२०४८ देखि चुनाब क्षेत्रलाई बिर्ता बनाएर सिन्को नभाच्ने यी हुन् सात कांग्रेसी,यो पटक को-को हार्दैछन?



०४८ साल यता छैटौं पटक मुलुकमा संसदीय निर्वाचन हुँदैछ। चुनावी मैदानमा उत्रिएका केही नेता यस्ता छन्, जसले अरुलाई चुनाव लड्न अवसर दिएकै छैनन्। जतिपटक चुनाव हुन्छ, त्यनि नै पटक उनीहरुको हातबाट बाहिर टिकट जाँदैन। कांग्रेसमा ७ जना नेता यस्ता छन्, जसले आफ्नो क्षेत्रमा नयाँलाई अवसर दिएकै छैनन्।

कांग्रेसबाट हरेक चुनावमा आफैं उठ्ने र अरुलाई अवसर नदिने नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी र विजयकुमार गच्छदार हुन्।

शेरबहादुर देउवा

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ०४८ सालदेखि डडेल्धुराबाट निरन्तर निर्वाचन लडिरहेका छन्। सबै चुनाव जितेका देउवाले यस पटक वारेसनामा मार्फत उम्मेदवारी दिएका छन्। यो चुनावमा उनको प्रतिस्पर्धा वाम गठबन्धनतर्फका माओवादी नेता खगराज भट्टसँग हुँदैछ।

रामचन्द्र पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २२ वर्षयताका सबै निर्वाचनमा निरन्तर लडिरहेका छन्। ०४८ सालमा तनँहु-१ बाट निर्वाचित पौडेल २०५१ र २०५६ को संसदीय चुनावमा तनहुँ-२ बाट विजयी भए। उनी २०६४ र ७० को संविधानसभा निर्वाचनमा पनि तनहुँ-२ बाटै निर्वाचित भए। नयाँ संविधान अनुसार निर्वाचन क्षेत्र हेरफेर भएपछि उनले तनहुँ-१ बाट उम्मेदवारी दिएका छन्। तनहुँबाट निरन्तर जिते पनि त्यस क्षेत्रमा केही नगरेको र अरुलाई अवसर नदिएको असन्तुष्टि व्यक्त गर्दै उनीविरुद्ध नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन्। जोशी विरुद्ध अदातलमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी दिन नमिल्ने दाबी सहित पौडेलले निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्। पौडेलको प्रतिस्पर्धा एमालेका किसान कुमार श्रेष्ठसँग हुनेछ।

कृष्णप्रसाद सिटौला

कृष्णप्रसाद सिटौला पनि ०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन्। पहिलो पटक उनी एमालेका द्रोण आचार्यसँग झापा क्षेत्र नम्बर-१ मा ५ हजार मतले पराजित भएका थिए। आचार्यको निधनपछि भएको उपनिर्वाचनमा भने सिटौला विजयी भए। उनले एमालेका लीला उदासीलाई पराजित गरे। २०५१ सालको संसदीय चुनावमा उनले एमालेका पुष्प पोखरेलसँग पराजय भोग्नुपर्यो। २०५६ मा उनी फेरि चुनावी मैदानमा उत्रिए। एमालेका नारायण राजवंशीलाई पराजित गर्दै उनी सांसद भने। २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा झापा-३ बाट उम्मेद्वार बनेका सिटौलालाई माओवादीकी धर्मशीला चापागाईंले पराजित गरिन्। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी विजयी भए। झापा-३ बाटै लडेका उनले राप्रपाका राजेन्द्र लिङ्देनलाई हराएका थिए। अहिलेको निर्वाचनमा उनी झापा-३ बाट प्रतिस्पर्धा गरिरहेका छन्। उनका प्रतिस्पर्धा राप्रपाका राजेन्द्र लिङ्देनसँगै हुँदैन।

रामशरण महत

२०४८ सालदेखि रामशरण महत नुवाकोटबाट निरन्तर चुनावी मैदानमा उत्रिरहेका छन्। २०४८ सालमा राप्रपाका प्रकाशचन्द्र लोहनीसँग पराजित उनी २०५१ देखि हालसम्मका सबै निर्वाचनमा विजयी भएका छन्। छैटौँ पटक नुवाकोट-१ बाट चुनावी मैदानमा उत्रिएका उनको प्रतिस्पर्धा माओवादीका हितबहादुर तामाङसँग हुँदैछ।

अर्जुनरसिंह केसी

कांग्रेस नेता अर्जुननरसिंह केसी पनि निरन्तर चुनाव लड्नेको सूचीमा छन्। ०४८ र ०५१ मा नुवाकोट-३ बाट निर्वाचित केसी ०५६ को संसदीय चुनाव र ०६४ को संविधानसभा चुनावमा भने पराजित भए। ०७० को दोस्रो संविधानसभा चुनावमा नुवाकोट-१ बाट निर्वाचित भएका केसी यसपटक नुवाकोट- २ मा एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धामा गर्दैछन्।

बलबहादुर केसी

नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट सधैँ निर्वाचन लड्छन्। ०४८, ०५१ र ०५६ को संसदीय चुनावमा विजयी भएका केसी २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका गोपाल किराँतीसँग पराजित भएका थिए। २०७०मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी विजयी भए। यो चुनावमा केसीले वाम गठबन्धनबाट उठेका माओवादी केन्द्रका हेमकुमार राईसँग प्रतिस्पर्धा गर्ने नेपाल लाइभले उल्लेख गरेको छ।

विजयकुमार गच्छदार

विजयकुमार गच्छदार पनि सदाबहार चुनाव लड्ने नेता हुन्। कांग्रेसबाट ०४८, ०५१ र ०५६ गरी तीनै पटक सुनसरी-३ बाट उनी सांसद बने। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनले सुनसरी-३ र मोरङ-७ बाट जितेका थिए। मोरङ-७ मा उनले कांग्रेसका शेखर कोइरालालाई हराएका थिए। त्यसबेला उनी मधेसी जनअधिकार फोरममा थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उठेका उनले सुनसरी-३ बाट चुनाव जिते। तर, मोरङ-७ मा भने कांग्रेसका शेखर कोइरालाले नै उनलाई पराजित गरे। १० वर्षपछि पुनः कांग्रेसमा फर्किएका गच्छदार अहिले सुनसरी-३ बाट उम्मेदवार बनेका छन्। उनले वाम गठबन्धनतर्फकी एमाले उम्मेदवार भगवती चौधरीसँग प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको