्षण गर्ने काम सरकारमा जाने पार्टीहरुबाट भइरहेको छ। जिम्मेवार पदमा भएकाहरुले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। र, आफ्नो पद अनुसारको कर्तव्य निर्वाह नगर्ने, आचरण नदेखाउनेहरु पदमा बस्नु उपयुक्त हुँदैन।

बिन्दा पाण्डे, नेकपा एमाले : यो अनुसन्धान भइरहेको विषय हो। मैले अहिले प्रतिक्रिया दिन चाहिनँ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्