माओवादीको आरोप, ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा, एमालेको आरोप प्रचण्डले लिखितमा प्रधानमन्त्री खोजे



एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् ।पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ ।आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आराम गर्न’ गएका थिए ।

 

प्रचण्ड सुकुटेतिर लाग्नुअघि आइतबार नै वाइसीएलका नेताहरु अनि एमाले नेता माधव नेपालसँग प्रचण्डको बेग्लाबेग्लै छलफल भएको थियो ।आइतबार दिउँसो प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको थियो, जसमा प्रचण्डले सुकुटेतिर जान लागेको बताउँदै सोमबार बिहान छलफल गरौं भनेका थिए । यही सहमति अनुसार सोमबार सुकुटेबाट फर्केर प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

यस्तो छ माओवादीको निश्कर्ष

पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको माओवादी नेताहरुले निश्कर्ष निकालेका छन् ।

‘ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा देखिएका छन्’ एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘सरकार सञ्चालनको कार्यशैली हेर्दा उनी खतरनाक अधिनायकवादतिर उन्मूख भइरहेका छन्, त्यसैले बेलैमा सतर्क हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।’

प्रचण्डसँग निकट केही माओवादी नेताहरुसँग अनौपचारिक कुराकानी गर्दा उनीहरुले यस्तो संशययुक्त विश्लेषण सुनाएः

-केपी ओली दुईवटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा छैनन् । उनी माओवादीलाई फसाएर आत्मसमर्पण गराउन अनि सिध्याउन चाहन्छन् ।

-केपी ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन त दिएका छन् । तर, उता माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएका छन् । एमाले नेता माधव नेपाल पिँध नभएका लोहोटा हुन् भन्ने पुनः एकपटक पुष्टि भएको छ ।

-केपी ओलीले सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह गरेनन् । यतिसम्म कि माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरी उनी एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेका छन् । एउटै पार्टीभित्र त नेताहरुसँग छलफल र सल्लाहका आधारमा सरकार चलाउनुपर्छ भने अहिले बेग्लै रहेको माओवादीलाई बाइपास गर्ने ओलीको चाहना देखिएको छ ।

– सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट केपी ओलीमा विचलनको सुरुवात उनको बैंकक भ्रमणपछि भएको हो । त्यहाँ उनले भारतीय ‘रअ’का उच्च अधिकारीलाई भेटे र आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर मोदी सरकारसँग लाइन मिलाए । र, त्यसैको क्लाइमेक्स हो, उनको भारत भ्रमण, जहाँ केपी ओलीको राष्ट्रवादको भाँडो पूर्णरुपमा घोप्टियो ।

-पार्टी एकता हुन नदिन चुनावअघिदेखि नै विभिन्न तत्वहरु लागेका थिए । अहिले पनि माओवादीको भर छैन, धोका दिन सक्छ भन्दै ओलीलाई भड्काउने काम भइरहेको छ । विशेषगरी भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा बढी देखिएका छन् । माओवादी आएन भने मधेसी दलले हामी छौं भनेर ओलीलाई आश्वासन दिइरहेका छन् ।

– गत चुनावमा एमाले र माओवादी दुबै दल साझा घोषणापत्र लिएर गएका छन् र मतदाताको म्यान्डेट भनेको पनि दुई पार्टीवीच एकता हुनैपर्छ भन्ने हो । र, एकता जरुरी छ, एकता गर्नैपर्छ, तर बराबरी हैसियतका आधारमा सम्मानजनक एकता होस् भन्ने अध्यक्ष प्रचण्डको चाहना छ । त्यसैले एकता वैशाख ९ मा नभए पनि, केही ढीलो भएता पनि अवश्यै हुन्छ, हुनुपर्छ ।

एमालेको आरोप- प्रचण्डले प्रधानमन्त्री बन्न खोजे

एमालेका नेताहरुसँग कुरा गर्दा उनीहरु प्रचण्डले प्रधानमन्त्रीको सुनिश्चितता खोजेका कारण एकता प्रक्रियामा ढिलाइ भएको दाबी गर्छन् ।

माओवादी एमाले एकता प्रक्रियामा आएको उतार-चढावबारे कुराकानी गर्दा एमाले स्राेतले यस्तो विश्लेषण सुनायो-

