उहाँहरूले बुहारीदेखि प्रेमिकासम्म खोज्नुभयो,हामीले त्यसो गरेनौ
झलनाथ खनालको मन्त्रिमण्डलमा मोहम्मद इस्तियाक राई सबभन्दा कान्छा (वर्ष ३१) मन्त्री थिए । तीन महिना श्रममन्त्री बनेका उनी अहिले संघीय समाजवादी फोरमका सांसद छन्, बाँकेबाट । उक्त पार्टी बिनालिखित समझदारी सरकारमा गयो भने ओली मन्त्रिपरिषद्मा दुई मन्त्री र एक राज्यमन्त्री छुट्टयाइएको चर्चा छ । अहिलेसम्म यो सरकार मुस्लिमविहीन छ । नेवार पनि पठाउन बाँकी छ । त्यसैले इस्तियाक मन्त्री बनिएला भन्ने आसमै छन् । मन्त्री थोरै पाइने, आकांक्षी धेरै हुने समस्याले उनको पार्टीलाई पनि पिरोलेको छ ।
० मन्त्री छान्न महाभारत नै चलेको हल्ला छ नि?
– खासगरी फोरम पार्टी स्थापना भएकै पहिचान र संघीयताका लागि हो । मुलुक संघीयता प्रवेश गरेको छ, उत्पीडिनमा परेका वर्ग समुदायलाई पहिचान दिलाउने काम फोरम नेपालले गरेको छ । र, अहिले पनि संविधान संशोधनलगायत हाम्रा केही मुद्दा सम्बोधन हुन सकेको छैन । यो सरकारसँग हामीले विभिन्न चरणमा वार्ताहरू गरिसकेका छौं । वार्ता पछाडि हुनुपर्ने कमिटमेन्ट हुन नसकेकै कारण हामी सरकारमा जान सकिरहेका छैनौं ।
० आकांक्षी धेरै भएर निर्णय नभएको हो ?
– सहजता त कुनै पार्टीमा हुँदैन । चुनाव जितेर आएका माननीयहरूले मन्त्रीको आकांक्षा राख्नु मानवीय स्वभाव नै हो । पार्टीले एउटा मापदण्ड बनाएको छ । अस्तिको संसदीय दलको बैठकमा पार्टीले एउटा क्राइटएरिया बनाउने र सोही आधारमा मन्त्री पठाउने सहमति गरेको छ । यद्यपि, त्यसका लागि पहिला सरकारले संविधान संशोधनलगायत हाम्रा केही कमिन्टमेन्ट छन् त्यो पूरा गर्नुपर्छ ।
० अहिलेको समयमा पार्टी सरकारमा जानु कतिको उचित हो ?
– हामीलाई भन्दा पनि फोरमलाई सरकारमा सहभागी गराउनु वाम गठबन्धनलाई आवश्यक छ । विगतमा हतारमा संविधान बनाइयो । हामीले एउटा प्रदेशमा र उहाँहरूले ६ प्रदेशमा नेतृत्व गरिरहनुभएको छ । संघीयता विफल हुने, संघीय प्रदेशमार्फतका मुख्यमन्त्री र त्यहाँको सरकार विफल हुनु केन्द्रीय सरकार पनि विफल हुनु हो । त्यसकारण संविधान संशोधन हामीलाई भन्दा उहाँहरूलाई आवश्यक छ । जुन संविधानलाई उहाँहरू दुँनियाको सर्वाेत्कृष्ट संविधान भन्दै हुनुहुन्थ्यो निर्वाचन जितिसकेपछि, संविधान निर्माण भइसक्दा समेत कार्यपालिका निर्माणका लागि तीन महिना कुर्नुप¥यो । त्यो एउटा त्रुटि नै हो अहिले उहाँहरूले प्रमाणित गर्नुभयो । हिजो संविधान संशोधनीय दस्ताबेज होइन, कमा र फुलस्टप पनि परिवर्तन हुँदैन भन्ने दलहरू नै आज लचिलो भइसक्नुभएको छ । संविधान समय र परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छ । उहाँहरू सबै क्रान्ति सफल भयो अब आर्थिक क्रान्ति गर्ने उद्घोष गरिरहनुभएको छ । हाम्रा मुख्यतः तीन वटा कुरा छन् सघीयता, गणतन्त्रलगायत भएका उपलब्धिलाई संस्थागत र बलियो कसरी बनाउने ? सीमांकनलगायत मुद्दा कसरी संशोधनमार्फत पूरा गर्ने ? र वाम गठबन्धनलाई मुलुक चलाउने म्यान्डेट जनताले दिइसकेपछि हामी बाधक होइनौं, हामी सहयोगी बनेर देशलाई आर्थिक क्रान्ति गरौं, कारण नेपाल समृद्ध भएको खण्डमा प्रत्येक नागरिक समृद्ध हुन्छन् । यी तीन वटा आधारमा वाम गठबन्धनको सरकारलाई सहयोग गर्ने कुरा छ । केही कमिटमेन्ट र आधार स्पष्ट नभई सरकारमा जाँदैन । नजाने अवस्था पनि छ । यद्यपि, गुण र दोषका आधारमा सरकारलाई सहयोग रहन्छ ।
० मधेसी दललाई बढी नै सत्तालिप्सा भएको आरोप लाग्ने गर्छ । मधेसकेन्द्रित दलकै सांसद भएका नाताले के भन्नुहुन्छ ?
– नौ महिना प्रचण्ड नेतृत्वको सरकारमा र तीन महिना झलनाथ खनाल नेतृत्वको सरकारमा । साढे चार वर्षको अवधिमा आलोपालो गरेर हामीले एक वर्ष सरकारमा रहेका छौं । बाँकी आलोपालो गरेर कांग्रेस र एमालेहरूले सत्ता चलाएका छन् भने हामीले मरिहत्ते कसरी ग¥यौं ? सहमतीय राजनीतिमार्फत उत्पीडित वर्गको समुदायको उत्थानका लागि संविधान संशोधनमार्फत हातेमालो गर्न चाहेका हौं ।
० मधेस आन्दोलनको अध्यायचाहिँ सकिएकै हो ?
– मधेस आन्दोलनको पहिलो र दोस्रो फेज पार गरेका छौं । क्रान्ति अहिले पनि छ । राज्यले बाध्य गरेको खण्डमा हामी फेरि सडकमा फर्किन सक्छौं । यद्यपि, अहिले हामी संसदीय अभ्यासमार्फत टेबल टु टेबल उपलब्धि संस्थागत गर्न लागिपरेका छौं । राज्यले त्यसको उचित सम्बोधन गर्न सकेन भने त्यसको अर्काे पाटो सडक र संसद् हुन सक्छ ।
० तपार्इंहरूको पार्टी अध्यक्ष अलि संकीर्ण र शंकालु स्वभावको भएको चर्चा चल्ने गर्छ । तपार्इं लामो समय उपेन्द्र यादवसँग संगत गर्नुभएको नाताले भनिदिनुहोस्, बाहिर चल्ने चर्चा कतिको यथार्थ हो ?
– यो निराधार कुरा हो । शंका उपशंका गर्ने स्वभाव भए म फोरममा हुने नै थिइनँ । उपेन्द्रजीमाथि विश्वास नगरेको भए म उहाँको पार्टीमा हुने थिइनँ ।
० यद्यपि, यही आरोप लगाउँदै अभिषेक प्रताप साहहरू पार्टीबाट पाखा लागिसकेको यथार्थ त हो नि ?
– अभिषेकजीले गलत बाटो अवलम्बन गर्नुभयो । पार्टी सरकारमा गएर उहाँले अवसर नपाएको होइन । हामी दोस्रो पटक सरकारमा गयौं तीन महिनामै सरकार ढल्यो । उहाँलाई पार्टीले राज्यमन्त्री बनाउने निर्णय गर्दैथ्यो । उहाँले राज्यमन्त्री खान्न भन्नुभो । मध्यबाट हरिनारायणजी र पश्चिमबाट म परें, पूर्वबाट उपेन्द्रजी आफैं बन्नुभयो । त्यसपछि पार्टी सरकारमा पनि गएन, अभिषेकजीले पार्टी छाडेर जानुभयो । उहाँले आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टी परित्याग गर्नुभयो । मभन्दा जुनियर हुनुहुन्थ्यो । मन्त्री नभएकै कारण पार्टीमा उपमहासचिव दिइएको हो । उपेन्द्रजी र राम साहपश्चात् पार्टीमा कन्टिन्यु बस्ने मै हुँ । म मन्त्री बन्दा मेरो आफ्नो पदाधिकारी पद उहाँलाई दिएको हो । सानै उमेरमा यो पद पाउनु ठूलो कुरा थियो । फोरमा हुँदा उहाँको एउटा स्थान अस्तित्वको थियो । हृदयेशजीको झैं जस्तो स्थान र अस्थित्वको थियो अहिले त्यो सबै लोप भइसकेको छ । जिते पनि अब अभिषेकलाई चिन्ने अवस्था छैन । दुई÷दुई पटक सांसद भएको व्यक्तिले हजार पन्ध्र सय मतले जित्नु ठूलो विषय होइन । त्यो ठाउँमा पहिलाभन्दा अढाई गुणा बढी मत फोरमले त्यहाँ ल्याएको छ ।
० अशोक राईको पार्टीसँग फोरम एक त भयो तर मधेसका आठ जिल्लाबाहेक पहाडमा कतै पनि फोरमले जितेको देखिएन । तपाईं बाँकेबाट निर्वाचित हुनुभयो । कारण के हो ?
– अस्वाभाविक रूपमा वाम गठबन्धन निर्माण भयो । त्यसको लहर आयो । अशोक राई र युवराज कार्कीहरूसँग हामीले एकीकरण ग¥यौं । एकीकरण आवश्यकता पनि थियो । देशबाट विभेद अन्त्य हुनुपर्छ भनेरै हामी लागेका हौं । जनयुद्ध पछाडि छाडिसकेको संघीयताको मुद्दालाई फोरमले आन्दोलन गरेर स्थापित गरायो । फादर अफ फ्रेडालिज्म भनेर हामी उपेन्द्र यादवलाई मान्छौं । मधेस आन्दोलनकै देन हो ६ वटा क्लस्टर निर्माण हुनु । खस, क्षत्री, जनजाति, मधेसी, थारू, अल्पसंख्यक जे भए पनि मधेस आन्दोलनकै उपज भएका हुन् । संविधान संशोधन भएरै समानुपातिक प्रतिनिधित्व मुद्दा आए मधेस आन्दोलनको देन हो । उपेन्द्रजी र हाम्रो पार्टीले बुद्धिमतापूर्वक काम ग¥यौं र आज यो सम्भव भयो । पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी स्थापना गर्दा होस् वा कांग्रेस पार्टी स्थापना हुँदा परशुराम चौधरीलगायतले कांग्रेसको हिजो स्थान के थियो ? इतिहास खोतल्यौं ? भारतमा हालको भाजपा स्थापना हुँदा दुई सिट थियो । अहिले झन्डै ७० प्रतिशत ओगटेको छ । यी इतिहास हेर्ने हो भने दशकभित्र राष्ट्रियस्वरूप लिन्छ र पहिलो पार्टी बन्छ भन्नेमा मलाई आशा, भरोसा र विश्वास छ । अहिलेको रिजल्ट सकारात्मक हुन सकेन ।
० पार्टीले जम्मा दुई सिट पाएको छ । अध्यक्ष आफैं मन्त्रीको दाबेदार, काठमाडौंबाट दुई सय मत पनि नकटाउने व्यक्ति मन्त्रीको आकांक्षी । बाँकेबाट प्रत्यक्ष जित्ने तपार्इंको स्थान सरकारमा के हुन्छ ?
– मत आएकै भरमा हामीले राजनीति गरेका छैनौं । राष्ट्रियसभा दलितलाई दियौं । अल्पसंख्यक जातिबाट गभर्नर बनायौं । ६ सिट समानुपातिकमा पाएका हौं । नेवार, गुरुङ, दलित (कलु विक), खस सरिता गिरी), (मधेसी (रेणु यादव) मुस्लिम (रुहिन) लाई दिएका छौं । कांग्रेस, एमाले, माओवादीले क्लस्टर पु¥याएन, अहिलेको मन्त्रिपरिषद् असमावेशी भयो । आकांक्षी हुनु स्वाभाविक हो, अधिकार हो । एकै पटक हाम्रो पार्टीले आकांक्षा पूरा गर्न सकेन भने ओली र प्रचण्ड नेतृत्वको दुई वटा सरकार बन्छ । केही साथी अहिले जालान, केही अर्काे सरकारमा बन्छन् । दुई वटा क्याबिनेट एउटा राज्य पाएका छौं । तीन वटा क्लस्टरबाट अहिलेको सरकारमा प्रतिनिधित्व रहन्छ, बाँकी तीन क्लस्टरबाट अर्काे सरकारमा । ४ प्रतिशत हाराहारी जनसंख्या रहेको मुस्लिम समुदायबाट २२ जना मन्त्री बनाइँदा एक जना बनाइएको छैन । हाम्रो पार्टीले गर्छ । विश्वास छ, पार्टीले जुन जिम्मा दिन्छ म स्विकार्छु ।
० राजपा र फोरमबीचको एकीकरण अब टरेको हो ?
आफ्नै अध्यक्षलाई अवलम्बन गर्न नसक्ने, अध्यक्ष प्रणाली, अध्यक्ष मण्डल । एउटा अध्यक्ष पनि बनाउन नसक्ने त्यो पार्टी होइन । त्यो त गिभ एन्ड टेक मात्र हो । पार्टी भए कोटा हुँदैन । हामीले एकीकरणको प्रयास गरेका हौं, तर उहाँहरूले घरपरिवार, बिबि बुहारी, प्रेमिका सबैको हिस्सा खोज्नुभयो । त्यो पार्टीको रूपमा नभएकै कारण पार्टी एकीकरण हुन सकेन । नयाँ शक्तिले आफ्नो शक्तिभन्दा बढी शक्ति खोजेका कारण पार्टी एकीकरण हुन नसकेको हो । उहाँहरूले अध्यक्ष नै चाहिएका कारण पार्टी एकीकरण हुन सकेन । जति नेता उफ्रिए पनि स्थानीय तह, प्रदेश, प्रतिनिधिसभाको निर्वाचनले उहाँहरूको हैसियत देखाइसकेको छ ।
० वाम सरकारबाट के आशा गर्न सकिन्छ ?
– वाम सरकारले जनताबीच आर्थिक समृद्धि, बेरोजगार हटाउने, भ्रष्टाचार न्यूनीकरण गर्नेदेखि पानीजहाज, हावाबाट बिजुली, घरघरमा ग्यास, चीनबाट रेल ल्याउनेसम्मका योजना छन् । यसकै आधारमा जनताले मत दिएका छन् । चाहे यो उहाँकै टुक्का किन नहोस्, मेरो चाहना उहाँको टुक्का नै प्रतिबद्धतामा परिवर्तन होस् । हावाबाट बिजुली निस्कियोस् भन्ने उहाँलाई शुभकामना छ । तर, एउटा अहंकारका कारण वाम गठबन्धन जन्मिएको छ । खोक्रो राष्ट्रियतामार्फत उत्पीडित वर्गलाई भारतका पक्षपोषकको आरोप लगाएर वाम गठबन्धनले सत्ता हात पारेको छ । हेरौंला खोक्रो राष्ट्रियता कति दिन टिक्छ ?
० झलनाथ खनाल नेतृत्वको सरकारमा तपार्इं तीन महिना श्रममन्त्री बन्नुभयो । त्यो समयमा झलनाथ भारत भ्रमणमा गएनन् । अहिले केपी ओली नेतृत्वको सरकार र त्यो सरकारमा के तात्विक भिन्नता देख्नुहुन्छ ?
– यही देखाएर वाम गठबन्धनले चुनाव जितेको छ तर वास्तविकता अर्कै छ । ओली आए पनि जो आए पनि हाम्रो परममित्र भारत नै हो भन्ने प्रस्ट भइसकेको छ । सुष्मा स्वराजलाई हामीले निम्ता पठाएको हो ? भारतलाई चीनलाई दुस्मन नठानौं । असल छिमेकी र असल मित्र हुन् दुवै राष्ट्र । राष्ट्रिय हित अखण्डतालाई सर्वाेपरी ठानेर आफ्नो स्वार्थभन्दा फाइदा कहाँ हुन सक्छ त्यो आधारमा रिलेसन बनाउनुपर्छ । कसैलाई दुस्मन ठानेर राजनीति नगरौं । हाम्रा लागि हितकारी हुँदैन ।
० श्रममन्त्री हुँदा धेरै सुधारका काम गर्नुभयो । त्यो स्थानमा अहिले गोकर्ण विष्ट आइपुग्नुभएको छ । उहाँबाट के होस् भन्ने चाहनुहुन्छ ?
– नेपालमा अवैधानिक कामदार २५ देखि ३० लाख छन् । विदेशी कन्सुलरबाहेक सबै स्थानमा श्रम ऐन लागू हुन्छ । असल राष्ट्रियता र नेपालप्रति माया छ भने त्यस्ता अवैधानिक कामदारलाई हटाएर अहिले तुरुन्त २५ देखि ३० लाख नेपाली युवालाई रोजगारी दिन सकिन्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ । मेनपावरको ग्रेडिङ, बिमा एक लाखबाट ५ लाख, श्रम सहचारी पठाउने ऐतिहासिक निर्णय मेरै कार्याकालमा भयो । २०२० भित्र चाइल्ड वर्कर उन्मूलन नीति ल्यायौं । मेनपावर दर्ता बन्द मेरै कार्यकालमा भयो । ग्रेडिङ गरी अवैधानिक धन्दा चलाउने मेनपावर खारेज गरिनुपर्छ । २ सयभन्दा बढी मेनपावर लिगल छैनन् । कडाइसाथ अनुगमन गर्ने र ग्रेडिङका आधारमा फर्जी मेनपावर खारेज गर्ने हो भने गोकर्ण बिष्टजीको नाम स्वर्ण अक्षरले सदैव लेखिनेछ । जनआस्थाबाट