सुष्मा स्वराजको नेपाल भ्रमणका २३ घन्टा यसरी बिते,को-को संग के-के कुराकानी भए?



भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश फर्किएकी छिन्।
स्वराज बिहीबार नेपाल भ्रमणमा आउने क्रममा भारतीय वायुसेनाको विशेष विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएकी थिइन्।

उनलाई त्रिभुवन विमानस्थलमा अर्थराज्यमन्त्री उदय शम्शेर राणा र परराष्ट्र सचिव शंकर वैरागीसहितको सरकारी टोलीले स्वागत गरेको थियो।
बिहीबार ४ बजे नेपाल आएकी स्वराज शुक्रबार ३ बजे फर्किइन्।
यी २३ घन्टामा उनले नेपालका लगभग सबै शीर्ष नेतासँग भेट गरिन्। उनको पहिलो राजनीतिक भेट भने नेकपा एमालेका अध्यक्षबाट सुरु भएको थियो।

स्वराजको भ्रमणको समय-रेखाः

बिहीबारः
स्वराज बिहीबार करिब ४ बजे त्रिभुवन विमानस्थलमा उत्रेकी थिइन्। विमानस्थलमा पत्रकारहरुसामु छोटो प्रतिक्रिया दिँदै स्वराजले आफू कुनै एजेन्डा बोकेर नेपाल नआएको बताइन्। उनले आफू दुई देशबीच भ्रातृत्व विकासको लागि आएको जानकारी दिइन्।
उनी त्यहाँबाट सीधै कालिमाटीस्थित होटल सोल्टी पुगिन्। सो होटलमा एमाले अध्यक्ष ओलीले स्वराजको सम्मानमा रात्री भोज दिने कार्यक्रम थियो।

ओली र स्वराजबीच करिब पौने सात बजेदेखि एक्लाएक्लै छलफल भएको थियो। दुईजना बीच एक्लाएक्लै भेटअघि ओलीले स्वराजसहित भारतबाट आएका टोलीसँग सामूहिक भेट गरेका थिए। भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि सहभागी थिए।

ओली र स्वराज एक्लाएक्लै भेट सुरु भएपछि भारतबाट आएको टोलीसँग विष्णु रिमाल, राजन भट्टराई, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहभागीले छलफल गरेका थिए।

ओलीसँगको छलफल सकिएपछि करिब साढे आठ बजे राजपाका अध्यक्ष मण्डलका नेताहरुसँग भेट गरेकी थिइन्। छलफलमा राजपाका सबै अध्यक्ष सहभागी थिए। राजपाका नेतासँगको भेटपछि स्वराजको बिहीबारको कार्यक्रम सकिएको थियो।

शुक्रबारः

शुक्रबारको पहिलो भेट भने स्वराजले प्रचण्डसँग गरेकी थिइन्। दुई नेताले बिहान साढे ९ बजेदेखि झन्डै एक घन्टा कुराकानीमा बिताएका थिए।

भेटघाटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले चुनावपछिको परिस्थिति, सरकार गठनको तयारीबारे कुराकानी भएको बताए। स्वराजले अबको राजनीति कसरी अगाडि जाला भनेर जिज्ञासा राखेको पनि प्रचण्डले बताए।

प्रचण्डसँगको भेट सकिने बित्तिकै स्वराजले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भेटिन्। स्वराजलाई भेट्न यादव इनरुवाबाट राति काठमाडौं आएका थिए। स्वराजसँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै यादवले ‘हालखबर बुझ्ने काम’ भएको बताए।

यादवसँगको भेटपछि स्वराज राष्ट्रपति विद्या भण्डारीसँगको शिष्टाचार भेटको लागि शीतल निवास पुगेकी थिइन्। स्वराजले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र जनताको उत्साहका साथ सम्पन्न गराएको भन्दै बधाई दिएकी थिइन्।

राष्ट्रपति कार्यालयका अनुसार, भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको र दुई छिमेकीका बीच अझ प्रगाढ सम्बन्धका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो।
स्वराजले अन्तिम भेट प्रधानमन्त्रीसँग गरेकी थिइन्। प्रधानमन्त्रीले स्वराजलाई प्रधानमन्त्री निवास बालुवाटारमा दिवा भोज दिएका थिए।
बालुवाटारमै करिब १ बजेदेखि स्वराजसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कूटनीतिक अधिकारीहरुसँग संयुक्त भेटवार्ता गरेको थियो।

उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीको अग्रसरतामा भएको भेटमा प्रधानमन्त्री देउवा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, उद्योगमन्त्री सुनील थापा, अर्थराज्यमन्त्री उदय शम्शेर राणा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शंशाक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी थिए।
भारतीय पक्षबाट भने स्वराजसहित विदेश सचिव विजय गोखले, नेपालका लागि नेपालका भारतीय राजदूत मञ्जीव सिंह पुरीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्