गठबन्धन जोगाउन कांग्रेस यसरी बन्यो लम्पसार,८० भन्दा बढी सिट दाइजो दिन कांग्रेसको यस्तो छ तयारी



नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ सिटमध्ये ८० भन्दा बढी सिट लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुलाई दिने तयारी गरेको छ। मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल वाम गठबन्धन बनाएर चुनावमा जाने भएपछि कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने निष्कर्षमा पुगेको हो।

गठबन्धनका ५ दललाई ८० भन्दा बढी सिट दिने कांग्रेसको प्रस्तावमा गठबन्धनमा रहेका संघीय समाजवादी फोरम, राजपा नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिक सकारात्मक छन्। संघीय समाजवादी फोरम र राजपा नेपाललाई मात्र ४५ भन्दा बढी सिट दिने प्रस्ताव कांग्रेसले अघि सारेको छ। यस्तै, गठबन्धनमा रहेको नेपाल लोकतान्त्रिक फोरम र राप्रपा १५–१५ तथा राप्रपा प्रजातान्त्रिक १० बढी सिट दिन सकिने प्रस्ताव कार्यदल तथा शीर्ष नेताहरुको बैठकमा कांग्रेसले प्रस्ताव गरेको छ।

लोकतान्त्रिक गठबन्धन बनाएर अघि बढ्दा वाम गठबन्धनलाई कडा चुनौती दिन सकिने निष्कर्षमा कांग्रेस पुगेको छ। कांग्रेसका एक नेताले दोस्रो संविधान सभा निर्वाचन र स्थानीय तह निर्वाचनको परिणामलाई मध्यनजर गरेर निर्वाचन क्षेत्रको बाँडफाँड गरिनेछ। यसरी क्षेत्र बाँडफाँड र सिट संख्या निर्धारण गर्दा दोस्रो संविधान सभा र स्थानीय तह निर्वाचनमा जित हासिल गरेका क्षेत्रमा राजपा र फोरम नेपालका उम्मेदवारलाई नै टिकट दिइनेछ। यी दुई दलले स्थानीय तह निर्वाचनमा दुई नम्बर प्रदेशमा आफूहरुले जितेका क्षेत्र आफैलाई दिनु पर्ने माग पनि गरिरहेका छन्। यो विषयमा कांग्रेस सकारात्मक रहेको कार्यदलका एक सदस्यले जानकारी दिए।

संघीय समाजवादी र राजपा दुई दलबीच अधिकतम ठाउँमा चुनावी गठबन्धन गर्ने सहमति भइसकेको छ। त्यसैले पनि यी दुई दलले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन आफूहरुलाई सम्मानजनक स्थान दिनु पर्ने बताउँदै आएका छन्।

गठबन्धनका दलसँग बेग्लाबेग्लै बसेर प्रधानमन्त्रीले सिट संख्या टुंग्याउने
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेर सिट संख्याको विषय टुंगो लगाउने भएका छन्।

सिट संख्याको विषयलाई टुंगो लगाउने प्रयासस्वरुप प्रधानमन्त्री देउवाले आइतबार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन्। प्रधानमन्त्री देउवा र गठबन्धनमा आबद्ध दलका शीर्ष नेताबीचको बैठकले सिट संख्या टुंगो लगाएपछि कार्यदलले जिल्ला र निर्वाचन क्षेत्र बाँडफाँडको कामलाई अघि बढाउने छ।

के हुँदैछ लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा?
लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने सहमत भएका कांग्रेससहित ६ दलले सिट संख्या, निर्वाचन क्षेत्र बाँडफाँड, साझा चुनावी एजेन्डा बनाउन कांग्रेस नेता विमलेन्द्र निधि संयोजक रहेको कार्यदलले काम गरिरहेको छ। छलफललाई बाक्लो बनाएको कार्यदल बैठकमा शनिबार साँझ पनि सिट संख्या, क्षेत्र बाँडफाँडलगायतका विषयमा छलफल भएको थियो।

