बिरामी देब्रे घुँडा छाडेर दाहिनेको शल्यक्रिया!डा. केसीलाई जेल,२०७४ मा स्वास्थ्य क्षेत्रमा यस्तो भयो खेल



नयाँ वर्ष २०७५ शनिवार शुरु हुँदैछ । नयाँ वर्षको स्वागत गर्ने तयारीमा रहेका बेला बिदाइको संघारमा रहेको वर्ष ०७४ मा स्वास्थ्य क्षेत्रमा भएका केही महत्त्वपूर्ण घटनाक्रमलाई स्मरण गर्नु उचित हुन्छ । यो वर्षमा स्वास्थ्य क्षेत्र निकै चर्चामा रह्यो । केही महत्त्वपूर्ण घटनाक्रमलाई यहाँ स्मरण गर्ने प्रयास गरिएको छ ।

एक वर्षमा चारपटक अनशन

वर्ष ०७४ मा डा. गोविन्द केसीे चारपटक अनशन बसे । शिक्षा क्षेत्रको सुधारको माग गर्दै शुरु भएको उनको अनशन तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्ने तहसम्म पुग्यो । २०६९ असार २१ गते पहिलोपटक आमरण अनसन बसेका डा केसीले वर्ष ०७४ मा आइपुग्दा १४औं पटक अनशन बसेका छन् ।

डा. केसीको पक्राउले हलचल

अनशनमै रहेका गोविन्द केसीको पक्राउका कारण यो वर्ष स्वास्थ्य क्षेत्र तरंगित बन्यो । अदालतको मानहानी प्रकरणमा सर्वोच्चले पक्राउ आदेश दिएपछि उनलाई अनशनस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । लामो बहसपछि अदालतले उनलाई तारिखमा रिहा गर्‍यो । रिहा भएपछि पनि उनले प्रधानन्यायाधीशको जन्ममितिबारे बारम्बार प्रश्न गरिरहे ।

जन्ममिति विवादमा फसे डा. केसी

सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीशको जन्ममिति विवादलाई निसाना बनाएका डा. गोविन्द केसी आफैँ दुईवटा जन्ममिति विवादमा फसे । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक÷फरक जन्ममिति भेटिएको समाचारहरू सार्वजनिक भएका थिए ।

नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख भएको पाइएको समाचारहरू सार्वजनिक भएपछि उनले पत्रकार सम्मेलन गर्दै मानवीय त्रुटी भएको स्वीकार गरेका थिए ।

प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमामा फरक जन्ममिति हुन पुगेको उनले दाबी गरेका थिए । केसीको फरक–फरक जन्ममितिबारे सामाजिक सञ्जाल निकै तातेको थियो ।

बायाँको साटो दायाँ घुँडाको शल्यक्रिया

यसवर्ष एउटा शल्यक्रिया निकै चर्चामा रह्यो । रोग लागेको नभई सग्लो खुटको अप्रेसन गरेको समाचार चर्चामा रह्यो । राजधानीको महंगो अस्पताल नर्भिकमा देब्रे घुँडाको अप्रेसन गर्नुपर्नेमा दाहिने घुँडाको अप्रेसन भएको थियो ।

नर्भिक अस्पतालका दुई चिकित्सक डा. प्रविण नेपाल र डा. शैलेज रञ्जितकारले उक्त अप्रेसन गरेका थिए ।

चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा. नेपाल र डा. रञ्जितकारले गल्ती स्वीकार गरेका थिए ।
नेपाल मेडिकल काउन्सिलले घटनाको छानबीन गरी डा. नेपाल र डा. रञ्जितकारलाई एक महिनाका लागि निलम्बन समेत गरेको थियो ।

पाठेघरमा प्याड राखेर टाँका !

बाग्लुङको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगरको पाठेघरमा छोडिएको प्याड १२ दिनपछि निकालियो । धौलागिरि अञ्चल अस्पताल, बाग्लुङका स्वास्थ्यकर्मीले प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरेको ‘प्याड’ पाठेघरभित्रै छोडेर टाँका लगाएका थिए ।

धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा प्रसुति गराएकी थापामगरको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा पाठेघरमा प्याड रहेको पत्ता लागेको थियो ।

चिकित्सा शिक्षा अध्यादेश पारित

डा. गोविन्द केसीको अनशनको एउटा मुख्य मागमध्ये चिकित्सा शिक्षा अध्यादेश पनि थियो, जसलाई संसदले पारित गरेको छ ।

चैत २० गतेको प्रतिनिधिसभा बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा गाभियो जनसंख्या मन्त्रालय

२०७४ सालमा स्वास्थ्य मन्त्रालयमा जनसंख्या मन्त्रालय पनि गाभिएको छ । संविधानमा बढीमा २५ मन्त्रालय रहने व्यवस्थालाई आधार मान्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकै मन्त्रालय बनाएको छ ।

एकैवर्ष तीन मन्त्री !

स्वास्थ्य मन्त्रालयले संवत २०७४ मा तीन मन्त्री पायो । नेपाली कांग्रेसका नेता गगन थापा र माओवादी केन्द्रका गिरीराजमणि पोखरेलले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले । वर्षको अन्त्यमा स्वास्थ्य मन्त्रालयले राज्यमन्त्री पद्मा अर्याललाई पाएको छ । उनी क्याबिनेट सरहकी मन्त्री हुन् ।

उपचार शुल्क तोक्दै मन्त्रालय

अस्पतालहरूले बिरमीसँग मनपरी उपचार शुल्क लिने गरेको गुनासो बढेसँगै स्वास्थ्य मन्त्रालयले नयाँ उपचार शुल्क निर्णरण गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रालयले निजी अस्पतालहरूलाई शुल्क सूची पठाउन माग गरेको छ । अस्पतालहरूले सूची पठाएसँगै वैज्ञानिक ढंगमा उपचार शुल्क तोक्ने सरकारी तयारी छ ।

सात वर्षपछि पुनर्जिवन पाएको सिटामोल

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले ७ वर्षपछि सिटामोल उत्पादन पुनः शुरु गरेको छ । लिमिटेडले फागुन १३ गतेबाट सिटामोल उत्पादन शुरु गरेको हो ।

बिरामीलाई जीविकोपार्जन भत्ता

२०७४ सालमा मिर्गौलाले काम नगर्ने, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन भत्ता वितरण शुरु भएको छ ।

गत पुस १३ गतेको मन्त्रिपरिषद्को बैठकले तीन प्रकारका रोगका बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय गर्‍यो । देउवा सरकारले वितरण गरेको जीविकोपार्जन भत्ता वितरण वाम गठबन्धनको नयाँ सरकारले रोकेको छ ।

क्यान्सरका बिरामीको तथ्याङ्क संकलन शुरु

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्यान्सरका बिरामीको तथ्याङ्क संकलन शुरु गरेको छ ।

क्यान्सरका बिरामी कति छन् । कुन उमेर समुहका बिरामीलाई कस्तो प्रकारको क्यान्सर छ, महिला र पुरुषमा कुन क्यान्सर बढी छ, नेपालमा कुन क्यान्सर बढी छ भन्ने यकिन विवरण तयार पार्ने परिषद्को योजना छ । परिद्षले संकलन गरेको तथ्याङ्क एकएक वर्षमा सार्वजनिक गर्ने जनाएको छ ।

डा. रुइतलाई भारतको सम्मान

वर्ष ०७४ मा नेत्र चिकित्सक डा. सन्दुक रुइत चर्चामा रहे । उनले भारतीय राष्ट्रपतिले दिने सम्मानित अवार्ड पद्यमश्री अवार्ड प्राप्त गरे ।

भारतीय राष्ट्रपति रामनाथ केविन्दले डा. रुइतलाई पद्मश्री पुरस्कारबाट सम्मान प्रदान गरेका थिए । सन् १९८० मा रुइतले गरेको अध्ययनबाट मोतियाबिन्दुको शल्यक्रिया खर्च ९० प्रतिशतले कम भएको र उनले १ लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले सम्मान गरेको हो ।

नर्सको आन्दोलन

गत पुस २६ गतेदेखि माघ ४ गतेसम्म देशभरका नर्सहरू आन्दोलित भए । विभन्न ११ बुँदे माग अघि सार्दै देशभरका नर्सहरूले नौ दिनसम्म आन्दोलनका कार्यक्रमहरू गरेका थिए ।

सरकार र नर्सिङ संघबीच आठघण्टा लामो छलफलपछि ११ बुँदे समझदारी भएसँगै नर्सहरूले आन्दोलन स्थगित गरेका थिए । वार्ताबाट नर्सहरूको पहिलो माग मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्स त्रजिता जति, सजना द्यौलालाई ७५ प्रतिशत तलब उपलब्ध गराई अस्पतालमा पुनर्बहाली गराइएको थियो ।

नेपाली डाक्टरले पत्ता लगाए इबोलाको औषधि

नेपाली डाक्टर सुदीप खड्का विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएका कारण वर्ष ०७४ मा चर्चामा रहे ।

अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत नेपाली डाक्टर खड्कासहितको वैज्ञानिकको टोलीले तीनवर्ष लगाएर इबोला भाइरसको औषधि पत्ता लगाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्