उत्तर र दक्षिण कोरिया विश्वकै ‘खतरनाक स्थल’मा वार्ता हुँदै



उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय अन्तर कोरियाली वार्ता मङ्गलबार दक्षिण कोरियामा सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले मङ्गलबार बिहान दिएको जानकारी अनुसार यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा सुरु भएको छ ।

आपसमा मित्रवत सम्बन्ध रहन नसकेको यी दुई कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गगलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता सुरु भएको हो ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले दिएको जानकारी अनुसार सो वार्ता टोलीमा दुवै देशका तर्फबाट पाँच÷पाँच जना सदस्य रहेका छन् । सो वार्ता टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हटलाइन कम्युनिकेशन) मार्फत गएको शनिबार र आइतबार पठाइएको हो ।

सो वार्तामा दक्षिण कोरियाका तर्फबाट यहाँका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारी सहभागी छन् ।

त्यसैगरी उत्तर कोरियाको तर्फबाट त्यहाँको एक एजेन्सी, शान्तिपूर्ण पुनःएकीकरण समितिका अध्यक्ष रि सुन गाउनको नेतृत्वमा पाँच जना सदस्य रहेका छन् । उनीहरुको नाम गएको आइतबार उत्तरले सार्वजनिक गरेको हो ।

दुवै देशका तर्फबाट भएको यो सहभागिताका कारण यस वार्तालाई उच्चस्तरीय वार्ता भनिएको हो । दक्षिण कोरियाको प्रस्तावमा सुरु भएको यस वार्ता मङ्गलबार बिहान १० बजेबाट सुरु भएको बताइएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार मङ्गलबारका लागि दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको थियो । सोही बमोजिम मङ्गलबार बिहानबाट यो वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त नगरमा रहेको पिसफुल हाउस (शान्तिपूर्ण भवन) मा सुरु भएको सो वार्तामा बस्नुअघि उत्तर कोरियाको वार्ता टोलीका प्रमुख रिले भन्नुभयो– यो महत्वपूर्ण वार्ता हो र यसका माध्यमबाट आगामी दिनमा पनि यसरी नै द्विपक्षीय वार्ताहरु अघि बढ्न सकुन् भनेर कामना गर्न सकिन्छ ।

त्यसैगरी सो वार्तामा बस्नुपूर्व दक्षिण कोरियाली वार्ता टोलीका प्रमुख मन्त्री चो ले यस वार्तामा आफूहरु बडो धैर्यतापूर्वक बस्ने र यस वार्ताबाट आगामी शीतकालीन ओलपम्पिक खेललाई एउटा शान्तिको पर्व कसरी बनाउने भन्ने बारेमा सोचेर काम गर्ने प्रतिक्रिया दिनुभयो ।

नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधन पछि यसरी यो वार्ताको परिस्थिति निर्माण भएको हो । उहाँले सो सम्बोधनमार्फत दक्षिण कोरियाले गरेको उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने बताउनुभएको थियो ।

त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ ।

यस वार्तामा सो आलम्पिक खेलका बारेमा व्यापक मात्रामा छलफल हुने जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागतगर्दै वार्ताको तयारी व्यापक र द्रूत गतिमा गर्न निर्देशन दिनुभएको थियो ।

वार्तामा आगामी ओलम्पिक खेलका साथै कोरियाको द्विपक्षीय कोरियाली विभिन्न मुद्दाहरुमा छलफल हुने बताइएको छ । तर ती मुद्दा के हुन् भन्ने बारेमा भने केही सार्वजनिक गरिएको छैन ।

कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणहरुबाट उत्पन्न परिस्थितिका विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको भए पनि यस विषयमा दुवै पक्षबाट आधिकारिक रुपमा भने केही आएको छैन ।

महासचिव गुथ्रेस र अमेरिकी राष्ट्रपतिद्वारा स्वागत

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको स्वागत गर्नुभएको छ । उहाँले हालै सम्वाददाताहरुसँग भन्नुभएको थियो– म त सधैँ वार्ताकै पक्षमा छु, सबै समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्नेमा म विश्वास गर्छु ।

दुई कोरियाको बीच तय भएको सो वार्ताको स्वागतगर्दै उहाँले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस् भन्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

त्यसैगरी पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको विषयले आफू खुशी भएको धारणा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि व्यक्त गर्नुभएको थियो ।

उहाँले सो प्रस्तावित उच्चस्तरीय वार्ताको स्वागत गर्दै यसले दुई कोरियाली देशबीच आगामी दिनमा पनि शान्ति र सौहार्दताको वातावरण निर्माण गर्न र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सहयोग पुगोस भनी कामना गर्नुभएको थियो ।

उत्तर कोरियाली नेताले दक्षिणको प्रस्तावमा हुने तय भएको शान्ति वार्तामा बस्नु आफू तयार रहेको प्रतिक्रिया दिएपछि महासचिव गुथ्रेसले सो धारणा हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको