एकताको अन्तिम गृहकार्यमा ओली-दाहाल : तीन दिनदेखि लगातार छलफल,



एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन् । एकता संयोजन समितिमा दुई अध्यक्षबीच थप गृहकार्य गरी राजनीतिक–वैचारिक तथा सांगठानिक संरचना मिलाउन कार्यदल गठन गर्ने सहमतिअनुसार ओली–दाहाल हरेक दिन छलफलमा बसेर एकतालाई अन्तिम रूप दिने गृहकार्य अघि बढाएका हुन् ।

बालकोट र खुमलटार स्रोतका अनुसार सरकार गठनअघि नै सकेसम्म पार्टी एकता गर्ने योजनाका साथ ओली-दाहालले छलफल अघि बढाएका हुन् । यही कामका लागि दुवै नेता केही दिनयता पूर्वनिर्धारित सबै कार्यक्रम छाडेर एकता वार्तामा जुटेका छन् । बुधबार राष्ट्रिय सभा निर्वाचन भएपछि केही दिनभित्र परिणाम आउने र लगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद चयन प्रक्रिया अघि बढाउने गृहकार्य थालेपछि बढीमा फागुनको दोस्रो साता नयाँ सरकार गठन हुने लगभग निश्चित छ । सोहीकारण पनि एकताको दबाबमा रहेका ओली र दाहालले हरेक दिन वान टु वान वार्ता गरी एकताको विषयलाई टुंगो लगाउने प्रयास अघि बढाएका हुन् ।

स्रोतका अनुसार दुई नेताबीच केही दिनयता निरन्त्र छलफल चलिरहेको छ । शुक्रबार, शनिबार र आइतबारसमेत लगातार ओली र दाहालबीच पार्टी एकतामा देखिएको जटिलतालाई मध्यनजर गर्दै अन्तिम रूप दिने गरी छलफल भएको स्रोतले बतायो । विगतमा राखिएको एकता मोडालिटीमा कसरी व्यवस्थापन गर्ने र शीर्ष नेतादेखि जनसंगठन र कार्यकर्ताले समेत सम्मानजनक एकताको अनुभूति हुने गरी एकतालाई अन्तिम रूप दिने विषयमा केन्द्रित रही दुई नेताबीच छलफल भएको हो । ओली दाहालले एकता गृहकार्य अन्तिम रूप दिने पहल गरिरहँदा कतिपय विषयमा पार्टी नेतासँगसमेत परामर्श गरिरहेका छन् ।

‘एमाले र माओवादीबीच विचारमा खासै समस्या नदेखिए पनि विगतलाई कसरी हेर्ने भन्ने विषय र सांगठानिक संरचना तथा नेता कार्यकर्ताको सम्मानजनक व्यवस्थापन कसरी गर्ने भन्नेमा केही समस्या रहेको छ । सबै इतिहास बोकेका नेता रहेको र निर्वाचनमा जनताले स्पष्ट आकार दिएको अवस्थामा सबैले अपनत्व अनुभूति गर्ने गरी एकतालाई टुंगो लगाउने निचोडमा दुवै अध्यक्ष पुग्नुभएको छ, केही समस्या आए पनि समाधान उन्मुख छ,’ खुमलटार स्रोतले भन्यो ।

अन्तिम निर्णय लिने क्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, पार्टी अध्यक्ष, कार्यवहाक अध्यक्ष रहनेदेखि दुवै पार्टी विघटन गरी संयोजक, सहसंयोजकसम्मको विकल्पमा दुई नेताबीच छलफल भएको छ । तर, दुवैतिरका नेताहरूको दबाबमा ओली र दाहालले निर्णय लिन सकिरहेका छैनन् । एमालेभित्र अध्यक्ष छाडेर एकताको सहमति नगर्न दबाब रहेको छ भने माओवादीमा पनि यही दबाब छ । दुवैतिर दबाबका बीच ओली र दाहालले पार्टीका सबै नेतासँग आवश्यक सुझाव लिएर अन्तिम निर्णय लिने अवस्थामा पुगी छलफललाई घनिभूत पारेका हुन् ।

निष्कर्षमा पुग्नकै लागि ओली र दाहालले शुक्रबार, शनिबार र आइतबार लामो छलफल गरेका छन् । दुवै नेताले छलफलबाट आएको निचोड भने गोप्य राखेका छन । ‘एकताको अन्तिम निर्णय लिने अवस्थामा पुग्नुभएको छ, तर के–के सहमति बन्यो भन्ने विषय दुवै नेताले कसैलाई पनि खोलेका छैनन्, एकैपटक निर्णय दिनेमुडमा छलफल अघि बढेको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार ओली र दाहालले देश र जनताको चाहना एकता भएकोले एकताका लागि जस्तोसुकै कठोर र लचिलो निर्णय पनि लिन पछि नहट्ने सन्देश पार्टीभित्रका नेतालाई दिएका छन् ।

‘केही दिनयताको छलफलपछि दुवै नेता उत्साहित हुनुहुन्छ, कठोर निर्णय लिने मुड देखिन्छ, दुवैतिरका नेताहरूले अध्यक्षको निर्णयलाई सहर्ष स्वीकार गर्ने अवस्थाका लागि थप गृहकार्य गरिरहनुभएको हो,’ माओवादी केन्द्रका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन

लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु

    लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको

उपप्रधानमन्त्री पौडेल चीन प्रस्थान

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चिनियाँ