ओली र प्रचण्डले पनि मिलाउन नसकेको यस्तो छ विवाद,एकतामा आग्लो हाल्ने यो हो चुरोकुरो



अब देशमा पाँच वर्षपछि चुनाव हुनेछ ।
तर एमाले र माओवादीबीच अबको चुनाव चिन्ह के हुने भन्नेमा विवाद छ ।

मङ्सिरको निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादी नेताहरूको भनाइ सुन्दा आजभोलि नै एकता घोषणा भइहाल्छ कि जस्तो भान हुन्छ ।
तर, पाँच वर्षपछिको चुनावमा लड्ने चिन्हमा महाभारत परेको छ ।
कार्यदल स्तरमा विवाद भएपछि एकता प्रकृया लम्बिँदै गएको छ ।

चुनाव चिन्हमा चर्को विवाद
पार्टी एकतापछि एकीकृत पार्टीको चुनाव चिन्ह के राख्ने भन्ने विषयमा विधान मस्यौदा कार्यदलमा छलफल भएको लामो समय भैसक्यो । तर यो विषयमा कार्यदल सदस्यहरूबीच सहमति हुन सकेको छैन ।

‘कार्यदलका सदस्यहरू चुनाव चिन्हमा आ–आफ्नो अडानबाट टसको मस भएका छैनन् । जसका कारण यसअघिका छलफल विनानिष्कर्ष सकिँदै आएका छन्’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने– ‘मुख्य विवाद नै अहिले यसैमा छ ।’

यसअघिका कार्यदल बैठकमा आ–आफ्ना प्रस्ताव पेश गर्दा एमालेले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य हुनुपर्ने प्रस्ताव पेश गरेको थियो भने माओवादी केन्द्रले सूर्यभित्र हसिया हथौडा राख्नुपर्ने प्रस्ताव गरेको थियो ।

तर, यसमा दुवै पक्ष आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘अडानबाट कुनै पनि पक्षपछि नहट्नेभएपछि यसमा सहमति जुटाउन कठिन भएको हो’ ती नेताले भने– यस विषयमा प्रतिवेदनमा सहमति नजुट्दा अन्य धेरै विषयमा समेत छलफल हुन सकेको छैन । चुनाव चिन्हमा भोलिसम्ममा पनि सहमति नजुटे यसको जिम्मा शीर्ष नेतालाई नै दिइन्छ ।’

जनसङ्गठनमा पनि उस्तै
चुनाव चिन्हजस्तै कार्यदलमा जनसङ्गठन एकता प्रस्तावमा पनि सदस्यहरूबीच चर्को विवाद छ । एकीकृत पार्टी बनेपछि जनसङ्गठन कति सदस्यीय हुने, कसले नेतृत्व गर्ने र कुन कुन पद कुन पार्टीले पाउने भन्नेमा सहमति हुन सकेको छैन ।

जनसङ्गठनअन्र्तगत विद्यार्थी, युवा, महिला, शिक्षक, मजदुर, प्रवास, कर्मचारीलगायत पर्छन् । तर यी सबैजसो जनसङ्गठनको नेतृत्व एमालेले नै पाउनुपर्ने अडान एमाले नेताहरूले कार्यदलमा राख्दै आएका छन् । एमालेको यो प्रस्तावलाई माओवादीले कुनै हालतमा नमान्ने बताउँदै आएको छ ।

माओवादीका तर्फबाट कार्यदलमा रहेका एक सदस्यका अनुसार एकताका नाममा आफूहरूप्रति असमान व्यवहार देखाएकाले यसमा पनि सहमति जुट्न नसकेको हो ।

एकताको मिति सर्दै
यही कारण शीर्ष नेताहरूले आफ्नो बोली फेर्दै पार्टी एकता गर्ने मिति पछिपछि धकेल्दै आएका छन् ।

गत शनिबार प्रधानमन्त्री केपी अ‍ोलीको भारत भ्रमण अघि नै पार्टी एकता गर्ने भनेका शीर्ष नेताहरूले त्यसको दुई दिनपछि ओलीको भारत भ्रमणअघि एकता हुन नसक्ने बताएका थिए ।

सोमबार भातृ सङ्गठनको एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतामा यसअघि भनिँदै आएको ७०÷३० को आधारमा नभएर ५०÷५० को आधारमा पार्टी एकता हुने बताएका थिए ।

एक महिनामा के गर्यो कार्यदलले ?
गत फागुन १० गते पार्टी एकताका लागि आधार तयार गर्न भन्दै दुवै दलका नेता सम्मिलित दुई कार्यदल गठन गरेर एकताका लागि प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएका थिए ।

तर अहिलेसम्म दुवै कार्यदलका बैठक जम्माजम्मी ४–५ पटक मात्रै बसेका छन् । बैठक बसे पनि त्यहाँ कुनै ठोस सहमति हुने गरेको छैन ।

सुरुमा दुवै कार्यदललाई शीर्ष नेताले एकताका सबै प्रस्तावमा सहमति जुटाउन जिम्मेवारी दिए पनि पछिल्ला दिनमा शीर्ष नेताले नै हस्तक्षेप गर्न थलेका छन् ।

थापा संयोजक रहेको विधान मस्यौदा कार्यदलका एक सदस्यका अनुसार पार्टी एकीकरणका लागि जुटाउनुपर्ने धेरै न्यूनतम सहमति नै नजुटेकाले नेताहरूले भनेजस्तो तत्कालै पार्टी एकता घोषणा गर्न समस्या छ ।

के–केमा भयो सहमति ?
१. एमालेको जबज र माओवादी केन्द्रको माओवाद सिद्धान्तलाई महाधिवेशनसम्म थाँती राखेर तत्काल माक्र्सवाद–लेलिनवादलाई मूल सिद्धान्त मान्ने ।

२. पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेपाल रहने ।

३. महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्षले पालैपालो पार्टीको अध्यक्षता गर्ने ।

४. १० तहको कमिटी (जिल्लादेखि केन्द्रसम्म)

एमाले–माओवादी पार्टी एकताका लागि आधार तयार गर्न गठित दुवै पार्टीका नेताहरू सम्मिलित कार्यदलले आफ्नो प्रतिवेदनलाई बिहीबारसम्म अन्तिम रूप दिने बताएका छन् ।

माओवादी नेता रामबहादुर थापा नेतृत्वको विधान मस्यौदा कार्यदलको बैठक आज बेलुका बस्ने भएको छ भने माधव नेपाल नेतृत्वको राजनीतिक कार्यदलको बैठक बिहीबार बेलुका बस्ने कार्यदलका सदस्यहरूले बताएका छन् ।

विधान मस्यौदा कार्यदलका सदस्य बेदुराम भुसालका अनुसार विधान मस्यौदा कार्यदलको बैठक बुधबार तीन बजेपछि बस्नसक्ने बताए । ‘नमिलेका धेरै विषयहरूलाई अन्तिम रूप दिन छलफल बाँकी रहेकाले ती विषयहरूमा छलफलपछि सहमति जुटाउनुपर्नेछ र सकेसम्म चाँडै प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ’, सदस्य बेदुराम भुसालले बताए ।

त्यस्तै राजनीतिक प्रतिवेदन कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आफू सदस्य रहेको कार्यदलको बैठक बिहीबार बेलुका ५ बजेदेखि १० बजेसम्म बस्नेगरी मिति र समय निर्धारण भएको बताए । नेता नेम्वाङले गत आइतबारको छलफल अनुसार कार्यदलले बुधबारसम्म टुङ्ग्याउने सहमति भए पनि संयोजक माधवकुमार नेपालको व्यस्तताका कारण आजको बैठक भोलिका लागि सारिएको बताए । यसअघि पार्टी एकता आधार तयार गर्न माधवकुमार नेपाल र रामबहादुर थापा बादलको संयोजकत्वमा दुई छुट्टाछुटै कार्यदल गठन भएका थिए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान