३ हजार ८ सय किलो सुन तस्करी भएको भन्दै सुन समितीले प्रधानमन्त्रीलाई गर्यो यसरी दुई घन्टे ‘ब्रिफिङ’



गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रारम्भिक ‘ब्रिफिङ’ गरेको छ।

समितिकाे प्रारम्भिक अनुसन्धानले पछिल्लो २ वर्षमा ३ हजार ८ सय केजी सुन भित्रिएको विवरण सहसचिव पाैडेलले प्रधानमन्त्री अाेलीलाइ सुनाएका छन्। समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रारम्भिक विवरणमा सुन तस्करीकाे परिमाण, संलग्न माफिया एवं प्रहरी अधिकारीको समेत नाम समेत उल्लेख छ।

प्रधानमन्त्री ओलीलाई समितिले सोमबार अनुसन्धानको प्रारम्भिक ‘ब्रफिङ’ दिएको हो। समितिले प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा लामो ‘ब्रिफिङ’ दिँदै हालसम्मको प्रगति विवरण प्रधानमन्त्रीलाई जानकारी गराएको हाे। स्रोतकाअनुसार समितिले प्रगति विवरण प्रधानमन्त्रीलाइ सुनाउँदा गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सँगै उपस्थित थिए। समितिले पक्राउ परेकाहरु र पक्राउ गर्न बाँकी रहेकाहरुको जानकारी पनि प्रधानमन्त्रीलाई गराइएको छ।

यो दुई वर्षमा करिब ३ हजार ८ सय किलो सुन नेपाल भित्रिएको र लगभग १७ अर्ब विदेशी मुद्रा अवैध हुण्डीमार्फत् बाहिरिएको तथ्य समितिकाे अनुसन्धानबाट खुलेको छ। सरकारले सुन तस्करी आर्थिक समृद्धिको बाधक भएको बताउँदै आइरहेका बेला यस्तो तथ्यको खुलासा भएको हो।

समितिले पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेर बिराटनगर पठाएकै दिन समितिले प्रधानमन्त्रीलाई थप पक्राउ गर्ने प्रहरी अधिकारीका विषयमा जानकारी गराएको थियो। बहालवाला प्रहरी अधिकारीहरू एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउत सुन तस्करी र सनम हत्यामा संलग्न रहेको बयान दिइरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल त्यहीँ उपस्थित थिए। सुन तस्करीमा अाफ्नै संगठन सदस्यकाे नाम समेत मुछिएकाे विवरण सुनेपछि महानिरीक्षक खनालले समितिकाे अनुसन्धानलाइ पूर्ण सहयाेग रहेन प्रतिबद्धता जनाएका थिए।

‘हामी नियमित प्रहरी प्रमुखसँग सम्पर्कमा छौं। प्रहरी अधिकारी पक्राउबारे उहाँलाई सबै जानकारी छ’, समिति स्रोतले भन्यो, ‘पक्राउविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता हुनेछ।’ अहिलेसम्म समितिको अनुसन्धान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या केन्द्रिति थियो। पक्राउ परेकाहरु यही प्रकरणसँग जोडिएकाहरु हुन्।

‘अहिले सुरुवाती मुद्दा बुझाउने हद म्यादको चटारो छ। पहिलो चरणको अनुसन्धानपछि सरकारले दिएको म्यान्डेडअनुसार अघि बढनेछौं,’ समिति स्रोतले भन्यो। समितिले सुन तस्करको जालो खोज्ने क्रममा संयुक्त अरब इमिरेटस (युएई) र साउदी अरबमा समेत सम्पर्क गरेर तथ्य संकलन गरिरहेको छ। पछिल्लो २ वर्षयता त्रिुभवन विमानस्थलबाट आवत–जावत भएका शंकास्पद ट्राभल डकुमेन्ट समेत जाँच गरिएको छ। समितिले अत्याधुनिक प्रविधिमार्फत् अनुसन्धान अघि बढाएकाले भरपर्दो तथ्यका आधारमा मात्र बयान र पक्राउ गरिएको समिति स्रोतको दाबी छ।

दोस्रो चरणमा समितिले चीनको केरुङबाट रसुवा हुँदै भित्रिने तस्करी सुनबारे पनि अनुसन्धान गर्ने तयारी गरेको छ। केरुङबाट भित्रिएको ८८ केजी सुन २०७४ भदौमा बरामद भएको थियो। त्योभन्दा अगाडि र पछाडि पनि सो नाकाबाट सुन बरामद भएको थियो। मनबहादुर तामाङ सो नाकाबाट हुने तस्करीका एक जना नाइके हुन्। ८८ केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका उनी पछि रिहा भएका थिए। प्रदेश सभा निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका उनको रसुवा नाकास्थित कर्मचारी एवं प्रहरीसँग हिमचिम रहेको त्यतिबेला सार्वजनिक भएको थियो।

एसएसपी खत्री र डिएसपी राउत सम्पर्कबिहीन

समितिमा अनुसन्धानका लागि मंगलबार हाजिर भएका डिएसपी सञ्जय राउत एकाएक सम्पर्कविहीन भएका छन्। मंगलबार बयानका लागि सिंहदबारस्थित गृहमन्त्रालय हाजिर भएका उनी आधी बयान दिएर बाहिर निस्केका थिए। पछि उनी फर्किएनन्। पक्राउ नगरी बयानमा बोलाइएका कारण उनीमाथि प्रहरी निगरानी थिएन। तथ्य केलाउँदा दोषी ठहर हुने देखिएपछि भागेको समिति स्रोतले बतायो। उनकाे खाेजीका लागि प्रहरी परिचालन गरिएकाे छ।
यसैगरी अनुसन्धानमा तानिएका एसएसपी श्यामबहादुर खत्री सम्पर्कबिहीन छन्। समितिले प्रहरी प्रधान कार्यालयमार्फत उनलाई उपस्थित गराउन पत्राचार गरे पनि उनी सम्पर्कमा आएका छैनन्। प्रहरी अनुसन्धानमा तानिएका सई बालकृष्ण सञ्जेललाई मोरङ प्रहरीको जिम्मा लगाइएको छ। अनुसन्धानमा तानिएका अर्का सई गजेन्द्र रावलसँग बयान लिने काम भइरहेको छ।

विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन गायब र उर्लाबारीका सनम शाक्य हत्यापछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अनुसन्धान गरेको र अनुसन्धान शंकास्पद देखिएको भन्दै समितिले दुवैविरुद्ध अनुसन्धान जारी राखेको छ।

सुन गायब प्रकरण एवं योसँग जोडिएर भएका ३ जना मृत्यु प्रकरणमा प्रहरी अधिकारीसहित २४ जना पक्राउ परेका छन्। यो प्रकरणमा फागुन १८ गते पक्राउ परेका तीन जनासहित सबैलाई एकै पटक अदालतमा मुद्दा बुझाउने तयारी समितिले गरेको छ। समितिले मुद्दा बुझाउने हदम्याद वैशाख २० गतेसम्म छ। बुधबार मोरङ प्रहरीले अदालतबाट २३ जनालाई अनुसन्धान गर्न ८ दिनको म्याद थप गरेको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्