बैंक नहुँदा सेवाग्राहीलाई सास्ती



हाम्रो इकोनोमि

जिल्लाका चारवटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

दुई नगरपालिका र चारवटा गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना हुन सकेको छैन । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु विकास स्थापना भएपनि पनि सरकारी कारोबार गर्न स्वीकृति पाइएको छैन ।

सदरमुकाम म्याङलुङ्ग नगरपालिकामा मात्रै सरकारी कारोबार गर्ने नेपाल बैंक छ । पूर्वी आठराइ गाउँपालिकामा दुई वर्षअघि खुलेको नेपाल बंगलादेश बैंकलाई गत भदौदेखि मात्र सरकारी कार्यालयको कारोबार गर्ने अनुमति राष्ट्र बैंकले दिएको छ ।

जिल्लाका मेन्छ्यायेम, फेदाप र छथर गाउँपालिकामा अहिलेसम्म एउटा पनि बैंक खुलेको छैन । बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या भएको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको आठराइ छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।

बैंकको कामकै लागि चार घण्टासम्म पैदल हिँडेर सदरमुकाम आउन बाध्य हुनुपर्ने अवस्था अझै कायमै रहेको छथरवासीको गुनासो छ । गाउँमा बैंक छैन । आर्थिक कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । चालु आवको बजेट वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, निवृत्तिभरणलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

स्थानीय तहमा बैंक स्थापना भइनसक्दा स्थानीयवासीले समयमै भुक्तानी पाउन सकेका छैनन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । पूर्वाधार अभाव, सुरक्षा, वित्तीय संकटलगायत विभिन्न कारण देखाएर बैंकले शाखा स्थापनामा ढिलाइ गरिरहेका छन् ।

स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । चालु आवको पहिलो चौमासिकको तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको स्थानीय तहका कर्मचारीले बताएका छन् ।

“प्रक्रिया सबै गाउँमा मिलाउनुपर्छ, पैसा निकाल्न सदरमुकाम आउनु पर्छ,” फेदाप गाउँपालिकाका कार्यकारी अधिकृत सुमन लिङ्देनले भन्नुभयो । गाउँपालिकामा कर्मचारी व्यवस्थापनसमेत भइनसकेको अवस्थामा पहिलेभन्दा अहिले बढी समस्या भोग्नुपरेको उहाँको भनाइ छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाइ भएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताउनुभयो ।

गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि हप्तौँसम्म सदरमुकाममै देखिने गरेका छन् । जनप्रतिनिधि र कर्मचारी जिल्लामै केन्द्रित हुन थालेपछि सेवाग्राहीलाई सास्ती भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...