बलात्कार गर्नेलाई मृत्युदण्ड देखी कोर्रा हान्ने सम्मको सजाय,कुन देशमा कस्तो सजाय दिइन्छ?



सूरत, कठुआ, उन्नाव, दिल्ली – दिन, समय र ठाउँ अलग अलग हुन् ।

तर, एउटा समानता छ–यी सबै ठाउँमा बालिकामाथि बलात्कार भएका छन् ।

हरेक घटना अघिल्लो पटक भन्दा भयानक र विभत्स थिए ।

यसैले गर्दा भारतमा बालिकामाथि हुने बलात्कारका घटनामा फासीको सजाय हुनु पर्ने माग भइरहेको छ । बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्डको सजायको पक्ष र विपक्षमा विचार विभाजित छन् ।

समर्थन गर्नेहरुले अपराधमा कमी आउने बताउँछन् भने विपक्षमा रहेकाहरु अहिले रहेकै कानुन पर्याप्त रहेको र यसलाई प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताउँछन् ।

बालिकामाथि हुने बलात्कारका घटनामा विभिन्न देशमा विभिन्न कानुन रहेका छन् ।

भारतमा के छ कानुन ?
भारतमा ‘रेयरेस्ट अफ द रेयर’ घटनामा मात्रै मृत्युदण्डको सजाय हुने व्यवस्था छ ।

बालिकामाथि हुने बलात्कारको घटनामा पोक्सो कानुन अन्तर्गत सजाय हुने व्यवस्था छ । यो कानुनमा बालबालिकालाई हुने बलात्कारका दोषीलाई १० वर्षदेखि आजीवन कैदको व्यवस्था हुने प्रावधान छ ।

तर मध्यप्रदेश, राजस्थान, हरियाणाका राज्य सरकारले १२ वर्ष भन्दा कम उमेरका बालिकामाथि हुने बलात्कारका घटनामा मृत्युदण्डको सजाय हुने व्यवस्थासहितको विधेयक बनेको छ । विधेयक कानुन बन्न बाँकी छ ।

दिल्लीमा यस्तै कानुन पारित गर्नका लागि दिल्ली महिला आयोगकी अध्यक्ष अनशन बसेकी छन् । उनले बलात्कारीलाई ६ महिना भित्र फासी दिनु पर्ने माग गरेकी छन् ।

केन्द्रीय महिला एवम् बाल विकास मन्त्रालय मध्यप्रदेश, राजस्थान र हरियाणाका नयाँ विधेयकलाई समर्थन गर्दै राष्ट्रिय स्तरमा पोक्सो कानुनमा परिमार्जन गर्ने कुरा गरिरहेको छ ।

विश्वमा बलात्कारका आरोपीलाई कस्तो सजाय हुन्छ ?
विश्वका विभिन्न देशमा बलात्कारका घटनामा अलग अलग सजायको व्यवस्था छ । धेरै देशमा बालबालिकामाथि हुने यौन हिंसालाई ठूलो अपराध मान्ने गरिएको छ ।

नेशनल ल युनिभर्सिटी दिल्लीमा शोध गरिरहेका रिसर्च एसोसिएट नीतिका विश्वनाथका अनुसार विश्वमा दुई किसिमका देश छन् । एक जहाँ यस्तो घटनामा फासीको सजायको व्यवस्था छ । यस्तै दोस्रो, जहाँ कुनै पनि अपराधका लागि फासीको सजायको व्यवस्था छैन ।

मृत्युदण्ड दिने देश ?
नीतिकाका अनुसार अपराधका लागि मृत्युदण्ड दिने देशलाई रिटेशनिस्ट देश भनिन्छ । उनका अनुसार यस्ता धेरै रिटेशनिस्ट देशमा बालबालिकामाथि हुने बलात्कारका घटनामा भने मृत्युदण्डको व्यवस्था छैन । तर कडा सजायको व्यवस्था भने छ ।

सन् २०१६ मा हक–सेन्टर फर चाइल्ड राइटले विश्वभरका देशमा बालकामाथि भएको यौन हिंसा र बलात्कारका घटनामा हुने गरेको सजाय बारे प्रतिवेदन तयार गरेको थियो । त्यो प्रतिवेदन अनुसार हरेक देशमा बालबालिकामाथि हुने बलात्कारका घटनामा फरक फरक सजायको व्यवस्था छ ।

मलेसिया – बालबालिकामाथि हुने यौन हिंसाको घटनामा ३० वर्ष भन्दा धेरै जेल सजाय र कोर्रा हान्ने सजायको व्यवस्था छ ।

सिंगापुर – यो देशमा १४ वर्षसम्मका बालबालिकामाथि बलात्कार गर्नेलाई २० वर्ष जेल, कोर्रा हान्ने र जरिवाना तिराउने व्यवस्था छ ।

अमेरिका – अमेरिकामा बालबालिकामाथि हुने बलात्कारका घटनामा पहिला फासीको सजायको व्यवस्था थियो । तर सन् २००८ को केनेडी अर्थात लुइसियाना काण्डले मृत्युदण्डको सजायलाई असंवैधानिक घोषणा गरियो ।

जुन घटनामा पीडितको मृत्यु भएको हुँदैन त्यस्तोमा मृत्युदण्ड दिनु सजाय अपराध भन्दा बढी भएको भन्दै अदालतले खारेज गरेको हो । त्यसपछि मृत्युदण्डको सजाय छैन । तर अमेरिकामा बालबालिकामाथि हुने बलात्कारका घटनामा राज्य अनुसार फरक फरक कानुन छ ।

फासीको सजाय नभएका देश
फिलिपिन्स – मृत्युदण्डको सजाय नभएका देशमध्ये बालबालिका माथि हुने बलात्कारका घटनामा सबै भन्दा कडा कानुन भएको देश फिलिपिन्स हो । यहाँ आरोप प्रमाणित भएपछि ४० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।

अस्ट्रेलिया – यहाँ बालबालिकामाथि बलात्कार गर्नेलाई १५ देखि २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

क्यानडा – यहाँ बालबालिकामाथि हुने बलात्कारका घटनामा अधिकतम १४ वर्ष जेल सजाय हुने व्यवस्था छ ।

इंग्ल्याण्ड र वेल्स – यहाँ बालबालिकामाथि हुने बलात्कारका घटनामा ६ देखि १९ वर्ष वा आजीवन जेल सजाय हुने व्यवस्था छ ।

जर्मनी – बालबालिकामाथि हुने बलात्कार र त्यसपछि पीडितको मृत्यु भएमा आजीवन कैदको व्यवस्था छ । तर बलात्कार मात्रै भएमा धेरैमा १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

दक्षिण अफ्रिका – पहिलो पटक दोषी पाइएमा १५ वर्ष जेल सजाय हुने व्यवस्था छ । यस्तै दोस्रो पटक दोषी पाइएमा २० वर्ष र तेस्रो पटक दोषी पाइएमा २५ वर्ष जेल सजाय हुने व्यवस्था रहेको छ ।

न्युजिल्याण्ड – यहाँ यस्तो अपराधका लागि २० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।

एमनेस्टी इन्टरनेशनलले सन् २०१३ मा निकालेको प्रतिवेदन अनुसार मात्रै ८ देशमा बालबालिकालाई बलात्कार गर्नेमाथि मृत्युदण्डको सजाय छ । यस्ता देशमा चीन, नाइजेरिया, कंगो, पाकिस्तान, इरान, साउदी अरेयिबा, यमन र सुडान हुन् ।

स्रोत : बिबिसी हिन्दी

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्