उक्त छलफलमा लोकतान्त्रिक गठबन्धन बनाएर जानेमा ६ दलकै नेताहरु एकमत भएको कांग्रेस केन्द्रीय सदस्य एवं कार्यदल सदस्य डा. मिनेन्द्र रिजालले बताए। ‘छलफल सकारात्मकरुपमा अघि बढेको छ। सैद्धान्तिकरुपमा हामी लोकतान्त्रिक गठबन्धन बनाएर जाने कुरामा सबै सहमत भएका छौं’ उनले भने,‘एक दुई दिनभित्रैमा टुंगोमा पुग्छौं।’

कार्यदलका सदस्य एवं नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरीले कार्यदलले सिट संख्या, निर्वाचन क्षेत्र बाँडफाँड लगायतका विषयमा ड्राफ्ट तयार गरेपछि शीर्ष तहमा पनि छलफल हुने बताए। ‘गठबन्धनमा आबद्ध दलहरुले आआफ्ना प्रस्ताव राखेपछि सिट संख्यालाई टुंयाउनेबारे छलफल अघि बढ्छ,’ चौधरीले भने। उनले प्रधानमन्त्री देउवा र गठबन्धन दलका शीर्ष नेताहरुबीच सिट संख्या बाँडफाँडबारे कुरा मिलेपछि निर्वाचन क्षेत्र बाँडफाँडको पनि टुंगो लाग्ने बताए।

चौधरीले कार्यदलले सबै विषयलाई समेटेर ड्राफ्ट तयार पारेपछि ६ दलका शीर्ष नेताहरुबीच पनि छलफल हुने बताए। उनले चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा सबै सहमत भएकाले छिट्टै सिट संख्या र क्षेत्र बाँडफाँडको टुंगो लाग्ने बताए।

कुन दलको कति सिटमा दाबी?
लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलमध्ये संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच चुनावमा तालमेल गर्ने सहमतिमा हस्ताक्षर भइसकेको छ। त्यसैले यी दुई दलले सामूहिकरुपमा गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेससँग ५० बढी सिटको दाबी गरिरहेका छन्। संघीय समाजवादी र राजपाले छुट्टाछुट्टै नभई प्रतिनिधि सभाको १६५ मध्ये ५० भन्दा बढी सिट आफूले पाउने सामूहिक दाबी कांग्रेस समक्ष पेश गरेका छन्। यस्तै, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नेपाल लोकतान्त्रिक फोरमले २०–२० सिटमा दाबी गरेका छन्।

संघीय समाजवादी र राजपालाई ५० हाराहारी सिट दिने विषयमा कांग्रेस सकारात्मक देखिएपनि राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरमलाई भने २०–२० सिट दिन नसकिने बताएको छ। कांग्रेसले लोकतान्त्रिक फोरमलाई बढीमा १५, राप्रपा प्रजातान्त्रिकलाई पनि १५ आसपास र राप्रपालाई बढीमा १२ सिट प्रत्यक्षतर्फ दिन सकिने प्रस्ताव अघि सारेको छ।

कांग्रेसले १६५ मध्ये ८० देखि ८५ सिट खर्चेर भएपनि पाँचै दललाई लोकतान्त्रिक गठबन्धनमै राख्ने प्रयास गरिरहेको छ। कांग्रेसले डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको गरेको राप्रपा प्रजातान्त्रिक राष्ट्रवादीसहित अन्य साना दललाई पनि गठबन्धनमा ल्याउने प्रयास गरिरहेको खबर नेपालखबरले लेखेको छ ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालाई पनि गठबन्धनमा ल्याउने प्रयासमा प्रधानमन्त्री देउवा लागेका छन्। प्रधानमन्त्री देउवाले अध्यक्ष केसीसँगको गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान लगायतका जिल्लामा चुनावी तालमेलको प्रस्ताव राखेका थिए। तर, जनमोर्चाले भने तालमेलबारे कुनै निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्