कठघरामा योगेश भट्टराई, १२ अभियोग



अभियोग १ : एमालेभित्रैबाट लाग्ने ठूलो आरोप छ, तपाईं गुटबन्दी गर्न माहिर हुनुहुन्छ । पार्टीभित्र समानान्तर सत्ता चलाउन खोज्नुहुन्छ । पूर्व ताप्लेजुङदेखि पश्चिम कञ्चनपुरसम्म गुटका कार्यकर्ता तयार गर्नुभएको छ । जसले पार्टीभित्र लाभभन्दा दीर्घकालीन रूपमा हानि धेरै गर्छ ।

-म राजनीति गरेदेखि अहिलेसम्म पार्टीका संस्थागत निर्णयको पक्षमा उभिँदै आएको मान्छे हुँ । पार्टीभित्र वैचारिक समूह निर्माण गर्ने र त्यस आधारमा पार्टीका निर्णयमा बहस गर्ने हाम्रो पार्टीको स्थापित मान्यता हो । त्यस अर्थमा विभिन्न कालखण्डमा, विभिन्न महाधिवेशनका वेला पार्टीभित्रका विचार समूह छलफलमा उत्रिन्छन् ।

त्यसवेला मैले आफूलाई कुनै न कुनै विचार समूहमा उभ्याउने गरेको छु । र, म जहाँ उभिन्छु त्यहाँ प्रस्ट ढंगले उभिन्छु, दृढताका साथ उभिन्छु । यता पनि ठीक छ, उता पनि ठीक छ भन्ने कुरा म गर्दिनँ । त्यसलाई कतिपयले गुटबन्दी भन्छन् । पार्टीमा गुटहरू पनि छन्, समूहहरू पनि छन् । म पनि कुनै गुटमा, कुनै समूहमा हुँला । त्यो आफ्नो ठाउँमा छ ।

मैले विद्यार्थी संगठनबाट काम गरेँ । अनेरास्ववियुको अध्यक्ष भएँ । र, अध्यक्ष पनि राम्रैसित चलाएर आएको हुनाले मेचीदेखि महाकालीसम्म मात्रै होइन, अब त प्रवासमा पनि पार्टीका साथीहरूसँग भेटघाट गर्ने, छलफल गर्ने कार्य स्वाभाविक रूपमा हुन्छ ।

मसँगै विद्यार्थी संगठनमा काम गरेका थुप्रै साथी केन्द्रीय कमिटीमा छन्, संसद्मा छन् । पार्टीका जिल्ला कमिटी र विभिन्न जनवर्गीय संगठनमा पनि छन् । यस अर्थमा देशभरिको नेटवर्क मसँग नजिक छ । उहाँहरूसँग भेटघाट हुन्छ, छलफल हुन्छ । यसलाई पनि कतिपयले गुटबन्दी गरेको भन्न सक्छन् ।

अभियोग २ : एमाले विभाजन हुनुमा तपाईंको पनि महत्वपूर्ण भूमिका छ । त्यतिवेलाको सशक्त विद्यार्थी संगठन अनेरास्ववियुको निवर्तमान अध्यक्षका हैसियतमा तपाईंले नेताहरूलाई मिल्नका लागि दबाब दिनुको सट्टा विवादको आगोमा घिउ थप्ने काम गर्नुभयो ।

नेपालको इतिहासमा खास गरेर तीनवटा घटना ज्यादै दुःखदायी छन् । पहिलो, मदन भण्डारी हत्याको घटना । यो घटनाले नेपालको राजनीति जता जानुपथ्र्यो, त्यता जान दिएन । त्यसमा अवरोध खडा ग(यो । दोस्रो, १२ भदौ ०५२ को अदालतको फैसला हो । त्यसले नेपालको संसदीय राजनीतिलाई नै विकृत बनाइदियो । तेस्रोचाहिँ, एमालेको विभाजन ।

यी तीनवटा घटनाले नेपालको राजनीतिलाई दुःखद परिस्थितितिर लग्यो । विभाजनका वेला पार्टीभित्र अन्तरविरोध चलिरहँदाखेरि स्वाभाविक रूपले पक्ष–विपक्ष हुन्छन्, उत्तेजनाका कुरा पनि हुन्छन् । तर, त्यस्तो वेला नेतृत्व नै ज्यादा सम्हालिनुपर्छ, पथ्र्यो भन्ने मलाई लाग्छ ।

अब यसलाई हामीले अहिलेसम्म ज्यादा गम्भीरताका साथ समीक्षा गरेका छैनौँ । पार्टी विभाजन किन भयो रु कसका कारणले भयो भन्नेबारे राम्ररी समीक्षा भएको छैन । विभाजन एउटा पक्षका कारणले मात्रै हुँदैन । दुवै पक्ष त्यसमा दोषी हुन्छन्, कम–बेसी मात्रै हो ।

त्यसवेला कमरेड वामदेव गौतमले जुन विचार पार्टीभित्र उठाउनुभयो, त्यो विचारको सामीप्यतामा हामी थियौँ । त्यस अर्थमा हामीले उहाँलाई साथ दिएका हौँ । हामी मध्यस्थकर्ता हुन सकेनौँ । कुनै पक्षमा उभिएको मान्छे कसरी मध्यस्थकर्ता हुन सक्छ र रु अरू कसैले मध्यस्थता गर्नुपथ्र्यो । खास गरेर सिनियर नेताहरूले मध्यस्थता गर्नुपथ्र्यो ।

म मनमोहन अधिकारीलाई धेरै हिसाबले राम्रो नेता मान्छु । शालीन हुनुहुन्थ्यो, निष्ठा भएको, सरल, त्यागी र सादगी मान्छे हुनुहुन्थ्यो । त्यस हिसाबले नेपालको कम्युनिस्ट आन्दोलनको शीर्ष व्यक्तित्व पनि हो । मैले धेरै मान्ने केही नेतामध्ये एक व्यक्तित्व हुनुहुन्छ मनमोहन अधिकारी ।

तर, पार्टी विभाजनकोे क्षणमा उहाँको भूमिका सन्तोषजनक थिएन । उहाँले दुई पक्षबीचमा बसेर पार्टीलाई विभाजन हुनबाट रोक्न सक्नुहुन्थ्यो । उहाँबाट त्यो भूमिकाको अपेक्षा पनि गरेका थिए मान्छेले । उहाँले मात्रै त्यो काम गर्न सक्नुहुन्थ्यो, अरू कसैले सक्दैनथे । तर, उहाँले त्यस्तो भूमिका खेल्न सक्नुभएन ।

अभियोग ३ :  तपाईं विद्यार्थी राजनीतिदेखि नै गुटबन्दीमा रमाउनुभयो । अनेरास्ववियुको अध्यक्ष हुँदा महासचिव भानुभक्त ढकालसँग संगठन नै धराशायी हुने गरी भिडन्त गर्नुभयो । अन्ततः महाधिवेशनबाट निर्वाचित संगठनमा इतिहासमै पहिलोपटक पार्टीले खुला हस्तक्षेप गरेर अध्यक्ष र महासचिव दुवैलाई निकाल्नुपयो ।

म अध्यक्ष भएको वेला अनेरास्ववियुभित्र समूहबन्दी भयो । र, त्यो समूहबन्दी अनेरास्ववियुभित्रको स्वतन्त्र समूहबन्दी थिएन, पार्टीभित्रै हुर्कंदै गएको समूहबन्दीको प्रभाव थियो । त्यतिवेला म र भानुभक्त ढकाल दुई कित्तामा उभियौँ । यद्यपि, सबैभन्दा मिल्ने पनि भानुभक्त र म नै हौँ । अहिले पनि हामी सबैभन्दा मिल्छौँ । त्यतिवेला दुई कारणले हामीबीच फाटो आयो भन्ने लाग्छ ।

पहिलो संगठनको नेतृत्वमा जाने विषयले । रामनाथ ढकालजी संसद्मा गएपछि बीचमा ६–८ महिना म अध्यक्ष भएँ । एउटा पूरै कार्यकाल संगठन चलाउँछु भन्ने मेरो इच्छा र माग थियो । केही बेठीक गरेको छैन, राम्रै गरिराखेको छु, एक कार्यकाल चलाउँछु, मलाई दिनुस् भन्ने मेरो कुरा नाजायज पनि थिएन । तर, भानुभक्तजीले पनि दाबी गर्नुभयो ।

म एकपटक अध्यक्ष भएर उहाँ अध्यक्ष हुँदा स्वाभाविक प्रक्रिया हुन्थ्यो । तर, उहाँले पनि दाबी छाड्नुभएन । म अध्यक्ष भएँ, उहाँ महासचिव हुनुभयो । सम्भवतः त्यसलाई उहाँले स्वाभाविक ढंगले लिनुभएको थिएन होला । नेतृत्वको हिसाबमा उहाँ र मेरो यो विषयमा कुरा मिलेन । अर्को, पार्टीभित्रका महाकालीलगायत विषयवस्तु पनि आइराखेका थिए ।

त्यसमा पनि हामी अलग–अलग धारमा उभियौँ । एकीकृत महाकाली सन्धि जुन भयो, पछि संसद्बाट पनि पारित भयो । हाम्रो पार्टी एमालेले पनि त्यो सन्धिलाई राम्रै मानेको छ । तर, व्यक्तिगत रूपमा म अहिले पनि नेपालका लागि नहुनुपर्ने काम भयो भन्ने ठान्छु ।

अभियोग ४ :  तपाईं प्रचारमा रमाउनुहुन्छ । लामो समय मिडियामा नआउँदा छटपटाउनुहुन्छ । आफूअनुकूल राजनीतिक वातावरण नबन्दा गलत सूचना सम्प्रेषण गरेर ‘मिडिया स्टन्टबाजी’ गर्नसमेत पछि पर्नुहुन्न ।

०४६र४७ को आन्दोलनका वेला पनि विद्यार्थी संगठनको केन्द्रीय सदस्य थिएँ । उपत्यकाको आन्दोलन परिचालनमा म अगुवा नै थिएँ । ०६२र६३ को आन्दोलनको वेला त म एक किसिमले पार्टीको अघोषित कमान्डरजस्तै थिएँ । घोषित त ठूला नेता नै थिए ।

आन्दोलनलाई संयोजन गर्ने, परिचालन गर्ने, आन्दोलनको तयारीको सन्दर्भमा अरू पार्टीसँग छलफल गर्नेलगायत काममा म अघोषित कमान्डर नै थिएँ । त्यस हिसाबले सञ्चारकर्मी साथीहरूका लागि म समाचार स्रोत नै थिएँ । मिडियाका साथीहरूले पनि मलाई राम्रै को–अपरेट गर्नुभयो ।

त्यसपछि पनि लगातार पार्टीभित्रको वैचारिक बहस–छलफलमा जुनसुकै पोलमा दृढताका साथ उभिँदा त्यो पोलको अघोषित प्रवक्ताजस्तो पनि भएँ । आठौँ महाधिवेशनमा झलनाथ खनालजीलाई समर्थन गरियो । किन समर्थन गरियो भनेर भन्नैपर्‍यो । म नै फ्रन्टलाइनमा आएर धेरै कुरा बताएँ । नवौँ महाधिवेशनमा आउँदा माधव नेपाललाई समर्थन गर्ने परिस्थिति बन्यो ।

किन माधव नेपाललाई समर्थन गर्‍यो भन्ने कुरा बताउनैपर्‍यो, मैले बताएँ । माधव नेपाल टिमको पनि म अघोषित प्रवक्ताजस्तै भएँ । यी र यस्ता कारणले ज्यादा समाचार सञ्चारमाध्यममा आए ।

अहिले पार्टीको अफिसियल जिम्मेवारी पनि प्रचार विभाग परेको छ । प्रचार विभागको मान्छे मिडियासँग सम्पर्क नै गरेन भने असफल त भई नै हाल्छ । त्यस अर्थमा ज्यादा सम्पर्क छ नै । यसलाई कतिपय मेरै समकालीन साथीहरूले पनि राम्रो मानेका छैनन् होला ।

