यस्तो छ वाम गठबन्धनको सिट भागबन्डा प्रस्ताव,कहाँ-कहाँ हुदैछ भद्रगोल



एमाले र माओवादी नेताहरूले निर्वाचन क्षेत्र र सिट संख्याको भागबन्डा मिलाउने छलफल जारी राखेका छन् । दुई दलले जित्ने निश्चित मानेका क्षेत्रहरूको प्रारम्भिक सूची आदानप्रदान गरेका छन् ।

माओवादी केन्द्रले आइतबार आन्तरिक गृहकार्य नटुंग्याएपछि क्षेत्र र सिट बाँडफाँड लम्बिएको नेताहरूले बताएका छन् । उसले जित्ने निश्चित भनेका क्षेत्रहरूमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षको प्राप्त मत परिणामसहितको तथ्यांक प्रस्तुत गरिसकेको छैन ।

‘हामीले मत परिणामको स्थिति राखेका छौँ, उहाँहरूले पनि राख्नुभएको छ,’ बाँडफाँड कार्यदलका सदस्य तथा एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘तर, उहाँहरूले गृहकार्य पूरा गरेपछि मात्रै थप छलफल हुनेछ ।’

माओवादीले गृहकार्य नगर्दा लम्बियो

शुक्रबार माओवादीले र शनिबार एमालेले पार्टीका तर्फबाट क्षेत्रहरूका आ–आफ्ना सूची प्रस्तुत गरेका थिए । आइतबार थप आन्तरिक गृहकार्यसहित छलफलमा आउने गरी माओवादी नेताहरूले समय मागे पनि उपस्थित हुन नसक्ने जानकारी गराएपछि आइतबार ३ बजेका लागि डाकिएको कार्यदलको बैठक स्थगित भएको थियो ।

‘उहाँहरूले आन्तरिक गृहकार्य गरेर आउँछौँ, आइतबार ३ बजे बसौँ भन्नुभएको थियो, तर गृहकार्य पूरा नभएको जानकारी गराउँदै स्थगित गरौँ भन्ने प्रस्ताव गरेपछि थप छलफल भएन,’ एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘आन्तरिक गृहकार्य सकिएपछि फेरि छलफल हुनेछ।’

एमालेको सूची: ६० प्रतिशतभन्दा कम
केन्द्रमा ८५, प्रदेशमा १७० क्षेत्र

एमालेले शनिबारको छलफलमा स्थानीय तह २०७४ मा वडाध्यक्षले प्राप्त गरेको मत परिणामका आधारमा ८५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रभन्दा पहिलो रहेको तथ्यांक प्रस्तुत गरेको छ ।

त्यस्तै, प्रदेश सभातर्फ १७० वटा क्षेत्रमा वडाध्यक्षको मत परिणाममा दुवै दलभन्दा पहिलो रहेको देखाएको छ । कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रको मत नजोडीकनै एमालेकै मतले पहिलो र जित्ने सुनिश्चित देखिएकाले ती क्षेत्रहरू छाड्न नसकिने क्षेत्रका रूपमा पार्टीको ‘बटमलाइन’ प्रस्तुत गरेका छन् ।

दुई दलले यसअघि नै जुन क्षेत्रमा जुन दल पहिलो छ, त्यो क्षेत्र त्यही दललाई छाड्ने गरी मापदण्ड बनाइसकेका छन् । कांग्रेसपछि दोस्रो र माओवादी केन्द्रसँग तालमेल हुँदा एमालेका प्रत्यक्षतर्फका उम्मेदवारले संघमा कम्तीमा अरू ३० सिट र प्रदेशमा पनि त्यसभन्दा बढी जित्न सकिने एमाले नेताहरूको दाबी छ । ६०/४० को अनुपातको सहमतिअनुसार एमालेले केन्द्रमा ९९ र प्रदेशमा १९८ सिट प्राप्त गर्नुपर्ने हुन्छ ।

माओवादीको सूची ४० प्रतिशतभन्दा माथि
केन्द्रमा ७०, प्रदेशमा १ सय ४४

माओवादी केन्द्रका तर्फबाट महासचिव रामबहादुर थापा बादल र नेता वर्षमान पुन अनन्तले पार्टीका तर्फबाट केन्द्रमा ७० र प्रदेशमा १४४ सिट जित्न सकिने दाबीसहितको सूची प्रस्तुत गरेका छन् ।

माओवादीले भने वडाध्यक्षको मतका आधारमा एमाले र कांग्रेसभन्दा पहिलो रहेको क्षेत्रका रूपमा परिणामसहितको तथ्यांक प्रस्तुत गरेको छैन । माओवादीले प्रस्तुत गरेको यो सूची नयाँ शक्ति पार्टी नेपालसहित तीन दलबीच ६०/४० को अनुपातमा सिट बाँडफाँड गर्ने सहमतिभन्दा केही प्रतिशत माथि छ ।

माओवादीले ४० प्रतिशत सिट पाउने सहमति लागू हुँदा केन्द्रमा ६६ र प्रदेशमा १३२ सिट प्राप्त गर्नेछ । ‘उहाँहरूले आफूलाई अलिकति माथि राखेर क्षेत्र र सिटको सूची राख्नुभएको थियो, तर हामीले तपाईंहरूको एमालेकै जस्तो स्थानीय तहको मत परिणामअनुसारको तथ्यांक देखिएन नि भनेपछि उहाँहरूले यो सामान्य ढंगले मात्रै राखेका हौँ, तथ्यांकसहितको वास्तविक सूची होइन भन्नुभो,’ कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘अनुपातअनुसार मिल्दैन, यही नै अन्तिम पनि होेइन, हामी आन्तरिक गृहकार्य गरेर तथ्यांकसहित छलफलमा बस्ने गरी आउँछौँ भन्नुभएको छ ।’

ओली र प्रचण्डलाई बाँडफाँडको प्रारम्भिक सूची

कार्यदलका तर्फबाट सदस्यहरूले आ–आफ्ना पार्टी अध्यक्षलाई बाँडफाँडको प्रारम्भिक सूचीसहितको मस्यौदा प्रतिवेदन बुझाएका छन् । एमाले महासचिव पोखरेलले आइतबार प्रारम्भिक प्रतिवेदनसहित अध्यक्ष ओलीलाई प्रगति विवरण रिपोर्टिङ गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका तर्फबाट पनि अध्यक्ष प्रचण्डलाई कार्यदलको प्रगतिबारे रिपोर्टिङ गरिएको नेताहरूले जनाएका छन् ।

०७० को परिणाम र वडाध्यक्षको मत निर्णायक

एमाले र माओवादी केन्द्रले प्रदेश र केन्द्रको क्षेत्र कसले लिने टुंगो लगाउन ०७० को मत परिणाम र ०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामलाई मुख्य आधार मान्ने भएका छन् । दुवैको मत हेरेर अन्तिम टुंगो लगाउने गरी छलफल चलिरहेको नेता पाण्डेले बताए ।

०७० मा हारे पनि पछिल्लो निर्वाचनमा यदि धेरै वडाध्यक्ष जितेको छ भने त्यो क्षेत्रमा बढी जित्ने दलले नै टिकट लिने सम्भावना रहेको नेताहरूको भनाइ छ । तर, दुवै निर्वाचनलाई तुलना गरेर मात्रै क्षेत्र निर्धारण हुने समितिका अर्का सदस्यले जानकारी दिए ।

सबै जिल्लामा दुवै पार्टीलाई सिट

हरेक जिल्लामा केन्द्र र प्रदेशको सिटमध्ये दुवै दलले कम्तीमा एउटा सिट पाउने समझदारी कार्यदलमा बनेको छ । यो समझदारीअनुसार एउटा दलले केन्द्रको सिट लिए अर्को दलले कम्तीमा प्रदेशमा एउटा सिट पाउनेछ । ‘कुनै पनि जिल्लामा एउटा दल निल नहुने गरी सिट बाँडफाँड गर्ने समझदारी भएको छ,’ समितिका एक सदस्यले भने ।

यसअनुसार माओवादी केन्द्र निल भएको धनकुटामा उसले प्रदेशतर्फको प्रत्यक्षमा भए पनि कम्तीमा एक सिट पाउनेछ । त्यस्तै, एमाले निल भएको गोरखामा उसले संघको सिट नपाए प्रदेशतर्फको एक सिट पाउने छ ।

कुन प्रदेशमा कसलाई कति ?

अहिलेसम्म चलिरहेको छलफलका आधारमा ७ वटै प्रदेशमा माओवादी र एमालेवीच ‘बार्गेनिङ’ चलिरहेको छ । यो सहमति अन्तिम नभए पनि सूत्रहरुले दिएको जानकारी अनुसार सीटको बाँडफाँट सम्बन्धी बहस यस्तो छः

प्रदेश १

प्रदेश १ मा प्रतिनिधिसभातर्फ माओवादीले बढीमा ५ सीट पाउने सम्भावना देखिएको छ । यद्यपि उसले ८ सीटसम्म दाबी गरेको छ । प्रदेश १ का २८ सीटमध्ये झापामा १, मोरङमा २ र उदयपुरमा १ सीट माओवादीले पाउने लगभग निश्चित छ ।

माओवादीले सोलुखुम्बु, भोजपुर, खोटाङ र सुनसरीको एउटा सीटमा पनि दाबी गरेको छ । यीमध्ये बढीमा दुई सीट माओवादीलाई दिएर प्रदेशसभा बढी लिने गरी सहमतिको प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।

प्रदेश २

प्रदेश २ का ३२ मध्ये माओवादीलाई १६ सीट छाड्न एमाले तयार भइसकेको छ । यो चनावमा स्थानीय चुनावमा वडाको मतका आधारमा एमाले र माओवादीले बराबरी जितेका छन् भने लोकपि्रय मतमा एमाले केही मतले अगाडि छ ।

प्रदेश २ अन्तर्गत एमालेले सप्तरीमा माओवादीलाई २ सीट छाड्नेछ । बाँकी २ मध्ये एक सीटमा मधेसवादी दलका नेता मोहम्मद इस्लामलाई छाडेर एमाले एक सीटमा लड्न सक्ने सम्भावना छ ।

सिरहामा माओवादीले ३ सीट दाबी गरेको छ । एमालेले दुई-दुई सीट बाँड्ने प्रस्ताव राखेको छ ।

धनुषामा एमाले र माओवादीले दुई-दुई सीट बाँड्ने तयारी गरेका छन् भने महोत्तरीमा माओवादीले ३ र एमालेले १ सिट पाउने सम्भावना छ ।

सर्लाही, रौतहट, बारा र पर्सामा दुई दुई सीट बाँड्ने अनौपचारिक सहमति भएको बुझिएको छ । यद्यपि माओवादीले रौतहटमा पनि तीन सीट दाबी गरेको छ । यहाँ स्थानीय तहको चुनावमा एमाले पराजित भएको थियो ।

प्रदेश २ मा माओवादीले १७ सीट पाउने सम्भावना छ । एमालेले आफ्नो कोटाबाट राजपाका अर्का नेतालाई सूर्य चिन्हबाट लडाउने गरी १४ सिटमात्रै लिने तयारी गरेको छ ।

प्रदेश ३

स्रोतका अनुसार प्रदेश ३ का ३३ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सीट दाबी गरेको छ, जसमा सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, काभ्रे र ललितपुरमा माओवादीले एक-एक सिट पाउनेछन् । त्यस्तै रामेछापमा पनि प्रतिनिधिसभाको सिट माओवादीले पाउने भएको छ ।

काठमाडौंमा माओवादीले खासै धेरै सीटमा रुची देखाएको छैन । उसले बढीमा ३ सीटसम्म पाउन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।
एमाले स्रोतले दिएको जनाकारी अनुसार दोलखा, भक्तपुर र रसुवामा माओवादीले प्रतिनिधिसभामा दाबी गरेको छैन । प्रदेश ३ मा माओवादीले १२ सीट पाउने सम्भावना छ ।

प्रदेश ४

प्रदेश ४ मा प्रतिनिधिसभाका १६ सिटमध्ये माओवादीले ७ सिट दावी गरेको छ । तर, स्थानीय तहको चुनावको परिणाम र सांगठानिक अवस्था हेर्दा माओवादीलाई बढीमा ४ सिट भन्दा छाड्न नसकिने निष्कर्षमा एमाले नेताहरु छन् ।

माओवादीले गोरखाका दुबै सीट दाबी गरेको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् । अहिले यो सबैभन्दा पेचिलो विषय बनेको छ कार्यदलमा । माओवादी कायकर्ताहरु सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामप्रति असाध्यै नकारात्मक देखिएको एक एमाले नेताले बताए ।

स्रोतका अनुसार माओवादीलाई गोरखा, तनहँ र बाग्लुङमा एक-एक सीट दिन एमाले सहमत भएको छ ।

माओवादी नेता देव गुरुङले इच्छा व्यक्त गरेकाले एमालेका पृथ्वीसुब्बा गुरुङ सहमत भएमा माओवादीले लमजुङ पाउनेछ । कास्की र स्याङ्जामा भने माओवादीको जित्न सक्ने मत नभएकाले त्यहाँ दावी नगरेको एमाले नेता बताउँछन् । यद्यपि देव गुरुङले कास्की १ बाट चुनाव लड्ने रुची देखाएका छन् ।

मनाङ र मुस्ताङमा माओवादीको उपस्थिति कमजोर रहेकाले उसले म्याग्दीको प्रतिनिधिसभाको सीट दावी गरेको छ । सम्भवतः माओवादीले गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ र म्याग्दी समेत गरी ५ सीट पाउने एमाले नेता बताउँछन् ।

प्रदेश ५

प्रतिनिधिसभामा २६ सीट रहेको प्रदेश नम्बर ५ मा माओवादी र एमालेमात्र होइन, राजापाका विद्रोही नेतालाई पनि सीट बाँडफाँड गरिँदैछ, जसमा हृदयेश त्रिपाठी नेतृत्वका चार राजपा नेताले चार सीट पाउनेछन् । उनीहरु सूर्य चिन्हबाट लड्ने निश्चित भइसकेको छ ।

बाँकी रहेका २२ सिटमध्ये माओवादीले नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ र बर्दियामा एक-एक सीट पाउने एमाले नेता बताउँछन् ।

त्यस्तै अर्घाखाँची, रोल्पा र रुकुमका तीनै सीट माओवादीले पाउने सम्भावना छ । प्युठानमा मसाललाई छाड्ने वा वामदेव गौतम लडेको खण्डमा एमालेले पाउने भन्ने टुंगो छैन । त्यहाँ माओवादीले पनि मणि थापाका लागि दाबी पेश गरेको छ ।

प्रदेश नं ५ मा माओवादी र राजपाका विद्रोही नेताले लिएर बाँकी रहेका १४ वा १५ सीटमा एमाले लड्ने स्रोतले जनाएको छ ।

प्रदेश ६

स्थानीय तहको मत परिणामका आधारमा एमालेभन्दा केही मतले मात्रै पछि परेको माओवादीले प्रदेश ६ मा आधा अर्थात ५० प्रतिशत सिट पाउने एमाले नेताहरु बताउँछन् । प्रदेश ६ का १२ सीटमध्ये माओवादीले सल्यान, रुकुम, जाजरकोट, कालिकोट र जुम्ला पाउने लगभग सहमति भइसकेको नेताहरुले बताएका छन् ।

माओवादी तर्फबाट हुम्ला र सुर्खेतको २ नम्बर क्षेत्र पनि दावी पेश भएको छ । यीमध्ये दुवै सिट माओवादीले पाएमा एमालेले १२ मध्ये ५ सिटमा मात्रै प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाउनेछ । तर, उसले सुर्खेतका दुवै सीटमा दाबी गरेको छ ।

प्रदेश ७

प्रदेश ७ मा प्रतिनिधिसभा १६ सीटमध्ये एमाले र माओवादीबीच कतिकति बाँड्ने भन्ने बारेमा कार्यदलमा छलफल भइसकेको छैन । माओवादीले कैलालीमा ५ मध्ये २ र कञ्चनपुरमा ३ मध्ये एक सिट पाउने अनौपचारिक सहमति भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यस्तै वैतडी, दार्चुला र डडेलधुराका तीन सीटमध्ये माओवादीले एउटा र एमालेले दुई सिट पाउने सम्भावना छ ।

उता सेतीका पहाडी जिल्लामध्ये डोटी, बझाङ र बाजुरा एमालेले दाबी गरेको छ । अछाममा एक-एक सीट बाँड्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यसो गर्दा माओवादीले ७ नम्बर प्रदेशका १६ मध्ये ५ सिट पाउनेछ । तर, माओवादी पक्षबाट भने १६ मध्ये कम्तिमा ६ सीट दावी पेश भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्