चुनाब जिते पछी प्रचण्डकी बुहारी बिना मगरले भनिन-कुनै न कुनै प्रदेशमा महिला मुख्यमन्त्री बन्नै पर्छ म पहल गर्छु



माओवादी केन्द्रकी उम्मेदवार बीना मगरले कञ्चनपुर १ मा कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गरिन्। मगरले ३८ हजार ४ सय ६७ मत पाउँदा विष्टले १९ हजार २ सय १९ मत पाएका थिए।
बाल कलाकारबाट विद्यार्थी नेतृ हुँदै पार्टी राजनीतिमा आएकी मगर ०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार भएकी थिइन्। तर, उनी यसपटककै प्रतिस्पर्धी विष्टसँग पराजित भइन्। त्यतिबेला उनी तेस्रो भएकी थिइन्। विष्टले १० हजार २ सय ९४ मत पाउँदा मगरले ९ हजार १ सय ५१ मत पाएकी थिइन्।

महिला उम्मेदवारहरुले निकै कम ठाउँमा मात्रै जित हासिल गरेका बेला पत्रकारकिशोर दहालले मगरसँग कुराकानी गरेका छन्। नेपाल लाइभका लागी गरिएको कुराकानी प्रस्तुत गरिएको छ।

तपाईंको जितको कारण के हो?

कञ्चनपुरको दक्षिणी भेग भनेको कम्युनिस्टहरुको उर्बर थलो हो। अर्कोतिर हामी कम्युनिस्ट पार्टीहरु एक भएर पनि आयौं। त्यो अर्को आधार हो। यहाँका आमाबुबा, दिदीभाई तथा सबैले मलाई कञ्चनपुरबाट पहिलो महिला प्रतिनिधिका रुपमा देख्न चाहनुभयो। त्यस्तै, म यहाँ निरन्तर रुपमै फिल्डमै काम गरिरहेको छु। निरन्तर जनताको माझमा छु। यिनै कारणले यहाँका जनताले मलाई जिताउनुभयो।

प्रत्यक्षतर्फ महिला उम्मेदवारको विजय निकै कम मात्रै भयो। यस्तो किन भयो जस्तो लाग्छ?

यो सामान्य विषय होइन। ठूलै विषय हो। यसलाई पार्टी नेतृत्वले गहिरो गरी समीक्षा गर्नुपर्छ। मुख्यगरी महिलालाई उम्मेदवारी बनाउने सन्दर्भमै पार्टीहरुको धारणा सकारात्मक भएन। त्यस्तै, महिला उम्मेदवारलाई ‘डेन्जर जोन’मा उम्मेदवार बनाइयो। जहाँ पार्टी तुलनात्मक रुपमा कमजोर छ, त्यस्ता क्षेत्रमा मात्रै प्रतिस्पर्धा गर्न पठाइयो। हार्ने सम्भावना भएको ठाउँमा मात्रै महिलालाई उम्मेदवार बनाइयो। सुरक्षित मानिएका ठाउँमा पुरुष उम्मेदवार नै प्रतिस्पर्धामा उत्रिए। अर्कोतिर महिला नेतृत्वप्रति अविश्वास गरियो। यिनले पनि लड्न सक्छन्, कमान्ड लिन सक्छन् भन्ने कुरामा पार्टी नेतृत्व र कार्यकर्ता तहमा पनि स्कुलिङको अभाव रह्यो। अर्कोतर्फ हामी महिला नै कति प्रतिबद्ध छौं र कति सक्षम छौं, कति दृढ भएर अगाडि बढ्छौं भन्ने कुराले प्रभाव पार्छ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला उपस्थिति सुनिश्चित गर्ने र समग्रमा महिला प्रतिनिधित्व बढाउने भनौं वा महिला सशक्तीकरणको जुन लडाइँ छ। त्यो अझै बाँकी छ भन्ने महसुस हुँदैन?

एकदम बाँकी छ। ३३ प्रतिशत महिला हुनुपर्ने मागलाई सम्बोधन गर्न मात्रै खोजिएको जस्तो देखिन्छ। औपचारिकता पूरा गर्न मात्रै खोजिएजस्तो देखिन्छ। तर, हाम्रो लडाइँ ३३ प्रतिशत मात्रै नभएर ५० प्रतिशत नै हो। त्यसकारण सिंगो महिलाको प्रतिनिधित्व हुने गरेर सरकार निर्माण र नीति निर्माणमा ५० प्रतिशत नै हुनुपर्छ भन्ने हाम्रो माग छ। यो लडाइँ त बाँकी नै छ। यो लैंगिक हकको लडाइँ बाँकी नै छ।

निर्वाचन परिणाम अनुसार ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ। कुनै प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छ, त्यसका लागि केही दबाब दिनुहुन्छ?

यो विषयमा सम्बोधन हुनुपर्छ। कुनै न कुनै प्रदेशमा महिलालाई मुख्यमन्त्री बनाउन जरुरी छ। किनकि जम्मा ७ वटा प्रदेशमा ३३ प्रतिशतकै हिसाब गर्ने हो भने पनि दुई-तीन वटामा महिला मुख्यमन्त्री हुनुपर्छ। यो स्वभाविक हो। त्यसैले यो विषयमा मेरो दबाब वा पहल रहन्छ।

अब तपाईंले गर्ने मुख्य कामहरु केके हुन्छ?

मेरो क्षेत्रका मानिसहरु सीमा समस्याबाट उत्पीडित छन्। आत्मस्वाभिमानका साथ बाँच्ने कुरामा धेरै समस्या छन्। त्यसैले सीमाको समस्या समाधान गर्ने कुरा प्रमुख प्राथमिकताको विषय छ। त्यसैले हाम्रो विवादित सीमालाई स्पष्ट पार्ने मेरो मुख्य लडाइँ हो। त्यस्तै स्वस्थ्य, शिक्षा, रोजगार र बाटोघाटो निर्माण तथा औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने आधारहरुमा टेकेर मैले काम गर्छु।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको