४५६ मेगावाटको माथिल्लो तामाकोशीको मुख्य सुरुङ निर्माण सम्पन्न



हाम्रो इकोनोमि

काठमाण्डौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भएको हो ।

कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । कूल ४५६ मेघावाट क्षमताको सो आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको लगानी छ । मुख्य सुरुङ भैँसेदेखि गोगरडाँडासम्मको खण्डको खन्ने कार्य ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख विज्ञानराज श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजनाको अत्यन्त कठिन कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ खन्ने कार्य गत भदौ ३१ गते नै सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार हाल ‘हेड वक्स’को ९० प्रतिशत र भूमिगत विद्युत्गृहको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ ।

त्यस्तै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलअन्तर्गत उपकरण जडानको कार्य धमाधम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी गोगर–खिम्ती २२० केभी प्रसारण लाइन निर्माणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । कूल १२७ टावरमध्ये हालसम्म ११८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ । ९७ वटा टावरको जडान कार्य सम्पन्न भएको छ भने ७।५ किलोमिटर तार तान्ने कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । २०७२ सालको ‘गोरखा भूकम्प’ले गर्दा मुख्य सुरुङ निर्माण कार्य डेढ वर्ष स्थगित भएको थियो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले मुलुकको आन्तरिक माग धान्नका लागि सहायक सिद्ध हुने आयोजनाको विश्वास छ ।

सुरुङ निर्माण कार्य सम्पन्न भएकामा खुशी व्यक्त गर्दै ऊर्जा सचिव उपाध्यायले लामो समयदेखिको नेपालीले अपेक्षा गर्दै आएको आयोजनाको सबैभन्दा अप्ठेरो कार्य सम्पन्न भएपछि आयोजना नयाँ गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् इतिहासमा स्वदेशी लगानीमा नै यति ठूलो परियोजना निर्माण सम्पन्न हुने क्रममा पुग्नु सबै नेपालीका लागि खुशी र उत्साहको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...