आफू पनि त्यत्तिकै मिडियामा आउन पाए हुन्थ्यो भन्ने कतिपयलाई लागेको होला । उहाँहरूको जिम्मेवारी पनि मेरो जस्तो भयो भने उहाँहरू पनि आउनुहुन्छ होला । त्यतिवेला म फ्रन्टलाइनमा आउनुपर्दैन होला । यसलाई त्यति अन्यथा लिनुहुँदैन ।

अर्को कुरा, म के भन्न चाहन्छु भने यहाँ समाचार बेचेर जिन्दगी चलाउने मान्छे पनि छन् । म पार्टीको अहितमा, देशको अहितमा, जनताको अहितमा शक्तिकेन्द्रलाई समाचार बेच्ने वा कुनै चर्चित मिडियालाई समाचार बेच्ने बेइमानी भने गर्दिनँ ।

अभियोग ५ :  तुलनात्मक रूपमा आफ्नो पुस्ताका नेतामध्ये व्यवस्थित राजनीति गर्नुहुन्छ । मिडिया परिचालन, मास परिचालन र आर्थिक व्यवस्थापन पनि सजिलै गर्न सक्नुहुन्छ । तर, ती सबै समग्र पार्टी हितका लागि भन्दा गुट र व्यक्तिगत लाभमा परिचालन गर्नुहुन्छ ।

हाम्रो दुर्भाग्य नै यही भएको छ । हामीसँग भएको क्षमता, योग्यता, हामीभित्र अन्तरनिहित गुणहरू जुन छन्, त्यो समग्र पार्टीको निर्माणमा, विकासमा, मुलुकको हितमा परिचालन गर्ने परिस्थिति नै छैन हाम्रो देशमा पार्टीहरूको गुटबन्दीले ।

पहिला, एउटा समूहमा गुटबन्दी, त्यसपछि निश्चित नेताबीच केन्द्रित हुँदै जान्छ, नेताहरूमध्ये पनि एउटा नेतामा केन्द्रित हुन थाल्छ, त्यसपछि नेताको परिवारमा जान्छ । गुटहरू पनि यति साँघुरा हुँदै गएका छन् कि त्यसले मान्छेको क्षमता, योग्यतालाई प्रस्फुटन नै हुन दिँदैन । यो दुर्भाग्य हो ।

हामीजस्ता राजनीतिमा जीवन नै बिताएर आएका मान्छेले आफूसँग भएको क्षमता र योग्यता कहीँ न कहीँ त देखाउनुपर्‍यो । त्यसै बस्नु त भएन । त्यसैले हामी कहिलेकाहीँ कुनै फोरम बनाउँछौँ, त्यहाँ गोष्ठी गर्छौँ, सेमिनार गर्छौँ, छलफल गर्छौं, बहस गर्छौं । त्यो कामलाई केही मान्छेले ‘पार्टीभित्र यस्तो त गर्न नहुने हो, किन गरेको होला’ भन्छन् ।

पार्टीको संस्थागत संरचनामा हामीले आफ्नो भूमिका, क्षमता प्रदर्शन गर्न नपाएपछि मान्छेले कहीँ न कहीँ फोरम त खोज्छ । तर, त्यस्ता फोरम प्रयोग गर्दा हामी पार्टीको अहित नहोस् भन्ने कुराचाहिँ हरदम सोचिरहेका हुन्छौँ ।

र, अर्को कुरा हामीलाई देखेर अथवा हामीलाई नेतृत्व मानेर पनि देशरभर थुप्रै साथी क्रियाशील हुनुहुन्छ । उहाँहरूसँग नियमित सम्पर्कमा बस्नु, उहाँहरूसँगको भेटघाटको व्यवस्थापन गर्नु, छलफल गर्नु, उहाँहरूले बोलाएको कार्यक्रममा जानुपर्छ । त्यसकारण यस्ता व्यवस्थापन गरिरहनुपर्ने अवस्था आउँछ ।

अभियोग ६ :  मीठो र सर्वसाधारणलाई लोभ्याउने गरी बोल्न र भाषण गर्न खोज्नुहुन्छ । तर, बोलीमा नियन्त्रण राख्न सक्नुहुन्न । जसले गर्दा विवादमा मात्रै तानिने होइन, राजनीतिक हानिसमेत व्यहोर्नुहुन्छ । पछिल्लोपटक पार्टी एकताको तयारीमा जुटेका एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने भाषण ठोक्नुभयो । यसबाट चुनावताका तपाईंकै क्षेत्रमा गएर ‘तपाईंहरू योगेश भट्टराईलाई सांसद बनाएर पठाउनुस्, काठमाडौंबाट म मन्त्री बनाएर पठाउँछु’ भनेर सार्वजनिक प्रतिबद्धता गरेका ओली पनि बिच्किए । र, मन्त्री नै बनाएनन् ।

पार्टी एकताको प्रक्रिया चलिरहेकै सन्दर्भमा को अध्यक्ष बन्ने भन्ने बहस हाम्रो पार्टीमा चली नै रहेको छ । अब अहिले एउटा मध्यमार्गी सोलुसनजस्तो निकालिएको देखिन्छ, दुवै पार्टीका अध्यक्षलाई अध्यक्ष मान्ने । यो कुनै राजनीतिक निर्णय होइन । र, सही निर्णय पनि होइन । यो कुनै अमुक दुई नेताको चित्त बुझाएपछि भइहाल्छ भन्ने टालटुले कुरा हो ।

यस्तो कुराले दीर्घकालिन समाधान हुँदैन । पार्टी एकता भनिसकेपछि मन, वचन, कर्मले, भावनात्मक हिसाबले, संगठनात्मक हिसाबले, सम्पूर्ण ढंगले एक–अर्कामा समर्पित हुन हामी तयार हुनुपर्छ । तब मात्रै एकता दिगो हुन्छ भन्ने मलाई लाग्छ । यो नेतृत्वको हस्तान्तरण, पुस्तान्तरणको बहस मैले अहिले मात्रै होइन, पहिलेदेखि नै चलाउँदै आएको छु ।

अहिलेको जुन पुस्ता जो नेतृत्वमा छ, उसले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै ०४६ सालको आन्दोलन, ०६२र६३ को आन्दोलन, संविधान निर्माणलगायत सबै कुरामा तुलनात्मक रूपमा सही नेतृत्व नै गरेको छ । त्यसकारण अब क्रमशः यो पुस्ताले बिदा लिएर नयाँ पुस्तामा नेतृत्व जाओस् भन्ने मेरो सोचाइ हो । यो कुरा मैले अहिले मात्रै होइन, पहिलेदेखि नै बहसका रूपमा उठाउँदै आएको छु ।

फेरि यो कुरा नेताहरूलाई मानमर्दन गर्ने, होच्याउने, अपमानित गर्ने हिसाबले, उहाँहरूलाई चारपाटे मुडेर लखेट्ने हिसाबले भनेको होइन । उहाँहरूकै मान–सम्मानका लागि भनिएको हो । उहाँहरूको राजनीतिक इज्जतका लागि भनिएको हो । तर, कतिपयले त्यसलाई सही ढंगले बुझ्न सकेनन् । त्यो बेग्लै कुरा हो । सही ढंगले बुझाउन नसक्नु मेरो पनि कमजोरी होला ।

यस्तो बहस गरेकै आधारमा केपी ओलीले मलाई मन्त्री नबनाउनुभएको होला भन्ने मलाई लाग्दैन । यदि त्यत्तिकै आधारमा उहाँले मन्त्री नबनाएको भए पनि मेरो कुनै गुनासो छैन । यसबारे मैले धेरै प्रतिक्रिया पनि दिइसकेको छु । मलाई लाग्छ, केपी कमरेडले मलाई मन्त्री नबनाउनुमा अर्कै कुनै अदृश्य कुरा छ । तर, मैले थाहा पाएको छु । त्यो कुनै दिन प्रकट हुन्छ ।

तर, पनि केपी कमरेडप्रति मेरो कुनै गुनासो छैन् । उहाँको सरकारलाई म दृढताका साथ समर्थन गर्छु । र, सार्वजनिक ठाउँमा, सञ्चारमाध्यममा पक्षपोषण गर्छु । गलत निर्णय छन् भने विरोध पनि गर्छु । तर, उहाँले मलाई मन्त्री बनाउनुभएन भन्ने आधारमा सरकारको भन्डाफोर गर्दै म हिँड्दिनँ ।

जहाँसम्म बोलीमा नियन्त्रण गर्न नसकेको कुरा छ, हामी मास मुभमेन्टबाट आएका मान्छे हौँ । ठुल्ठूला मास मुभमेन्टलाई नियन्त्रण गर्दै, त्यसलाई ट्र्याकमा राख्दै आउनुपर्ने भएकाले कहिलेकाहीँ हामी मासको सेन्टिमेन्टअनुसार पनि बोल्छौँ । कतिपय वेला मासले, भिडले अप्रिय घटना घटाउँदै छ भन्ने कुरा हामी देख्छौँ, घगडान–घगडान नेताहरू पनि अगाडि गएर सम्झाउन सक्दैनन् ।

त्यस्तो वेला धेरैपटक हामीले मासलाई सम्झाएका छौँ, हाम्रो पुस्ताका साथीले सम्झाउनुभएको छ, मैले पनि सम्झाएको छु । त्यो मासलाई सम्झाउने क्रममा कहिलेकाहीँ त्यहीँ उत्पन्न हुन्छन् कतिपय कुरा र त्यही बोलिन्छ । हामी मास मुभमेन्टबाट आएका मान्छेको बोल्ने तरिका र संगठन निर्माणको बाटोबाट आएका नेताको बोल्ने तरिकामा केही भिन्नता हुन्छ । उहाँहरू अलि धेरै तौलेर बोल्नुहुन्छ होला ।

सोचविचार गरी ज्यादा बोल्नुहुन्छ होला । हाम्रो जस्तै स्कुलिङबाट आएकाले अलि चर्को बोल्ने होला । अथवा मासलाई बढी उत्तेजित गर्ने कोसिस गर्छौं होला हामीले । यसकारण तपाईंले भनेका कुरा म अस्वीकार गर्दिनँ । कहिलेकाहीँ बोल्दाबोल्दै चिप्लिन्छ । ठुल्ठूला नेताहरू पनि चिप्लिन्छन्, हामी पनि चिप्लिन्छौँ । पछि, त्यस्तो नबोल्नुपथ्र्यो, बोलिहालियो भन्ने लाग्छ । त्यसलाई पछि अर्को माध्यमबाट डेन्टिङ–पेन्टिङ गर्नुपर्छ ।

अभियोग ७ :  फरक गुटका कार्यकर्तासँग मीठो बोले पनि वास्तविक रूपमा देखिसहनुहुन्न, भित्रभित्रै सक्काउने अभियानमा लाग्नुहुन्छ । आफूले निर्णय गर्ने ठाउँमा उनलाई ‘काखमा राखेर छुरी चलाउने’ काम गर्नुहुन्छ ।

पार्टीभित्रको विचार समूहमा म कहिले पनि स्थिर ढंगले एउटै नेताको पक्षमा उभिरहेको छैन । नेताहरू कता लागे भन्ने आधारमा मात्रै म लागेको छैन । सोचविचार गरी, विचारका आधारमा, विषयवस्तुका आधारमा पनि लाग्ने गरेको छैन । पार्टीभित्र जतिसुकै गुटबन्दी भए पनि पार्टीलाई एकताबद्ध गरेर राख्ने दायित्व हाम्रो पनि छ ।

हामीले क्रस सेक्सनमा पनि काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । मलाई यो क्रस सेक्सनमा काम गर्ने बानी किन पनि परेको छ भने पञ्चायतविरोधी आन्दोलनमा होस् या पछिल्लो लोकतान्त्रिक आन्दोलनमा होस्, यी दुवै आन्दोलनमा अरू संगठन, अरू राजनीतिक दलका संगठनसँग पनि वार्ता, संवाद गर्ने जिम्मा मैले पाएको थिएँ । ०४६ सालको आन्दोलनताका नेविसंघसँगको डिलिङमा पनि हामी गयौँ, त्यहाँबाट रमाइलो लाग्यो ।

उनीहरूसँग पनि एउटा साथीसंगीजस्तो भइयो । अब त्यो जेनेरेसनको नेविसंघका नेतासँग अहिले पनि हाम्रो भेटघाट हुन्छ । चियापानमा हामी सँगै बस्छौँ, बेलुकी खानपानमा हामी सँगै बस्छौँ । त्यो चल्छ । पार्टीभित्र पनि फरक समूहको विचार राख्ने साथीहरूसँग पनि त्यत्तिकै सौहार्दपूर्ण व्यवहार गर्नुपर्छ । त्यसले नै पार्टीलाई युनिफाइड राख्न सक्छ भन्ने मलाई लाग्छ । त्यस हिसाबले म कोसिस पनि गर्छु ।

यद्यपि, कम्युनिस्टहरूमा लडाइँ भनेको ज्यादा नकारात्मक हुन्छ, बडा गाह्रो हुन्छ । कहिलेकाहीँ ‘भेटौँ न साथी हो’ भन्दा पनि फरक विचार समूहका साथीहरू तर्केर हिँड्छन् । र, पनि यसमा हामी हार मान्नु हुँदैन, पहल गरिरहनुपर्छ ।

जहाँसम्म फरक विचारसमूहका कार्यकर्तालाई संरक्षण नगर्ने, सक्काउने आरोप छ । त्यो सही हो भन्ने म मान्दिनँ । त्यस्तो निर्णय गर्न सक्ने तहमा अहिले मेरो जिम्मेवारी पनि छैन । तर, म जहाँ इन्चार्ज बसेको हुन्छु, त्यहाँको काम कुशलतापूर्वक गर्छु । युवा संघको इन्चार्ज भएँ, हुनै नसकेको महाधिवेशन मैले गराएँ । त्यसपछि अहिलेसम्म महाधिवेशन भएको छैन ।

कतिपय मेरै समकालीन साथीहरूले पनि म मिडियामा आएको राम्रो मानेका छैनन् होला । आफू पनि त्यत्तिकै आउन पाए हुन्थ्यो भन्ने कतिपयलाई लागेको होला । उहाँहरूको जिम्मेवारी पनि मेरोजस्तो भयो भने आउनुहुन्छ । त्यतिवेला म फ्रन्टलाइनमा आउनुपर्दैन । यसलाई त्यति अन्यथा लिनुहुँदैन ।

झन्डै आठ वर्ष भयो होला, युवा संघमा महाधिवेशन नभएको । तीन वर्षमा हुनुपर्ने महाधिवेशन अहिलेसम्म भएको छैन । तर, म इन्चार्ज हुँदा बोलचालै बन्द भएको, बैठकमा समेत हानाहान गर्ने युवा संघलाई एक ठाउँमा ल्याएर बुटवलमा महाधिवेशन गराएँ । त्यसपछि आजसम्म महाधिवेशन भएको छैन, कतिवटा अध्यक्ष बदलिइसके ।

अहिले म प्रेस चौतारीको इन्चार्ज छु, प्रचार विभाग प्रमुख छु । प्रेस चौतारीको महाधिवेशनमा, चौतारीजस्तो व्यावसायिक–पेसागत संगठनमा के गुटबन्दी गर्ने, के नेताहरूको लडाइँ चलाउने भनेर मैले मिलाएँ । त्यहाँ चुनाव हुन दिइनँ, एउटा समायोजन गराएँ । यही स्प्रिटअनुसार मैले गर्दै आएको छु । कतिपयले मलाई गुटको हिसाबले कठोर छ पनि भन्छन्, कतिपय ठाउँमा मेरो कठोरता पनि देखिन्छ होला, तर म त्यति धेरै कठोर हुनचाहिँ चाहन्नँ ।

अभियोग ८ : फरक गुटका मात्रै होइन, आफ्नै गुटका युवाहरूप्रति पनि सहिष्णु र सहयोगी हुनुहुन्न । ऐन मौकामा साथ दिनुहुन्न । सधैँ साथमा रहने ठाकुर गैरेलगायत युवा नेताहरू गत निर्वाचनमा टिकटका लागि दौडधुप गरिरहेका वेला तपाईं टिकट बाँड्ने स्थायी समिति बैठकमा समेत उपस्थित हुनुभएन ।

यो ज्यादै महत्वपूर्ण कुरा हो । गएको संसदीय चुनावमा टिकट वितरणको सन्दर्भमा यो कुरा उठेको हो । ती कुराप्रति मलाई पनि अलिकति खिन्नता छ । अलिकति पश्चात्ताप पनि छ । म चुनाव लड्ने क्षेत्रमा पहिलो चरणअन्तर्गत १० मंसिरमा चुनाव थियो । अरू कतिपय साथीको क्षेत्रमा २१ मंसिरमा थियो । हाम्रो पार्टीमा के भयो भने, टिकटको फाइनल गर्ने मिटिङ बोलाउने, अनि यो मिलेको छैन, त्यो मिलेको छैन भन्ने र स्थगित गर्ने काम पटक–पटक भइरहेको थियो ।

म चुनाव लड्न जानुपर्ने, नोमिनेसनको दिन आइसक्यो । ५ कात्तिकमा नोमिनेसन थियो । मेरो क्षेत्र फेरि यस्तो विकट छ कि काठमाडौं आउन मात्रै कम्तीमा तीन दिन लाग्छ, जान तीन दिन लाग्छ । त्यसमाथि म पहिलोपटक ताप्लेजुङ गएर चुनाव लडेको । त्यहाँ साथीहरूसँग भेटघाट धेरै गर्नु थियो ।

फेरि मलाई च्यालेन्ज पनि के थियो भने दुईपटक मैले चुनाव हारेँ, यसपटक पनि मैले जितिनँ भने राजनीतिक हिसाबले त एक्टिभ हुन कसैले रोक्दैन, तर पार्टीभित्र र समाजमा मेरो जुन पोजिसन छ, त्यसमा धेरै नै धक्का पुग्छ । धेरै मान्छेले मलाई ‘कि तँ चुनाव नउठ्, उठ्छस् भने जसरी नि जित्’ भनेर सुझाब दिएका थिए । त्यसैले यता बैठकको टुंगो नभएकाले म चुनावमा उठ्न गएँ ।

त्यहीवेला कतिपय टिकट फाइनल भए । त्यतिखेर म उपस्थित हुन सकिनँ । म उपस्थित भएको भए एकाध साथीको बदल्न सकिन्थ्यो कि १ नेतृत्वको कार्यशैली, तरिका हेर्दा त हामी जति नै रोइकराई गरे पनि के नै हुन्थ्यो र भन्ने पनि लाग्छ । तर, जे भए पनि साथीहरूलाई एउटा सहानुभूति हुन्थ्यो, फलानो पनि लडेको छ है, हाम्रो लागि गर्दिराखेको छ भन्ने सहानुभूति हुन्थ्यो । सान्त्वना हुन्थ्यो ।

यस विषयमा साथीहरूले मेराबारे सही नै टिप्पणी गरेका छन् भन्ने लाग्छ । साथीहरूलाई मैले तपाईंंमार्फत यति मात्रै भन्न चाहन्छु, मेरो परिस्थिति पनि उहाँहरूले बुझिदिनुभयो भने त्यो कुरामा कहीँ न कहीँ हाम्रो मिल्छ ।

अभियोग ९ : लामो राजनीतिक करिअरमा गृहजिल्ला ताप्लेजुङलाई वास्ता गर्नुभएन । केन्द्रीय राजनीतिमा स्थापित हुँदै गर्दा काठमाडौंकै जनताबीच भिज्न निर्वाचनमा गएर परीक्षण पनि हुनुभयो । तर, दुईपटक असफल भएपछि गृहजिल्ला फर्किन बाध्य हुनुभयो ।

म क्याम्पस पढ्ने वेलादेखि नै काठमाडौंमा भएकाले यहीँ बढी क्रान्ति गरियो । गृहजिल्लासँग मेरो राजनीतिक, सांगठनिक हिसाबले त्यति उठबस भएन । त्यसो हुँदा म यहीँ चुनाव लडेँ । अलिकति मिडियामा पनि बढी प्रचार पनि हुन सक्ने, अलिकति मास मुभमेन्ट पनि गर्न सक्ने, परिचालन पनि गर्न सक्ने भएकाले जितिन्छ कि भन्ने लागेको थियो ।

पहिलो चुनावमा पनि पार्टीको स्याम्प्लिङभन्दा झन्डै १५ सय– दुई हजार भोट बढाएँ । र, दोस्रो चुनावमा झन्डै चार हजार भोट बढाएँ । त्यति गर्दा पनि जितिएन । नजित्ने धेरै कारण छन् । आफैँ भित्रका र बाहिरका पनि कारण छन् । त्यतातिर अहिले म जान्नँ । मैले निर्वाचन लडेको क्षेत्र कति कमजोर रहेछ भन्ने कुरा पछिल्लो निर्वाचनबाट पनि प्रमाणित भयो । देशभरि एमाले र माओवादीको गठबन्धनले एक किसिमले स्विप नै गरिरहेको वेलामा काठमाडौं–६ जितिएन ।

पछिल्लो समय मैले विचार गरेँ, दुई–दुईपटक त्यहाँ हारेँ, फेरि तेस्रोपटक पनि म किन त्यहाँ उठूँ रु त्यसले साथीहरूलाई उत्साह पनि दिँदैन होला । दुईपल्ट हारेको फेरि आयो भन्ने हुन्छ । मेरा शुभचिन्तकले, मित्रहरूले ‘एकपटक तपाईंं आफ्नै जिल्लाबाट उठ्नुस्’ भन्ने सुझाब पनि दिइरहेका थिए ।

झन्डै एक वर्षअघिदेखि मैले त्यसको एउटा आधार पनि बनाउँदै आएको थिएँ । जिल्लाको पार्टीसँग कुराकानी गर्दै आएको थिएँ, त्यहाँका कार्यक्रममा भाग लिँदै आएको थिएँ । जिल्लाको सर्वसाधारण मासले पनि ताप्लेजुङजस्तो जिल्लामा एउटा बलियो नेतृत्व आएर हाम्रो प्रतिनिधित्व गरिदिओस् भन्ने चाहना देखाउनुभयो । उहाँहरूले मलाई त्यसमा प्रस्ताव गर्नुभयो, म गएँ । पार्टीका साथीहरूले पनि सर्वसम्मत ढंगले मेरो नाम पठाउनुभयो, उहाँहरू लाग्नुभयो, जिताउनुभयो । अहिले मेरो एउटा दायित्व
त्यसप्रति छ ।

अभियोग १० :  राजनीतिक उचाइ चढ्ने क्रममा फरक–फरक नेताहरूलाई भर्‍याङ बनाउनुभयो । वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाललाई समयअनुसार साथ लिनुभयो । खासै नरुचाउने फरक गुटका केपी ओलीलाई सार्वजनिक रूपमा ‘ओली बा’ समेत भन्नुभयो ।

म अघिल्लो पुस्ताका सबै नेतालाई सम्मान गर्छु । उहाँहरू मेरो त गुरु पनि हो । मलाई सिकाउनु पनि भएको छ । अनेक कालखण्डमा, संकटको वेला पनि मलाई सिकाउनुभएको छ । बाटो देखाउनुभएको छ । मलाई अवसर पनि दिनुभएको छ । किनभने, दुई–दुई पल्ट मलाई टिकट दिनुभयो । मैले जित्न सकिनँ त, त्यो वेग्लै कुरा हो । मेरो कमजोरी होला त्यो ।

कैयौँपटक मलाई नेताहरूले सल्लाह पनि दिनुभएको छ । ‘तपाईंंको यो पक्ष अलि कमजोर छ, अलि सुधार्नुस्’ भन्नुहुन्छ । वामदेवले मलाई धेरैपटक सल्लाह दिनुभएको छ, माधव नेपालले दिनुभएको छ, झलनाथ खनालले दिनुभएको छ । केपी ओलीले पनि मलाई तीन–चार घन्टा राखेर सल्लाह दिनुभएको छ । मैले त्यसलाई गम्भीरताका साथ पनि लिएको छु ।

उहाँहरूको सुझाबले कतिपय वेला म बदलिएको पनि छु । केपी ओलीले दिएको सुझाबले ममा थुप्रै बदलाव आएका छन् । झलनाथले दिएको टिप्पणीले त मैले रक्सी नै छाडेँ । बदलाव पनि आएको छ, त्यसैले म उहाँहरूलाई सम्मान पनि गर्छु । तर, सँगसँगै म अलिकति आलोचनात्मक पनि छु । उहाँहरूको आलोचना पनि गर्छु म । आलोचना गरेको कतिपयले मन पराउनुहुन्छ, कतिपयले मन पराउनुहुन्न । नेताहरूसँगको मेरो सम्बन्ध एउटा आलोचनात्मक सम्बन्ध हो ।

पार्टीभित्रको विचार समूहमा म कहिले पनि स्थिर ढंगले एउटै नेताको पक्षमा उभिरहेको छैन । पाँचौँ महाधिवेशनमा हामी दृढताका साथ मदन भण्डारीको विचारका पक्षमा उभियौँ । मदन भण्डारीको हत्यापछि पार्टीभित्र देखिएको गुटबन्दीमा विचारको, शैलीको, विषयवस्तुको हिसाबले मैले वामदेव गौतमलाई साथ दिएँ ।

र, उहाँले नेकपा माले बनाउँदा पनि म उहाँसँगै लागेँ । र, पछि माले– एमालेमा एकता भयो । वामदेव गौतम हाम्रो नेता नै हुनुहुन्थ्यो, उहाँको निर्णयलाई मान्नैपर्ने अवस्था पनि थियो । उहाँले भन्नुभयो कि हामी पार्टी विभाजन गर्दै एकतासम्म आएका छौँ, अब फेरि हामी पार्टी संस्थापनको विपक्षमा नलागौँ । धेरै चर्को यताउति पनि नगरौँ ।

सातौँ महाधिवेशन मुखमै थियो । ‘जनकपुरमा माधव नेपाललाई नै साथ दिऔँ, उहाँ नै महासचिव हुनुहुन्छ । फेरि महासचिव हुने उहाँ नै हो, उहाँलाई नै साथ दिऔँ’ भनेर वामदेवले भन्नुभयो । यसो विचार ग(यौँ, कुरा ठीकै हो भन्ने लाग्यो ।

तर, अचानक वामदेव आफैँ केपी ओलीको कित्तामा पुग्नुभयो । हामीलाई बडो धर्मसंकट भयो । हामीलाई यता लाग्नुपर्छ भन्नुभयो, केही दिनपछि आफूचाहिँ उता लाग्नुभयो । हामीले उहाँलाई गएर भन्यौँ, ‘तपाईंंले त्यसो भन्नुभएको थियो, फेरि किन यसो गर्नुभयो रु’

उहाँले केही जवाफ दिन सक्नुभएन । ‘तपाईंंहरू आफ्नो इच्छा गर्नुस्’ भन्नुभयो । त्यसपछि उहाँलाई नै हामीले भन्यौँ, ‘तपाईंं उता लागे पनि हामी लाग्न सक्दैनौँ, हामी माधव नेपाललाई नै साथ दिन्छौँ ।’ र, जनकपुरमा हामीले माधव नेपाललाई नै साथ दियौँ ।

आठौँ महाधिवेशनमा आइपुगेपछि वामदेव कमरेड, हामी सबै झलनाथ खनाललाई साथ दिने एउटै ठाउँमा उभियौँ । नवौँमा आइपुग्दा वामदेव फेरि केपी ओलीपट्टि लाग्नुभयो, हामी लागेनौँ ।

अभियोग ११ :  एमालेहरूले नै अर्को आरोप पनि लगाउँछन्, तपाईं कामभन्दा धेरै स्क्याण्डलमा विश्वास गर्नुहुन्छ । तपाईंले साथ दिएका र संरक्षण गरेका धेरै कार्यकर्ता ग्रासरुटको ‘अग्र्यानिक पोलिटिक्स’ गरेकाभन्दा प्रचारबाजीको माध्यमले ‘टुप्पोबाट पलाएका’ छन् । दुईपटकको निर्वाचनमा काठमाडौंबाट पराजित हुनुको एउटा कारण यो पनि हो ।

त्यो हुन सक्छ । तर, हामी जो साथीहरू टिममा बसेर काम गरिरहेका छौँ, सबै तल संघर्ष गरेर आएका छौँ । कठिन दिनहरूमा संघर्ष गरेर आएका छौँ । जेलनेल खाएर आएका छौँ । पार्टी निर्माण गरेर, संगठन निर्माण गरेर आएका साथीहरू छौँ ।

पार्टीमा कहिलेकाहीँ राम्रो काम गर्ने स्थान पाइएन भने बाहिर पनि एक्टिभ हुनुपर्छ । हामीसँग नजिक भएका धेरै साथीलाई पार्टीमा राम्रो जिम्मेवारी छैन । उपमहासचिव घनश्याम भुसालको अहिलेसम्म पार्टीमा त केही पनि जिम्मेवारी तोकिएको छैन । दिन नै नचाहेको स्थिति छ । हामी केन्द्रीय कमिटीमा छौँ, केन्द्रीय सचिवालयमा पनि छौँ ।

हरेक १५ दिनमा सचिवालय बैठक बस्नुपर्छ भनेर विधानमा लेखिएको छ । तर, बैठक हुँदैन । स्थायी समितिको नियमित बैठक हुँदैन । बैठक भए पनि स्थायी समितिको आधा घन्टा, एक घन्टा हुन्छ । त्यो पनि अध्यक्षले ब्रिफिङ गर्नुहुन्छ र ‘यस्तै छ अब भोलि बसौँला’ भन्नुहुन्छ । ‘होइन, अहिले नै यहीँ गर्नुस्’ भनेर पनि कति कराउनु हामी रु

यत्रा चुनाव सम्पन्न भए, पार्टीको यति ठूलो एकताको कुरा छ, एकपटक केन्द्रीय कमिटी बैठक बस्दैन । पोलिटब्युरो बस्दैन । अनि मान्छेले कुरा कहाँ राख्ने त रु हामीसँग कुरा त टन्न भइसके नि, पार्टीमा राख्नुपर्ने कुराहरू । नेतृत्वको सन्दर्भमा राख्नुपर्ने कुरा धेरै भइसके । मिटिङ नै बोलाउँदैनन्, राख्ने ठाउँ नै छैन । त्यसपछि कहाँ राख्ने रु अनि, बाहिर एक्टिभ हुनुपर्ने भयो ।

बाहिरबाट पनि आफ्ना कुरा जाऊन् भन्ने लाग्छ । आजको दुनियाँमा फेसबुक, ट्विटरलगायत सोसल मिडियामा एउटा लाइन लेखिदिए पनि पार्टी अध्यक्षले पढ्नुहोला भनेर पनि कतिपय कुरा लेख्छौँ । नलेख्नुपथ्र्यो पार्टीका बारेमा, नेतृत्वका बारेमा । तर, भन्ने ठाउँ कहीँ छैन, कहाँ जानू रु

यसो विचार गर्याे, बरु यही फेसबुकमा लेख्दा पनि कमसेकम पार्टी अध्यक्षका पिएहरूले ‘तपाईंंका बारेमा विरोध गरेछन्’ भनेर त सुनाइदेलान् भनेर पनि म कहिलेकाहीँ लेख्छु । हामीसँग भएका साथीहरूले पार्टीभित्र काम गर्ने जिम्मेवारी नपाउँदा बाहिर पनि अलिकति नाच्नुपर्‍यो । मञ्चमा, रंगमञ्चमा नाच्न पाइएन भने सडकमा पनि नाच्ने कहिलेकाहीँ । आफ्नो कला त देखाउनुपर्‍यो नि १

अभियोग १२ : अहिलेको सरकारमा मन्त्री नपाएको कुण्ठा तपाईंमा देखिन्छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको रेल चलाउने योजनाको समेत सामाजिक सञ्जालमा टिप्पणी गर्नुभयो ।

मलाई मन्त्री बनाउने–नबनाउने प्रधानमन्त्रीको कुरा हो । पार्टीको कुरा भएको भए पार्टीमा छलफल हुन्थ्यो । उहाँले आफ्नो टिममा मलाई राख्नुभएन, सिद्धिगयो नि १ राखे हुन्थ्यो भन्ने मेरो चाहना थियो होला ।

मलाई समर्थन गर्ने धेरै मान्छेले पनि यस्ता चाहना राखेका थिए । प्रधानमन्त्रीलाई आफ्नो टिम फर्मेसन गर्न पाउने अधिकार छ । उहाँले मलाई राख्नुभएन, उहाँको कुरा हो । त्यसमा म किन कुण्ठित हुने रु किन टिप्पणी गर्ने रु

उहाँले जिम्मेवारी दिएको भए काम गरिन्थ्यो कि भन्ने मलाई लाग्छ । काम गर्ने एउटा ठाउँ पाइन्थ्यो कि, काम गरेर केही देखाउन पाइन्थ्यो कि भन्ने लाग्छ । तर, त्यसमा मलाई कुनै पीरमर्का छैन । र, मैले एक शब्द पनि केपी ओलीलाई गुनासो गरेको छैन । मलाई मन्त्री नबनाएकोमा उहाँको विरोध पनि गरेको छैन । सामाजिक सञ्जालमा पनि मैले त्यस्तो टिप्पणी गरेको छैन ।

मिडियाहरूले लेखिदिएका हुन् । एउटा संयोग, ओली कमरेडले मेरो क्षेत्रमा गएर भाषण गरिदिनुभयो । त्यसैले त्यस्ता टिप्पणी आएका हुन् जस्तो मलाई लाग्छ । उहाँले नबोलेको भए टिप्पणी आउने थिएन होला । अरू कतिलाई पनि मन्त्री बनाउनुभएन नि त, अरू बारे त टिप्पणी आएन । मेराबारेमा उहाँले उच्च स्वरमा मेरो प्रशंसा गर्नुभयो, तारिफ गर्नुभयो, मेरो क्षमताको प्रशंसा गर्नुभयो ।

‘यसले गर्न सक्छ, आत्मविश्वास छ योसँग, म पनि ऊसँग कन्भिन्स छु । पार्टीले विश्वास गरेको छ, मैले विश्वास गरेको छु । म मन्त्री बनाउँछु’ भन्नुभयो । त्यसमाथि मान्छेहरूमा ‘केपी ओलीले बोल्दैनन्, बोलेपछि पूरा गर्छन्’ भन्ने छ । त्यसैले पनि केपी ओलीलाई बुझ्नेहरूलाई अब योगेश भट्टराईलाई मन्त्री त बनाउँछन् भन्ने लागेको थियो ।

तर, उहाँलाई के आइपर्‍यो कुन्नि, बनाउनुभएन । कहिलेकाहीँ बाटोमा हिँड्दाहिँड्दै पनि युटर्न लिनुपर्छ । मलाई बनाउँदा केही अप्ठ्यारा आइपर्ने हुनाले युटर्न लिनुभएको होला । यसमा मेरो गुनासो छैन । म अहिले सांसद छु, अब मैले गर्नुपर्ने काम, देखाउनुपर्ने कला, भूमिका त्यहीँ देखाउँछु ।

नयाँ पत्रिका दैनिकबाट -खगेन्द्र पन्त

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्