गणतन्त्रले जन्माएका १४ उपप्रधानमन्त्री को-को प्रत्यक्षमा र को समानुपातिमा उठ्दैछन् ?



मुलुकले गणतन्त्र प्राप्ति पछि १४ जना उपप्रधानमन्त्रीहरु पाईसकेको छ। पछिल्लो १० वर्षमा चुनावी मन्त्रिपरिषद् सहितलाई मान्ने हो भने नौ वटा सरकार परिवर्तन भईसकेका छन्। हामीले संक्रमणकालीन व्यवस्था भनेर जति पनि सरकार परिवर्तन गर्र्यौँ। सरकारमा जति पनि मन्त्रीहरु थप्यौं। तर हामीले मन्त्री र उपप्रधानमन्त्री बनाएका व्यक्तिहरु को कस्ता छन् त ? के उनीहरु जनताको सीधा मतले चुनिएर आएका हुन् कि पार्टीलाई आएको मतको आधारमा समानुपातिक सिटबाट चुनिएकाहरु हुन् ?

पछिल्लो ८ वटा सरकारलाई मात्रै हिसाव गर्दा १४ जना उपप्रधानमन्त्रीहरु भएका छन्। फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा र माओवादी नेता कृष्णबहादुर महरा एक भन्दा बढी पटक उपप्रधानमन्त्री बनेका छन्। यस्तो हेर्दा कूल १४ उपप्रधानमन्त्रीहरु को को प्रत्यक्ष निर्वाचन मार्फत् जिते र अहिले को को प्रत्यक्ष तर्फ उठ्दैछन् ?

सबैभन्दा पहिले गणतन्त्र प्राप्ति पछिको पहिलो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारका एक मात्रै उपप्रधानमन्त्री रहेका बामदेव गौतम २०७० सालको निर्वाचनमा बर्दिया १ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्। उनले माओवादीका उम्मेदवारलाई झण्डै ६ हजारको मतान्तरले पराजीत गराएका हुन्। आफ्नो क्षेत्रमा उनको अहिले पनि राम्ररै प्रभाव रहेकोले उनी अहिले पनि प्रत्यक्ष तर्फ चुनाव लड्ने तयारीमा छन्। एमालेका शीर्ष नेताहरु प्रायः सबै प्रत्यक्ष तर्फ नै चुनाव लड्ने निर्णय पार्टीले गरिसकेकोले उनी प्रत्यक्ष चुनाव लड्ने निश्चित छ।

त्यस्तै, गणतन्त्र पछिको दोस्रो सरकार गठन भएको थियो माधव कुमार नेपालको नेतृत्वमा। उनको नेतृत्वमा २ जना उपप्रधानमन्त्रीहरु थिए विजय कुमार गच्छदार र सुजाता कोइराला। यिनीहरु दुई मध्ये गच्छदार २०४८ सालदेखि अहिलेसम्मका कुनैपनि संसदीय निर्वाचनमा अपराजीत उम्मेदवार पनि हुन्। उनी यसपाली पनि प्रत्यक्ष तर्फ उम्मेदवारी दिनेमा कुनै शंका छैन। यद्यपि उनी काँग्रेसमा प्रवेश गरिसकेकाले काँग्रेसको पदाधिकारी बन्ने निश्चित छ। त्यसैले गच्छदार पनि प्रत्यक्ष तर्फ नै उम्मेदवारी दिने उनी निकट स्रोतले जानकारी दिएको छ। अर्की उपप्रधानमन्त्री सुजाता कोइरालाको नाम समानुपातिकको बन्द सूचीमा पेश गरिएको र उनी समानुपातिकमा नै बस्ने निश्चित छ।

अर्का उपप्रधानमन्त्री हुन् माओवादी नेता कृष्ण बहादुर महरा। माओवादीकै अर्का नेता जनार्दन शर्मासँग राजनीतिक प्रतिस्पर्धामा रहेका कारण महरा पनि प्रत्यक्ष तर्फ नै चुनाव लड्ने निश्चित प्रायः नै रहेको छ। उनी २०७० सालको निर्वाचनमा रोल्पा १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। अहिले भने उनी रोल्पाबाट लड्ने कि दाङबाट लड्ने भन्ने विषयमा निश्चित भईसकेको छैन।

अर्का उपप्रधानमन्त्री हुन् नेकपा एमालेको नेता भरत मोहन अधिकारी। महरा र अधिकारी दुबै झलनाथ खनाल प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री बनेका थिए। अधिकारी अहिले बुढेशकाल लागिसकेकोले प्रत्यक्ष चुनाव नलड्ने मनस्थितीमा छन्। उनी यस भन्दा अघि २०७० सालको चुनावमा समानुपातिक तर्फ उम्मेदवारी दिएको भएपनि त्यस भन्दा अघि उनी प्रत्यक्षमा चुनाव जितिरहेका नेता हुन्। उनको उमेरको कारण पनि उनी अहिले प्रत्यक्ष चुनाव लड्ने पक्षमा देखिँदैनन्।

अर्का नेता नारायणकाजी श्रेष्ठ डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्दाको समयमा उपप्रधानमन्त्री बनेका नेता हुन्। उनी अहिले गोरखा २ बाट चुनाव लड्ने लगभग पक्कापक्की भईसकेको छ। यसै विषयमा उनले सो क्षेत्र छाड्न नमानेपछि बाम गठबन्धनमा जोडिएका डा. बाबुराम भट्टराईले गठबन्धन नै छाड्नुपरेको थियो। बाम गठबन्धनमा जाँदा काँग्रेसलाई जरैबाट मेटिनुपर्छ भन्ने अभिव्यक्ति दिने भट्टराई गठबन्धनमा कुरा नमिलेपछि भने काँग्रेसको शरणमा आईपुगेका छन्। उनी अहिले काँग्रेसको सहयोगमा गोरखा २ बाट आँखा चिन्न लिएर चुनाव लड्ने सार्वजनिक घोषणा नै गरिसकेका छन्।

काँग्रेस नेता प्रकाशमान सिंह पनि सुशील कोइरालाको पालामा उपप्रधानमन्त्री बनेका थिए। उनी यस अघि पनि काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार बनेर विजयी भएका थिए भने अहिले पनि सोही क्षेत्रबाट चुनाव उठ्ने पक्षमा छन्। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट विवेकशील साझाले सम्मानजनक मत ल्याएको छ। सोही पार्टीका संयोजक रविन्द्र मिश्रले पनि काठमाडौं क्षेत्र नं १बाट उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा समेत लागिसकेपछि उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ।

समानुपातिकबाट सांसद् बनेका हुन् कमल थापा। उनी ओलीको पालादेखि यता तीन पटक उपप्रधानमन्त्री बनिसकेका छन्। थापा यस अघि पनि समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवार बनेका थिए भने अहिले पनि समानुपातिक तर्फ नै उम्मेदवार बन्ने पक्षमा छन्। उनी प्रत्यक्षमा चुनाव जित्ने नै पक्षमा नरहेकोले अहिले समानुपातिक तर्फ नै उम्मेदवारी दिएका छन्। यद्यपि काँग्रेसले ढाडस दिएको गण्डमा मकवानपुरबाट उनी चुनाव लड्नसक्ने झिनो सम्भावना पनि देखिन्छ।

त्यसपछि उपप्रधानमन्त्री बनेका माओवादीका टोप बहादुर रायमाझी र एमालेका भीम रावल पनि यो साल प्रत्यक्षमा नै उठेर देखाउने पक्षमा छन्। उनीहरु मध्ये रायमाझी २०७० को संविधानसभाको निर्वचनमा अर्घाखाँची १ बाट विजयी भएका हुन् भने रावल अछाम १ बाट विजयी भएका हुन्। उनीहरु अहिले पनि यही क्षेत्रबाट चुनाव लड्ने पक्षमा रहेका छन्। रायमाझी आफू उपप्रधानमन्त्री बन्नेबेलैमा बाम एकता गराउने पक्षमा सक्रिय रहेका उनी त्यतिबेलै बाम एकता गराउने पक्षमा रहेका थिए। एकता गराउने पक्षमा राम्रो भूमिका खेलेकै कारण उनलाई उपप्रधानमन्त्री समेत बनाईएको थियो। तर सोही कार्यकालमा उपप्रधानमन्त्री बनेका मालेका महासचिव सिपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने प्रत्यक्ष तर्फ चुनाव नलड्ने पक्षमा रहेका छन्। २०६४ र २०७० सालको चुनावमा केही सिट ल्याएका उनीहरुको यत्तिकै बस्दा थ्रेस होल्डकै कारण अस्तित्व संकटमा देखिएको छ। चित्र बहादुर केसी भने अहिले मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारीसँग एकीकरण गर्ने तयारीमा छन्।

त्यसपछि बाँकी रहेका नेपाली काँग्रेसका नेताद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पनि प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारीमा रहेका छन्। जसमध्ये निधि यस अघि पनि धनुषा ३ बाट उम्मेदवारी दिएर विजयी बनेका थिए भने गोपालमान श्रेष्ठ स्याङ्जाबाट समानुपातिक तर्फका सांसद् हुन्। उनीहरु पनि अहिले प्रत्यक्ष तर्फ नै उम्मेदवारी दिने पक्षमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाशको पनि दाबी

    सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी गरेका

कांग्रेसले सदनमा कुण्ठा पोख्यो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको

अत्यावश्यक बाहेक घरबाट ननिस्कन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

    इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

    संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि लागु