-पार्टी एकताका क्रममा ५०/५० को बराबरी हैसियत र जनयुद्धका विषयहरु बाहिर आएता पनि प्रचण्डले अढाइ वर्षपछि आफू प्रधानमन्त्री हुने सुनिश्चितता केपी ओलीबाट खोजेका छन् । मौखिकरुपमा त ओलीले पहिले नै वचन दिइसकेका छन्, तर प्रचण्ड लिखितमा चाहन्छन्, ओली लिखित गर्न चाहँदैनन् ।

– संयुक्त दस्तावेजमा जनयुद्ध शब्द लेख्न आपत्ति छैन, जनयुद्ध कटु सत्य थियो, त्यो दस्तावेजमा लेख्न सकिन्छ । किनभने जनयुद्ध गर्ने कुरो होइन, भएको थियो भनेर लेख्न एमालेलाई आपत्ति छैन ।

-कतिपय बेलामा प्रधानमन्त्री ओलीको कार्यशैलीले पनि माओवादीमा आशंकाहरु जन्माउने गरेको छ । माओवादी नेतालाई बोलाएर उनी घण्टौं कुराइदिन्छन् । सरकार सञ्चालनमा पनि र पार्टी सञ्चालनमा पनि ओलीको कार्यशैलीमाथि पहिल्यैदेखि प्रश्न उठ्ने गरेको छ कि उनी सबैसँग सरसल्लाह गर्दैनन् । माधव नेपाल पक्षले पनि विगतमा यही गुनासो गर्दै आएको हो ।

– तथापि दुई पार्टीवीच बेलाबेला असमझदारी र आशंकाहरु जन्मिए पनि पार्टी एकता नै भाँडिने गरी सम्बन्ध चिसिँदैन, पार्टी एकता सुनिश्चित छ ।

खुमलटारमा माधव नेपाल खग्रंङ्ग !

आइतबार बिहानै वाइसिएलका नेताहरुसँग माओवादी अध्यक्ष प्रचण्डले ‘म गम्भीर भएको छु’ भनिसकेका थिए, उनै गम्भीर प्रचण्डलाई पार्टी एकताका लागि फकाउन भन्दै माधव नेपाल खुमलटार पुगे ।

सम्भवतः माधव नेपालले यो कुराको चाल पाइसकेका छन् कि प्रचण्डको नजर केपी ओलीप्रतिमात्रै सशंकित भनेको छैन, उनी माधव नेपालको भूमिकासँग पनि तर्सिएका छन् । त्यसैले विश्वासको वातावरण ओली र प्रचण्डका वीचमा मात्र होइन, माधव नेपाल र प्रचण्डका वीचमा पनि धुमिल भएको छ ।

माओवादी स्रोतहरुका अनुसार ओलीले माधव नेपाललाई भावी अध्यक्ष बनाउने आश्वास दिएका छन् र जसलाई प्रचण्डले आफूमाथि सिंगै एमाले नेतृत्वले गर्न लागेको विश्वासघातका रुपमा लिएका छन् ।

प्रचण्डले माधव नेपाललाई भित्रैदेखि विश्वास नगरेको र मध्यस्थकर्ता भन्दा पनि केपी ओलीको दूतका रुपमा लिएपछि नेता नेपाल खंग्रङ्ग बनेर खुमलटारबाट फर्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसो त आइतबारको भेटमा वाइसीएलका नेताहरुले प्रचण्डलाई एकीकृत पार्टीबाट दुईवटा अध्यक्ष बन्न नहुने र प्रचण्ड नै कार्यकारी अधिकार सहितको अध्यक्ष बन्नुपर्ने प्रस्तावसमेत राखेका थिए ।

तर, प्रचण्डले दुई अध्यक्षमा सहमति जनाइसकियो भन्दै आफूलाई अस्थिर नेताको आरोप लाग्ने भएकाले अब दुई अध्यक्षकै प्रणालीमा जान आफू तयार भएको जवाफ दिएका थिए ।

माओवादी स्रोतले भन्यो- ‘सुकुटे पुगेर पनि अध्यक्ष प्रचण्डले भन्नुभएको छ कि पार्टी एकता नेपाली जनताको म्यान्डेट हो, हामीले एकता गर्नैपर्छ । तर, केपी ओलीजीको कार्यशैली सच्याइनुपर्छ र बराबरी एवं सम्मानजनक हैसियतमा एकता हुनुपर्छ । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९

हेटौंडा-काठमाडौंको आधा दर्जन सडक अवरुद्ध

     हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् । तीन

झ्याप्ले खोलामा थप ३ शव भेटियो

    झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ ।