दुवै प्रहरी संगठन खनाल दाजु-भाईको जिम्म्मामा,सर्बेन्द्र र शैलेन्द्रलाई बाम सरकारले यसरी पत्यायो,यस्तो छ नालीबेली



सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व छनोट गरेको छ। बालुवाटारमा मंगलबार सा“झ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाललाई बढुवा गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा खनालद्वयलाई बिहीबारदेखि लागू हुने गरी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षकमा बढुवा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

नेपाल प्रहरीमा सर्वेन्द्र २६ औं महानिरीक्षक हुनेछन् भने सशस्त्रमा शैलेन्द्र १० औं महानिरीक्षक बन्ने भएका छन्। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ बुधबारदेखि ३० वर्षे सेवा अवधिका कारण सेवानिवृत्त हुँदै छन्। उनीहरू सेवानिवृत्त हुनु एक दिनअघि सरकारले २९ चैतदेखि लागू हुने गरी दुवै प्रहरीमा नयाँ महानिरीक्षकमा बढुवा गरेको हो।

नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्। ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए। गृह मन्त्रालयले सर्वेन्द्रलाई प्रहरी महानिरीक्षकका लागि प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले विवादबिनै महानिरीक्षकको नियुक्ति गरेको छ। सशस्त्रको कासमूमा एक नम्बरमै रहेका शैलेन्द्र सशस्त्रको मानव स्रोत संसाधनमा कार्यरत छन्।

यसरी भयो छनोट

मंगलबार बिहान ९:३० मा बालुवाटारमा मन्त्रिपरिषद्को पहिलो बैठक डाकिएको थियो। दुवै प्रहरीमा कसलाई आईजीपी बनाउने भन्नेमा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेकाले मन्त्रिपरिषद् बैठकमा यो विषयमा कुनै निर्णय हुन सकेन। बैठक स्थगन गरियो। बिहानको बैठक स्थगन भएपछि प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा गृहमन्त्री रामबहादुर थापाबीच छुट्टै बैठक बसेर प्रहरीका दुवै निकायमा बढुवा हुने भावी महानिरीक्षकको नाम टुंग्याएका थिए।

उनीहरूबीच आईजीपी बनाउने विषयमा सहमति भएपछि मंगलबार साँझ ७:३० मा बालुवाटारमा पुनः मन्त्रिपरिषद्को बैठक बसेर निर्णय लिएको हो।

को हुन् सर्वेन्द्र ?

प्रहरी महानिरीक्षकमा बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल ०४६ सालमा प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन्। कार्यक्षमता, कार्यसम्पादन मूल्यांकन र वरिष्ठतामा अगाडि रहेका खनाल हालसम्म बसेको प्रहरी इकाइमा उत्कृष्ट काम गरेको अभिलेख छ।

०६२÷६३ को जनआन्दोलनमा काठमाडौं प्रहरीको नेतृत्व गरेका खनालले संयमतासाथ काम गरेका थिए। मधेस आन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। महानगरीय प्रहरी अपराध महाशाखामा बस्दा खनालले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर, फुटबलमा हुँदै आएको ‘म्याच फिक्सिङ’, पेट्रोलियम पदार्थमा हुँदै आएको ठगी, सञ्चार उद्यमी जमिम शाहको हत्या आरोपी जगदीश चन्दलाई नियन्त्रण, ललितपुरको बडिखेलमा १२ वर्षपहिले एउटै परिवारका ५ जनाको बीभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दाफास, करोडौैं ठगी गर्ने युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरी ख्याति कमाएका थिए।

जनकपुर र नारायणी अञ्चलमा बस्दा तराईका गुन्डागर्दी नियन्त्रण र सशस्त्र समूह निमिट्यान्न पार्न खनालले अग्रणी भूमिका खेलेका थिए।

कुख्यात भारतीय गुन्डा नाइके बब्लु दुबेलाई पक्राउ, तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधीर पाण्डे, राजन मुक्ति प्लाटुन कमान्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव र वीरगन्जमा उत्पात मच्चाउने गुन्डानाइके अग्नि भनिने सुनील जैसवाललाई पनि खनालले कारबाहीको दायरामा ल्याएका थिए।

जागिरे जीवनमा उनले २२ वटा विभूषण र १२ वटा तालिम लिएका छन्।

पछिल्लो कार्यकाल ट्राफिकमा रहँदा खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएका थिए। उनी नेपाल प्रहरीको नीति निर्माण तह तथा व्यवस्थापकीय कार्यमा पोख्त मानिन्छन्।

एसएसपीबाट डीआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा थिए। दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुष्कर कार्की थिए। खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए। त्यस्तै, खरेल र कार्कीले क्रमशः ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए।

सशस्त्रमा शैलेन्द्र पनि अब्बल

२०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल २०५९ मा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए। तत्कालीन विद्रोही माओवादीको लडाकुसँग लड्न सशस्त्र गठन गरिएको थियो। उनी सशस्त्र प्रवेश गरेपछि त्रिपुरा गण हुँदै तालिम केन्द्र, राष्ट्रिय सुरक्षा परिषद् र प्रहरी महानिरीक्षकको सचिवालयमा बढी बसे। सशस्त्रको एआईजी बढुवामा एक्लै बढुवा हुन सफल भएका शैलेन्द्र सशस्त्रभित्र कमान्ड गर्नसक्ने अधिकृतका रूपमा चिनिन्छन्। लामो समय सचिवालयमा बिताएका शैलेन्द्रले सशस्त्र प्रहरीको नीति–नियमसँगै ऐन निर्माणमा समेत उल्लेखनीय भूमिका खेलेका थिए। मध्यक्षेत्र पथलैयामा बस्दा शैलेन्द्रले आर्थिक अनुशासनलाई पारदर्शी बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट