अरु त अरु स्वयं अष्टलक्ष्मीले तीन-तीन पटक तपाई नै हो मुख्यमन्त्री बन्नु भएको छ,अहिले किन रडाको:राजेन्द्र पाण्डे



एमाले नेता राजेन्द्र पाण्डेले तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफू एक्लो दाबेदार भएको जिकिर गरेका छन् । प्रदेश तीनकी संयोजक समेत रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यतर्फ लक्षित गर्दै नेता पाण्डेले देश बनाउने कुरामा जाति, धर्म र लिङ्गको कुरा अगाडि सार्नु उपयुक्त नहुने तर्क गरे । शीर्ष नेताहरुको सहमतिमा आफू प्रदेशको चुनाव लड्न जिल्ला गएको उनले बताए । नेता पाण्डेसँग हामीले गरेको कुराकानी प्रस्तुत गरेका छौ ।

० खुलेर भन्नुहोस त प्रदेश ३ मा पक्का तपाईं नै हो मुख्यमन्त्री ?
– यो प्रदेशको एकजना अनुभवी राजनीतिज्ञ हुँ । चारपटक केन्द्रीय संसदको सदस्य भइसकेको, २०४८ देखि लगातार संसदमा भूमिका निर्वाह गरिरहेको, संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको, सचेतक, प्रमुख सचेतक र मन्त्रीसमेत भइसकेको नाताले ३ नम्बर प्रदेशमा मुख्यमन्त्री चलाउने क्षमता राख्छु ।
मैले प्राप्त गरेको अनुभव र क्षमता पहिलो पटक बन्न लागेको प्रदेश सरकारले पाओस् । यो क्षमता सदुपयोग गर्न नेपाली जनता, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न सकियोस् भन्ने लागेको छ । त्यसकारण मेरो योग्यता, क्षमताको कदर राज्यले गर्नुपर्छ भन्ने लागेर नै मैले मुख्यमन्त्रीको दाबी गरेको हुँ ।

० तर मुख्यमन्त्रीमा तपाईंको भन्दा अष्टलक्ष्मीको चर्चा बढी छ नि त ?
– मुख्यमन्त्रीजस्तो महत्वपूर्ण पद सञ्चालन गर्ने मामिलामा जात, धर्म र लिङ्गको कुरा उठाएर मैले पाउनुपर्छ भन्ने दाबी गर्नु गलत हो । हामीले संविधानमा ३३ प्रतिशत महिला सबै ठाउँमा व्यवस्था गरेका छौं । संविधानले व्यवस्था गरेको कुरा हामीले उल्लंघन गर्नुहुँदैन । त्यसबाहेक जात, धर्म लिङ्ग आदिका कुरा उठाएर फलानाले पाउनुपर्छ भन्ने कुरा अनुपयुक्त हो ।

० अष्टलक्ष्मीसँग यस विषयमा तपाईंको संवाद भइरहेको छ हो ?
– कुनै संवाद भएको छैन, केही समयभित्र दलको बैठक बस्छ, त्यही बैठकले नेता छान्ने हो । त्यही छानिएको नेता नै मुख्यमन्त्री हुन्छ । दलले निर्णय गर्ने परम्परा हामीले २०७० देखि प्रारम्भ गरेका छौं । त्यसबेला संसदीय दलमा अध्यक्ष केपी र झलनाथ खनाल उम्मेदवार बन्नुभयो । अध्यक्ष खनाललाई केपी ओलीले पराजित गर्नुभयो । त्यो हाम्रो अगाडि नजिर छ । भर्खरै प्रदेश ५ मा सांसदहरुले दलको बैठक बोलाइ शंकर पोखरेललाई निर्विरोध दलका नेता बनाइसक्नुभएको छ । हाम्रो पनि चाडै बैठक बस्छ र दलको नेता छान्छ ।

० सहमतिमा नेता छानिन्छ त अब ?
– दलको निर्वाचन हुन्छ, त्यही निर्वाचनले दलको नेता छान्छ । त्यही नेता मुख्यमन्त्री बन्छ ।

० संवाद सहमतिमा नेता छानिदैन ?
– संवादको जरुरी नै छैन, किनभने स्वयम अष्टलक्ष्मीले मलाई ३ पटक यो प्रदेशको मुख्यमन्त्री बन्न योग्य व्यक्ति भन्नुभएको छ । स्थायी समितिमा बसेर उहाँले नै प्रदेशमा चुनाव लड्न जानुहोस् भन्नुभएको हो । त्यसकारण यहाँ छलफल गरिराख्नुपर्ने आवश्यकता छजस्तो मलाई लाग्दैन ।

० दलको नेता छान्न निर्वाचनको विकल्प छैन ?
– एकजना मात्रै उम्मेदवार भए पनि त्यो विधि निर्वाचन नै हो । कसैले प्रस्ताव राख्छ, कसैले समर्थन गर्छ । अर्को उम्मेदवार भएन भने निर्विरोध बन्छ । हाम्रो प्रदेशमा पनि चुनाव हुन्छ जस्तो लाग्दैन । मेरोविरुद्ध अरु कोही उठ्छ जस्तो लाग्दैन ।

० यस विषयमा पार्टीका शीर्ष नेतासँग तपाईंको कुराकानी भएको छ ?
– शीर्ष नेता सबैसँग मेरो कुरा भएको छ । सबै नेताहरुलाई सोधेरै म प्रदेश सभाको निर्वाचन लड्न गएको हो । उहाँहरुले नै निर्णय गरेर प्रदेशमा चुनाव लड्न पठाएको हो मलाई ।

० मुख्यमन्त्री बन्न समूह नै परिवर्तन गर्नुभयो भनिन्छ नि ?
– म नेकपा एमालेको सिपाही हुँ, पार्टीभित्र जिम्मेवारी लिने हिसाबले म उपयुक्त छु, योग्य छु । पार्टीभित्र समूह छ भन्ने कुरा मलाई त्यत्ति धेरै थाहा छैन । यतिबेला हाम्रो पार्टी अध्यक्ष केपी ओली हुनुहुन्छ । अब देशको प्रधानमन्त्री पनि केपी ओली नै बन्दै हुनुहुन्छ । उहाँको प्रत्यक्ष निगरानी र निर्देशनमा काम गर्ने व्यक्तिहरुको खाँचो हुन्छ । त्यो काम गर्न म तयार भएर बसेको छु । पार्टीभित्रको गुट र समूहबारे म जानकारी राख्दिनँ ।

० सरकार वाम गठबन्धनको बन्छ ?
– माओवादी अध्यक्ष प्रचण्डलाई बधाइ दिने सिलसिलामा कार्यकालको सफलताको शुभकामना र पार्टीलाई मिलाएर एउटै बनाउन सफल हुनुहोस् भन्दै प्रदेश ३ को मुख्यमन्त्रीको उम्मेदवार हुँ, त्यतातिर ध्यान जाओस् भनेको थिएँ । उहाँले तपाईं उपयुक्त क्यान्डिडेट हो, यसबारे पछि छलफल गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँहरुसँग बसेर कुराकानी भएको छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका