‘अपराध राजधानी’ ध्वस्त पारेका सर्वेन्द्र खनालको आइजीपी बन्ने आधार यसरी तयार भयो



सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक बनेका छन् । उनी धनुषा प्रहरीको नेतृत्वमा रहेकै बेला धेरैले भनेका थिए, खनालको यात्रा एसपीमा मात्र रोकिँदैन, आईजीपीसम्म बन्ने सामर्थ्य राख्छन् । नभन्दै उनी अहिले आईजीपी बनेका छन् । ८ चैत २०६६ देखि ४ असोज २०६७ सम्म धनुषा प्रहरीको नेतृत्व गरेका तत्कालीन प्रहरी उपरीक्षक खनाल जनकपुरबाटै चम्किएका थिए । अत्यन्तै बिग्रिएको शान्ति व्यवस्थालाई सम्हालेर एउटा बाटोमा मात्रै ल्याएनन्, जनताको भरोसासमेत जित्न सफल भए । उनी जनकपुरबाट बिदा हुँदै गर्दा यहाँका दर्जनौं संघ–संस्थाले उनलाई सम्मान गरेका थिए ।

१७ फागुन २०६६ मा भूमिगत समूहका अर्जुनसिंह भनिने मुकेश चौधरी र जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति समूह लगायतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियालाई गोली हानी हत्या गरेका थिए । मारबाडी सेवा समिति धनुषाका तत्कालीन अध्यक्ष समेत रहेका सिंघानियाको हत्या भएपछि शान्ति व्यवस्था चुनौतिपूर्ण बनेको थियो ।

तत्कालीन प्रहरी उपरीक्षक श्याम खड्का असफल भइरहेका थिए । लगत्तै जनकपुरको वडा प्रहरी कार्यालय रेल्वे चौकीका तत्कालीन प्रहरी नायव निरीक्षक बाबुराम झाले एक भारतीय महिलालाई बलात्कार गरेको विषय चर्चामा आयो । प्रहरी चौकीमै झडप भयो, पत्रकारहरू समेत प्रहरीको लाठीचार्जबाट घाइते भए । तत्कालीन सभासद सञ्जय साहले एसपी खड्कामाथि हातपात गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।

कानून व्यवस्था खस्किएपछि धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्की, एसपी श्याम खड्का र सशत्र प्रहरी प्रमुख सबैलाई सरुवा गरियो । त्यसपछि आए खनाल । जनकपुरमा उनको कार्यकाल अत्यन्तै छोटो रहे पनि उनले गरेका कामका कारण आजसम्म पनि उनकै उदाहरण दिने गरिन्छ ।

खनालका एक्सन

खनाल जनकपुर आउँदा भूमिगत समूहहरूको हिंसात्मक गतिविधि जारी थियो । हत्यादेखि बम विष्फोट, चन्दा आतंक र फिरौतीका लागि व्यक्ति अपहरण गर्ने जस्ता घटनामा कमी आउन सकेका थिएनन् । सर्वसाधारणदेखि व्यवसायी र कर्मचारीसम्मले असुरक्षित महसुस गरिरहेका थिए । जनकपुर ‘अपराधको राजधानी’जस्तै बनिसकेको थियो ।

उनी आएलगत्तै भूमिगत समूहका कुख्यात अपराधीको प्रहरीले इन्काउन्टर थाल्यो । २१ जेठ २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका महोत्तरी जिल्ला इञ्चार्ज बादल भनिने नुरुल मोहम्मद सुरक्षा कारवाहीमा मारिएका थिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक समेतको टोली गस्ती गर्दै जाँदा नक्टाझिज गाविस– ३ स्थित बसही खोलामा पुग्दा लुकिछिपी बसेका अन्दाजी ५/६ जनाको अज्ञात समूहले प्रहरी टोलीलाई लक्षित गरी आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा महोत्तरी विजलपुरा घर भएका अन्दाजी २५ वर्षीय बादल भनिने नुरुल मोहम्मद घाइते भए । उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भयो ।

भूमिगत समूह र खनालबीच घमासान

जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्क्ति समूहले हिंसात्मक गतिविधिलाई बढावा कसै न कसैको हत्या तथा भौतिक कारवाही गर्दै आतङ्कित बनाएको थियो । त्यसक्रममा घटेका हिंसात्मक घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्तिमोर्चा राजन मुक्ति समूहका कार्यबाहक अध्यक्ष मनोज मुक्तिले लिने गरेका थिए । अवस्था त कतिसम्म अएको थियो भने साँझ नै जनकपुर सहर बन्द हुन्थ्यो, अघोषित कफ्र्यूजस्तो । आज साँझ अब कसको पालो आउने हो, भूमिगत समूहले कसलाई आफ्नो निसाना बनाउने हो भन्ने डर र त्रासकाबीच जनकपुरबासी बसिरहेका थिए ।

उक्त भूमिगत समूहले लगातार तीन दिन तीनजनालाई गोली प्रहार गरेपछि खनालले एक्सन लिए । ३० जेठ २०६७ मा धनुषा प्रहरीले जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका डेपुटी कमाण्डर अवधेश मण्डलको इन्काउन्टर गर्‍यो । जनकपुरको दुरसञ्चार कार्यालय अगाडि चेक जाँच एवम् सर्च कार्य गर्दै गरेको प्रहरी गस्ती टोलीमाथि हतियार तेस्र्याएपछि प्रहरीले जवाफी फायर गरेको थियो । गोली लागि जनकपुर– ६ बस्ने अवधेश मण्डल घाइते भए । उपचारका लागि धरान लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । उनको साथबाट प्रहरीले ९ एमएम पेस्तोलसहित ५ राउण्ड गोली बरामद गरेको थियो ।

खनालले त्यसपछि झनै सक्रियता बढाए । गुप्तचरहरूलाई थप सक्रिय बनाएर आपराधिक गतिविधिमा लागेकोहरूलाई कारवाहीको दायरामा ल्याउन थाले । १९ असार २०६७ मा जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य बम भोला यादव भनिने प्रदीप मरिक सुरक्षा कारवाहीमा मारिएका थिए । धनुषाको माची झिटकहिया– ८ स्थित हुलाकी सडक खण्डमा इलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा ३/४ हतियारधारीले आक्रमणको प्रयास गर्दा प्रहरीको जवाफी कारबाहीमा धनुषाको हथमुन्डा गाविस– ८ बस्ने प्रदीप मरिकको मृत्यु भएको थियो ।

त्यसपछि प्रहरी हिरासतबाट भाग्न खोज्ने अर्को भूमिगत समूहका मदन यादवको इन्कान्टर भयो । गोइत समूहका प्रभावशाली सदस्य अमिताभ भनिने उदय यादवलाई हतियारसहित प्रहरीले पक्रियो । खनाल आएपछि धनुषामा आपराधिक गतिविधिमा लाग्नेहरूको सातो गयो । कतिपयको इन्काउन्टर भयो भने केही पक्राउ परे । खास गरी उनले अवैध हतियारविरुद्ध विशेष चेकजाँच अभियान चलाए । अवैध हतियार बोक्ने दर्जनौं पक्राउ परे । अवैध हतियार उत्पादन गर्ने कारखाना पत्ता लगाएर ध्वस्त पार्नुका साथै त्यस कार्यमा संलग्नलाई पक्राउ गरे ।

आफ्नै डीएसपीलाई कारवाही

जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन डीएसपी रूपकुमार न्यौपानेलाई उनले विभागीय कारवाही गरे । भूमिगत समूहहरूसंग साँठगाँठ गरी अपराधलाई बढावा दिएको भन्दै उनले आफ्नै मातहतमा कार्यरत न्यौपानेलाई कारवाही गराउन प्रमाणसहित प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा फाइल पठाएपछि शुरुमा न्यौपानेलाई निलम्बन र लगत्तै डीएसपीबाट इन्सपेक्टरमा घटुवा गरिएको थियो ।

धनुषामा रहँदा खनालले अवैध मदिरा उत्पादन गर्ने कारखाना ध्वस्त पारी त्यस्तो कारोबारमा संलग्नलाई कारवारी गरे । क्याबिन रेस्टूरेन्टमा हुने अनैतिक गतिविधि नियन्त्रण गरे । ट्राफिक प्रहरी व्यवस्थापन राम्रो गरे ।
जनकपुरबाट सम्मानित भएर बिदा भएका खनाल त्यसलगत्तै एसएसपीमा बढुवा भएका थिए । जनकपुरमा रहँदा गरेको कार्यले उनको कार्य सम्पादन मूल्याङ्कनमा पक्कै पनि निकै राम्रो प्रभाव पार्‍यो । एक हिसाबले भन्दा जनकपुरमा उनले गरेको कार्य आईजीपी बन्ने यात्रामा ‘फाउण्डेसन’को रूपमा रह्यो ।

खनालले अञ्चल प्रहरी कार्यालय वीरगञ्जमा कार्यरत रहँदा भारतीय अपराधी बब्लु दुबेलाई पक्राउ गर्न सफल भए । त्यसपछि वीरगञ्जका गुण्डा नाइके सुनिल जयसवालको इन्काउन्टर गरे । काठमाडौंमा गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टर, नेपालको फुटबल म्याचमा भएको फिक्सिङको पर्दाफास, सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्नको पर्दाफास, ललितपुरको बडिखेलस्थित एकै परिवारका ५ जनाको भएको हत्या घटनाको पर्दाफास, नक्कली प्रमाणपत्र बनाउने गिरोहको पर्दाफास लगायत थुप्रै उदाहरणीय काम उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्