विद्युत्भार कटौती हुँदैन : प्राधिकरण



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ ।

विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो ।

हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । प्राविधिक समस्याका कारण कहीँ कतै केही समयसम्म विद्युत् आपूर्तिमा अवरोध आएको भए पनि विद्यत्भार कटौती नहुने उहाँले बताउनुभयो ।

“समस्या देखिएका स्थानमा प्राविधिक टोली खटाएर समाधान गर्दैआएका छौँ,” उहाँले भन्नुभयो । विद्युत् आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई ध्यान दिई फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइएको र वितरण प्रणालीलाई सदृढ गरिएको उहाँले बताउनुभयो । हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाब घट्दा विद्युत् उत्पादनमा कमी आउने गरेको छ । यही समयमा विद्युत् माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

विद्युत् आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको र ग्राहकलाई बत्ती दिन गत वर्षझै यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने प्राधिकरणले जनाएको छ । विद्युत्भार कटौती न्यूनीकरण गर्न प्राधिकरण विद्युत् माग र आपूर्ति व्यवस्थापनको योजना बनाएर कार्यान्वयनमा लागेको छ । विद्युत् उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत् आयोजनाबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।

अपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत् माग हुने समयमा मात्र तीन घण्टा विद्युत् कटौती गर्ने गरेको छ । यस वर्षको हिउँदको विद्युत् मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहका उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत् भारतबाट आयात गर्ने योजना बनाएको छ ।

विद्युत् आपूर्तिका लागि नेपाल आत्मनिर्भर नभएको अवस्थामा नेपाल–भारत प्रसारण लाइनबाट सहजरुपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत् खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...