बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय
बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषदको आज बसेको बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आफैं निर्माण गर्ने निर्णय गरेको हो। सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ।
ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री कमल थापाले आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने जानकारी दिए।
गएको जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणको जिम्मा चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो। तर कात्तिक २७ गते सरकारले सो सम्झौता रद्द गर्यो।