कानुनको धज्जी उडाएर अवैध दाइजो लिएका यी कांग्रेसी यसरी यी क्षेत्रबाट चुनाव लड्दैछन्,कस्ले कति दाइजो लिएका थिए चुनाबमा कति खर्च गर्दैछन?



सामाजिक सुरक्षा ऐन-२०३३ को दफा ५ (२) मा भनिएको छ- ‘विवाह हुँदा जिउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कूल परम्परा अनुसार राजीखुसीले दिनेले पनि बढीमा १० हजार रुपैयाँसम्मको मात्र दाइजो दिन हुन्छ।’

ऐनले विवाहमा दाइजो तथा तिलक लिनदिन बन्देज लगाएको छ। तर आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कानुनविपरीत दाइजो लिने नेताहरु पनि उम्मेदवार बनेका छन्। त्यसमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समेत छन्।

दफा ३ मा विवाह हुँदा तिलक लिनदिन नहुने र लिएमा बिगो जफत गरी १२ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ। तर, आफ्नो विवाहमा धेरै नेताले कानुनविपरीत दाइजो लिएका थिए। २०७१ सालमा यो ऐनमा केही संशोधन भएको छ।

कानुनको खिल्ली उडाएर दाइजोमा प्रशस्त सुन र अन्य सम्पत्ति लिएको स्वीकार गर्ने केही नेताहरु कहाँबाट चुनाव लड्दैछन् त? दाइजोमा सुन लिने केही नेताको सम्पत्ति विवरण र उनीहरुले चुनाव लड्दै गरेको क्षेत्रलाई केलाउने प्रयास गरेको छ। यसमा मुख्यतः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमा सम्पत्ति विवरण उपलब्ध भएका र आसन्न चुनावमा प्रतिस्पर्धा गरिरहेका केही नेता तथा मन्त्रीहरुको चुनाव क्षेत्रलाई उल्लेख गरेका छौं। सम्पत्ति विवरणबाट सुनचाँदी लगायत गरगहनालाई मात्रै आधार बनाइएको छ।

शेरबहादुर देउवा
देउवाले बुझाएको सम्पत्ति विवरणमा असर्फी, सिक्री, ब्रासलेट र औंठी लगायतको सम्पत्ति उनीसँग भएको देखिन्छ। तर, उनले औंठीको स्रोतमा ‘स्वआर्जन’ लेखेका छन् भने बाँकीमा ‘विवाहमा प्राप्त’ लेखेका छन्। गृहमन्त्री रहेकै बेला २०४८ सालमा विवाह गरेका देउवाले गैरकानुनी रुपमा दाइजो लिएका थिए। उनी डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा छन्।

विजयकुमार गच्छदार
मन्त्री भएपछि गच्छदारले बुझाएको सम्पत्ति विवरणमा उनीसँग ७५ तोला सुन भएको उल्लेख छ। हाल उनी उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री हुन्। उनले पनि सुनको स्रोतमा पुर्ख्यौली, दाइजो तथा स्वआर्जन उल्लेख गरेका छन्। तर, कति सुन कताबाट आएको हो, खुलाएका छैनन्। उनी यसपटक सुनसरी-३ बाट चुनावी प्रतिस्पर्धा छन्।

ज्ञानेन्द्रबहादुर कार्की
कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ३० तोला सुनको स्रोत दाइजो भएको उल्लेख गरेका छन्। कार्की सुनसरी–४ बाट चुनावी प्रतिस्पर्धामा छन्।

मोहनबहादुर बस्नेत
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग भएको १ सय २ तोला काँचो सुन तथा गहनाको स्रोत विवाह तथा पैतृक हो। जसमध्ये ३५ तोला सुन पैतृक भएको उनले उल्लेख गरेका छन्। तसर्थ, उनले विवाहमा ६७ तोला सुन दाइजोमै लिएको देखिन्छ। उनी सिन्धुपाल्चोक-१ बाट चुनावी प्रतिस्पर्धामा छन्।

रामशरण महत
नेपाल लाइभका अनुसार महतले पनि सुशील सरकारका बेला पेश गरेको सम्पत्ति विवरणमा आफूसँग ९५ तोला सुन भएको विवरण भरेका थिए। तर, उनले चलाखी गरेर दाइजो र स्वआर्जन छुट्याएका थिएनन्। कांग्रेस नेता महत यसपटक नुवाकोट–१ बाट प्रतिस्पर्धा गर्दैछन्।

विमलेन्द्र निधि
कांग्रेस नेता निधि गृहमन्त्री भएका बेला बुझाएको सम्पत्ति विवरणमा उनीसँग ६० तोला सुन भएको उल्लेख छ। र, त्यसको स्रोतको रुपमा विवाहबाट प्राप्त भएको लेखेका थिए। उनी धनुषा–३ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्दैछन्।

रामकृष्ण यादव
कांग्रेस नेता रामकृष्ण यादव धनुषा-२ बाट चुनावी प्रतिस्पर्धामा छन्। उनीसँग ५० तोला सुन छ। र, त्यसको स्रोत दाइजो र खरिद उल्लेख छ। तर, कति दाइजोबाट आएको र कति खरिद गरिएको हो, खुलाइएको छैन।

वीरबहादुर बलायर
कांग्रेस नेता बलायरसँग भएको २५ तोला सुनको स्रोत पनि दाइजो नै हो। उनी पनि प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। उनी डोटी-१ बाट प्रतिस्पर्धा गर्दैछन्।

मीनबहादुर विश्वकर्मा
नेता विश्वकर्मासँग २९ तोला सुन छ। त्यसको स्रोत पेवा, दाइजो एवं खरिद हो। तर, उनले पनि कति दाइजोबाट पाएको र कति खरिद गरेको हो, छुट्याएका छैनन्। उनी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि समानुपातिक सूचीमा छन्। निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक उम्मेदवारको सूचीमा उनको नाम ७७ नम्बरमा छ।

यज्ञबहादुर थापा
कांग्रेस नेता थापासँग ३० तोला सुन छ। त्यसको स्रोतमा उनले लेखेका छन्, पैतृक हो या दाइजो। उनी कास्की-१ बाट चुनावी प्रतिस्पर्धामा छन्।

सञ्जयकुमार गौतम
सिँचाइ मन्त्री समेत रहेका कांग्रेस नेता सञ्जयकुमार गौतम बर्दिया-१ बाट चुनावी मैदानमा उत्रिएका छन्। उनीसँग ६५ तोला सुन छ। त्यसको स्रोत पैतृक र दाइजो उल्लेख छ। तर, उनले कति दाइजो र कति पैतृक भन्ने छुट्याएका छैनन्।

शेषनाथ अधिकारी
१५ तोला सुन भएका र स्रोतमा ‘परम्परागत गरगहना तथा वैवाहिक कार्यक्रममा उपहार स्वरुप’ पाएको उल्लेख गरेका कांग्रेस नेता अधिकारी चितवन-२ बाट प्रतिस्पर्धा गर्दैछन्। उनी अहिले शिक्षा राज्यमन्त्री हुन्।

नरबहादुर चन्द
चन्द बैतडीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन्। उनले ३५ तोला सुन भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। वाणिज्य राज्यमन्त्री चन्दले पनि सुनको स्रोतमा पैतृक तथा दाइजो लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको