चितवनमा प्रचण्डलाई डेरा खोज्न एमाले-माओबादीका नेता परिचालन,चितवन-३ मा चुनाब भारी अड्डा जमाएर बस्ने यस्तो छ प्रचण्डको दाउ



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन ३ मा उम्मेदवारी गरेलगत्तै एमाले–माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु उनलाई जिताउन घरदैलोमा त व्यस्त छन् नै, जिल्लाका अगुवा नेता–कार्यकर्ताहरु अर्काे काममा पनि उत्तिकै गम्भीरतापूर्वक लागेका छन्। त्यो हो, प्रचण्डका लागि चितवन–३ मा डेरा खोज्ने काम।

प्रचण्डको गृहजिल्ला चितवन भएपनि त्यहाँ उनको आफ्नै घर छैन। राजनीतिमा लागेर पूर्णकालिन हुनुअघि बाबुबाट पाएको दुई विघा जग्गाका मालिक प्रचण्डले भूमिगतकालमा आफ्नो घरलगायत सबैजसो जग्गा बेचेकाले चितवन–३ को चुनावी प्रचारमा जाँदा कहाँ बस्ने भन्ने समस्या परेको छ। त्यसैले, उनलाई पायक पर्नेगरी डेराको खोजी भइरहेको छ।

उम्मेदवारी दर्ताका लागि १५ कार्तिकमा चितवन पुगेका प्रचण्डले पाँच दिन चितवनमा बिताएका थिए। शान्ति प्रक्रियामा आएपछि उनले चितवनलाई यतिधेरै समय दिएको पहिलो अवसर थियो यो। पाँच दिनको चितवन बसाईबाट उनले के अनुभव गरे भने, कम्तिमा चुनाव अवधिभरका लागि भएपनि आफ्नै छुट्टै डेरा चाहिने रहेछ।

१५–२० कार्तिकसम्म चितवनमा रहँदा प्रचण्डले भरतपुर महानगरपालिकामा मेयर रहेकी छोरी रेणु दाहालको भरतपुर–१० स्थित डेरामा बिताएका थिए। तर चितवन–३ का उम्मेदवार रहेका प्रचण्डलाई त्यहाँ रहेर चुनावी अभियान सञ्चालन गर्न अप्ठेरो प¥यो। किनभने, त्यो ठाउँ चितवन–३ मा होइन, चितवन–२ मा पर्छ।

त्यसैले चितवन–३ मा उम्मेदवारी दर्तासँगै पायक ठाउँमा एमाले–माओवादी केन्द्रका नेता–कार्यकर्ताले डेरा खोजी गरे। सबैभन्दा पायक पर्ने गरी प्रचण्ड हुर्केको गाउँ शिवनगरलाई प्राथमिकता दिएर डेराको खोजी सुरुभयो। ‘एउटा घर त पाइएको थियो, तर निकै महङ्गो’ माओवादी केन्द्रका नेता समेत रहेका प्रचण्डका भाई नारायण दाहालले भने, ‘भाडा नै एक लाख भनेपछि त्यो घरमा नबस्ने निर्णय गरियो।’

माओवादी केन्द्रका जिल्ला नेता द्रोण सिवाकोटीका अनुसार प्रचण्डका लागि डेरा खोज्न एमाले–माओवादी केन्द्रका कार्यकर्तामात्र होइन, शीर्ष नेतापनि खटिएका छन्। वामगठबन्धन चितवनका संयोजक छन्, माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री अमिक शेरचन। उनीपनि प्रचण्डलाई पायक पर्नेगरी डेरा खोजिरहेका छन्। तर भेटिएको छैन।

प्रचण्ड वामगठबन्धनलाई विजयी गराउन यसै हप्तादेखि देशव्यापी चुनावी अभियानमा जाँदैछन्। त्यसका लागि उनी चितवनलाई नै केन्द्र बनाउने योजनामा छन्। जहाँ–जहाँ आवस्यक पर्छ, उनी चितवनबाटै ती जिल्लामा पुग्नेछन्। ‘त्यसैलेपनि उहाँका लागि डेरा आवस्यक प¥यो’ माओवादी केन्द्रका चितवनका एक नेताले भने, ‘तर अहिलेसम्म भनेजस्तो डेरा भेटिएको छैन।’

खासमा आवस्यकता र मूल्यमा तालमेल नमिल्दा डेरा भेट्टाउन कठिन भएको हो। यसअघि आफ्नो स्थायी निर्वाचन क्षेत्र नहुुनुको पीडा भोगेका प्रचण्ड अब चितवन–३ लाई नै स्थायी निर्वाचन क्षेत्र बनाउन चाहन्छन्। र, धेरै समय त्यहीँ दिने योजनामा छन्। त्यसैले आफ्ना सुरक्षाकर्मीका लागिपनि अनुकूल, तर २५–३० हजार रुपियाँ सम्मको डेरा खोज्न उनले निर्देशन दिएका छन्।

चितवनमा डेरा खोज्नुपर्ने अवस्थामा पुगेका प्रचण्डसँग राजनीति लागेर पूर्णकालिन बन्नुअघि भने दुई बिघा जमीन थियो। २०१९ मा प्रचण्डको बुबा मुक्तिराम दाहाल कास्कीबाट चितवन झर्दा शिवनगरमा दुई बिघा जग्गा किनेका थिए। हुर्केपछि केही समय मास्टरी गरेका प्रचण्डको कमाई र ढुकुटी खेलेर जम्मा भएको पैसाबाट उनका बाबु मुक्तिरामले थप दुई बिघा जग्गा किनेका थिए।

 

चितवनको शिवनगरमा प्रचण्डका बुबाले किनेको घर

राजनीतिमा सक्रिय हुन थालेपछि प्रचण्डको घरमा प्रहरी निगरानी बढ्न थाल्यो। परिवारका अन्य सदस्यलाई पनि प्रहरीले दुःख दिनथाल्यो। त्यसपछि सल्लाहमै प्रचण्ड २०३७ मा बाबुआमासँग छुट्टिए। उनको भागमा दुई बिघा जग्गा प¥यो। तर पूर्णकालिन बनिसकेका प्रचण्डले आफ्नो भागमा परेको त्यो जग्गा २–४ कठ्ठा गर्दै बेच्न थाले, श्रीमानश्रीमतीसहित ४ जना सन्तान पाल्नु जो थियो।

राजनीतिक सक्रियतासँगै घरखर्च चलाउन एकपछि अर्काे गर्दै जग्गा बेचेका प्रचण्डले बचेको पैसाबाट चितवनका क्षेत्रपुरमा दुई कठ्ठा जग्गा किने। त्यो पनि वहिनीज्वाइँहरुको दवावमा उनले त्यहाँ जग्गा किनेका थिए। शिवनगरमा जग्गा बेच्दा आएको रकमबाट उनले जेठी बहिनी अप्सराबाट त्यो जग्गा किनेका थिए।

बाबुआमासँग छुट्टिएलगत्तै प्रचण्डले सुरुमा भीमसेननगरमा सानो घर बनाएका थिए। तर भीमसेननगरको घरजग्गापनि बेचेपछि बहिनीबाट किनेको क्षेत्रपुरको २ कठ्ठा जग्गामा नयाँ घर बनाए। काठचाहिँ भीमसेननगरकै पुरानो घरबाट ल्याए। जब उनी पार्टीको महामन्त्री भए, उनले क्षेत्रपुरमा बाँकी रहेको दुई कठ्ठामध्ये आधा अर्थात् एक कठ्ठा जग्गापनि बेचेर पार्टीलाई बुझाए।

बाँकी एक कठ्ठा जग्गापनि बेच्ने तरखरमा थिए प्रचण्ड। तर उनले जनयुद्ध सुरु गर्ने निर्णय गरे, भूमिगत भए। त्यसपछि त्यो जग्गा बेच्ने स्थिति नै रहेन। प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्ने एक कठ्ठा जग्गा त्यसरी नै बचेको हो। क्षेत्रपुरको त्यो जग्गा अहिले चितवन–२ मा पर्छ।

‘शान्ति प्रक्रियामा आएपछि उहाँलाई त्यही जग्गामा घर बनाउन सुझाव दिइएको हो, तर उहाँले मान्नु भएन’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘जब झन् चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने निर्णय गरेपछि मान्ने सम्भावना नै छैन। त्यसैले, अहिलेका लागि हामी उहाँका लागि अनुकूल हुने गरी डेरा खोजिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको